प्रियङ्का कार्की: गर्भवती हुँदाको तस्बिर सार्वजनिक गर्दा उब्जिएको बहस

सरोगेसी

तस्बिर स्रोत, Rebecca hendin

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नायिका प्रियङ्का कार्कीले गर्भवती भएका कारण ठूलो भएको पेट देखाएर खिचेका तस्बिर सार्वजनिक गरेपछि त्यसले सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतमा विभिन्न बहस निम्त्याएको छ।

यसअघि पनि उनले आफू गर्भवती भएपछि खिचेका केही तस्बिरहरूले सामाजिक सञ्जालमा तरङ्ग ल्याएका थिए।

उनको तस्बिरबारे आएको टिप्पणीमाथि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिक्रिया जनाउँदा उत्पन्न बहसपछि उनकी छोरी मानुषी यमी भट्टराईले पनि आफू गर्भवती हुँदाको तस्बिर सामाजिक ट्विटरमा राखेकी छन्। त्यसमा पनि थुप्रै खालका टिप्पणी आएका छन्।

केही समयअघि कलाकार सिर्जना सुब्बाले गर्भावस्थाको तस्बिर सार्वजनिक गरेका बेला पनि विभिन्न टिकाटिप्पणी र बहस भएको थियो।

तस्बिर सार्वजनिक गरेका महिलाहरूले आफ्नो गर्भावस्थालाई खुशीयालीको रूपमा मनाउन आफ्नो तस्बिर सार्वजनिक गरेको प्रतिक्रिया दिएका छन्।

'नितान्त व्यक्तिगत छनोट'

बेलाबेला सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू राख्दै आएकी प्रियङ्का कार्की यसलाई 'नितान्त व्यक्तिगत छनोट' भन्छिन्।

"कसैले निजी तरिकाले गर्भावस्था मनाउनुहुन्छ भने त्यसलाई सम्मान गर्नुपर्छ र कसैले त्यो खुशीयालीलाई शेअर गर्नुहुन्छ अर्थात् सार्वजनिक गर्नुहुन्छ भने त्यो उहाँको अधिकारको कुरा हो," बीबीसीसँग उनले भनिन्।

तस्बिर सार्वजनिक गर्दा उत्पन्न नकारात्मक टिप्पणीलाई उनले पितृसत्तात्मक सोचको उपज भन्ठान्छिन्।

प्रियङ्का कार्की

तस्बिर स्रोत, Anish Shakya

तस्बिरको क्याप्शन, नायिका प्रियङ्का कार्कीले यस्ता तस्बिरहरू सार्वजनिक गरेकी छन्

"महिलालाई नियन्त्रणमा राख्नुपर्छ भन्ने पितृसत्तात्मक सोच समाजमा गढेर बसेका कारण त्यसलाई तोड्न आवश्यक छ," उनी भन्छिन्।

उनले थपिन, "विदेशीले गर्भावस्थामा 'न्यूड फोटोसुट' गर्दा रमाइलो मान्नेहरू यहीँ छन्। नेपाली कलाकारले अरू बेला लगाएकै जति लुगा लगाएर पेट देखाएर गर्भवती हुँदाको फोटो राख्दा चित्त बुझेन।"

महिलाले के गर्न हुन्छ र हुन्न भनेर समाजले निर्धारण गरिदिएका कतिपय कुरालाई परिवर्तन गर्दै जानुपर्ने र त्यो सँगै निम्तिएको प्रगतिशील सोचले समाजमा परिवर्तन गर्ने कार्की बताउँछिन्।

महिलाले राखेको तस्बिरमा नकारात्मक प्रतिक्रियाकिन?

सामाजिक सञ्जालमा जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराईले "एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो?' भनेर प्रश्न गरेकी छन्।

उनले गर्भावस्थाको पेट देखाएको तस्बिर ट्विटरमा 'मेरो सुन्दर कार्य' भनेर राखेकी छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिलाको शरीरमा किन टिप्पणी?

महिनावारी, गर्भवती वा सुत्केरी हुनुलाई समाजले परम्परागत रूपमा अपवित्र मान्दै आएकोले महिलाले आफ्नो शरीरलाई जोडेर उत्सवको रूपमा मनाउन खोज्दा उग्र प्रतिक्रियाहरू आएको उनले बताइन्।

"मैले समाजको यो पाखण्डी सोचविरुद्ध उभिन साङ्केतिक रूपमा भए पनि तस्बिर शेअर गरेकी हुँ," उनले भनिन्, "महिलाले आफ्नो शरीर देखाउँदा कोबाट नियन्त्रित भएर देखाएको छ भन्ने कुरा यसले उठाएको छ।"

यसबारे बहस निम्त्याउन आवश्यक भए पनि कुनै पनि विषयसँग जोडिएर आउने बजारीकरण वा वस्तुकरणको भने आफू विपक्षमा रहेको भट्टराईले बताइन्।

"पल्लो घरले बेबी सावर मनायो मैले पनि देखाउनुपर्छ भन्ने दबाबमा चाहिँ केही पनि हुनहुँदैन," उनले भनिन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

कतिपयले विगतमा सुन्दरी प्रतियोगिताको विरोध गर्नेले अहिले गर्भावस्थाको तस्बिर राखेको भन्दै भट्टराईको आलोचना पनि गरेका छन्।

भट्टराई भन्छिन्, "सुन्दरी प्रतियोगिता र महिलाले आफ्नो गर्भावस्थाको तस्बिर राख्ने विषय नितान्त फरक हो। यसलाई दाँज्नै मिल्दैन। सुन्दरी प्रतियोगितामा त महिलाको शरीरलाई वस्तुकरण गरिएको हो। उसको सुन्दरताको निर्धारण बजारले गरेको हो।"

समाजशास्त्रीय दृष्टिकोण

महिलाको शरीरलाई लिएर गर्भावस्थाबारेमात्रै नभइ बेलाबेला टिप्पणी हुनेगर्छ।

यसलाई तीनवटा तरिकाबाट हेर्नुपर्ने समाजशास्त्री मीना उप्रेती बताउँछिन्।

उनका अनुसार गर्भावस्थाको कुरा महिलाको ईच्छाआकाङ्क्षासँग जोडिएर आएको छ। तर त्योसँगै यसलाई व्यक्तिगत, पारिवारिक र सामाजिक दृष्टिकोणबाट पनि हेरिन जरुरी रहेको उनी बताउँछिन्।

“मैले खुशीयाली मनाएको क्षण पारिवारिक कति हो, व्यक्तिगत कति हो र सामाजिक कति हो भनेर हेर्नुपर्छ। अरूलाई त्यसले फरक पार्छ कि पार्दैन हेर्नुपर्छ र त्यो खुशीयाली सामाजिक सञ्जालमा राख्न आवश्यक छ कि छैन भन्ने पनि विचार गर्नुपर्छ,” उनले भनिन्।

महिलाका शरीरको विषयमात्रै नभइ कुनै पनि विषयमा नकारात्मक टिप्पणी जनाउन उद्यत देखिएको फुर्सदिलो समाजमा यस्तो क्रम बढ्दै गएको उनी बताउँछिन्।

“तपाईँले हेर्नुभयो भने अराजक वा नकारात्मक टिप्पणी नै धेरै देखिन्छ। यस्ता खालका टिप्पणी जनाउने प्राय उही वर्गका मानिस हुन्छन्,” समाजशास्त्री उप्रेतीले भनिन्।

“महिलाको स्वतन्त्रताको कुरा हो तर केही न केही रूपमा यसको नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ। सामाजिक सञ्जालका कारण समाज देखावटी हुँदै गएको छ।”

बहस आवश्यक

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिला हिंसा र बलात्कारविरूद्ध ‘सिर्जनात्मक’ प्रदर्शन

समाजमा अझै पनि नगण्य सङ्ख्यामा मात्रै केही महिला यस्ता विषयमा खुलेर आउने हुँदा उनीहरूले निम्त्याइदिने बहस समाजका लागि आवश्यक रहेको लैङ्गिक र सामाजिक न्यायका विषयमा रुचि राख्ने अध्येता कैलाश राई बताउँछिन्।

"त्यसरी तस्बिर राख्दा महिलाको यौनिकतालाई नियन्त्रण गर्ने सामाजिक र सांस्कृतिक सोचमाथि प्रहार भएकोले विरोध गर्ने स्वर चर्को हुनु स्वाभाविकै हो जस्तो लाग्छ," उनले भनिन्।

महिलाले कुन कुरा लगाउने वा नलगाउने भन्ने महिला स्वयंले भन्दा समाजले निर्धारण गरिदिएका कारण यस्ता विषय बेलाबेला बहसमा आउने उनी बताउँछिन्।

"महिलाका विषयमा समाजमा धेरै परिवर्तन भयो भन्ने हामी कुरा गर्छौँ तर कुन हदसम्म परिवर्तन भएको छ भन्ने यस्तो बहस उब्जिँदा अनुमान गर्न सजिलो हुन्छ," उनले भनिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिनावारी हुँदा थप बिदा चाहिन्छ कि चाहिँदैन?

तर कुनै पनि विषयलाई सामाजिक रूपमा देखावटीको विषय बनाउन नहुने अध्येता राई बताउँछिन्।

राईले भनिन्, "कति महिला गर्भावस्थामा पोषिलो खानेकुरा खान नपाउने पनि छन्। यसमा पर्ने आर्थिक वा मानसिक बोझबाट जोगिनुपर्छ। गर्भावस्था एक्लै मनाए पनि भयो फेसबुकमा फोटो राख्नैपर्छ वा सामाजिक सञ्जालमा हल्ला पिट्नै पर्छ भन्ने चाहिँ छैन। तर जसलाई शेअर गर्न मन लाग्छ त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो।"

प्रियङ्का कार्कीको तस्बिरमा प्राप्त प्रतिक्रियापछि कैयौँ महिलाले आफू गर्भवती हुँदाका तस्बिर अहिले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

कतिले भने नेपाली संस्कार अनुरूप नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

तस्बिरमाथि टिका टिप्पणी हुने क्रममा आधुनिक र पुरातन विचार, पितृसत्तात्मक सोच र व्यक्तिगत स्वतन्त्रता तथा बजारीकरणको प्रभाव लगायतका कोणबाट विभिन्न लेखमार्फत् र सामाजिक सञ्जालमा बहस भइरहेको छ।