किरण जोशी: हलिउडका लागि एनिमेशन गर्ने नेपाली कलाकार

किरण जोशी

तस्बिर स्रोत, Kiran Joshi

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

बौद्ध भिक्षुहरूले बाजा बजाइरहेका छन्। उनीहरूको सङ्गीतको शक्तिबाट कैयौँ हात भएका कालचक्र र विश्वमाता उत्पन्न हुन्छन्। उनीहरू जहाँ जान्छन् त्यहाँ जीवन उत्पन्न हुन्छ। उनीहरू एउटा बगैँचामा पुग्छन् र त्यहाँ फूललाई छोइदिन्छन्।

मन्त्रको प्रभावले फूलहरू अबिर बन्छन्। अनि कालचक्र र विश्वमाताले एउटा मण्डल बनाउँछन्।

तीन दशकयता हलिउडका चलचित्र तथा टेलिभिजन कार्यक्रमसहित झन्डै २५० वटा एनिमेशन तथा भिजूअल इफेक्ट्समा काम गरिसकेका काठमाण्डूका किरण जोशीले हाल बनाइरहेको बौद्ध धर्मसँग जोडिएको छोटो वृत्तचित्रको सार हो यो।

उच्च गुणस्तरको एनिमेशन प्रविधिमा यो कथा भन्न खोजिएको छ।

यसबाहेक उनले वातावरण संरक्षणसँग जोडिएको कथामा काल्पनिक जीव यती अर्थात् हिममानवलाई प्रस्तुत गरेर एनिमेशनमा आधारित एउटा चलचित्र बनाउने जमर्को गरिरहेका छन्।

उनको एनिमेशनमा आधारित अर्को कथाले काठमाण्डू उपत्यकाका दुई नगर भक्तपुर र पाटनको प्रेमकथा अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रस्तुत गर्ने लक्ष्य छ।

सन् २००७ देखि नेपालमा नै एनिमेशन स्टुडिओ चलाएर अमेरिकी चलचित्र र टेलिभिजन उद्योगका लागि सामग्री उत्पादन गर्न सघाइरहेका उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा नेपालसँग जोडिएका कथाहरू अन्तर्राष्ट्रिय स्तरमा आफूले प्रवर्धन गर्न चाहिरहेको बताए।

हलिउडमा यसरी प्रवेश

किरण जोशी काठमाण्डूमा जन्मिए। राजधानीकै अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेर उनी उच्च शिक्षाका लागि अमेरिका गए।

उन्नाइस वर्षको उमेरमा नेपाल छाड्दा उनीसँग २०० अमेरिकी डलर र एउटा सुटकेस मात्र थियो।

अमेरिकाको क्यालिफोर्निया पुग्दासम्म भविष्यमा के गर्ने भन्ने ठोस लक्ष्य नभएका उनले सुरुमा विमानचालक बन्ने आकाङ्क्षा राखेका थिए।

किरण जोशीको स्टुडियो

तस्बिर स्रोत, Incessant Rain Studios

तर अमेरिका पुगेपछि कलेजको पढाइ धान्न तत्कालै काम थाल्नुपर्ने बाध्यता भयो।

त्यहाँ पुगेको एक महिनामै उनले पिज्जा हटमा जागिरका लागि आवेदन पनि दिए। तर अन्तरवार्ता लिने व्यक्तिले योग्यता नपुगेको भन्दै नि:शुल्क पिज्जा खुवाएर फिर्ता पठाएको उनी सम्झन्छन्।

जोशीका अनुसार त्यति बेला इन्टरनेट आइसकेको थिएन र पत्रिकामा छापिएको एउटा विज्ञापन देखेर उनले सुरक्षागार्डको काम गर्न आवेदन दिएका थिए।

हलिउड

तस्बिर स्रोत, Kiran Joshi

तस्बिरको क्याप्शन, स्टार वार सिरीजमा पनि किरण जोशीको स्टुडियोले काम गरेको छ

त्यस बेला रोजगारीको फारममा अनुभव लेख्नुपर्ने खण्डमा उनले "म नेपालको गोर्खाली हुँ" भनेर उल्लेख गरेका थिए।

पछि अन्तर्वार्तामा बोलाइँदा उनलाई सुरक्षागार्डका रूपमा काम गरेको छ भनेर सोधिएको थियो।

"मैले त्यसरी काम गरेको छैन, तर मेरो शरीरमा नै गोर्खाली रगत छ। त्यही भएर जसलाई जतिखेर पनि रक्षा गर्न सक्छु" भनेको उनी सम्झन्छन्।

एक वर्ष सुरक्षागार्डका रूपमा काम गर्दा जोशीले केही पैसा जोगाए अनि पढ्न थाले।

सन् १९८० को दशकको आरम्भमा आईबीएम कम्पनीले कम्प्युटर भर्खरै बजारमा ल्याएको थियो। कम्प्युटरको स्क्रीन देखेपछि त्यसतर्फ आकर्षित भएका जोशीले कम्प्युटरमा नै स्नातक र स्नातकोत्तरसम्म अध्ययन गरे। त्यही बेला डिज्नीमा काम गर्ने अवसर पाए।

उनी भन्छन्, "त्यसबेला डिज्नीमा २०० जनाले अन्तर्वार्ता दिएका थिए। म र अर्को एक जना छनोट भयौँ। मलाई त्यस बेलासम्म सफ्टवेअरमा रुचि थियो। एनिमेशन केही नै आउँदैनथ्यो।"

"तर प्रश्न सोध्दै गएँ, सिक्दै गएँ र उनीहरूले पनि मेरो रुचि देखेर सिकाउँदै गए," उनी भन्छन्।

लायन किङमा नयाँ प्रयोग

त्यसबेला डिज्नी हातले कोरिएका चित्रबाट डिजिटल प्रविधिमा फड्को मार्ने क्रममा थियो।

सन् १९९१ मा वाल्ट डिज्नीले बनाएको 'ब्यूटी एन्ड द बीस्ट' एनिमेटेड चलचित्रमा पहिलो पटक कम्प्युटरले बनाएको नृत्यको एउटा सिक्वेन्सको निकै चर्चा भयो।

लायन किङ

तस्बिर स्रोत, Kiran Joshi

तस्बिरको क्याप्शन, लायन किङमा आफ्नो सबै भन्दा सफल चलचित्र भएको किरण जोशी बताउँछन्

बलरूममा बीस्ट र बिली नाचिरहेको उक्त दृश्यावली जोशीसहितको टोलीले कम्प्युटरमा नै बनाएको थियो।

उक्त दृश्यको सफलताकै कारण हलिउडका स्टुडियोहरूले परम्परागत विधिको साटो कम्प्युटर एनिमेशनमा थप लगानी गर्न थालेको बताइन्छ।

त्यसपछि अर्को एनिमेटेड चलचित्र अलादिन हुँदै उनले लगातार १७ वर्षसम्म हलिउडमा एनिमेशनको काम गरे।

उनले काम गरेकोमध्ये सर्वाधिक सफल भएको हलिउड चलचित्र द लायन किङ हो।

उनी भन्छन्, "लायन किङमा मैले सुरुदेखि अन्त्यसम्म काम गरे। लायन किङले धेरै पैसा कमायो। विल्डीबीस्टहरूको दङ्गाको दृश्यमा मैले काम गरेको हुँ। त्यो बेला हजारौँ विल्डीबीस्टहरू ल्याउने भन्ने एकदमै नौलो र गाह्रो काम थियो।"

उक्त चलचित्र व्यावसायिक रूपमा सफल भएपछि किरण जोशीको पनि आफ्नै परिचय बन्यो।

उनी भन्छन्, "एक हिसाबले मेरो बढुवा नै लायन किङ चलचित्रका कारण भयो। त्यसपछि काम गरेका चलचित्रमा मैले डिजिटल सुपरभाइजरसम्मका जिम्मेदारी पाएँ।"

वाल्ट डिज्नीले बनाएका हन्च ब्याक र एट्लान्टिस द लस्ट एम्पायरजस्ता चलचित्रमा पनि उनले काम गरे।

यसरी फर्किए नेपाल

सन् २००७ मा एउटा सडक दुर्घटनामा आफ्ना भिनाजुको निधन भएपछि आफ्ना भान्जाभान्जी लिएर जोशी नेपाल फर्किए।

त्यो बेला आफ्ना साथीको सुझावमा एनिमेशनको क्षेत्रमा काम गरिरहेका केही नेपाली युवाहरूसँग भेटेपछि उनले काठमाण्डूमा नै स्टुडियो खोल्ने निर्णय गरे।

हलिउड

तस्बिर स्रोत, Incessant Rain Studios

त्यसबेला १८ वर्षीय किशोर अनीश खड्काको एनिमेशन कलाबाट आफू अतिप्रभावित भएको उनी सम्झन्छन्।

"उनी कमर्स पढिरहेका थिए। अबेर रातिसम्म काम गरेर एनिमेशनहरू बनाउने गरेको उनले मलाई बताए। तर परिवारले आफूले गरेको काम राम्ररी नबुझेको पनि सुनाए," उनी भन्छन्।

खड्काले "तपाईँजस्तो मान्छेले नेपालमा फर्किएर काम गर्नुभयो भने हामी पनि यसमै भविष्य खोज्न सक्छौँ" भनेको उनी सम्झिन्छन्।

"यदि फर्कनुभएन भने अर्को पटक तपाईँ नेपालमा आउँदा म ब्याङ्कमा काम गरिरहेको हुन्छु," खड्काले उनलाई भनेका थिए।

"उन (खड्का)को प्रतिभा असाधारण थियो। त्यस बेला मलाई यो केटाले जिन्दगीमा आफूले मन परेको काम गर्न पाउनुपर्छ भन्ने सोच आयो। र यो नै नेपालमा स्टुडियो खोल्ने उपयुक्त समय हो भन्ने निष्कर्ष निकालेँ," उनी भन्छन्।

Presentational grey line
Presentational grey line

त्यसपछि उनले १८ जनालाई भेला पारे। एक महिनापछि नेपाल फर्किएर स्टुडियो खोल्ने वाचासहित उनी अमेरिका उडे।

"धेरैले मलाई मेरो निर्णय 'मूर्खतापूर्ण' हो भने। क्यालिफोर्नियाका मेरा साथीहरूले मलाई गाली पनि गरे र 'तिमी अब असफल हुन्छौ' भने।"

तर उनलाई परिवारले सहयोग गर्‍यो। "मलाई लाग्यो मेलै अहिले जागिर छाडिनँ भने पछि झन् गाह्रो हुन्छ। त्यही भएर मैले काम गरिरहेको डिज्नीलाई जागिर छाड्ने निर्णयमा पुगेको जानकारी दिएर नेपाल फर्किएँ।"

जोशीले काठमाण्डूमा इन्सेसन्ट रेन नामक स्टुडियो खोल्दा नेपाल ठूलो राजनैतिक उथलपुथलबाट गुज्रिरहेको थियो। दश वर्ष सशस्त्र विद्रोही गरेका माओवादीहरू शान्तिप्रकियामा आएका थिए। तर नेपालमा नियमित रूपमा आन्दोलन र हडताल भइरहेका थिए।

डिज्नीमा वर्षौँ काम गरेकाले सुरुमा उनको कम्पनीले छ हप्ताभित्र सिध्याउने समयसीमासहित मिकी माउस र डोनल्ड डकसँग सम्बन्धित एउटा एनिमेशनको काम पायो।

त्यस बेला निकै मेहनत गरेर झन्डै २० जनाको उनको टोलीले समयमै काम सकेको थियो।

"निर्धारित समयसीमा आउन १० दिन बाँकी हुँदा हामी चौबीसै घण्टा काम गर्थ्यौँ र पालैपालो सुत्थ्यौँ। म पनि २२ देखि २४ वर्षका युवाहरूसँगै हुन्थेँ र उनीहरूसँगै स्लीपिङ ब्यागमा सुत्थेँ। दिनरात नभनी हामीले त्यस बेला काम गर्दा मैले पनि आफूलाई किशोर ठान्न थालेको थिएँ। त्यो काम राम्रो भएपछि त्यसले हाम्रो आत्मविश्वास निकै बलियो बनायो।"

त्यसयता १२ वर्षमा उनको कम्पनीले झन्डै ९० वटा हलिउड चलचित्र र १५० वटाभन्दा बढी टेलिभिजन शृङ्खला निर्माण गरेको छ।

काठमाण्डूबाट उनको टोलीले भिजूअल इफेक्ट्समा काम गरेका केही चलचित्रमा घोस्ट बास्टर्स, रेड स्प्यारो, अ हन्ड्रेड वेज टु डाई आदि छन्। एनिमेशन चलचित्रमा टिम हट विल्स, एङ्‌री बर्ड्स आदि छन्।

Incessant Rain Studios

तस्बिर स्रोत, Kiran Joshi/Incessant Rain Studios

तस्बिरको क्याप्शन, भूकम्पसम्बन्धी वृत्तचित्रमा पनि किरण जोशीको समूहले काम गरेको छ

केही समयअघि उनको कम्पनीले नेटफ्लिक्स र एपलजस्ता कम्पनीका लागि मनोरञ्जनात्मक एनिमेशनहरू बनाएको छ।

एउटा अध्ययनका अनुसार सन् २०१९ सम्म आइपुग्दा एनिमेशन उद्योगको व्यापार झन्डै २५० अर्ब डलर पुगेको छ। एनिमेशनसँग सम्बन्धित उत्पादनको पनि गणना गर्दा उक्त आकार ५०० अर्ब डलर पुग्ने बताइन्छ।

अमेरिका र जापानलाई एनिमेशनको क्षेत्रमा अग्रणी मानिन्छ। अहिले एनिमेशनमा काम गर्न भारत र चीनमा पनि ठूलो सङ्ख्यामा स्टुडियोहरू छन्।

एनिमेशनको क्षेत्रमा व्यापक प्रतिस्पर्धा रहेको भन्दै जोशी भन्छन्, "भारतमा मात्रै आठ हजारभन्दा बढी स्टुडियो छन्। हामीले प्रतिस्पर्धा गर्दा भारत, जापान, चीन सबैसँग प्रतिस्पर्धा गरिरहेका हुन्छौँ। हाम्रो समस्या कलाकार कम छन् र अनुभव पनि कम छ।"

नेपालमा एक दशकभन्दा लामो समयदेखि एनिमेशन गर्ने दक्ष जनशक्ति उत्पादन गरिरहेको माया एनिमेशन एकेडेमीका संस्थापक निर्देशक इन्द्रलाल बलामीका अनुसार नेपालीहरूले पनि अन्तर्राष्ट्रिय स्तरको काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न किरण जोशीको महत्त्वपूर्ण भूमिका छ।

"किरणले गरेका काममा धेरै नेपाली युवाहरूले अवसर पाएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय स्तरको स्टुडियोमा काम गर्ने मौका पाएका छन्," बलामीले भने।

नेपाली कथा हलिउडमा पस्किने लक्ष्य

किरण जोशीको स्टुडियोले नेपालको भूकम्पसँग सम्बन्धित दुईवटा वृत्तचित्र पनि निर्माण गरेको छ।

त्यसमध्ये सन् २०१५ मा निर्माण गरिएको मुभिङ माउन्टेन्स नामक वृत्तचित्रमा विक्रम संवत् १९९० को भुइँचालोको सम्झना गर्न खोजिएको छ।

त्यसमा स्पेशल इफेक्ट प्रयोग गरी धरहरा भाँच्चिएको दृश्य पनि देखाइएको छ।

संयोगवश उक्त वृत्तचित्र सार्वजनिक भएको केही महिनापछि गोरखाको केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्प आयो र वृत्तचित्रमा देखाइए जस्तै विध्वंस भयो।

बारपाक भ्रमण गरेकी एक किशोरीमार्फत् अर्को विनाशकारी भूकम्पको जोखिमलाई ध्यान दिँदै पूर्वतयारी गर्न ध्यानाकर्षण गराउँदै उनको स्टुडियोले अर्को वृत्तचित्र बनायो।

नेपालबाट झन्डै १५० जना कर्मचारीहरूसँग मिलेर हलिउडका लागि काम गरिरहेका जोशी अब नेपाली कथामै काम गर्न थालेको बताउँछन्।

उनले भने, "२००७ सालमा आएर कम्पनी खोल्दा भोलिपर्सि यहाँको कथा बाहिर विश्वमा प्रस्तुत गर्ने सपना थियो। बाहिरको मान्छेहरू आएर बुद्धका र शेर्पाका कथा भनिरहेका छन्। अहिले हाम्रो कम्पनी पनि परिपक्व भएको छ र हामी केही कथामा काम गरिरहेका छौँ।'

उनी थप्छन्, "रोमिओ जुलियट खालको एउटा प्रेमकथाका लागि पाटन र भक्तपुरको मन्दिरमा हुने ढुङ्गाका सिंहको प्रेमबारे चर्चा गर्दैछौँ। हिममानव यतीको कथाबाट वातावरण जोगाऔँ भन्ने सन्देश दिन मन छ।"

हलिउड

तस्बिर स्रोत, Incessant Rain Studios

तस्बिरको क्याप्शन, बौद्ध धर्मसम्बन्धी वृत्तचित्रको एउटा दृश्य

ब्रिटेनका लेखक रुड्यार्ड किप्लिङले जङ्गलबुक लेखेर भारतको कथा विश्वलाई सुनाएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा नेपाली कथाको पनि ठूलो सम्भावना भएको जनाए।

उनले भने, "यतीको कथा ठूलो बजेटको फिल्म हो। हाम्रो स्टुडियोले मात्रै बनाउन सक्दैन। चीन र अमेरिकाबाट लगानी भित्र्याउन कुरा गरिरहेका छौँ।"

उनको भनाइ छ, "हामी यस्तो ठाउँमा बसेका छौँ जहाँ खोज्ने हो भने गजबका चिज छन्। बूढापाकासँग कुरा गर्‍यो भने मात्रै पनि गजब कथा सुन्न पाइन्छ। त्यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा लैजाने, त्यो धेरै महत्त्वपूर्ण हो।"

"मलाई धेरैवटा चलचित्र बनाउने इच्छा छैन। दुईतीनवटा मात्रै, तर राम्रो चलचित्र बनाऊँ भन्ने छ। नेपाली कथाहरूलाई पूर्ण रूपमा विश्वमा लैजाने इच्छा छ।"