ओस्कर: झापडका लागि विल स्मिथमाथि ओस्करबाट १० वर्षको प्रतिबन्ध

विल स्मिथ

तस्बिर स्रोत, Reuters

ओस्कर समारोहमा हास्य कलाकार क्रिश रकलाई थप्पड हानेका अभिनेता विल स्मिथलाई ओस्कर गाला र एकेडेमीका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाइएको छ।

एउटा विज्ञप्तिमा एकेडेमीले ९४ औँ ओस्करलाई 'स्मिथले स्टेजमा प्रदर्शन गरेको अस्वीकार्य र घातक व्यवहारले छायामा पारेको' जनाएको छ।

स्मिथले उनको कदमका लागि माफी माग्दै एकेडेमीबाट राजीनामा दिएका थिए।

एलोपेसिया रोगका कारण कपाल खस्ने समस्या भएपछि कपाल खौरिएकी आफ्नी श्रीमतीप्रति रकले टिप्पणी गरेपछि अभिनेता स्मिथले उनलाई थप्पड हानेका थिए।

त्यसको आधा घण्टा भन्दा बढी समयपछि अभिनेता स्मिथलाई 'किङ रिचर्ड' चलचित्रका लागि उत्कृष्ट अभिनेता पुरस्कार दिइएको थियो।

उक्त चलचित्रमा उनले ख्यातिप्राप्त टेनिस खेलाडीहरू सेरेना र भीनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका थिए।

अनुशासनको कारबाही

शुक्रवार बसेको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सको भर्चुअल बैठकले अनुशासनको कारबाहीबारे निर्णय लिएको हो।

आफ्नो विज्ञप्तिमा उक्त निकायले प्रस्तोता तथा आमन्त्रितहरूको रक्षा गर्न र 'एकेडेमीप्रतिको भरोसा जगेर्ना गर्न' स्मिथमाथि प्रतिबन्ध लगाइएको जनाएको छ।

एकेडेमीले झापड हानिएको समयमा आफूले 'पर्याप्त ढङ्गले उक्त समारोहमा उत्पन्न अवस्थाको सम्बोधन गर्न नसकेको' भन्दै त्यस्तो 'अभूतपूर्व परिस्थितिका लागि तयार नरहेको' उल्लेख गरेको छ। त्यसका लागि उसले माफी मागेको छ।

एकेडेमीले 'असाधारण परिस्थितिमा पनि संयम देखाएको'मा रकलाई धन्यवाद दिएको छ।

आफ्नो राजीनामा सम्बोधनमा स्मीथले आफूले एकेडेमीको भरोसालाई धवका दिएको बताउँदै आफ्नो कदमका लागि पश्चात्ताप रहेको बताएका थिए।

घटनाको समयमा स्मिथ र क्रिस।

तस्बिर स्रोत, Reuters

उनले आफ्नो कदमका लागि चालिने जुनसुकै कदम र परिणामप्रति सम्मान जनाउने उल्लेख गरेका थिए।

उनको राजीनामाको अर्थ भविष्यमा उनले ओस्करका लागि मतदान गर्न पाउने छैनन्।

उक्त घटनाको समीक्षाका लागि एकेडेमीले १८ एप्रिलमा बैठक डाकेको भएपनि स्मिथले राजीनामा दिएपछि त्यसलाई तीव्र बनाइएको थियो।

विगतमा कसलाई कारबाही भएको छ

अहिलेसम्म एकदमै थोरैले एकेडेमीबाट राजीनामा दिएका छन्।

निर्माता हार्भी वाइन्स्टीन, अभिनेता बिल कस्बी, निर्देशक रोमन पोलान्स्की र सिनेमाटोग्राफर एडम किमेललाई यौन दुर्व्यवहारको आरोपमा एकेडेमीबाट बर्खास्त गरिएको छ भने अभिनेता कारमिने कारीडीलाई सार्वजनिक हुनुअघि आफूलाई दिइएको भिडियोको प्रतिहरू बनाएकोमा सन् २००४ मा हटाइएको थियो।

तर फिल्म एकेडेमीले तय गरेका मापदण्डमा स्मिथमाथि विभिन्न किसिमका अनुशासनका कारबाही गर्न सकिने व्यवस्था थियो। त्यसमा उनलाई भविष्यका ओस्कर समारोहहरूमा भाग लिन नदिने, अवार्डका लागि उनको योग्यता खारेज गर्ने वा उनले प्राप्त गरेका ओस्कर फिर्ता लिने पर्छन्।

क्रिश रक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्रिश रकले उक्त घटनाबारे 'कुनै विन्दुमा' बोल्ने बताएका छन्

हालसम्म एउटामात्रै ओस्कर फिर्ता लिइएको छ। सन् १९६९ मा 'योङ अमेरिकन्स' ले सन् १९६९ मा उत्कृष्ट वृत्तचित्रको पुरस्कार पाएको थियो तर त्यो वर्षका लागि उक्त अवार्ड प्राप्त गर्न पछि अयोग्य ठहर भएको थियो।

अघिल्लो महिना ओस्करको गभर्नर बोर्डकी सदस्य रहेकी अभिनेतृ वोपी गोल्डबर्गले स्मिथले 'ठूलो मूल्य चुकाउनुपर्ने' भएपनि 'उनीबाट हामी ओस्कर खोस्दैनौँ' भनेकी थिइन्।

एकेडेमीको यो कारबाही बाहेक कम्तीमा दुईवटा स्टुडियोहरू सोनी र नेटफ्लिक्सले स्मिथसँगका आफ्ना परियोजनाहरू स्थगित गर्ने निर्णय लिएका छन्।

ओस्करको समारोह लगत्तै स्ट्यान्ड अप कमेडी टुरमा रहेका रकले थप्पडबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाइसकेका छैनन्।

अघिल्लो महिना आफ्ना समर्थकहरूसामु उनले 'के भयो भनेर आफूले अझै मनन गरिरहेको' भन्दै उक्त घटनाबारे 'कुनै विन्दुमा' बोल्ने बताएका थिए।