चाडपर्वमा कामको बोझ महिलालाई धेरै पर्ने स्थितिमा 'परिवर्तन' कस्तो

दशैँमा कामको बोझ
Published
पढ्ने समय: ३ मिनेट

निजामती सेवाका उपसचिव दीपक लामिछानेले गाउँघरदेखि नै घरको काम गर्दै आएको र सहर आएपछि पनि उनले त्यसलाई निरन्तरता दिँदै आएको बताउँछन्।

उनले देखेका साथीभाइ आफन्तमाझ भने त्यस्तो कुरा अपवादजस्तो देखिन्थ्यो।

भात पकाउने मात्रै होइन पस्किने काम पनि महिलाको भन्ने जस्तो देखेका उनले पछिल्ला वर्षहरूमा त्यसमा केही हदसम्म परिवर्तन हुँदै आएको देखेका छन्।

चाडबाडमा घर सरसफाइदेखि सजावट, मिठो पकवानलगायत भाडा माझ्ने, लुगा धुने काममा दीपक श्रीमती कोपिलालाई झन् सघाउने गर्छन्।

"दुवै जना काम गर्छौँ र जसलाई जे अनुकूल हुन्छ हामी त्यही काम गर्छौँ। दशैँतिहारका लागि बजारबाट सामान किनेर ल्याउनेदेखि पकाउने, भाँडा माझ्ने, लुगा धुने वा घरमा लागेका जालो झिक्ने काम कसले के गर्ने भन्ने होइन जसले जे भ्याइन्छ उसले त्यही गर्ने गरेका छौँ," लामिछानेले भने।

उनीहरूकी किशोरावस्थाकी एक छोरी बाबुआमा दुवै मिलेर काम गरेको हेर्दै हुर्किँदै छन्।

गाउँमा हुर्किँदै गर्दा आफ्नो बुवाले आमासँगै काम गरेको देखेका कारण आफूलाई काम गर्न असहज नलागेको दीपक बताउँछन्।

"पहिला यो काम महिलाले मात्रै गर्ने हो भन्ने जस्तो हुन्थ्यो भने पनि समयसँगै दुवै जनाले बाहिर काम गर्ने भएपछि यो महिलाले मात्रै गर्ने हो भनेर सुख पाइँदैन," उनले भने।

"पहिला मेरै साथीहरूको पनि म घरको काम महिलाले गर्ने हो भन्ने गरेको देख्थेँ तर अहिले परिवर्तन देखेको छु। चाडबाडका बेला पनि र अरू बेला पनि मिलेर सामान किन्नेदेखि घरको काम गरेकोसम्म देख्छु।"

उनी अझै परिवर्तन हुँदै जानुपर्ने बताउँछन्।

अर्का एक पुरुषले आफूले विगतमा पटक्कै काम नगरे पनि केही वर्षयता गर्न थालेको बताए।

"छोरीहरू हुर्किरहँदा मेरी आमाले मात्रै भान्साको काम गर्नुहुन्थ्यो भन्ने नदेखियोस् भन्नका लागि पनि म अहिले गर्न थालेको छु," उनले भने।

"तर म हुर्किँदा छोरा मान्छेले घरमा खाना बनाउने, भाँडा माझ्ने काम गर्न हुँदैन भन्ने देख्दै आएको हुँ। अब बिस्तारै आफूलाई परिवर्तन गर्दै छु।"

समाज परिवर्तन उन्मुख हो?

दीपक लामिछानेको परिवार

महिला अधिकारका विषयमा कलम चलाउँदै आएकी अमृता लम्साल भने आफूले आफ्ना आफन्त र साथीभाइको घरमा अहिले पनि घरको अधिकांश कामकाज महिलाले नै गर्ने गरेको देखेको बताइन्।

अहिले पनि भान्साको वा घरको काम सामान्यतः महिला पुरुषले बराबरी गरेको आफूले नदेखेको उनी बताउँछिन्।

"विदेशमा बस्ने मेरा छोरी-ज्वाइँ, छोरा-बुहारीले घरको काम बाँडेर गर्छन्। विदेशमा त नगरी सुख पनि छैन," उनले भनिन्।

"तर मैले नेपालमा भने मेरै आफन्त वा साथीहरूको घरमा पुरुषले घरको कामको जिम्मेवारी बाँडेर गर्ने कम देखेकी छु। एकदमै थोरैले मात्रै थोरै काम गर्छन्।"

झन् चाडबाडका बेला त महिलामाथि पाहुनाका लागि समेत पकाउने, खुवाउने गर्नुपर्नाले‍ बोझ थपिने गरेको आफूले देखेको लम्साल बताउँछिन्।

यसमा अपेक्षित परिवर्तन आउन बालबालिकालाई हुर्काउँदा आमाबुवाले ध्यान दिनुपर्ने उनी ठान्छिन्।

"अति आवश्यक आधारभूत ज्ञान त छोराछोरी दुवैलाई चाहिन्छ भनेर हामीले सिकाएका छैनौँ। उनीहरूलाई हुर्काउँदादेखि नै हामी चुकिरहेका छौँ। झन् आजकाल त छोरा न छोरी दुवैलाई सिकाएको देखिँदैन। जबकि दैनिक आफूलाई चाहिने सबै काम दुवैले गर्न सक्नुपर्छ," उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।