ओस्कर्स: अभिनेता विल स्मिथले हास्य कलाकार क्रिश रकलाई मञ्चमै थप्पड हानेपछि...

क्रिश रक र विल स्मिथ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्मिथले रकलाई अनुहारमै लाग्ने गरी थप्पड हानेका थिए

ओस्कर्स पुरस्कार वितरण समारोहमा विल स्मिथले कार्यक्रमको मञ्चमै प्रस्तोता क्रिश रकलाई थप्पड हानेको घटनाले संसारभर निकै चर्चा पाइरहेको छ।

कार्यक्रमको मञ्चबाट हास्य कलाकार क्रिश रकले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए।

स्मिथमाथि ठट्टा गरेपछि उनले आफू बसिरहेको स्थानबाट उठेर गइ रकलाई थप्पड हानेका थिए।

त्यसपछि आफ्नो स्थानमा फर्केका उनले चिच्याउँदै "मेरी श्रीमतीको नाम तिम्रो मुखले नलिनु" भनेका थिए।

घटनापछि यो वर्षको उत्कृष्ट अभिनेताको पुरस्कार पाएका स्मिथले उपाधि स्वीकार गर्ने क्रममा भाषण गर्दा आँसु झार्दै माफी मागेका थिए।

किङ रिचर्ड भन्ने सिनेमामा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बाबुको भूमिका खेलेका स्मिथले भने, "म एकेडेमीसँग र मनोनयनमा परेका अन्यप्रति माफी माग्न चाहन्छु।"

"कलाले जीवनकै नक्कल गर्ने हो। उनीहरूले रिचर्ड विलियम्सका बारेमा भन्ने गरे जस्तै म बहुलठ्ठी बाबु जस्तो देखिन्थेँ। तर मायाले तपाईँलाई बहुलठ्ठी काम गराउँछ।"

पिङ्केट स्मिथमा कपाल झर्ने एलोपेसिया भन्ने रोग देखिएपछि उनले कपाल मुडुलो बनाएको प्रति क्रिश रकले ठट्टा गरेका थिए।

विल स्मिथ र पिङ्केट स्मिथ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विल स्मिथ र उनकी श्रीमती थप्पड काण्ड अघि हर्षित मुद्रामा देखिन्थे

त्यसपछि क्रिश रकले उत्कृष्ट वृत्तचित्र, बेस्ट डकुमेन्ट्री पुरस्कार हस्तान्तरण गरेका थिए।

लस एन्जलसको डल्बी थियटरमा स्मिथ र रकबीच भएको घटनाबारे आश्चर्य मिश्रित प्रतिक्रिया व्यक्त भएको थियो।

स्मिथ र रक दुवै जना टेलिभिजनमा अनुभवी र ख्यातीप्राप्त व्यक्ति भएकाले सुरुमा थप्पड हान्ने जुन घटना भयो त्यो पूर्व नियोजित योजना पो थियो कि जस्तो लाग्यो धेरैलाई।

ओस्करमा विल स्मिथ हास्य कलाकार क्रिश रकलाई झापड हान्दै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ओस्करमा विल स्मिथ हास्य कलाकार क्रिश रकलाई झापड हान्दै

तर स्मिथले रकलाई आफ्नी श्रीमतीको नाम नलिन भनेर कराउँदै आफ्नो सीटमा फर्केपछि भने त्यो नक्कली थप्पड थिएन भन्ने भयो।

लाइभ टीभीमा अश्लील शब्द प्रयोग हुनसक्ने भएकाले लाइभ ब्रोडकास्ट गरिरहेको एबीसी टेलिभिजनले लाइभ फिड काट्यो।

त्यहाँ कोठामा पूर्ण रूपमा शान्ति छाएको थियो। एकेडेमीका कर्मचारीहरू पनि स्तब्ध देखिन्थे।

त्यसपछि रक स्तब्ध भएका जस्तो देखिन्थे। उनले दर्शकलाई सम्बोधन गर्दै उक्त घटना "टेलिभिजनको इतिहासको अविस्मरणीय रात भएको" टिप्पणी गरे।

रकले जाडाको मुडुलो टाउको तर्फ संकेत गर्दै भनेका थिए, "आई लभ यु जाडा। म जीआई जेन २ को प्रतीक्षामा छु।"

जीआई जेन सन् १९९७ को हलिवूड फिल्म हो जसकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन्।