भारत: नातिनातिना नजन्माएको भन्दै भारतीय दम्पतीले हाले आफ्नैछोरा विरुद्ध मुद्दा

भारतीय विवाह

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतमा धुमधामसँग विवाह गर्ने चलन छ। कतिपय विवाहमा हजारौँलाई निम्ता गरिएको हुन्छ।
    • Author, प्याट्रिक ज्याक्सन
    • Role, बीबीसी न्यूज

विवाह गरेको छ वर्षसम्म पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डमा एक दम्पतीले आफ्ना एक्ला छोरा र बुहारीमाथि मुद्दा हालेका छन्।

आफूले दुःखजिलो गरेर हुर्काएको बढाएको छोराले सन्तान नपाइदिएकोमा ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीया साधना प्रसाद सन्तुष्ट छैनन्।

छोरालाई विमानचालकको तालिम गराउन र उनको धुमधामसँग विवाह गरिदिन आफूहरूले ठूलो खर्च गरेको बताएका छन्।

उनीहरूले एक वर्षभित्र छोराबुहारीले सन्तान नजन्माए आफूले पाँच करोड भारतीय रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग उनीहरूले गरेका छन्।

यसबारे प्रसाद दम्पतीका छोराबुहारीले कुनै प्रतिक्रिया दिएका छैनन्।

निकै अस्वाभाविक मानिने यो मुद्दा "मानसिक उत्पीडन" दिएको कसुरमा दर्ता गरिएको छ।

प्रसादले आफ्ना छोरालाई सन् २००६ मा विमानचालकको तालिमका लागि अमेरिका पठाउँदा ६५,००० अमेरिकी डलर खर्च भएको बताएका छन्। आफ्नो सबै बचत छोराका लागि खर्च गरेको उनको दाबी छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विस्फोटनमा दुवै खुट्टा गुमाएकी नर्स आफ्नो बिहेमा यसरी नाचिन्

टाइम्स अफ इन्डियाले जनाएअनुसार उनीहरूका छोरा सन् २००७ मा भारत फर्किएका थिए। तर जागिर गुमाएपछि परिवारले नै उनका लागि दुई वर्षसम्म खर्च दिनुपरेको थियो।

पैँतीस वर्षीय श्रेय सागरले पछि विमानचालकको जागिर पाए।

उनका बाबुआमाका अनुसार उनीहरूले नै उनको विवाह हाल ३१ वर्षकी शुभाङ्गी सिन्हासँग सन् २०१६ मा गराइदिएका थिए।

उनीहरूले आफ्नो अवकाश जीवनमा "खेलाउनका लागि नातिनातिना"को आशा गरेको बताएका छन्।

पाँचतारे होटलमा विवाहको भोज दिन र नवविवाहित जोडीलाई 'हनीमून'मा पठाउन धेरै खर्च गरेको आमाबुवाको दाबी छ।

विवाहका लागि उनीहरूले ८०,००० डलर पर्ने एउटा विलासी गाडी पनि किनिदिएका थिए।

"मेरो छोराले विवाह गरेको छ वर्ष भइसक्दा पनि अझै बच्चाको सुरसार गरेका छैनन्," प्रसादले भनेका छन्।

"हामीले खेलाउने नातिनातिना भए मात्रै पनि हाम्रो पीडा अलि कम हुन्थ्यो।"

यो जोडीका वकिल एके श्रीवास्तवले "मानसिक उत्पीडनका कारण" भन्दै छोराबुहारीसँग उनीहरूले क्षतिपूर्ति माग गरेको दि न्याश्नललाई बताएका छन्।

"हरेक मातापिताको हजुरबा-हजुरआमा बन्ने सपना हुन्छ। उनीहरू वर्षौँदेखि हजुरबा-हजुरआमा बन्न पर्खेर बसेका छन्," उनले भने।

हरिद्वारमा दायर उक्त मुद्दामा आगामी साता मङ्गलवार सुनुवाइ हुने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ९१ वर्ष लामो वैवाहिक जीवन, अझै पनि उस्तै मायाप्रेम