युद्ध र समुद्री अपहरणको मारमा परेका भारतीय जोडी, चार महिना लामो सङ्घर्षपछि फेरि भेट

रेघु र जयकुमार।

तस्बिर स्रोत, Jithina Jayakumar

    • Author, इमरान कुरैशी
    • Role, बीबीसी हिन्दी

विगत चार महिनादेखि दुई फरक अन्तर्राष्ट्रिय द्वन्द्वको सामना गरिरहेका एक भारतीय जोडीको अन्ततः पुनर्मिलन भएको छ। उनीहरूले भारतको दक्षिणी राज्य केरलास्थित घरमा भेटेका हुन्।

गत ज्यानुअरीमा 'रेड सी' मा हुथी विद्रोहीहरूले नागरिक कार्गो जहाज अपहरण गरेपछि पक्राउ परेका सात भारतीय नागरिकहरूमध्ये एक थिए, २६ वर्षीय अखिल रेघु।

उनकी श्रीमती २३ वर्षीय जिथिना जयकुमार युक्रेनमा चिकित्सा अध्ययन गरिरहेकी थिइन्। श्रीमान् अपहरणमा परेपछि उनको सुरक्षित निकास सुनिश्चित गर्न जयकुमारले सरकारी अधिकारीहरूलाई इमेल गर्न र फोन सम्पर्क गर्न थालिन्।

तर, फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण शुरू गरेपछि उनले युद्धग्रस्त युक्रेनबाट सुरक्षित रूपमा निस्किएर श्रीमानका लागि प्रयास जारी राख्नु पर्ने चुनौतीको सामना गर्नुपर्‍यो।

रेघु र उनका सहकर्मीहरूले यमनको हिरासतमा ११२ दिन बिताएपछि गत साता रिहा भए।

अहिले रेघु र जयकुमार केरलाको कोची जिल्लामा छन्। त्यहाँ उनको बुवाको क्यान्सरको उपचार भइरहेको छ।

"मलाई यो भावना कसरी अभिव्यक्त गर्ने थाहा छैन। बितेका चार महिना जीवन र मृत्युको बीचमा थिएँ जस्तो लाग्छ," जयकुमारले बीबीसीसँग भनिन्।

जब जहाज कब्जा गरियो

यो दम्पतीले गत अगस्टमा विवाह गरेका थिए। त्यसको ठीक एक महिनापछि रेघुले समुद्रमा जहाजको सुरक्षित सञ्चालन गर्ने डेक क्याडेटको रूपमा संयुक्त अरब इमिरेट्सको कार्गो जहाज 'रवाबी'मा काम शुरू गरे।

जयकुमार भने किएभ मेडिकल युनिभर्सिटीमा फर्किइन्। त्यहाँ उनी छैटौँ वर्षकी विद्यार्थी हुन्।

ज्यानुअरी २०२२ को बिहान, रवाबीका चालक दलले जहाजको एक भागतर्फ गोली चलेको आवाज सुने।

"एउटा सानो डुङ्गामा रहेका करिब ४० जना मानिसले जहाजलाई वरपरबाट घेरेका थिए। उनीहरू सबै जहाजमा हाम्रो आए। त्यसपछि बल्ल हामीले जहाज अपहरणमा परेको थाहा पायौँ," जहाजमा तेल हाल्ने र रेघुका सहकर्मीहरूमध्ये एक सृजित सजिवनले बीबीसीलाई भने। रेघु भने आघातका कारण आफ्नो अनुभव सुनाउन सक्ने परिस्थितिमा थिएनन्।

रेघु र अपहरणमा परेका साथीहरू।

तस्बिर स्रोत, Jithina Jaykumar

हुथी विद्रोहीहरूले र्‍वाबीले साउदी अरबमा सैन्य आपूर्ति गर्दै छ भन्ने ठानेर नियन्त्रणमा लिएका थिए। साउदी समर्थित आधिकारिक सरकार र विद्रोहीबीच सात वर्षभन्दा लामो समयदेखि चलिरहेको द्वन्द्वका कारण यमन प्रभावित भएको छ।

सजिवनका अनुसार अपहरणकारीहरूले ११ सदस्यीय चालक दललाई हरेक १५ दिनमा जहाज र यमनको राजधानी सानाको एक होटलमा ओहोरदोहोर गराएका थिए।

"हामीलाई एउटा शौचालय भएको कोठामा राखिएको थियो र बाहिर निस्कन दिइएको थिएन। तर उनीहरूले हामीलाई मेनुमा भएको मन लागेको खानेकुरा मगाउन दिन्थे," सजिवनले भने।

उनीहरूले नियन्त्रणमा रहुन्जेल प्रायजसो समय घरभित्रै बिताए। जहाजमा रहँदा मात्र केही समय घाम ताप्न पाउँथे।

हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना सहरमा बम विस्फोटका कारण अपहरणमा परेकाहरू आतङ्कित भएका थिए।

"हामीले हाम्रो होटलबाट १०० मिटर पर रहेको एक विद्यालयमा बम विस्फोट भएको दृश्य टीभीमा देखेका थियौँ," सजिवनले भने।

पहिलो दुई महिना बन्दीहरूलाई प्रत्येक २५ दिनमा एक पटक आफ्नो परिवारसँग फोनमार्फत कुरा गर्ने अनुमति दिइएको थियो। पछि उक्त समयावधि घटाएर १५ दिन बनाइयो।

सजिवनका अनुसार अपहरणकारीहरू सुरुवाती दिनहरूमा आक्रामक प्रस्तुत भएका थिए। तर, बन्धकहरू "निर्दोष" भएको थाहा पाएपछि उनीहरू शान्त भएको बताए। विद्रोहीहरूमध्ये अङ्ग्रेजी बोल्ने एक जनाले समूहमा अनुवादकको काम गर्थे।

"जब हामी उनीहरूलाई हाम्रो रिहाइबारे प्रश्न गर्थ्यौँ उनीहरू इन्शाल्लाह भन्ने गर्थे," सजिवनले भने।

'बङ्कर'मा आश्रय

अखिलले धेरै दिनसम्म आफ्नो फोन नउठाउँदा किएभमा रहेकी जयकुमारले केही गडबड भएको महसुस गरिन्।

उनले जहाज अपहरणमा परेको कुरा त्यही ढुवानी कम्पनीमा काम गर्ने आफ्नो दाइबाट पछि मात्र थाहा पाइन्। र, सहयोगको निम्ति तुरुन्तै भारतका सरकारी अधिकारीहरूलाई सम्पर्क गर्न थालिन्। त्यति बेला उनका साथीहरूले उनलाई खाना पकाएर मद्दत गरेका थिए।

जब युक्रेनमा युद्ध शुरू भयो तब जयकुमार र उनका साथीहरू भूमिगत सुरक्षित आश्रय स्थल 'बङ्कर'मा शरण लिन बाध्य भए। सुरुवाती दिनमा भारतीयहरूले किएभ छाड्न सङ्घर्ष गर्दा उनको आशा धुमिल बन्दै गएको थियो।

"हामीलाई त्यहाँबाट कसैले पनि बाहिर निकाल्न सक्दैनन् जस्तो लाग्थ्यो," उनले भनिन्।

उता यमनमा रहेका उनका पति टीभीमा युद्धबारे समाचार हेरेर निकै चिन्तित भए।

बङ्करमा आश्रितहरू

तस्बिर स्रोत, Getty Images

"जब हामीले हाम्रो परिवारसँग कुरा गर्‍यौँ तब त्यो निकै कठिन अवस्थाबारे थाहा पायौँ। हामीलाई त के भइरहेको छ भन्ने नै थाहा थिएन", सजिवनले भने।

जयकुमार मार्चको दोस्रो साता युक्रेनबाट बाहिरिन सफल भइन्। त्यहाँबाट रेलमार्फत हङ्गेरी र त्यसपछि भारतसम्म विमानको यात्रा तय गरिन्।

घर फर्किएपछि सरकारी अधिकारीहरूसँगको सहकार्यमा श्रीमानको सुरक्षित रिहाइका निम्ति खटिन्।

जीबुटीमा अस्थायी रूपमा सञ्चालित सानाको निम्ति भारतीय दूतावासका राजदूत रामचन्द्रन चन्द्रमौलीले उनलाई निकै सहयोग गरे।

"उनी अपहरणमा परेका सबैको परिवारसँग सम्पर्कमा थिए। उनी हाम्रा लागि जैलेसुकै उपलब्ध थिए। उनले हामीलाई केही समय लागे पनि रिहाइ हुने बताएका थिए," जयकुमारले भनिन्।

अन्ततः घरमा पुनर्मिलन

अप्रिलमा साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीहरूले मुस्लिमहरूका लागि पवित्र मानिने महिना रमजान सुरु हुँदा दुई महिनाको युद्ध विराम सम्झौता गरे।

त्यसपछि भारत सरकारले ओमान र अन्य देशहरूको सहयोगमा आफ्ना नागरिकहरूको रिहाइको व्यवस्था गर्‍यो।

आफ्नो पतिले आफ्नै फोनबाट सम्पर्क गरेपछि मात्र आफूलाई रिहाइको खबरमाथि विश्वास लागेको जयकुमारले सुनाइन्।

अन्ततः उनी गत साता केरला पुगे। उनको साथमा श्रीमतीका लागि गलामा पहिरिने हार र जाम्बिया भनिने एक परम्परागत यमनी परम्परागत चक्कु थियो जुन उनलाई बन्दी बनाउनेहरूले दिएका थिए।

आफूहरूका लागि रिहाइ "पुनर्जन्म" सरह महसुस भएको सजिवन बताउँछन्।

विमानस्थलमा रिहाइपछि देश फर्किएकाहरू।

तस्बिर स्रोत, SREEJITH SAJEEVAN

रेघुलाई भने घटनाक्रमले निकै असर पुर्‍याएको उनकी श्रीमती बताउँछिन्।

"उनको शारीरिक तौल ह्वात्तै घटेको छ र उनको आँखाको डिल कालो भएको छ," उनी भन्छिन्।

उनले यस परीक्षाको घडीको सामना कसरी गरिन् त?

"जब मलाई पीडा महसुस हुन्थ्यो तब म प्रार्थना गर्थेँ। मैले आमाबुवालाई दुःखी हुन नदिन आफ्नो आँसु थामेँ। आफूलाई सम्हाल्न नसक्दा शौचालयमा लुकेर रोएँ," जयकुमार भन्छिन्।

"मलाई थाहा छैन मैले कसरी यस घडीको सामना गरेँ। तर मलाई भित्रैदेखि उनी फर्कने विश्वास थियो।"