युक्रेन युद्ध: रुसी पक्षद्वारा दर्जनौँ युक्रेनी नागरिक अपहरित

हिरासतमुक्त भए पछि भिक्टोरिया रोश्चीना देखिएको भिडिओको दृश्य

तस्बिर स्रोत, Telegram

तस्बिरको क्याप्शन, मुक्त भएपछि भिक्टोरिया रोश्चीना देखा परेको भिडिओको दृश्य
    • Author, म्याट मर्फी र रोबर्ट ग्रीनल
    • Role, बीबीसी न्यूज

रुसले नियन्त्रण गरेका क्षेत्रहरूमा युक्रेनी नागरिकहरूलाई स्वेच्छाचारी ढङ्गमा हिरासतमा लिइएको र जबरजस्ती बेपत्ता पारिएको संयुक्त राष्ट्र सङ्घले बीबीसीलाई बताएको छ।

कम्तीमा ३६ जना युक्रेनी नागरिकहरू रुसी नियन्त्रणमा रहेका घटनाहरू गत साता संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको थियो। तीमध्ये अधिकांशको परिवारले नियन्त्रणमा लिइएका आफन्तबारे कुनै जानकारी नभएको बताए।

रुसले आफूले कब्जा गरेका सहरहरूमा नियन्त्रण कायम राख्न सङ्घर्ष गरिरहेका बेला युक्रेनीहरू बढ्दो अपहरण र धम्कीका घटनाका कारण आफूहरू त्रासमा रहेको बताउँछन्।

मार्च १५ मा अज्ञात मानिसहरूले लिएर जाँदा पत्रकार भिक्टोरिया रोश्चीना देशको पूर्वी भेगमा काम गरिरहेकी थिइन्।

उनलाई बेर्द्‌यान्स्क सहरमा लगिएको देखेको बताउने प्रत्यक्षदर्शीहरूको बयानका आधारमा उनी कार्यरत ह्रोमाद्स्के सञ्चारमाध्यमले रोश्चीनालाई "सम्भवतः रुसको आन्तरिक गुप्तचर सेवा एफएसबीले नियन्त्रणमा लिएको हुनसक्ने" बताएको थियो।

सम्भवतः धम्की दिएर खिचिएको उनको एउटा भिडिओ छ दिनपछि रुससमर्थक टेलिग्राम आउटलेटहरूबाट प्रसारित भएपछि उनी मुक्त भइन्। उक्त भिडिओमा उनले आफूलाई बन्धक नबनाइएको बताएकी छन् तथा आफ्नो "जीवनरक्षा" गरिदिएको भन्दै रुसी सैनिकहरूलाई धन्यवाद दिएकी छन्।

एक वृद्ध व्यक्ति पनि बन्धक

रुसले कब्जा गरेको मेलिटोपोल नगरकी पत्रकार स्भेत्लाना जालिजेत्स्कायाले आफूलाई दण्ड दिन उनका ७५ वर्षीय बुबालाई रुसी सेनाले बन्धक बनाएको आरोप लगाएकी छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

स्थानीय समाचारसंस्था आरआईए मेलिटोपोलकी निर्देशक जालिजेत्स्कायाका अनुसार रुसले स्थापना गरेका नयाँ नेतासँगको भेटमा रुसी अतिक्रमणको आलोचना गर्न आफूले अस्वीकार गरेपछि आफ्ना बुवालाई समातेर लगिएको बताएकी छन्।

उनले आफूलाई अपहरणकारीहरूबाट फोन आएको र बुबाले आफूलाई "कुनै भूमिगत तलामा" राखिएको जानकारी दिएको बताइन्। तर "उनीहरूले बुवाबाट के चाहन्छन् त्यो थाहा नभएको" उनको भनाइ छ।

ती व्यक्तिलाई बन्धक बनाएकाहरूले मेलिटोपोलमा रुसी सेनाको क्रूरताविरुद्ध आवाज उठाइरहेकी जालितेत्स्कायालाई आत्मसमर्पण गर्न भनेका छन्।

युक्रेनको न्याश्नल यूनियन अफ जर्नलिस्ट (एनयूजे)ले चार पत्रकारलाई पनि मेलिटोपोलमा बन्धक बनाइएको जनाएको छ।

एनयूजेका प्रमुख सर्गी तोमिलेन्कोले यस्ता पक्राउहरू "सूचना प्रवाहमा अवरोध पुर्‍याउने लहर"को एउटा अंश भएको र "पत्रकार र सार्वजनिक व्यक्तित्वहरूलाई धम्काउने" कार्यप्रति लक्षित भएको बताए।

मिखाइलो कुम्को पनि मेलिटोपोलमा पक्राउ परेका छन्

तस्बिर स्रोत, Ukrainian NUJ

तस्बिरको क्याप्शन, पत्रकार तथा सेवनिवृत्त प्रकाशल मिखाइलो कुम्को पनि मेलिटोपोलमा पक्राउ परेका छन्

युक्रेनमा अपहरणको अभिलेख राख्दै आएको संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी उच्च निकाय (यूएनओएचआर) का प्रवक्ताले बीबीसीलाई बताएअनुसार अपहरणकारीले "अधिकांश स्थानीय समुदायका प्रतिनिधिहरू, पत्रकारहरू र युक्रेनको समर्थनमा आवाज उठाइरहेका व्यक्तिहरूलाई" लक्षित गरेको छ।

तर उनीहरूले बन्धक बनाइएका व्यक्तिहरू "रुसी सुरक्षा अधिकारीले तयार पारेको लक्षितहरूको सूची"मा परेका मानिसहरू हुन् या होइनन् भनेर छुट्ट्याउन नसकिएको बताएका छन्।

फेब्रुअरीमा अमेरिकी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घलाई पत्राचार गर्दै युक्रेनमा जारी रुसी आक्रमणका क्रममा आक्रमण गर्न वा बन्धक बनाउन रुसी पक्षले युक्रेनीहरूको "सूची" बनाएको चेतावनी दिएका थिए।

केही स्रोतका अनुसार ज्यानुअरीमा रुसले युक्रेनी डिजिटल सेवा एप ह्याक गरेर लक्षित व्यक्तिहरूको पहिचान गरेको हुनसक्छ। यद्यपि युक्रेनको राष्ट्रिय सवारी बीमा दर्ता निकायको विवरण ह्याक गर्दा रोयल यूनाइटेड सर्भिसेज इन्स्टिट्यूट (आरयूएसआई) ले सुरक्षा निकायहरूलाई लक्षित व्यक्तिहरूको ठेगाना पहिचान गर्न सहज भएको अनुमान गरेको छ।

पछिल्ला साताहरूमा नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रका अधिकारीहरूलाई रुसी सेनाले हिरासतमा लिएको छ। दक्षिणी सहर मेलिटोपोलका नगरप्रमुख इभान फेडोरोभलाई यसै महिनाको आरम्भमा रुसी सेनाले अपहरण गरेको थियो। स्थानीय सञ्चारमाध्यमसँग आफ्नो पक्राउका बारेमा कुरा गर्दै फेडोरोभले आफूलाई राखिएको हिरासतमा अन्य मानिसहरूलाई पनि बन्दी बनाई यातना दिइएको आरोप लगाएका थिए।

"उनीहरूले मलाई शारीरिक रूपमा छोएनन्, तर मलाई विश्वास गर्नूस् उनीहरूको उद्देश्य प्रष्ट पार्न सात सशस्त्र व्यक्तिहरूको उपस्थिति पर्याप्त थियो," फेडोरोभले भने।

"छेउको कोठामा कसैलाई यातना दिइँदै थियो, त्यहाँबाट आइरहेको चित्कारले ममा मनोवैज्ञानिक दबाव सिर्जना गर्‍यो।"

"उनीहरूले पक्राउ परेकाहरूलाई विध्वंस मच्चाएको आरोप लगाए र उनीहरूको औँला ढोकामा च्यापिदिएर सैन्य संलग्नताबारे प्रश्न सोधे। तर उनीहरू त केबल स्थानीय बासिन्दा हुन्।"

मेयर इभान फेडोरोभ र राष्ट्रपति भोलोदिमिर जेलेन्स्की।

तस्बिर स्रोत, Ivan Fedorov

तस्बिरको क्याप्शन, मेयर इभान फेडोरोभ र राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

नगरपरिषद्का सचिव बेपत्ता रहेको उत्तरी सहर नोभा काखोभ्का लगायत अन्य धेरै सहरमा मानिसहरू अपहरणमा परेको बताइएको छ। त्यहाँ नगरपरिषद्का सचिव बेपत्ता भएका छन् भने बुचाको स्थानीय परिषद्ले रुसले छापा मारेपछि पक्राउ परेका छ जना मुक्त भएको बीबीसीलाई बताएको छ।

सांसदहरूलाई घरमा नबस्न आग्रह

युक्रेनी सांसद एलिओना शक्रुमले कब्जा गरेको क्षेत्रहरूमा रुसले सहयोगको अभाव र प्रतिरोधको सामना गरिरहेका कारण मानिसहरू पक्राउ पर्ने क्रम बढ्न सक्ने अनुमान गरेकी छन्।

"पुटिनलाई लाग्यो कि- यो क्राइमियामा जस्तै हुनेछ। आफू आएर प्रशासनिक भवनहरू लिने र नगरप्रमुखले 'सहकार्य गरौँ, म अब तपाईँको मेयर हुनेछु, यसले के फरक पार्छ र?' भन्लान् भन्ने उनीहरूको अनुमान थियो," उनले बीबीसीसँग भनिन्।

"तर यहाँ त्यस्तो भएन। कोही पनि रुसलाई समर्थन दलहरू पनि रुसी सैनिकहरूले चाहेको काम गर्न सहमत भएनन्।"

युक्रेनी प्रदर्शनकारीहरू

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, युक्रेनी प्रदर्शनकारीहरू

पश्चिमा राष्ट्रसँग निकट मानिने सांसद शक्रुमले बीबीसीलाई बताएअनुसार युक्रेनी सुरक्षा निकायहरूले उनलाई रुसले हत्या गर्न सक्ने मानिसहरूको सूचीमा उनी पनि समाविष्ट भएको हुनसक्ने चेतावनी दिएका थिए। उनका अनुसार उनलाई किएभस्थित घरमा नबस्न सुझाइएको थियो।

"उनीहरूसँग दुईवटा सूची हुनसक्छन्," उनले भनिन्।

एउटामा संसद्को सदस्य भएकाले मारिने व्यक्तिहरूको सूची जो रुससँग सहकार्य गर्न सक्दैनन् र अर्कोमा बन्धक बनाएर मस्कोमा पुर्‍याइने र कुनै विषयमा मतदान गर्न बाध्य पारिने व्यक्तिहरूको नाम रहेको उनको आकलन छ।

"ममाथि रुसमा पनि प्रतिबन्धहरू लगाइएको छ। त्यसैले म मारिने वा पक्राउ पर्ने सूचीमा छु," शक्रुमले भनिन्।

स्थानीयवासीमा पक्राउ परिने डर

अपहरण पर्नेमा सार्वजनिक व्यक्तित्वहरू मात्र छैनन्, सर्वसाधारण नागरिहरू र सशस्त्र बलका पूर्वसदस्यहरू पनि छन्।

युक्रेनी राजनीतिक विश्लेषक मातिया नेलेसका अनुसार युक्रेनी सेनाका भूतपूर्व चिकित्सक रहेका उनका काका जसले सन् २०१६ देखि २०१८ सम्म डनबासमा लडेका थिए, उनलाई पूर्वी सहर स्भातोभेमा रुसी सैनिकहरूले तारो बनाएको बीबीसीसँग बताए।

"रुसी सैनिकहरू घरमै आएर उनलाई खोजे," नेलेसले भने। "भाग्यवश उनी घरमा थिएनन् तर छिमेकीहरूले उनको खोजी भएको पुष्टि गरे।"

मान्छे पक्रिने शृङ्खलामा रुसी सेनाको कुन एकाइ सक्रिय छ भन्ने स्पष्ट नरहेको नेलेसले बताए।

तर उनका काकाको हकमा भने पक्राउ गर्नेहरूमा "रुसी सैनिक र केही अन्य सुरक्षा बलका सदस्यहरू थिए।" उनीहरू एफएसबी हुन् भन्ने अनुमान मात्र गर्न सकिन्थ्यो किनकि उनीहरूले पहिचान हुने कुनै सङ्केत नपहिरिएको उनले बताए।

उनलाई आगामी दिनहरूमा गिरफ्तारीको अभियान तीव्र हुने कुराको डर छ।

खेअर्सनजस्ता दक्षिणी क्षेत्रहरूमा अहिलेसम्म "गिरफ्तार हुनेको सङ्ख्या तुलनात्मक रूपमा कम देखिएको" र रुसी सेनाहरूले नियन्त्रणको प्रतिरोध गर्नेहरूलाई पहिचान गर्दै जाँदा केही सूचीहरू तयार पारेको हुनसक्ने बताए।

"यो दीर्घकालीन रूपमा अघि बढ्न सक्ने अभियानको आरम्भ मात्र हुनसक्ने डर स्थानीयवासीमा व्याप्त छ," उनले चेतावनी दिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी युद्धपोत ध्वस्त पारेको युक्रेनी जलसेनाको दाबी