युक्रेन युद्धः पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन

तस्बिर स्रोत, Rex Features
- Author, एलन लिटल
- Role, बीबीसी न्यूज
भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि विश्वको परिस्थिति फेरिएको छ। यो नयाँ तर अझ खतरायुक्त समय हो। बर्लिनको पर्खाल ढलेपछि आरम्भ भएको शीतयुद्धपछिको कालखण्ड अब समाप्त भएको छ।
ठूलो ऐतिहासिक प्रभाव भएको घटना भएको क्षणमा बाँच्नु र त्यसलाई सँगसँगै बुझ्नु दुर्लभ कुरा हो।
सन् १९८९ को नोभेम्बरमा म तात्कालिक चेकोस्लोभाकियाको राजधानी प्रागस्थित वेन्सेल्स स्क्वाएरमा उभिएर नयाँ संसारको जन्म हुँदै गरेको नियाल्दैथिएँ।
कम्युनिस्ट शासन भएको पूर्वी युरोपका जनता तानाशाहविरुद्ध उभिएका थिए, बर्लिनको पर्खाल ढालिएको थियो र विभाजित युरोप फेरि एक बनेको थियो।
प्रागमा सरकारसँग असन्तुष्ट नाटककार भक्लाभ हाभलले दोस्रो तत्लाको कौसीबाट ४,००,००० मानिस उपस्थित सभालाई सम्बोधन गरिरहेका थिए। त्यही साँझ कम्युनिस्ट सत्ता ढल्यो र केही हप्तामै हाभल नयाँ प्रजातान्त्रिक मुलुकको राष्ट्रपति बने।
मलाई त्यही बेला आफूले विश्वको सर्वाधिक महत्त्वपूर्ण बिन्दु देखेको अनुभूति भएको थियो - आफ्नै आँखाअगाडि विश्व पुनर्संरचना हुँदै गरेको त्यो एउटा दुर्लभ अवसर थियो त्यो।

तस्बिर स्रोत, Getty Images
फ्रान्सेली क्रान्तिपछि यो मेरो बुझाइमा यो छैटौँ ऐतिहासिक क्षण थियो। तर लोकप्रिय क्रान्तिहरूपछि बनेको त्यो विश्वसंरचना पुटिनले युक्रेनमा आक्रमणका लागि सेना पठाएसँगै अन्त्य भएको छ।
यसलाई विभिन्न राजनीतिज्ञहरूले ऐतिहासिक क्षणका विभिन्न नाम दिएका छन्।
खार्किभमा हालै रुसी बमबारीपछिको भग्नावशेषको बाटो हुँदै हिँडेका बीबीसीका अनुभवी युद्ध संवाददाता क्वेन्टिन समर्भिल भन्छन्: "यदि यी रणनीति तपाईँलाई नौलो लाग्छ भने तपाईँले ध्यान दिनुभएको छैन।"
सिरियामा रुसी रकेट आक्रमणमुनि लामो समय बिताएका उनले अवस्था नजिकबाट नियालेका छन्। तर प्रजातान्त्रिक सरकारहरूले पुटिनको सत्ताको शैलीबारे कति ध्यान पुर्याएका छन् त?
विगत चार वर्षयता यसबारे प्रमाणहरू जुट्दै गएका छन्।

तस्बिर स्रोत, Getty Images
टुक्रिएका क्षेत्रहरूलाई समर्थनका नाममा उनले जोर्जामा सेना पठाएको दुई दशकभन्दा बढी भएको छ। पछि उनले निर्वासित रुसीहरूको हत्याका लागि स्नायुप्रणालीमा असर गर्ने विषसहित ब्रिटेनका सहरहरूमा जासुसहरू पठाए। सन् २०१४ मा उनले पूर्वी युक्रेनमा आक्रमण गरे र क्राइमियालाई रुसमा गाभे।
यसका बाबजुद जर्मनीसहित युरोपेली सङ्घका धेरै देशहरूले रुसमा उत्पादित ग्यासमाथिको अस्वस्थ परनिर्भरता कायम राखेका छन्। क्राइमिया गाभेको एक वर्ष नबित्दै उनीहरूले आपूर्ति बढाउन 'नोर्ड स्ट्रीम-२' पाइपलाइन बनाउने सहमति जनाए।
जोन मेजर प्रधानमन्त्री बनेयता लन्डन रुसी सम्पत्ति थुपार्ने सुरक्षित थलो बनेको छ। रुसी धनाढ्यहरूले यो सहरमा अर्बौँ डलर थुपारेका छन्। उनीहरूले सानदार आवासगृहहरू खरिद गरेका छन्, सम्पत्ति शुद्धीकरण गरेका छन्, राजनीतिज्ञहरूसँग उठबस गरेका छन् र उनीहरूको निर्वाचन अभियानमा चन्दा दिएका छन्।
उनीहरूले अचानक आर्जन गरेको ठूलो धनको स्रोत के हो भनेर कमै मात्र प्रश्न गरिएको छ।
तसर्थ पश्चिमा देशहरूले आफ्नो पूर्वी सिमानामा बढ्दो खतराप्रति "कुनै ध्यान" दिएका छैनन्। । पुटिन पनि यसमा सन्तुष्ट देखिन्छन्।
पहिलो - उनले पश्चिमाहरू कमजोर हुँदै गएको ठानेका थिए। अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्पको निर्वाचन र ब्रेक्जिट उनको यो विश्वासमा थप प्रमाण बन्यो। पोल्यान्ड र हङ्गेरीमा तानाशाही शासकहरूको उदयले उदारवादी संस्थाहरू कमजोर बन्दै गएको थप सङ्केत दियो।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको घटना विश्वमञ्चबाट पश्चिमाहरूको शक्ति कमजोर हुँदै गएको अर्को प्रमाण थियो।

तस्बिर स्रोत, Getty Images
दोस्रो - उनले आफ्नो छिमेकमा भइरहेका घटनाक्रमहरूलाई सही अर्थमा बुझ्न सकेनन्। सोभियत सङ्घका पूर्वसदस्यहरू जोर्जा, युक्रेन र काजकस्तानमा भएका प्रजातान्त्रिक आन्दोलनहरू जनताको लोकप्रिय चाहना थियो भन्ने पुटिनले बुझ्न सकेनन्।
यी हरेक देशहरूमा भएका आन्दोलनहरू भ्रष्ट र मस्कोसँग नजिक ठानिएका सरकार हटाउनमा केन्द्रित थिए। उनले यसलाई अमेरिका र ब्रिटिश गुप्तचर निकायहरूको काम ठाने। आफ्नो ऐतिहासिक भूमिमा पश्चिमा प्रभाव ठाने।
तेस्रो चाहिँ उनले आफ्नो सशस्त्र फौजलाई चिन्न सकेनन्। उनले युक्रेनमाथिको "विशेष सैन्य कारबाही" केही दिनमै सकिने उनको आकलन रहेको अब स्पष्ट भएको छ। धेरै पश्चिमा सुरक्षाविज्ञहरू पनि रुसले युक्रेनमाथि सहजै जित हासिल गर्न नसकिरहेकोमा छक्क परेका छन्।
यो प्रसङ्गले मलाई चाहिँ तात्कालिक युगोस्लाभिया युद्ध सम्झाउँछ।
सन् १९९२ मा सर्बियाका राष्ट्रवादीहरूले नवगठित बोस्निया राज्यलाई दमन गर्न युद्ध सुरु गरे। उनीहरूले बोस्निया राज्य गठनको कुनै ऐतिहासिक आधार नभएको र यो सर्बियाकै एक भाग रहेको तर्क गरे। युक्रेनबारे पुटिनको बुझाइ पनि ठ्याक्कै यही छ।
अहिले रुसजस्तै सर्बियाली सेना अस्त्रशस्त्रमा धेरै बलियो थियो। तर सर्बियालाई समर्थन नगर्ने स्थानीयवासीहरूको प्रतिरोधका कारण उनीहरू अघि बढ्न सकेनन्। मैदानबाट लडाइँ नगरी बोस्निया कब्जा जमाउने आकलन गरेको सर्बियाली सेनाले सहरहरू नियन्त्रणमा लिन सकेन।
मलाई स्मरण छ टेनिस खेल्दा लगाइने जुत्ता लगाएका बोस्नियाली रक्षकहरू तीन जनामध्ये एक जनासँग मात्रै एके४७ थियो। तर उनीहरूले चार वर्षसम्म राजधानी जोगाए। अहिले युक्रेनी स्वयंसेवकहरूले किएभलाई त्यसैगरी बचाइरहेका छन्।
अहिले मारिओपोलमा रुसले पानी र बिजुलीको आपूर्ति बिगारिदिए जस्तै सर्बियाली सेनाले बोस्नियाका सहरहरूमा पानी र ग्यासको आपूर्ति बन्द गरेर बमबारी गरेको थियो।
कुनै सहरमा पानी मात्र भएन भने शौचालय नै जनस्वास्थ्यका लागि ठूलो खतरा बन्छ। बिजुलीको आपूर्ति बन्द हुँदा खाद्यान्नको अभाव चर्किन्छ। अहिले रुसले मारिओपोल, खार्किभ र किएभमा त्यसै गर्न खोजेको हो? उनीहरूलाई तड्पाएर आत्मसमर्पण गराउन खोजेको हो?

तस्बिर स्रोत, Getty Images
करिब चार वर्षको क्रूरताले बोस्नियाका नागरिकहरूलाई प्रतिकार र सङ्घर्ष सिकायो। युक्रेनले जसरी लडिरहेको छ त्यो हेर्दा उनले पनि यस्तै प्रतिकार जारी राख्ने देखिन्छ। युक्रेनका रुसीभाषीहरूले यो आक्रमणबाट आफू उन्मुक्त रहेको अनुभूति गर्न सकेका छैनन्। उनीहरू पनि युक्रेनलाई सार्वभौम देश ठान्छन्। बरु यो आक्रमणले युक्रेनीहरूबीच एकता बढाएको छ।
जति बेला सोभियत सङ्घको उपनिवेशबाट अलग भएर पूर्वी युरोपमा ससाना देशहरू सार्वभौम भए उनीहरूले रुस र नेटोको मध्यवर्तीको रूपमा काम गर्ने तेस्रो सुरक्षा गठबन्धन बनाउनेबारे नसोचेका पनि होइनन्। सन् १९९० को दशकमा रुस कमजोर थियो। तर ऊ सधैँ कमजोर रहँदैन भन्ने यी देशका शासकहरूले बुझेका थिए। उनीहरूले नेटोको सदस्यता लिन चाहे।
नेटोलाई रुसका छिमेकी देशहरूसम्म विस्तार गर्ने अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको तयारीपछि उनीसँग निकट सम्बन्ध भएका तात्कालिक रुसी राष्ट्रपति बोरिस येल्त्सिन क्रूद्ध भए। यसले पश्चिमा देशहरूले आफ्नो प्रभाव पूर्वमा कति टाढासम्म फैलाउँदैछन् भन्ने बहस पनि निम्त्यायो।
त्यस बेला बीबीसीले मलाई पश्चिमा संसारको पूर्वी सीमा कहाँसम्म फैलिएको छ भन्ने प्रश्नको उत्तर खोज्न पोल्यान्ड, बेलारुस र युक्रेनको सडकयात्रामा पठाएको थियो।
म बेलारुसको एउटा सिकारका लागि प्रख्यात लजमा गएँ जहाँ रुसी सङ्घका राष्ट्रपति येल्त्सिनले युक्रेन र बेलारुसका समकक्षीसँग भेटेका थिए। उनीहरूले एक अर्काको देशको स्वतन्त्र हैसियत स्वीकार गर्ने सहमति गरे पनि सोभियत नेता गोर्भाचोभलाई त्यहीँबाट टेलिफोन गरेर उनी प्रमुख रहेको सोभियत सङ्घ विघटन भएको जानकारी गराएका थिए।

तस्बिर स्रोत, Getty Images
यो अवसर र खतरा दुवैको सँघार थियो। बेलारुस र युक्रेनका लागि मस्कोको शासनबाट स्वतन्त्र भएर रहने अवसर थियो। रुसका लागि पनि त्यो औपनिवेशिक शक्तिबाट मुक्त हुने अवसर थियो। यूके र फ्रान्सले दोस्रो विश्वयुद्धपछि उपनिवेश अन्त्य गरिसकेका थिए।
रुसले पनि पश्चिमा शैलीको शासन र अर्थतन्त्र अपनाउने कोसिस गर्यो तर त्यो भद्रगोल भयो। केही सीमित व्यक्तिहरूले मात्रै धन थुपारे। रुस कमजोर भयो। उसको मुद्रामा निकै कमजोर भयो। म पनि डलर र यूरो साट्न लाइन लागेका त्यहाँका मानिसहरूसँगै लाइन बसेको छु। मसँगै लाइन लागेका एक अधबैँसे जोडीले ब्याङ्कमा विदेशी मुद्रा सकिएका कारण साट्न पाइनन्।
उनीहरूले स्टालिनले सुरु गरेको औद्योगिक विकास येल्त्सिनले उल्टाएको आरोप लगाए।
अमेरिकाका पूर्वविदेश सल्लाहकार जबिग्निय बजिजिन्स्कीले "रुस कि प्रजातन्त्र हुन्छ कि साम्राज्य हुन्छ, दुवै एकसाथ हुन सक्दैन" भनेका थिए। रुसको राष्ट्रिय प्रतीकमा दुईवटा टाउको भएको चील भएजस्तै रुस दुवै किसिमको शासन भएको देश थियो।
प्रजातन्त्र भएका पश्चिमा देशहरूका सीमामा रहेको सेन्ट पिटर्सबर्ग खुला थियो। तर रुसी क्रान्तिपछि बोल्सेभिकले राजधानी मस्कोस्थित अग्ला पर्खालहरूले घेरिएको क्रेम्लिनमा सारे। यसलाई कतिपयले रक्षात्मक, शङ्कायुक्त वा डरका कारण भन्ने अर्थ लगाए।

तस्बिर स्रोत, Getty Images
म सन् १९९० को दशकमा बीबीसीको मस्को संवाददाता हुँदा एक चालकलाई चिन्थेँ। उनी मस्कोको नजिकैसम्म जर्मन सैनिकहरू आएको स्मरण सुनाउँथे। त्यसअघि नेपोलियनका सेना अघि भित्रसम्म पुगेका थिए। उनीहरू पोल्यान्डलाई विदेश मान्दैनथे। चेक गणतन्त्रसम्मलाई आफ्नै देश ठान्थे।
युक्रेनबाहेक त्यस क्षेत्रका धेरै देशहरूको नाम रुसी शब्दमा राखिएको छ। पुटिन आफैँले पनि यी देशहरूलाई छिमेकी देश ठानेनन्। बरु रुसकै क्षेत्र ठाने। अनि तिनलाई रुसमा समाहित गराउन चाहे।
तर अहिले उनलाई धेरै कुराहरूले सचेत गराइरहेको हुनसक्छ।
पहिलो उनकै सशस्त्र फौज, दोस्रो युक्रेनीहरूले देखाएको प्रतिरक्षा। के पुटिनले युक्रेनका रुसीभाषीहरूले रुसी सेनालाई स्वागत गर्छन् भन्ठानेका थिए? के उनले सन् २०१४ मा भएको रुसलाई समर्थन गर्ने सरकार विस्थापित गर्ने आन्दोलनलाई पश्चिमा षड्यन्त्र भन्ठानेका थिए?
यदि उनले त्यो ठानेका थिए भने उनलाई आफ्नो नजिकैको विदेशबारे कति कम जानकारी रहेछ भन्ने छर्लङ्ग हुन्छ। तर उनको सबैभन्दा ठूलो गलत आकलन पश्चिमा देशहरूलाई कम ठान्नु पनि हो।

तस्बिर स्रोत, Getty Images
धेरै प्रजातान्त्रिक देशहरू जस्तै जर्मनीले पनि रुससँगको ग्यासमा परनिर्भरता कम गर्ने कदम चालिसकेको छ। नोर्ड स्ट्रीम-२ पाइपलाइन निलम्बित गरिएको छ। यद्यपि यो खारेज भएको छैन। हामी रुसलाई अलग गरेर वैश्विक ऊर्जा वितरणको नयाँ नक्सा तयार हुँदै गरेको देख्न सक्छौँ।
वैश्विक अर्थतन्त्रमा धेरै हदसम्म समायोजित रुसलाई अब विश्वव्यापी भुक्तानीको प्रणालीबाट अलग गरिएको छ। उसका तेल र ग्यास उद्योगहरू आयात गरिएका सामानमा निर्भर छन्। यसपछि रुसको उत्पादनमा असर पुग्ने र ठप्प हुने भएको छ। उत्पादन बन्द हुँदा रोजगारी कटौती हुनुका साथै बेरोजगारी पनि बढ्छ।
पश्चिमा देशहरूले रुसको केन्द्रीय ब्याङ्कलाई प्रतिबन्ध लगाए पनि रुसको मुद्रा रुबलमा ठूलो गिरावट आएको छ। यसले अब वैश्विक अर्थतन्त्रलाई पुनः शीतयुद्धतर्फ फर्काउने देखिएको छ।
अमेरिका र युरोपेली सङ्घले विश्वलाई विभाजित गरेका छन्। रुससँग व्यापार गर्ने कम्पनीहरूलाई कारबाही गरिने भनिएको छ। धनी देशसँगको व्यापारमा पनि रोक लगाउने भनिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Getty Images
यसले रुसलाई बाँकी विश्वसँग छुट्ट्याउँछ। अब धेरै कुरा यो परिस्थितिलाई चीनले कसरी व्यवस्थापन गर्छ भन्नेमा निर्भर देखिन्छ। चीन र रुस दुवै अमेरिकी शक्तिविरुद्ध समान धारणा राख्ने देश हुन्। उनीहरू एक ठाउँमा उभिने प्रजातान्त्रिक देशहरूसँग सधैँ खतरा महसुस गर्छन्।
चीन पुटिन कमजोर होऊन् र पश्चिमा शक्ति थप शक्तिशाली होस् भन्ने चाहँदैन। तर युक्रेन युद्धले यही भइरहेको छ।
यही मौकामा चीन विश्वको सञ्चित मुद्रामा डलरको हालीमुहाली कम गर्न र आफ्नो मुद्रा युआनलाई पनि सञ्चित मुद्राको रूपमा विस्तार गर्न चाहन्छ र त्यसका लागि उसले आफ्नो छुट्टै क्षेत्र बनाउन चाहन्छ।
त्यसो भयो भने भविष्यमा अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाए पनि उसको अर्थतन्त्रमा कम असर पुग्छ।

तस्बिर स्रोत, Getty Images
पुटिनले सुरु गरेको युद्धले विश्वको अर्थतन्त्रको चित्र पनि फेरिदिन सक्छ।
मेरो पुस्ता परमाणुअस्त्रका कारण उत्पन्न अस्तित्वको त्रासबीच हुर्कियो।
यो युद्धले फेरि त्यो त्रासलाई फेरि फर्काइदिएको छ। पुटिनले रुसको परमाणुअस्त्रको धम्की दिएका छन्।
यसले सन् १९६२को क्युबाको आणविक सङ्कट स्मरण गराएको छ।
यो देशको टापुमा आक्रमणका लागि अमेरिकाले समुद्रमा जहाजहरूको लस्कर तैनाथ गरेपछि त्यस बेला आफ्नो मित्रराष्ट्र रहेको क्युबालाई सोभियत सङ्घले परमाणुअस्त्र पठाएको थियो।

तस्बिर स्रोत, Getty Images
त्यस बेला अमेरिकालाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र रुससँग भएको थाहै थिएन। रुसले भने रणभूमिमा खटिएका कमान्डरहरूलाई आफैँ निर्णय लिएर प्रयोग गर्न सक्ने आदेशसहित त्यस्ता अस्त्र पठाएको थियो।
यदि अमेरिकाले आक्रमण अघि बढाएको भए त्यसले परमाणुयुद्ध निम्त्याउने निश्चित थियो।
अमेरिकाले रुससँग भएका त्यस्ता अस्त्र भएको कुरा धेरै पछि मात्रै थाहा पाएको थियो।
त्यस बेला मात्रै उसले विश्व ठूलो दुर्घटनाबाट कसरी जोगिएको थियो भन्ने महसुस गरेको थियो।
अमेरिकी अधिकारीहरूले त्यस बेला निपूण कूटनीतिभन्दा पनि भाग्यले विश्वमा दुर्घटना टरेको टिप्पणी गरेका थिए।
अहिले स्मृतिबारे हराउँदै गरेको अनुभव फेरि मनन गर्नु आवश्यक देखिन्छ।













