युक्रेन-रुस युद्ध: के भ्लादिमिर पुटिनले परमाणुअस्त्र चलाउलान्?

पुटिन

तस्बिर स्रोत, Reuters

    • Author, स्टीभ रोजेनबर्ग
    • Role, बीबीसी न्यूज, मस्को

एउटा स्वीकारोक्तिबाट सुरु गरौँ। धेरै पटक मैले सोचेको थिएँ: "पुटिनले यस्तो कहिल्यै गर्दैनन्।" तर उनले त्यसै गरे।

"उनले कहिल्यै क्राइमियालाई गाभ्दैनन्।" उनले गाभे।

"उनले कहिल्यै डोन्बासमा युद्ध सुरु गर्दैनन्।" उनले गरे।

"उनले कहिल्यै युक्रेनभरि आक्रमण गर्दैनन्।" उनले गरेका छन्।

त्यसैले मैले निष्कर्ष निकालेँ कि "सायद कहिल्यै गर्दैनन्" भन्ने शब्दावली भ्लादिमिर पुटिनका लागि लागु हुँदैन।

"उनले कहिल्यै परमाणुअस्त्र पहिले चलाउँदैनन्। चलाउलान् त?"

यो सैद्धान्तिक प्रश्न हो। रुसका राष्ट्रपतिले नेटो नेताहरूको युक्रेनबारे 'आक्रामक अभिव्यक्ति' दिएको भन्दै आफ्नो सेनाको परमाणुअस्त्र एकाइलाई उच्च सतर्कतामा राखेका छन्।

पुटिन

तस्बिर स्रोत, Reuters

पुटिनका अभिव्यक्तिहरूलाई ध्यान दिएर सुन्नुहोस्। गत बिहीवार उनले टीभीमा युक्रेनमाथि विशेष सैन्य कारबाही (वास्तवमा पूर्ण आक्रमण) घोषणा गर्दा उनले एउटा डरलाग्दो चेतावनी दिएका थिए।

"यसलाई बाहिरी हस्तक्षेप ठान्ने जोकोहीलाई - यदि त्यस्तो ठानेमा त्यसको परिणाम इतिहासमा अहिलेसम्म देखिएको परिणामभन्दा ठूलो हुनेछ।"

"पुटिनको शब्द परमाणुयुद्धको धम्कीजस्तो सुनिन्छ," नोबेल शान्ति पुरस्कार विजेता तथा नोभाया गजेटा पत्रिकाका प्रधानसम्पादक दिमित्री मुरातोभ भन्छन्।

"त्यो टीभी सम्बोधनमा पुटिन क्रेम्लिनको सञ्चालक नभएर पूरै पृथ्वीको सञ्चालकले जसरी बोले। जसरी विलासी कारका मालिकले कारको साँचो औँलामा घुमाएर देखाउँछन्, पुटिनले परमाणुअस्त्रको साँचो घुमाएर देखाए। उनले धेरै पटक भने: यदि रुस रहँदैन भने पृथ्वी किन चाहियो? कसैले ध्यान दिएन।"

"तर त्यो एउटा धम्की थियो कि रुसलाई उनले चाहे जस्तो तरिकाले व्यवहार गरिएन भने सबै कुरा समाप्त हुनेछ।"

पुटिन

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES

तस्बिरको क्याप्शन, सन् २००५ मा क्षेप्यास्त्र प्रक्षेपण भएको हेर्दै पुटिन

सन् २०१८ को एउटा वृत्तचित्रमा राष्ट्रपति पुटिनले भनेका थिएः "…कसैले रुसलाई नष्ट गर्ने सोचेमा हामीसँग प्रतिकार गर्ने कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ। तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसबिनाको विश्व किन चाहियो?"

अब सन् २०२२ मा आउनुहोस्।

पुटिनले युक्रेनसँग युद्ध सुरु गरेका छन् तर युक्रेनी सेनाले बलियो प्रतिकार गरेको छ। पश्चिमा राष्ट्रहरूले क्रेम्लिन चकित पर्नेगरी एकताबद्ध भई मस्कोविरुद्ध आर्थिक नाकाबन्दी गरेका छन्। यसबाट पुटिन नेतृत्वको प्रणालीको अस्तित्वबारे नै शङ्का उत्पन्न भएको हुनसक्छ।

"पुटिन कुनामा पुगेका छन्," मस्कोस्थित रक्षाविज्ञ पाभेल फेल्गेन्हर भन्छन्।

"उनीसँग धेरै विकल्प छैनन्। एक पटक पश्चिमा विश्वले रुसी केन्द्रीय ब्याङ्कको सम्पत्ति रोक्का गरेपछि र रुसको आर्थिक अवस्था झरेपछि उनको प्रणालीले काम गर्दैन।"

"एउटा विकल्प युरोप पछाडि हट्ने आशामा ग्यास निर्यात बन्द गर्ने हुन्छ। अर्को विकल्प ब्रिटेन र डेन्मार्कबीच रहेको समुद्रमा परमाणुअस्त्र पड्काउने र के हुन्छ हेर्ने हुन्छ।"

पुटिन

तस्बिर स्रोत, Reuters

यदि पुटिनले परमाणुअस्त्र प्रयोग गर्ने विकल्प रोजे भने के उनलाई निकटस्थ कुनै व्यक्तिले रोक्न प्रयास गर्न सक्छ?

"रुसको राजनीतिक वृत्त कहिल्यै नागरिकसँग छैन," मुरातोभ भन्छन्। "उनीहरुले जहिल्यै शासकको पक्ष लिन्छन्।"

अनि पुटिनको रुसमा शासक सबैभन्दा शक्तिशाली छन्। यो देशमा जबाफदेही विरलै देखिन्छ। त्यहाँ क्रेम्लिनले जे भन्यो त्यही हुन्छ।

"कोही पुटिनविरुद्ध उभिन तयार छैन," फेल्गेन्हर भन्छन्। "हामी खतरनाक स्थानमा छौँ।"

युक्रेन युद्ध पुटिनको युद्ध हो।

यदि उनी आफ्नो अभिलाषामा सफल भए भने स्वतन्त्र राज्यको रूपमा युक्रेनको भविष्य सङ्कटमा पर्छ। यदि उनी असफल हुँदै गए र ठूलो क्षति बेहोर्ने अवस्थामा पुगे भने क्रेम्लिनले हताश उपाय अपनाउने अवस्था बन्छ।

विशेषगरी जब 'सायद यस्तो गर्दैनन्' भन्ने मान्यता लागु हुँदैन।

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म यहीँ छु': युक्रेनको राष्ट्रपतिको भाइरल भिडिओ
Presentational grey line