युक्रेन-रुस युद्धः रुसी फौजद्वारा 'लगभग सबै दिशाबाट हमला'

युक्रेन

तस्बिर स्रोत, Reuters

रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ।

लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार "कठिन समय" भएको फेजबुक पेजमा लेखेका छन्।

उनका अनुसार रुसी फौजले "लगभग सबै दिशाबाट हमला जारी राखेको" छ।

रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन्।

युरोपेली सङ्घको प्रतिबन्ध

बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ।

यद्यपि यसको पुष्टि हुन सकेको छैन।

युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ।

ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ।

शरणार्थी

तस्बिर स्रोत, Getty Images

ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्।

युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्।

रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ।

त्यो सङ्ख्या बिस्तारै दशौँ लाख पुग्नसक्ने ईयूको अनुमान रहेको छ।

अमेरिकी निन्दा

यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रुसी कदमको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ।

रुसी राष्ट्रपतिले गरेको घोषणा "अनावश्यक" भएको भन्दै अमेरिकी अधिकारीहरूले त्यो "उक्सासहटपूर्ण कदमले खतरनाक गल्तीहरू निम्त्याउन सक्ने" बताएका छन्।

रुसी कदमपछि आणविक अस्त्रसम्बन्धी आफ्नो नीतिमा परिवर्तन आएको बारेमा बोल्न भने अमेरिकाले अस्वीकार गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म यहीँ छु': युक्रेनको राष्ट्रपतिको भाइरल भिडिओ

उत्तर एट्लान्टिक सन्धि सङ्गठनका उच्च अधिकारीहरूको रुसविरोधी आक्रामक वक्तव्यपछि पछिल्लो कदम चाल्न आफू बाध्य भएको पुटिनले दाबी गरेका छन्।