युक्रेनमाथि आक्रमण

युक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू

आक्रमणको निसानामा राजधानी

अल्योना काचेन्को र उनको परिवार शुक्रवार बिहान विस्फोटको आवाजले बिउँझियो। युक्रेनको राजधानी किएभमा रहेको उनीहरूको घरनजिकै क्षेप्यास्त्रहरू खसिरहेका थिए।

"नजिकैको घरमा आगो लाग्यो र त्यहाँ थुप्रै मानिस परे," उनले रोयटर्सलाई भनिन्।

हवाई आक्रमणबारे जानकारी दिने साइरन बन्द भएपछि ३६ वर्षीया उनले आफ्ना सन्तान र बाबुआमासहित सुरक्षित स्थानको खोजीमा नीपर नदी पार गरिन्।

रुसी सेनाले उत्तर र पूर्वबाट आक्रमण गरेपछि किएभमा निरन्तर हवाई आक्रमण भएका छन्।

आवासीय भवनका झ्याल फुटेका छन् र सडकमा खल्डोहरू परेका छन्। राजधानीभरि क्षतिग्रस्त भवन र सैन्य सामग्री देख्न सकिन्छ।

आफ्नो अपार्टमेन्टको क्षतिग्रस्त कौसी नियालिरहेका एनाटोली मार्चेन्कोले रुसी भाषा बोल्न लाज लागेको बताए। ५७ वर्षीय उनले कुनै बेला रुसी सेनामा सेवा गरेका थिए।

"म त्यहाँका मान्छे चिन्छु, उनीहरू मेरा साथी हुन्," उनले भने। "उनीहरू मबाट के चाहन्छन्? मेरो घरमा युद्ध आइपुगेको छ। कुरो यत्ति हो।"

सहरवासीहरू भूमिगत रेल स्टेशनमा शरण लिइरहेका छन् भने कतिपय मानिसले हतियार बोकेर रुसी सेनाविरुद्ध उभिने निर्णय गरेका छन्।

युक्रेनी निकायले नागरिकलाई सेनामा भर्ती हुन र घरेलु बम बनाउन भनेको छ। झन्डै १८,००० आधुनिक बन्दुक नागरिकलाई बाँडिएको छ।

तर बिहीवार आक्रमण सुरु भएयता हजारौँ नागरिक सहर छोडेर हिँडेका छन्।

आफ्नो आमा र दुई साना छोरीसँग स्लोभाकिया आइपुगेकी ३६ वर्षीया इरिनाले आफ्नो पतिलाई 'सरकारलाई सहयोग गर्न' किएभमै छोडेर आएको बताइन्।

"हामी युक्रेनका लागि प्रार्थना गर्छौँ र आशा गर्छौँ कि सबै ठिक हुन्छ," उनले रोयटर्सलाई बताइन्।

रुसीहरू अगाडि बढिरहँदा थुप्रै सहरहरू निसानामा परेका छन् र थुप्रै मारिएका पनि छन्।

रुसी सेना युक्रेनको उत्तरी, पूर्वी र दक्षिणी नाकाबाट भित्र छिरेका थिए।

ओलेना कुरिलो पूर्वको चुहिव सहरमा घाइते भएका २० जनामध्ये एक जना हुन्।

“मलाई यस्तो हुन्छ भन्ने कहिल्यै लागेको थिएन,” टाउकोमा पट्टी बाँधेकी ५२ वर्षीया शिक्षिकाले भनिन्।

अन्य सहरमा मानिसहरू रेलको डिब्बाभित्र शरण लिइरहेका छन्।

तर ठूलो सङ्ख्यामा नागरिकहरू सुरक्षित स्थलतर्फ यात्रा गरिरहेका छन्।

दशौँ हजार नागरिकहरू घर छोडेर हिँडिसकेका छन् भने संयुक्त राष्ट्रसड्घीय शरणार्थी निकायले अवस्था खराब हुँदै गए ४० लाख मानिसले देश छोड्ने प्रयास गर्ने बताएको छ।

छिमेकी पोल्यान्डको सीमामा बालबच्चासहित दर्जनौँ मानिसहरू रेल स्टेशनमा शरण लिइरहेका छन्।

"म किएभबाट आएकी हुँ। मेरो घरनजिकै विस्फोटको आवाज सुनेपछि मैले हतारहतार समान बटुलेँ। मसँग भए जति सबै बोकेँ," शिक्षिका ओल्हाले एएफपीलाई भनिन्।

"मलाई यहाँ सुरक्षित महसुस भएको छ तर म आफन्त र साथीभाइलाई सहयोग गर्न सक्दिनँ। तीमध्ये धेरै जोखिममा छन् र तुरुन्तै निस्कन सक्दैनन्।”

“सक्ने जति भागेका छन्," हङ्गेरी आइपुगेका क्रिस्टियन साभ्लाले भने।

"म पूर्वी युक्रेनमा साइरन र रुसी बम विस्फोटको आवाज सुनिरहेका मानिसहरूको पीडा बयान गर्न चाहन्नँ," उनले भने।

सडकमा निस्किएका मानिसहरू

रुस र अन्यत्र मानिसहरूले रुसी आक्रमणको विरोध गरिरहेका छन्।

रुसले बिहीवार १,८०० जना विरोधीलाई नियन्त्रणमा लिएको छ भने ५० भन्दा बढी सहरमा भएको प्रदर्शन दमन गरेको छ।

युक्रेनमा एक महिलाले सशस्त्र रुसी सैनिकसँग आमुन्नेसामुन्ने हुँदै विरोध प्रदर्शन गरिन्।

शुक्रवार दिउँसो महिला र बालबालिकाहरू युक्रेनको पश्चिमी सीमाबाट बाहिरिने प्रयास गरिरहेका थिए।

सैनिक सेवामा रहने उमेरका पुरुषहरूलाई देश नछोड्न र रुसको सामना गर्न भनिएको छ।


तस्बिरहरू: Getty Images, Reuters र EPA

सन् २०२२ फेब्रुअरीमा प्रकाशित