एनोनिमसः रुसले युक्रेनमा आक्रमण गरेपछि क्रेम्लिनविरुद्ध 'साइबर युद्ध', ह्याकरहरूको समूह भन्छ 'आक्रमण अझ बढाउँछौँ'

तस्बिर स्रोत, Anonymous
द एनोनिमस ह्याक्टिभिस्ट समूहले रुसमाथि निरन्तर साइबर आक्रमण गर्दै युक्रेनमा रुसले गरेको आक्रमण र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध 'साइबर युद्ध' थालेको जनाएको छ। उक्त समूहसँग आबद्ध कैयौँ ह्याकरले बीबीसीका साइबर संवाददाता जो टाइडीसँग आफ्नो उद्देश्य, रणनीति र समन्वयबारे कुरा गरेका छन्।
युक्रेन द्वन्द्व सुरु भएयता गरिएका साइबर हमलामध्ये रुसी टेलिभिजन नेटवर्कमाथि अज्ञात समूहले गरेको एउटा ह्याकिङ भाइरल बनेको थियो।
बैठक कक्षमा बसिरहेका कुनै व्यक्तले खिचेको एउटा सानो क्लिपमा रुसी केबल टेलिभिजनका प्रसारण अवरोध भएको र त्यसको सट्टा युक्रेनमा बम विस्फोटन भइरहेका र बन्धक बनाइएका रुसी सैनिकहरूले युद्धको त्रासदीको बारेमा चर्चा गरिरहेको दृश्य देखाइएको थियो।
एउटा पोस्टमा लेखिएको छ, "ह्याकरहरूको समूह #एनोनिमस ले रुसी स्ट्रीमिङ सेवाहरू विङ्क र आइभीआई (नेटफ्लिक्सजस्तै) र प्रत्यक्ष प्रसारण भइरहेका टेलिभिजन च्यानलहरू रसिया२४, च्यानल वन, मस्को२४ मा युक्रेनबाट खिचिएको युद्धको दृश्य ह्याक गरेर प्रसारण गरेको छ।"
तुरुन्तै उक्त भिडिओ दशौँ लाख पटक हेरिएको थियो। उक्त समूहले रुसी वेबसाइटलाई हटाउने, संवेदनशील सरकारी सूचनाको चोरी गर्ने सहित कैयौँ हमला गरेको जनाएको छ।
टेलिभिजनमा गरिएको उक्त ह्याकिङप्रति युक्रेन समर्थक समूहहरूले खुसी व्यक्त गरेका थिए।
उक्त ठूलो एनोनिमस ट्विटर खातालाई पनि ह्याकिङमा संलग्न व्यक्तिहरूबारे जानकारी नभएकोमा मलाई आश्चर्य लागेको थियो। उनीहरूले उक्त घटना भएको पुष्टि समेत गर्न सकेनन्।

उनीहरूले मलाई आफूहरूले सूचना र साइबर दुवै युद्ध लडिरहेकाले उक्त भिडिओलाई पोस्ट गरिदिएको बताए।
पछि मात्रै मैले एउटा सानो ह्याकरको समूह पत्ता लगाएँ जसले आफूहरूले टीभी ह्याक गरेको बताए। पछि अर्को समूहले आफूहरूले रुसी च्यानलहरूलाई युक्रेनको राष्ट्रिय गान बजाउन बाध्य पारेका थिए।
अशुद्ध अङ्ग्रेजीमा एउटा समूहले भनेको छ, "हामीले क्रेम्लिनविरुद्ध साइबर युद्ध घोषणा गरेकाले क्रेम्लिनको प्रोपगान्डा च्यानलहरूविरुद्ध दुईवटा साइबर हमला गरिएको छ जसले वास्तविक प्रसारणलाई अवरुद्ध तुल्यायो। हामीले युक्रेनको पछिल्लो अवस्थाको तस्बिर र भिडिओ प्रसारण गरेका छौँ।"
एनोनिमस समूह के हो?
- ह्याक्टिभिस्ट कलेक्टिभ सबैभन्दा सुरुमा २००३ मा फोरचान वेबसाइट देखा परेको थियो
- उक्त समूहमा को छ र कसले नेतृत्व गर्छ भन्ने थाहा छैन। उसको नारामा 'हामी ठूलो सैन्य समूह हौँ' भन्ने लेखिएको छ
- जसले पनि आफू उक्त समूहमा सदस्य भएको दाबी गर्न सक्छ र आफूले चाहेको कुनै पनि कारणका लागि ह्याक गर्न सक्छ। तर साधारणतया उनीहरूले आफूले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाउने गरेकाहरूलाई निसाना बनाउँछन्
- उनीहरूको सङ्केतचिह्न 'गाई फोक्स मास्क' हो। त्यो मास्क एलन मूरको ग्राफिक्स उपन्यास भी फर भेन्डेटाका लागि बनाइएको हो जसमा एकजना अराजक क्रान्तिकारीले भ्रष्ट फासीवादी सरकार ढाल्छ
- उक्त समूह कैयौँ सामाजिक समूहमा छ र उसको ट्विटर पेजमा मात्रै डेढ करोडभन्दा बढी फलोअर छन्
ह्याकरहरूले उनीहरूको समूहले 'प्रसारण सङ्केत हस्तक्षेप' गर्ने एउटा विधिको प्रयोग गर्दै करिब १२ मिनेटसम्म प्रसारणलाई आफ्नो नियन्त्रणमा राखेको बताएका छन्। त्यसबाहेक दोस्रो पटक उनीहरूले रुसी टेलिभिजनहरूलाई युक्रेनी राष्ट्रिय गान बजाउन बाध्य पारेका थिए।
सो समूहले पहिलो पटक भाइरल भएको भिडिओको मूल स्रोत अमेरिकामा बस्ने एक महिला एलिजा भएको जानकारी दिएको छ। उनका पिता रुसी हुन्।
एलिजा भन्छिन्, "मेरो बुवाले एपल टीभीमार्फत् रुसी प्रसारण हेरिरहनुभएको थियो र उहाँले त्यो स्ट्रीममा युक्रेनको लडाइँको दृश्य देख्नुभयो। उहाँले मलाई मलाई फोन गर्नुभयो र भन्नुभयो - उनीहरूले वास्तविकता देखाइरहेका छन्।"
"मैले उहाँलाई त्यो रेकर्ड गर्न भनेँ र उक्त क्लिपलाई अनलाइनमा राखिदिएँ। उहाँले मलाई आफ्ना एक साथीले पनि त्यसो भइरहेको देखेको बताउनुभयो।"
मैले कुरा गरेका एनोनिमसका एक सञ्चालकले ह्याक भएको प्रमाणस्वरूप रुसी नागरिकले खिचेका दुईवटा अन्य भिडिओहरू पनि उपलब्ध गराए।

तस्बिर स्रोत, Youtube/Anonymous
ती ह्याकरहरूलाई त्यो गम्भीर खालको साइबर अपराध भएकोबारे मैले जिज्ञासा राखेँ। उनीहरूले त्यसमा सहमत थिए। तर "निर्दोष युक्रेनीहरूको नरसंहार भइरहेकाले" त्यसो गरिएको उनीहरूको स्पष्टीकरण थियो।
"युक्रेनमा शान्ति स्थापना गर्न केही गरिएन भने हामी क्रेम्लिनमाथिको आक्रमणलाई अझै तीव्र बनाउँछौँ।"
ह्याक भएका सेवाहरू सञ्चालन गर्ने रुसी कम्पनी रोस्टेलिकमले प्रतिक्रियाका लागि गरिएको अनुरोधको उत्तर दिएन।
रुसमाथि गरिएका ह्याकहरूमध्ये धेरै 'एकदमै सामान्य' खालका रहेको साइबर सुरक्षा कम्पनी रेड गोटकी साझेदार लिसा फोर्टले बताइन्।

"युक्रेनको पक्ष र विपक्ष दुवैतर्फमा उभिएका ह्याकरहरूले अधिकांश अवस्थामा डीडीओएस आक्रमण गर्ने गरेका छन्। यसो गर्दा सर्भरमा धेरै अनुरोधहरू गरिन्छन्। यी सामान्य आक्रमण हुन् र यिनले अस्थायी रूपमा वेबसाइटलाई अफलाइन लैजान्छन्। तर टीभी ह्याकिङ अभूतपूर्व रूपमा सिर्जनशील काम हो र रुसको टीभी नेटवर्कको सुरक्षा उदाहरणका लागि यूकेको जस्तो हुँदो हो त त्यसो गर्न एकदमै गाह्रो काम हो।"
अज्ञात ह्याकरहरूले वेबसाइटलाई बिगार्न पनि आक्रमण गर्ने गरेका छन्। लिसा भन्छिन्, "त्यो डीडीओएसभन्दा एक तहमाथिको आक्रमण हो र त्यसमा वेबसाइटमाथि नियन्त्रण जमाएर त्यसमा देखा पर्ने सामग्रीलाई फेर्ने गरिन्छ।"
उनका अनुसार ह्याकरहरूले यूजरनेम र पासवर्ड चोरेर वा पत्ता लगाएर त्यस्तो काम गर्ने गर्छन्।
साइबरविज्ञहरूले आक्रमणयता बढेका ह्याकिङ गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन्।
साइबर पोलिसी जर्नलकी एमिली टेलर भन्छिन्, "असल उद्देश्य भए पनि यी गतिविधिहरूका कारण जोखिम हुन्छ।"
एक युक्रेनी प्रविधि उद्यमी रोमन 'स्ट्यान्ड फर युक्रेन' नामक ह्याकरहरूको समूहको नेतृत्व गर्छन्।

उनले उनी र उनको समूहले रुसी सरकारी समाचारसंस्था टासको वेबसाइटलाई छोटो समय ह्याक गरेर त्यहाँ पुटिनविरोधी पोस्टर राखिदिएको बताए।
उनले आफूहरू एनोनिमसमा आबद्ध नभए पनि उक्त समूहको लोगो प्रयोग गरेको जनाए।
एनोनिमसको नाममा कति ह्याकरहरूले आक्रमण गरिरहेका छन् भन्ने अहिलेसम्म प्रष्ट छैन तर युक्रेनी सरकारले आफूले चार लाखभन्दा बढी व्यक्तिलाई 'युक्रेनको आईटी सेना' मा आबद्ध रहेको जनाएको छ।
रुसमा रहेका भिजिलान्ते समूहले पनि युक्रेनमाथि आक्रमण गरिरहेका छन् तर त्यो सानो स्तरमा रहेको देखिन्छ।
बीबीसीले हालै युक्रेनी वेबसाइटमा आक्रमण गरेर तथ्याङ्क चोरी गर्ने एउटा सानो समूहसँग अन्तर्वार्ता गरेको थियो। युक्रेनमाथि रुस र बेलारुसबाट हमलाको संयोजन गरिरहेको अर्को टेलिग्राम च्यानलमा ३० हजार सदस्य छन्।

एउटा ह्याकिङका कारणले बुधवार युक्रेन २४ टीभी च्यानलको वेबसाइटमा राष्ट्रपति जेलेन्स्कीको भिडिओ देखा परेको थियो।
ज्यानुअरी यता युक्रेनका सरकारी र वित्तीय संस्थालक्षित तीनवटा प्रमुख डीडीओएस आक्रमणहरू शृङ्खलाबद्ध रूपमा भएका छन्।
मङ्गलवार युक्रेनको साइबर डिफेन्स डिपार्टमेन्टले उसले हालैका हप्तामा सङ्क्रमित केही कम्प्युटरहरूमा तथ्याङ्क मेटिनेगरी भएका साइबर हमलाहरूले पारेको प्रभाव अध्ययन गरिरहेको जनाएको थियो।
"वाइपर" आक्रमण भनिने त्यस्ता आक्रमणहरू गैरसैनिक ह्याकरहरूको क्षमताभन्दा माथि रहेको जनाएका छन्।
अहिलेको वातावरणमा यस्ता हमलाहरूको पछाडि कसको हात छ भनेर ठ्याक्कै भन्न गाह्रो छ।
"एनोनिमस पत्ता लगाउनु एकदमै कठिन हो किनभने जेका लागि हामीले लडिरहेका छौँ त्यसको विपक्षमा रहेका राज्यपक्षसहित जो कोहीले पनि त्यो आफू भएको दाबी गर्न सक्छन्," एनोन२वर्ल्डले भनेको छ।
"अहिले हाम्रो लोकप्रियतामा वृद्धि भएसँगै सरकारी संयन्त्रबाट प्रतिक्रियाहरू देखिनु सामान्य हो। अराजकता थप्ने बाहेक हामी विशेषतः अनलाइनमा देखिने अराजकतामा अभ्यस्त भइसकेका छौँ।"










