रुस-युक्रेन युद्ध: रुसले कसरी भाडाका सैनिक भर्ती गरिरहेको छ

वाग्नर लडाकु

तस्बिर स्रोत, @RSOTM telegram group

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, हनन राजेक र इल्या बराबानफ
    • Role, बीबीसी विश्व सेवा

युक्रेनविरुद्ध रुसी सेनासँगै लड्नका लागि भाडाका सैनिकहरू भर्ती गर्न विभिन्न सामाजिक सञ्जाल र सन्देश आदानप्रदान गर्ने निजी समूहहरूको प्रयोग भइरहेको जानकारी बीबीसीलाई प्राप्त भएको छ।

बीबीसीले भाडाका सेना भर्ती गर्ने रुसको प्रमुख सङ्गठनसँग निकट एक भाडाका सैनिक र पूर्वलडाकुसँग कुरा गरेको छ। उनीहरूले भर्ती अभियानको विवरण बीबीसीलाई दिएका हुन्।

ती भाडाका सैनिकले गोप्य सङ्गठन वाग्नरसँग आबद्ध पूर्वसैनिकहरूसँग युद्ध सुरु हुनुभन्दा केही साताअघि निजी टेलिग्राम समूहमा सम्पर्क गरिएको बताए।

उनीहरूलाई युक्रेनमा परम्परागत रूपमा खाइने सुँगुरको मासुको बोसो "सालो" चाख्न भन्दै "युक्रेनमा आयोजित पिक्निक"मा बोलाइएको थियो। उक्त सन्देशले "आपराधिक पृष्ठभूमि, ऋण लागेका, भाडाका सैन्य समूहबाट प्रतिबन्धित वा बाह्य राहदानी नभएकाहरू"लाई आवेदन दिन आह्वान गरेको थियो।

सन्देशमा रुसले कब्जा गरेका क्षेत्रहरू लुहान्स्क र डोनेट्स्कसँगै क्राइमियाका मानिसहरूलाई "हार्दिक आमन्त्रण" गरिएको उल्लेख छ।

वाग्नर समूह रुसको सबैभन्दा गुप्त संस्थामध्ये एक हो। आधिकारिक रूपमा यसको कुनै अस्तित्व छैन तर यसले रुस र अन्तर्राष्ट्रिय कानुनविरुद्ध भाडाको सैन्य बलको काम गरिरहेको छ।

विगत सात वर्षमा करिब १०,००० व्यक्तिहरूले वाग्नर समूहसँग कम्तीमा एउटा सम्झौता गरेको विश्वास गरिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुससँग कतिवटा परमाणुअस्त्र छन्?

भाडाका सैनिकका रूपमा कार्यरत ती व्यक्तिले बीबीसीलाई बताएअनुसार भर्ना गरिएका नयाँ व्यक्तिहरू रुसी सैन्य गुप्तचर निकाय जीआरयूका अधिकारीहरूको आदेशअनुसार खटाइन्छन्।

ती व्यक्तिले भर्ती रणनीति अहिले फेरिएको र निकै कम बाध्यात्मक प्रतिबन्धहरू रहेको बताए। "अहिले उनीहरूले जोसुकैलाई भर्ती गरिरहेका छन्," उनले निराश हुँदै नयाँ लडाकुहरू कम व्यावसायिक भएको इङ्गित गरे।

भर्ती गरिएकाहरूका नयाँ एकाइलाई हाल वाग्नर भनिँदैन बरु 'द हक्स' जस्ता नयाँ नामहरू प्रयोग गरिन्छ।

वाग्नर समूहको खस्किँदो ख्यातिको परिणामस्वरूप यस्तो परिवर्तन भएको हुनसक्छ। "वाग्नरको प्रतिष्ठामा दाग लागेको छ", एरिजोना विश्वविद्यालयमा रुस, युरेशिया र पूर्वी युरोप अध्ययन केन्द्र का प्राध्यापक केन्डेस रोन्डोले भनिन्।

वाग्नर लडाकु

तस्बिर स्रोत, @RSOTM telegram group

तस्बिरको क्याप्शन, फाइल तस्बिर

सिरिया र लिबियामा परिचालन हुँदा वाग्नरले पटकपटक मानव अधिकार उल्लङ्घन र युद्ध अपराध गरेको आरोप लागेको छ।

बीबीसीसँग कुरा गरेका ती भाडाका सैनिकका अनुसार नयाँ भर्तीबाट आएका लडाकुहरूलाई दक्षिणी रुसको मोल्किनोस्थित वाग्नरको आधार शिविरमा तालिम दिइन्छ। उक्त स्थान रुसी सेनाको आधार शिविरनजिकै छ।

रुसमा पनि सन्देश आदानप्रदान गर्ने निजी समूह र सार्वजनिक रूपमा भाडाका सैनिकहरू भर्तीका अभियानहरू सञ्चालन भएका छन्।

रुसको सामाजिक सञ्जाल भीकेमा सक्रिय तथा सुरक्षा विशेषज्ञका रूपमा आफूलाई चित्रत गर्ने एउटा पेजमा रुसी आक्रमणको पहिलो साता सुरक्षाकर्मी माग गरिएको विज्ञापन राखिएको छ। त्यसमा पूर्व सोभियत युनियनमा आबद्ध देशहरूबाट भर्ती हुनसक्ने र "अर्को नजिकैको देश" मा परिचालन गरिने उल्लेख छ।

सैन्य विज्ञहरूले यसलाई युक्रेनलक्षित भनेर अर्थ्याएका छन्।

यसअघि भाडाका सिपाहीमा भर्तीका लागि आपराधिक पृष्ठभूमिको कुनै अभिलेख भएका व्यक्तिहरूलाई रोक लगाइएको थियो। रुसबाहिरका मानिसहरूलाई पनि भाडाका सैनिकमा भर्ती लिने गरिएको थिएन।

सामाजिक सञ्जाल भीकेमा प्रकाशित विज्ञापनमा जर्जियाबाहेकका देशका नागरिकलाई कामदारको अनुरोधका आधारमा भर्ती खुला गरिएको उल्लेख छ।

अमेरिकाको सुरक्षा थिङ्क ट्याङ्क सोफान सेन्टरका अनुसन्धानकर्ता जेसन ब्लाजाकिस "लडाकुहरूको उच्च माग" रहेको र "युद्धस्थलमा प्रभाव पार्नका लागि उनीहरूलाई हजारौँ भाडाका सैनिक चाहिने" बताउँछन्।

शुक्रवार रुसी रक्षामन्त्री सर्गेई शोइगूले मध्यपूर्वबाट १६,००० स्वयंसेवकहरू रुसी सेनासँगै लडाइँका लागि परिचालन भएको बताएका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वका लडाकुहरूलाई पनि युद्धमा परिचालन गर्न आदेश दिएका थिए।

वाग्नर समूहका करिब ४०० लडाकुहरू युक्रेनमा परिचालन भएको बताइएको छ। पूर्वी युक्रेनमा रुससमर्थित पृथक्तावादीहरूलाई सहयोग गर्दै आएको यो समूह सन् २०१४ मा पहिचान भएको थियो।

काममा खटिएका एक वाग्नर लडाकुले उनीहरूलाई आक्रमणको पहिलो दिन खार्किभ पठाइएको र सफलतापूर्वक लक्ष्य हासिल गरेको बताए पनि उक्त लक्ष्य के थियो भन्नेबारे खुलाएनन्।

बन्दुक ताक्दै एक लडाकु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

"त्यसपछि हामीलाई एक महिनाको कामका लागि २,१०० अमेरिकी डलर दिएर पुनः रुस फर्काइयो," उनले नाम नखुलाउने सर्तमा बीबीसीसँग भने।

ब्लाजाकिस रुसी जनताको समर्थन कायमै राख्न भाडाका सैनिकहरू प्रयोग गरिएको बताउँछन्।

युक्रेनमा आक्रमण गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमविरुद्ध रुसमा कैयौँ प्रदर्शनहरू भएका छन्। प्रदर्शनमा हजारौँ मानिस पक्राउ परेका छन्।

भाडाका सैनिकहरूको प्रयोगले क्रेम्लिनलाई मृतकको सङ्ख्या कम देखाउन सहयोग पुग्छ। मस्कोले भाडाका सैनिक सम्बद्ध कुनै पनि समूहसँगको सम्पर्क अस्वीकार गर्दै आएको छ।

बीबीसीले रुसको रक्षा मन्त्रालयसमक्ष मोल्किना शिविर थप सुरक्षा बल भर्तीका लागि प्रयोग भए वा नभएको विषयमा राखेको जिज्ञासामा कुनै जबाफ प्राप्त भएन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभमा रुसी ट्याङ्कमाथि आक्रमण
Presentational grey line

नादिर इब्राहिम र अहमद एल्सामीको सहयोगमा

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line