युक्रेन-रुस युद्ध: अमेरिकी डलरको बलियो र नेपाली रुपैयाँ कमजोर हुँदा तपाईँलाई पर्न सक्ने प्रभाव

डलर र नेपाली रुपैयाँ

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ।

विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो।

मङ्गलवारका लागि नेपाल राष्ट्र ब्याङ्कले एक अमेरिकी डलरको विनिमयदर १२३.४४ तोकेको थियो। बुधवार डलरको विक्रीदर १२३.३६ कायम छ।

यसअघि २०७७ वैशाखमा नेपाली मुद्राको तुलनामा डलरको भाउ सर्वाधिक १२३.२४ रुपैयाँ पुगेको थियो।

कारण के हो?

रुस र युक्रेनबीच चलिरहेको युद्ध र त्यो तत्काल साम्य हुने अवस्था नदेखिएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै लगानीकर्ताहरूबीच अनिश्चितता छाएको छ।

उनीहरूले सुरक्षित क्षेत्रमा लगानी गर्न चाहेका कारण अमेरिकी अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ।

"त्यसैले डलरप्रतिको आकर्षण बढेको देखिन्छ," नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले भने।

"त्यस्तै अमेरिकाको केन्द्रीय ब्याङ्कले मौद्रिक नीतिमार्फत् अपनाएका असाधारण उपायहरूलाई सामान्य अवस्था तर्फ लाने सङ्केत गरेसँगै निकट भविष्यमै सङ्घीय कोषको ब्याजदर ०.२५ प्रतिशतले माथि लग्दैछ। यसले अमेरिकामा ब्याजदर प्रतिको आकर्षण हुन्छ।''

भारतीय मुद्रा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतीय र नेपाली मुद्राको विनिमयदर स्थिर छ

त्यस्तै नेपाल र भारतको मुद्राबीच स्थिर विनिमयदर छ।

पछिल्लो समय भारतबाट विदेशी लगानीकर्ताहरूले लगानी फिर्ता लगेको र त्यसको प्रभाव पनि मुद्रामा परेको अधिकारीहरू बताउँछन्।

"केही महिना अघियता मात्रै करिबकरिब चार अर्ब डलरजति भारतबाट लगानी फिर्ता भएको देखिएको छ। र, यो हेर्दा भारतीय मुद्रा कमजोर भएको छ र हाम्रो मुद्रा भारतीय मुद्रासँग 'पेग' भएकाले पनि [नेपाली मुद्रा] कमजोर भएको हो," उनले भने।

सम्भावित प्रभाव कस्ता?

यसको प्रभाव खासगरी आयातको भुक्तानीमा पर्नेछ। नेपाली मुद्रामा बढी भुक्तानी गर्नुपर्ने हुन्छ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र नेपाली रुपैयाँ कमजोर हुँदै गएको अवस्थामा उल्लेख्य रूपमा आयातमा गरिने भुक्तानी बढ्ने अधिकारीहरू बताउँछन्।

अर्को तर्फ वैदेशिक ऋणको ब्याज पनि बढ्ने अवस्था रहन्छ जसले अर्थतन्त्रमा चाप पार्ने बताइन्छ।

डोटीमा बिक्रीका लागि राखिएका फलफूल र तरकारी

तस्बिर स्रोत, RSS

त्यस्तै विदेशमा पढ्ने विद्यार्थीको दायित्व बढ्ने हुँदा वस्तु-व्यापारमा मात्रै नभएर यसले सेवा-व्यापारको घाटा पनि बढाउने अधिकारीहरू बताउँछन्।

यसैबीच केन्द्रीय ब्याङ्कले आयात नियन्त्रण गर्न सक्ने सम्भावना रहने अर्थविद् केशव आचार्य बताउँछन्।

तर त्यसो गर्दा पनि आयातको परिमाण तुलनात्मक रूपमा कम रहने भए पनि मूल्य भने बढी पर्न जाने अवस्था रहन्छ।

आयातमा धेरै हदसम्म आश्रित नेपालले केही क्षेत्रमा कडाइ गरे पनि अत्यावश्यक खाद्यान्न, औषधि र औद्योगिक कच्चा पदार्थ आयात गरिनै रहनुपर्ने हुँदा विदेसिने रकमको अनुपात भने कम नहुने आचार्य ठान्छन्।

यी सबै कुराको प्रभाव मुद्रास्फीति अर्थात् बजार महँगीमा देखिने जानकारहरू बताउँछन्।

पश्चिमा देशका राजदूतहरू युक्रेनप्रति ऐक्यबद्धता प्रकट गर्न आयोजित दीप प्रज्वलन कार्यक्रममा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, पश्चिमा देशका राजदूतहरू युक्रेनप्रति ऐक्यबद्धता प्रकट गर्न आयोजित दीप प्रज्वलन कार्यक्रममा

नेपालमा विदेशी मुद्राको मौज्दात कति छ?

नेपाल राष्ट्र ब्याङ्कका अनुसार नेपालको विदेशी विनिमय व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण अवस्थामा छ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालसँग छ महिना वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको भट्ट बताउँछन्।

मौद्रिक नीतिका अनुसार सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति हुनुपर्ने लक्ष्य राखिएको छ।

सामान्य अवस्थामा यो आत्तिनुपर्ने स्थिति नरहे पनि अन्तर्राष्ट्रिय स्तरमा विकसित घटनाक्रम, भूराजनीतिक तनाव, विश्वव्यापी रूपमा मुद्रास्फीतिको दबाव र नेपालका भुक्तानी दायित्वका कारण विदेशी विनिमय सञ्चितिमा थप दबाव उत्पन्न हुनसक्ने हुँदा अत्यन्तै सजग हुनुपर्ने अवस्था रहेको भट्ट बताउँछन्।

हाल वैदेशिक ऋणको सुविधा ब्याङ्कहरूलाई पनि दिइएको अवस्थामा ऋण भुक्तानीको थप भार बढेको आचार्य बताउँछन्।

अमेरिकी डलर

तस्बिर स्रोत, Reuters

मुलुकको अर्थतन्त्रमा प्रभाव कम गर्नका लागि सरकारी निकाय, निजी क्षेत्र संवेदनशील भएर कुनकुन वस्तुको आयातलाई केही समयका लागि रोक्न सकिन्छ भनेर कसरत गर्न जरुरी रहेको अधिकारीहरूको भनाइ छ।

विकसित मुलुकहरूको हकमा छ महिनाको आयात धान्न सक्ने सञ्चिति कम नभए पनि नेपालका लागि भने अवस्था फरक छ।

नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै ४० प्रतिशतमा आयातको हिस्सा छ। उक्त सङ्ख्यामा दुई खर्बभन्दा बढी योगदान खाद्यान्नको छ।

विगतमा नेपालसँग १४ -१५ महिना आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको बताउँदै आचार्यले हालको अवस्थामा सावधानी अपनाइनुपर्ने बताउँछन्।

विदेशी मुद्रा आर्जनको अवस्था के छ?

नेपालको विदेशी मुद्राको मुख्य स्रोतमध्ये एक विप्रेषण हो।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा विप्रेषण प्रवाहमा कमी देखिएको केन्द्रीय ब्याङ्कले जनाएको छ।

उक्त तथ्याङ्कले नझस्किएको केन्द्रीय ब्याङ्कलाई पछिल्लो अवस्थाले भने आगामी दिनहरू कठिन हुने चिन्ता बढाएको छ।

नेपालमा मूलतः खाडी राष्ट्रहरूमा रहेका श्रमिकहरूले विप्रेषणमा योगदान गर्ने र ती मुलुकहरूको प्रमुख आयस्रोत कच्चा तेलको व्यापार भएकाले श्रमिकहरूको काममा वा ज्याला कटौती हुने सम्भावना कमै रहेको अवस्थामा विप्रेषणमा सकारात्मक प्रभाव पर्न सक्ने कतिपय विज्ञहरूको मत छ।

तर सामान्य हिसाब गर्दा नेपाली रुपैयाँ जति प्रतिशतले कमजोर भयो त्यति नै प्रतिशतले विप्रेषण बढ्नुपर्ने भए पनि यथार्थमा परिस्थिति फरक रहेको आचार्य बताउँछन्।

राष्ट्र ब्याङ्क

विदेशमा बस्ने नेपालीहरूले क्रिप्टोकरेन्सी लगायतमा लगानी गरिरहेकाले अपेक्षाकृत रूपमा विप्रेषण प्रवाहमा सकारात्मक प्रभाव पर्ने सम्भावना कम रहेको उनको बुझाइ छ।

त्यस्तै नेपालको अर्थतन्त्र कमजोर हुँदै गएको आशङ्कामा श्रमिकहरूले केही समय विप्रेषण पठाउन रोक्न सक्ने सम्भावना पनि रहने जानकारहरू बताउँछन्।

कोभिड महामारीकाबीच बिस्तारै केही चलायमान हुन लागेको पर्यटन क्षेत्र पनि विदेशी मुद्राको एउटा स्रोत मानिन्छ।

तर यो क्षेत्र पनि रुस-युक्रेन युद्धको मारमा पर्ने देखिएको र त्यसले गर्दा अर्थतन्त्र विस्तारको पूर्वयोजनामा सन्देह उत्पन्न भएको अधिकारीहरू बताउँछन्।

"त्यस कारण अहिले भएको विदेशी विनिमय सञ्चितिलाई निकै जतन साथ व्यवस्थापन गर्नुपर्ने र कतिपय अत्यावश्यक बाहेकका वस्तुहरूको आयातलाई हामीले केही समय रोक्नुपर्ने हुनसक्छ," भट्टले भने।

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line