‘डलरको भाउ बढ्दा व्यापार घाटा चुलिनसक्छ’

डलर

तस्बिर स्रोत, Getty Images

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएसँगै त्यसले नेपालको व्यापार घाटा थप चुलिने र कुल गार्हस्थ उत्पादनको आकारमा समेत प्रभाव पार्नसक्ने जानकारहरूले बताएका छन्।

बिहीवार अन्तर्राष्ट्रिय बजारमा एक डलर बराबर ११० रुपैयाँ ३७ पैसा पुग्यो।

भारतीय रुपैयाँको भाउ डलरको तुलनामा घटेसँगै भारतसँग स्थिर विनिमय दर रहेको नेपाली रुपैयाँ पनि सस्तो भएको छ।

तर डलर महँगो हुँदा ठूलो मात्रामा विदेशबाट भित्रिने विप्रेषणको आप्रवाह बढ्ने ठानिएको छ।

असर

एक भारु बराबर १.६० नेपाली रुपैयाँको विनिमय दर रहने सम्झौता गरेको नेपाली मुद्राका भारु ओरालो लागेसँगै सस्तो भएको हो।

यसरी डलरको भाउ आकासिँदै गए नेपालीको दैनिक उपभोग्य वस्तुदेखि लिएर देशको अर्थतन्त्रमै असर पार्ने पूर्व अर्थसचिव शान्तराज सुवेदी बताउँछन्।

उनले भने, "हाम्रो निर्यात एकदम कम छ। तर आयात अत्यन्त बढी छ। आयातित सामान खरिद गर्दा डलरमै तिर्ने हो। डलरको भाउ बढेपछि व्यापार घाटा बढाउनसक्छ। व्यापार घाटा बढ्दै गयो भने यसले हाम्रो कुल गार्हस्थ उत्पादनको आकारमा पनि प्रभाव पार्नसक्ने सम्भावना बढ्नसक्छ।"

चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

भारु

तस्बिर स्रोत, Getty Images

बाहिरबाट आयात गरेको वस्तुको भाउ बढेपछि बजार भाउ बढ्ने र यसले मुद्रास्फिति पनि बढाउने अर्थविद्हरू बताउँछन्।

डलर महँगो हुँदा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीले तिर्ने शुल्क पनि बढ्ने छ।

पूर्वसचिव सुवेदीका अनुसार डलरको भाउ बढेसँगै भुक्तानीमा पनि चाप पर्नेछ।

योगदान

"वैदेशिक रोजगारी ऋण भुक्तानी गर्न भनी बजेटमा छुट्याइएको रकम अब बढ्छ। बजेट सार्वाजनिक गरेको समयमा नेपाली रुपैयाँ यति सस्तो भएको थिएन। डलरको भाउ बढेपछि अब त्यो रकम निकै बढ्छ।

नेपाली रूपियाँ

यो वर्ष साँवा र ब्याज दुवै गरी करिब २८ अर्ब रुपैयाँ वैदेशिक ऋण तिर्ने व्यवस्था बजेटमा गरिएको थियो।

तर अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको विप्रेषण आप्रवाह भने बढ्ने राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक थापाले बताए।

उनले भने, "विदेशमा काम गर्ने नेपालीलाई लाभ हुनेछ। उनीहरूको नेपाली रुपैयाँमा आम्दानी बढ्छ। रेमिट्यान्समा सकारात्मक असर पर्छ। त्यस्तै तेस्रो मुलुकमा हुने निर्यातमा पनि सकारात्मक असर पर्छ।"

तर आयातको तुलनामा निर्यात निकै कम हुने गरेकोले समग्रमा यो खासै प्रभावकारी नहुने बताइन्छ।

बिहीवार ११०.३७ रुपैयाँ पुगेको डलर शनिबार १०९.८५ मा झरेको छ।

तर अन्तर्राष्ट्रिय बजारमा बढिरहेको कच्चा तेलको मूल्य र अमेरीका र भारतबीचको व्यापार र दुवै देशको अन्य मुलुकसँगको व्यापारको हालकै अवस्थामा चलिरहे भारु अझ सस्तो हुनसक्ने अर्थविद्हरु बताउँछन्।