युक्रेन-रुस युद्ध: युक्रेनबारे अनलाइन बहसलाई चीनले कसरी नियन्त्रण गरिरहेको छ

तस्बिर स्रोत, Getty Images
- Author, काई वाङ
- Role, बीबीसी रियालिटी चेक
रुसी आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घमा भएको मतदान छलेर चीनले युक्रेन युद्धमा कूटनीतिक दूरी कायम राख्न खोजेको छ।
युक्रेनमा जारी द्वन्द्वबारे चिनियाँ सामाजिक सञ्जालमा बलिया धारणाहरूमा प्रतिबन्ध लगाउनसमेत यो देशले ठोस प्रयासहरू गरिरहेको छ।
यो उसको स्पष्ट बाटो हो। गत महिना मात्रै चिनियाँ नेता सी जिन्पिङले रुससँगको नयाँ र सुदृढ सम्बन्धमा कुनै सीमा नहुने घोषणा गरेका थिए।
चीनले कस्ता सामग्रीमा प्रतिबन्ध लगाइरहेको छ?
रुसी सैन्य कारबाहीको पक्ष र विपक्षमा व्यक्त हुने धारणाहरू दैनिक जसो सामाजिक सञ्जालबाट हटाइने गरिएको छ।
"युक्रेनको साथमा उभिन अहिले कसैले पनि हिम्मत गर्दैन," एक प्रयोगकर्ताले ट्विटरजस्तै चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखे।
"यो सबै रुसलाई एकपक्षीय समर्थन हो।"
अनलाइनमा चिनियाँ प्रतिबन्धको अनुगमन गरिरहेको 'फ्रि वेइबो'का अनुसार धेरै लाइक्स बटुलिसकेको यो पोस्ट उक्त सामाजिक सञ्जालबाट हटाइसकिएको छ।
चिनियाँ म्यासेजिङ एप वीच्याटमा व्यापक भएको एक जना अवकाशप्राप्त रुसी जनरलले युद्धअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पदबाट राजीनामा दिन आग्रह गर्दै लेखेको खुला पत्र पनि नखुल्ने बनाइएको छ।
तर रुसको पक्ष लिइएका केही धारणाहरू पनि सामाजिक सञ्जालमा खुल्दैनन्।
रुसको राज्य नियन्त्रित समाचार सञ्जाल आरटीले उसको वेइबो अकाउन्टमा सहयोगका लागि चिनियाँहरूलाई 'धन्यवाद' दिँदै गरेको पोस्ट पनि वेइबोकै पोस्ट जसरी हटाइयो। जसमा भनिएको थियो: "युक्रेनका नव नात्सीहरूसँग लड्ने कठिन काम रुसले सुरु गरेकोमा मलाई खुसी लागेको छ। रुसमाथि लगाइएका प्रतिबन्धहरू अस्वीकार्य छन्।"
चीनले कसरी सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँछ
चिनियाँ सामाजिक सञ्जाल प्रदायकहरूले विशेष सामग्रीहरूमा सरकारबाट निरन्तर निर्देशन पाइरहेका हुन्छन् र त्यसको पालना गर्नुपर्ने दबाबमा उनीहरू हुन्छन्।
यस्तै एउटा निर्देशिका बाहिरिएको बताइएको थियो र 'चाइना डिजिटल टाइम्स'ले त्यसबारे समाचार प्रकाशन गरेको थियो।

तस्बिर स्रोत, Getty Images
उक्त निर्देशिका चिनियाँ केन्द्रीय नियामक 'साइबरस्पेश एडमिनिस्ट्रेसन अफ चाइना'ले यसै महिना जारी गरेको दाबी गरिएको थियो। जसमा "व्यावसायिक वेबसाइट, स्थानीय सञ्चार माध्यम र आफैँले सामग्री प्रकाशित गर्न मिल्ने सञ्चार माध्यममा युक्रेन युद्धबारे प्रत्यक्ष प्रसारण र ह्यासट्याट प्रयोग नगर्न" भनिएको थियो।
चिनियाँ अधिकारीहरूले कूटनीतिक तटस्थताको नीति लिएको बताउने गरेका छन्।
उक्त निर्देशिकामा 'विदेशी सञ्चार माध्यमका सामग्री पुन: प्रकाशित गर्न' र कुनै एक वा अर्को पक्षलाई साथ दिने गरी 'दुर्भावनापूर्ण सन्देशहरू' प्रवाह गर्न पनि कडाइका साथ प्रतिबन्ध लगाइएको उल्लेख थियो।
"यो मलाई बिलकुलै प्रमाणिक लाग्छ किनभने यसको स्रोत विश्वासिलो छ र यहाँ दिइएका निर्देशनहरू सञ्चार नियन्त्रणको विगतको प्रवृत्तिसँग मेल खान्छन्," उक्त निर्देशिकाबारे चिनियाँ सञ्चार विज्ञ सारा कुक भन्छिन्।
आक्रमण सुरु भएयता उक्त सामाजिक सञ्जाल प्रदायकले विक्षिप्त बनाउने र खतरा देखिने पोस्टहरू हटाउँदै आएको छ।
टिकटकजस्तै चिनियाँ भिडिओ सञ्जाल प्रदायक डोयिनले घृणा फैलाएको र युद्धलाई उक्साएको तथा गलत र भ्रामक सूचना फैलाएको भन्दै गत साता ४९८ वटा भिडिओ र २,६५७ वटा कमेन्टहरू हटाएको जनाएको छ। उसले सयौँ खाताहरू निलम्बन गरेको बताएको छ।
वेइबोले युक्रेनको परिस्थितिबारे 'खिल्ली उडाउने' दशौँ हजार खाताहरू निलम्बन गर्नुका साथै ठूलो सङ्ख्यामा पोस्टहरू हटाएको जनाएको छ। उसले सत्यता पुष्टि सहज बनाउन पोस्ट गरिएको स्थानको भौगोलिक स्थान पनि सँगै उल्लेख गर्ने व्यवस्था गर्न लागेको जनाएको छ।
भिडिओ प्रत्यक्ष प्रसारण गर्ने वेबसाइट बिलिबिलिले गत महिना १,६४२ वटा 'अनुपयुक्त सन्देश'हरू मेटाउनुका साथै ५७ वटा खाता निलम्बन गरेको जनाएको छ।
वीच्याट र बिलिबिलि दुवैले युक्रेनबारे बहस गर्दा 'वस्तुपरक' र 'तर्कसङ्गत' हुन प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन्।
चीनले कस्तो कथन प्रवर्द्धन गरिरहेको छ
चिनियाँ आधिकारिक र मूलधारका सञ्चार माध्यमले युक्रेनको अवस्थाबारे नियमित समाचारहरू दिइरहेका छन् तर उनीहरूले रुसको कदमलाई 'आक्रमण' वा 'युद्ध' शब्द प्रयोग गर्न छोडेका छन्।
मिथ्या सूचनाको अनुगमन गरिरहेको 'डबलथिङ्क ल्याब'ले चिनियाँ सञ्चार माध्यमले 'रुसी स्रोतहरूबाट फैलिएका षड्यन्त्रका सिद्धान्त र मिथ्या सूचनालाई नियमित उद्धृत गरिरहेको' उल्लेख गरेको छ।

तस्बिर स्रोत, Reuters
चिनियाँ टेलिभिजनहरूले युक्रेनबारे समाचारहरू दिए पनि त्यसलाई 'युद्ध' वा 'आक्रमण' भनेका छैनन्।
युक्रेनीहरूले आफ्नै आणविक भट्टीमा आगो लगाएका जस्ता झुटा दाबीहरूलाई चिनियाँ सञ्चार माध्यममा सत्य परीक्षण नगरी बारम्बार सम्प्रेषण गरिएको छ।
युक्रेन पक्षबाट भएका प्रतिरोध र रुसको आक्रमणपछि पश्चिमा देशहरूले जनाएको प्रतिक्रियाबारे ज्यादै न्यून समाचार बनाइएको छ।
"मेरो विचारमा युक्रेनबारेको सामग्रीबारे प्रतिबन्धहरू असन्तुलित छन्…अरू भन्दा चीनले लिएको आधिकारिक धारणालाई चुनौती दिने प्रतिक्रिया र आवाजहरूलाई बढी लक्षित गरिएको छ," कुक भन्छिन्।
युक्रेनको घटनाबारे आलोचनात्मक टिप्पणीहरू देखिए पनि अमेरिकालाई द्वन्द्व उक्साएको आरोप लगाइएका सामग्रीहरू मात्रै भेटिन्छन्।
ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा अमेरिकालाई युक्रेनलाई हतियार बेचेर नाफा कमाएको आरोप लगाइएको छ।
अर्को लेखमा अमेरिकालाई युक्रेन सङ्कटबारे मिथ्या सूचना फैलाएर चीनलाई बदनाम गरिएको आरोप लगाइएको छ।
विदेशी समाचार वेबसाइटहरू प्रतिबन्धित वा नियन्त्रित रहेको चिनियाँ मुख्य भूमिमा रुस नियन्त्रित सञ्चार माध्यमको उपस्थिति लामो समयदेखि छ।
स्पुतनिक जस्ता प्रकाशनहरूको वेइबोमा एक करोड ६ लाख बढी फलोअर्स छन्। यस्ता सञ्चार माध्यमलाई चिनियाँ आधिकारिक सञ्चार माध्यमले पनि द्वन्द्वको समाचारमा उद्धृत गर्ने गरेका छन्।










