युक्रेन युद्ध: युद्धविराम र मानव निकासमार्ग के हुन्?

पलायन हुन तयार मानिसहरू।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युक्रेनबाट पलायन हुन तयार महिला र बालबालिकाहरू

युक्रेन र रुसबीच भइरहेको युद्धका क्रममा युद्धविराम र मानव निकासमार्गको चर्चा भएका छन्।

रुसले युक्रेनी नागरिकलाई सुरक्षित स्थानमा जान युद्धविराम गर्दै निकासमार्ग खोलेको बताइरहेको छ।

युक्रेनले भने रुसले युद्धविराम पालना नगरेको र निकासमार्ग रुस या बेलारुससम्म मात्रै खोलेको आरोप लगाइरहेको छ।

रुस-युक्रेनबीच बिहीवार भएको शान्तिवार्तामा पनि युद्धविराम र मानव निकासमार्गको विषय थियो।

युद्धविराम के हो?

युद्धविराम लडाइँ रोक्नको लागि द्वन्द्वमा संलग्न पक्षहरूबीच गरिने अस्थायी सम्झौता हो।

प्रायः शान्तिवार्ता गर्न वा नागरिकहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नका लागि यो प्रक्रियामा गइन्छ।

दक्षिणी युक्रेनी बन्दरगाह सहर मारिओपोलमा धेरै पटक युद्धविरामका प्रयासहरू भएका छन्।

मार्च ५ पहिलो युद्धविराम घोषणा गरिएको थियो जसको उद्देश्य खाद्यान्न, पानी र चिकित्सा सामग्री जस्ता अत्यावश्यक वस्तुहरू सकिएकाहरूलाई बाहिर निस्कन दिनु थियो। तर त्यो युद्धविराम धेरै समय टिकेन।

मानव निकासमार्ग भनेको के हो?

थचक्क बसिरहेकी एक वृद्धा।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

मानव निकासमार्ग अस्थायी बाटो वा क्षेत्र हो जसमार्फत द्वन्द्व क्षेत्रहरूबाट आमनागरिक वा गैरसैनिक सुरक्षित रूपमा निकाल्न वा बाह्य मानवीय सहायताका लागि अनुमति दिइन्छ।

बोस्निया र सिरियाजस्ता देशहरूमा मानव निकासमार्गको प्रयोग भएको थियो।

अधिकांश अवस्थामा यस्ता मार्गहरूबारे द्वन्द्वमा संलग्न दुवै पक्षहरू र संयुक्त राष्ट्रसङ्घ वा रेडक्रस जस्ता मध्यस्थकर्ताहरूमार्फत वार्ता हुन्छ।

शरणार्थी व्यवस्थापन प्रक्रिया अन्तर्गत "दुवै पक्षहरूसँग कैयौँ दिनको लामो छलफलपश्चात् सटिक र कार्यान्वयन गर्न सकिने सम्झौता हुन्छ" रेडक्रसको अन्तर्राष्ट्रिय समितिका सञ्चालन निर्देशक डोमिनिक स्टिलहार्टले बीबीसीको कार्यक्रम 'टुडे'लाई भने।

"हामी आवश्यक स्थलमा रहन र सम्झौता कार्यान्वयनमा सहजीकरण गर्न यी सबै विवरणहरू दुवै पक्षको सैन्य वार्ताबाट सहमतिमा आउन आवश्यक छ," उनले थपे।

के ती मार्गको अभ्यास सफल भएको छ?

रेलको झ्यालबाट हेरिरहेको एक बालक।

तस्बिर स्रोत, Getty Images

मानव निकासमार्ग वा 'मानव कोरिडोर'हरूको सफल सञ्चालनको प्रयासमा केही समस्याहरू देखिएका छन्।

"दुवै पक्षलाई 'निश्चित, व्यावहारिक र सटिक' सम्झौतामा ल्याउनु नै प्रमुख चुनौती हो," स्टिलहार्टले भने।

"युक्रेनमा हालसम्म सैद्धान्तिक सम्झौताहरू मात्र भएको देखेका छौँ। ती धेरै बेर टिकेका छैनन्। किनकि ती सम्झौताहरूमा सटिकता, मार्गहरूको जानकारी, मानिसहरूको आवतजावत र खाद्यान्न भित्र्याउनेबारे जानकारी थिएन।"

अस्पष्टताकै कारण सहायता निकायहरूले अत्यावश्यक ठाउँमा पनि मानवीय सहयोग पुर्‍याउन नसकेको बताए।

"मारिओपोलमा हाम्रो समूह छ। सम्झौतामा के छ भन्ने कुरा प्रस्ट नभए पनि आइतवार समूहका केही कर्मचारी त्यहाँबाट निस्किनका लागि हिँडे। तर उनीहरू पहिलो सुरक्षा नाका पुग्ने बित्तिकै 'पूर्व निर्धारित मानव निकास मार्ग'मा विस्फोटक पदार्थ राखिएको उनीहरूलाई थाहा भयो।"

सुरक्षित मानव निकास मार्गले कहाँ पुर्‍याउँछ?

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएदेखि २० लाखभन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन्।

मानिसहरू मुख्यतया रुसबाट टाढा पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रुमेनिया र मोल्डोभा जस्ता पश्चिमी छिमेकी देशहरूमा पुगेका छन्।

घोषणा गरिएको सुरक्षित निकासमार्ग राजधानी किएभबाहेक खार्किभ, मारिओपोल र सुमी सहरहरूमा छन्।