रीभील र्‍यान्समवेयर समूह रुसमा पक्राउ; साइबर अपराधीलाई के सन्देश?

एफएसबीले पक्राउको भिडिओ सार्वजनिक गरेको छ

तस्बिर स्रोत, FSB

तस्बिरको क्याप्शन, एफएसबीले पक्राउको भिडिओ सार्वजनिक गरेको छ

रुसी अधिकारीहरूले साइबर हमला र फिरौतीमा संलग्न रीभील समूह तोड्न सफल भएको बताएका छन्। उक्त समूहका धेरै सदस्यमाथि मुद्दा चलाइएको छ।

अमेरिकाले एक साइबर आक्रमणपछि उक्त समूहका सदस्यहरूलाई पत्ता लगाउनेलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने बताएको थियो।

रुसको गुप्तचर विभाग एफएसबीले उक्त समूहको "अस्तित्व समाप्त भएको" बताएको छ।

तर यो समूहका कुनै पनि रुसी सदस्य अमेरिका सुपुर्दगी हुने सम्भावना देखिएको छैन।

गुप्तचर एजेन्सीले अमेरिकाले दिएको सूचनाका आधारमा रीभीलविरुद्ध कदम चालिएको बताएको छ।

रुसको सरकारी समाचार सेवा तासका अनुसार रीभीलले "खराब सफ्टवेयर निर्माण गरेर" विदेशी नागरिकका ब्याङ्क खाताबाट "सङ्गठित रूपमा पैसा चोरी" गरेको थियो।

एफएसबीले उक्त समूहबाट ६६ करोड नेपाली रुपैयाँ बराबर हुने ४० करोड रुसी मुद्रा रुबल र सात करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी बरामद गरेको जनाएको छ।

उनीहरूबाट आपराधिक क्रियाकलापबाट खरिद गरिएका २० भन्दा धेरै महँगा कारहरू समेत बरामद गरिएको छ।

एफएसबीले उक्त समूहबाट ६६ करोड नेपाली रुपैयाँ बराबर हुने ४० करोड रुसी मुद्रा रुबल र सात करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी बरामद गरेको जनाएको छ।

तस्बिर स्रोत, FSB

"उक्त सङ्गठित आपराधिक समूहको अस्तित्व समाप्त भएको छ र उनीहरूको आपराधिक प्रयोजनका लागि प्रयोग भएका सूचना पूर्वाधारहरू प्रयोग गर्न नसकिने बनाइएका छन्," एफएसबीले वक्तव्यमा भनेको छ।

अमेरिका र रुसबीच सम्बन्ध चिसिएको बेला रुसको यो घोषणा आएको हो।

मस्कोले अमेरिकी सैन्य गठबन्धन नेटो थप विस्तार नहुने सुनिश्चितता पश्चिमा देशहरूले गर्नुपर्ने माग गर्दै आएको छ।

उसले युक्रेनको सीमा नजिक आफ्नो सैन्य केन्द्र स्थापना समेत गरेको छ।

'साइबर अपराधमा कोशेढुङ्गा'

बीबीसी साइबर संवाददाता जो टिडीले रीभील समूह पक्राउ पर्नु अमेरिका र रुसबीचको साइबर सम्बन्ध र साइबर अपराधमा कोशेढुङ्गा हो।

रुसले वर्षौँदेखि पश्चिमाहरूलाई निशाना बनाउँदै आएका रुसी ह्याकरहरूलाई सुरक्षित विचरणको अनुमति दिइएको आरोप अस्वीकार र बेवास्ता गर्दै आएको थियो।

गत वर्षा याममा जेनेभामा भएको सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडनले बढ्दो र्‍यान्समवेयरविरुद्ध कसरी लड्न सकिन्छ भनेर छलफल सुरु गर्ने सहमति जनाएका थिए।

तर कतिपय विज्ञहरूले वार्ता फलदायी हुनेमा आशङ्का व्यक्त गरेका थिए। रुसी अधिकारीहरूबाट रुसकै भूमिमा रिभिल समूह पक्राउ पर्नु कमैले मात्र आङ्कलन गरेको ठूलो नतिजा रहेको टिडीले बताएका छन्।

गत सेप्टेम्बरबाटै विघटन जस्तै भएको रीभील समूह ठूलो र्‍यान्समवेयर समूहमध्ये एक हो। "यो पक्राउले रुसी साइबर अपराधीहरूलाई अब पार्टी गर्ने समय सकियो भन्ने सन्देश दिएको छ," टिडी भन्छन्।

यो कदम अमेरिका र रुसबीचसाइबर अपराध विरुद्ध वर्षौँपछि भएको पहिलो संयुक्त कारबाहीको अभ्यास हो। यसले दुई देशबीचको सुध्रिँदो सम्बन्धलाई समेत सङ्केत गरेको छ।