युक्रेन-रुस युद्धः रुसी योजनाका लागि मारिऊपोल किन अति महत्त्वपूर्ण छ

मारिऊपोल

तस्बिर स्रोत, Getty Images

    • Author, फ्र्याङ्क गार्डनर
    • Role, बीबीसी रक्षा मामिला संवाददाता

युक्रेनविरुद्ध रुसी युद्धमा मारिऊपोल सबैभन्दा धेरै बमबारी र क्षति बेहोरेको सहर हो। यो सहर मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ। तर किन?

यो बन्दरगाह सहर रुसका लागि रणनीतिक महत्त्वको ठानिनु र युक्रेनका लागि यहाँ रुसको उपस्थिति हुँदा ठूलो धक्का लाग्नुका पछाडि चार मुख्य कारण छन्।

१. क्राइमिया र डोन्बाससँग जोड्ने सडक मार्ग

भौगोलिक रूपमा नक्साको सानो क्षेत्र मात्रै ओगटेको मारिऊपोल क्राइमियाको टापु हुँदै युक्रेनतर्फ अघि बढेका रुसी फौजको बाटैमा खडा छ।

त्यसैले सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह सहरलाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको छ।

बीबीसीका रक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार पहिलो कारण मारिऊपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले हो।

पूर्वी युक्रेनको डोन्बास रुसलाई सहयोग गर्ने युक्रेनी पृथक्तावादीहरूको बाहुल्य भएको क्षेत्र हो।

"रुस र क्राइमियाबीच जमिनको बाटो बनाउन सक्यो भने मात्र रुसले सफलतापूर्वक युद्ध जितेको महसुस गर्न सक्छ र उनीहरूले यसलाई रणनीतिक उपलब्धिका रूपमा पनि लिन्छन्," यूकेको संयुक्त फौजका पूर्व कमान्डर रिचर्ड बरोन्स मारिऊपोल कब्जा गर्नु रुसका लागि महत्त्वपूर्ण रहेकोबारे भन्छन्।

मारिऊपोल नियन्त्रणमा लिनु भनेको युक्रेनको ८० प्रतिशतभन्दा बढी ब्ल्याक सीको तटवर्ती रेखा रुसले कब्जा गर्नु हो। जसले युक्रेनको सामुद्रिक व्यापार विच्छेद गर्दै बाँकी विश्वसँग उसलाई थप एक्लो बनाउँछ।

मारिओपोल

तस्बिर स्रोत, Reuters

तीन सातादेखि रुसी सेनालाई अघि बढ्नबाट रोकेर युक्रेनीहरुले ठूलो सङ्ख्याका रुसी फौजलाई यो क्षेत्रमा व्यस्त राखेका छन्।

तर आकलन गरिएजस्तो छिटो यो सहर कब्जा गर्न नसकेको रुसी फौज मध्ययुगीन घेराबन्दी रणनीतिको २१औँ शताब्दीको स्वरूपमा उत्रिएको छ।

उनीहरूले मारिऊपोललाई अस्त्र, रकेट र क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त बनाएका छन्। यो सहरका ९० प्रतिशत संरचनामा क्षति पुग्नुका साथै विद्युत्, ताजा पानी, खाना र स्वास्थ्य सामग्रीको आपूर्ति समेत बन्द गरिएको छ।

रुसले यहाँ मानवसिर्जित मानवीय प्रकोप निम्त्याएको छ, तर त्यसका लागि आफूले दिएको समयसीमा भित्र आत्मसमर्पण नगरेकोमा युक्रेनलाई दोष दिएको छ।

एकजना युक्रेनी सांसदले मारिऊपोलवासीलाई रुसले "तड्पाएर आत्मसमर्पण गराउन खोजेको" आरोप लगाएका छन्।

युक्रेनले भने एकजना सैनिक बाँकी रहँदासम्म पनि यो सहरको रक्षाका लागि लडिरहने प्रतिज्ञा गरेको छ। रुसी फौजहरू बिस्तारै सहरको केन्द्रीय भागतर्फ अघि बढिरहेका छन्।

शान्तिवार्तामा प्रगति नदेखिएकाले रुसले थप बमबारी बढाउने सम्भावना बढेको छ। यो सहरको प्रतिरक्षामा सशस्त्र नागरिकहरू सहित अझै २,००,००० जना खटिएका छन्।

रुसले यो सहर पूर्ण नियन्त्रणमा लिन सक्यो भने उसले छ हजार फौजलाई यहाँबाट स्थानान्तरण गरेर युक्रेनका अन्य रुसी मोर्चाहरूलाई बलियो बनाउनेछ।

उनीहरू कहाँ परिचालिन हुनेछन् भन्ने केही सम्भाव्य स्थानहरू छन्।

  • डोन्बास क्षेत्रमा क्रेम्लिन समर्थक पृथक्तावादीहरूसँग लडिरहेका युक्रेनी फौजहरूलाई घेराबन्दीमा पार्न पूर्वोत्तर क्षेत्र
  • ब्ल्याक सीमा युक्रेनको अन्तिम मुख्य प्रवेशबनिन्दु रहने ओडेसा रहेको पश्चिमी क्षेत्र
  • निप्रो सहरतर्फको पश्चिमोत्तर क्षेत्र

२. युक्रेनी अर्थतन्त्र दबाउन

मारिओपोल ब्ल्याक सीकै एक क्षेत्र एजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आकलन छ।

यो आजोभ सागरको सबैभन्दा ठूलो बन्दरगाह मात्र नभएर फलाम र स्पातको निर्यात क्षेत्र पनि हो। मारिओपोल युक्रेनले मध्यपूर्व र अन्य ठाउँमा स्पात, कोइला र मकै निर्यात गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो।

एजोभ स्टिल कारखना

तस्बिर स्रोत, Getty Images

तर रुसले क्राइमियालाई सन् २०१४ मा गैरकानुनी रूपमा गाभेयता यो सहर रुसी सेना र रुस समर्थक पृथक्तावादीले स्वघोषणा गरेको डोनेट्स्क र लुहान्स्क क्षेत्रको बीचमा असहज रूपमा च्यापिएको छ।

मारिओपोल गुमाउनु भनेको युक्रेनको अर्थतन्त्रका लागि ठूलो धक्का हुनेछ।

. प्रोपागान्डा अवसर

मारिऊपोल आजोभ सागरबाट नामकरण गरिएको युक्रेनको मिलिशिया आजोभ ब्रिगेडको गृहनगर हो। मारिऊपोलमा आजोभ ब्रिगेड नामक युक्रेनी लडाकुहरूको समूह छ। उक्त समूहमा उग्रदक्षिणपन्थी अतिवादी र नवनाजीहरू छन्।

युक्रेनी लडाकु समूहमा उक्त समूह निकै सानो भए पनि रुसले युक्रेनमा नवनाजीहरू रहेको भनेर प्रचार गरिरहेको छ।

मारिऊपोलमा विजय हात पार्न सके मस्कोले आफ्नो सैन्य कारबाहीबाट नवनाजीलाई दमन गर्न सकिएको भनेर व्यापक प्रचार गर्न सक्छ।

युद्ध लड्न पठाएका आफ्नो युवा फौजले देशलाई नवनाजीहरूको छिमेकी हुनबाट जोगाएको प्रचार आफ्नो देशमा गर्नेछ।

मारिओपोलमा एजोभ बटालियन तालिम

तस्बिर स्रोत, Getty Images

यदि आजोभ ब्रिगेडका योद्धाहरू उल्लेख्य सङ्ख्यामा जीवितै नियन्त्रणमा लिन रुस सफल भए उसले रुसका सरकारी सञ्चारमाध्यममा उनीहरूलाई देखाउनेछ।

यो उसले चलाइरहेको सूचनाको लडाइँमा युक्रेनको सरकारलाई बदनाम गर्ने महत्त्वपूर्ण हतियार हुनेछ।

४. मनोबल बढाउने माध्यम

मारिऊपोलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ।

मारिऊपोलमा रुसले जित हात पार्न सक्यो भने आफ्नो फौजले लक्ष्य हासिल गरिरहेको प्रचार गर्न क्रेम्लिनलाई सहयोग पुग्छ।

रुसले सरकारी सञ्चारमाध्यमबाट युक्रेनमा आफ्नो सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गर्न सक्छ।

उनी युक्रेनको ब्ल्याक सीको तटीय क्षेत्रलाई "नोभोरोसिया" (नयाँ रुस) अर्थात् अठारौँ शताब्दीमा रुसी साम्राज्यको भूभागको रूपमा हेर्छन्।

मारिओपोल

तस्बिर स्रोत, Reuters

यो युद्धलाई व्यक्तिगत ठानेका पुटिनका लागि यसले ऐतिहासिक महत्त्व राख्छ। उनले युक्रेनको ब्ल्याक सी सँगको तटवर्ती क्षेत्र ऐतिहासिक रूपमा १८ शताब्दीको रुसी साम्राज्यमा पर्ने भन्दै रुसको दाबी गर्दै आएका छन्।

उनले किएभमा "पश्चिमा समर्थित सरकारको अत्याचारबाट रुसीहरूलाई बचाउने" अवधारणा ब्युँताउन चाहेका छन्। पुटिनको उक्त लक्ष्य हासिल गर्ने बाटोमा मारिऊपोल उभिएको छ।

तर युक्रेनीहरूका लागि मारिओपोल गुमाउनु ठूलो धक्का हो। यसको प्रभाव उसको सेना र अर्थतन्त्रमा मात्र सीमित नरहेर देशको रक्षाका लागि लगिरहेका महिला र पुरुषहरूको मनोबलमा पनि पर्नेछ।

मारिऊपोल खेअर्सनपछि रुसी नियन्त्रणमा पुग्ने पहिलो मुख्य सहर हुनेछ। खेअर्सन युक्रेनका लागि मारिऊपोलको तुलनामा धेरै कम रणनीतिक महत्त्वको सहर हो।

यसमा मनोबलको पक्ष पनि छ। त्यो भनेको भय हो। यो इतिहासमा रुसी बमबारीमा परेका एलेप्पो र ग्रोज्नी सरह तुलना हुनेछ।

यसको अरू युक्रेनीहरुलाई दिने सन्देश कठोर छ। मारिऊपोल जस्तै प्रतिकार गर्ने हो भने तिमीहरूको पनि हालत उस्तै हुनेछ।

"रुसीहरू मारिऊपोलमा हिँड्न सकेनन्। उनीहरूका ट्याङ्कहरू अघि बढ्न सकेनन्। त्यसैले उनीहरूले यो सहरलाई ध्वस्त बनाइदिए। उनीहरूका लागि महत्त्वपूर्ण ठानिने अरू सहरहरूमा पनि यस्तै हुन सक्ने हामी अपेक्षा गर्न सक्छौँ," रिचर्ड बरुन्स भन्छन्।