युक्रेन युद्ध: चिडियाखानामा रहेका जनावरहरू युक्रेन युद्धको चपेटामा

शनि नामको बघिनी

तस्बिर स्रोत, Wild Animals Shelter

तस्बिरको क्याप्शन, धेरै जनावरहरुसँगै यो शनि नामको बघिनीलाई पनि उद्धार गरेर पोल्याण्ड पुर्‍याइएको छ
    • Author, अले चेर्निस
    • Role, बीबीसी न्युज युक्रेन

रुसले युक्रेनमा सुरु गरेको युद्धले दशौँ लाख मानिसहरूलाई युक्रेनभित्रै र देशबाहिर विस्थापित गरेको छ। तर यो युद्धमा अरू पनि हजारौँ पीडितहरू छन्, जसलाई सबैले देखेका छैनन्।

सरकारी तथा निजी चिडियाघरमा रहेका जङ्गली जनावर र घरपालुवा जनावरहरूले डरलाग्दो अवस्था सामना गरिरहेका छन्।

उद्धारकर्ताहरूले मानिसहरू सहरबाट भाग्दा कतिपय घरपालुवा जनावरलाई कोठामै छोडिएको वा सडकमा छोडेको बताउँछन्।

सरकारी तथा निजी चिडियाखाना र इको पार्कहरूमा राखिएका जनावरहरू बमबारीसँगै चिसो, भोक र तनाव सामना गरिरहेका छन्।

युद्ध सुरु भएयता युक्रेनको दोस्रो प्रमुख सहर खार्किभले तीव्र बमबारी सामना गरिरहेको छ।

बमबारीबाट क्षति पुगेको इको पार्क

तस्बिर स्रोत, Feldman Ecopark

तस्बिरको क्याप्शन, बमबारीबाट क्षति पुगेको इको पार्क

नजिकै रहेको इको पार्कका प्रमुखले पार्क वरपरको अवस्था कसरी रुसी आक्रमणको अग्रपङ्क्तिमा पर्‍यो र जनावरहरूलाई खाना पुर्‍याउने क्रममा कसरी तीन जना कर्मचारी मारिए भन्नेबारे सुनाएका छन्।

निर्देशक भिटली इल्चेन्कोका अनुसार हरिण, राता ब्वाँसाहरू र केही चराहरू चिडियाखानाबाट बाहिर छोडिए। "स्थानीय वासस्थानमा बाँच्न नसक्ने केही जनावरहरूलाई उद्धार गरेर अन्यत्रै पठाइयो," उनले भने।

युद्धको केही समय अघि मात्र उद्धार गरेर पार्कमा संरक्षण गरिएको शिम्बा नाम गरेको सिंहको बच्चा पनि अन्यत्रै पठाइयो। यो सिंह पार्कमा आकर्षणको केन्द्र बनेको थियो।

रुसी सेनाहरूले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा लिएपछि कुनै पनि कर्मचारीहरू सिंह र बाघ भएको ठाउँमा पुग्न सकेका छैनन्।

"कसलाई के थाहा उनीहरूलाई के हुन्छ?" उनीहरू भोकले छटपटाइरहेका कारण जीवितै रहन सक्ने आशा कम हुँदै गएको छ।

खार्किभ चिडियाखाना

तस्बिर स्रोत, Karina Detiuk/Facebook

खार्किभको केन्द्रीय चिडियाखानाका कर्मचारीहरूले पनि त्यहाँ रहेका जनावरहरूलाई जीवितै राख्न र न्यानो उपलब्ध गराउन सङ्घर्ष गरिरहेका छन्।

चिडियाखानाकी उपनिर्देशक करिना देतियोले स्थानीय बासिन्दाहरूलाई जनावरका लागि खाना ल्याइदिन आह्वान गर्दा उनीहरूले खाने कुराको अभाव सुरु भएको बताएका थिए।

"हामीसँग भएका बाँदरहरूलाई फलफूल र सब्जीहरू चाहिन्छ। मांसाहारीलाई मासु चाहिन्छ," उनले बीबीसीसँग भनिन्।

"तिनीहरूलाई जीवितै राख्न असम्भव जस्तो हुँदै गएको छ तर हामी प्रयास गरिरहेका छौँ। हाम्रा ब्वाँसाहरू हवाई आक्रमणको साइरन भन्दा पनि नराम्रो आवाजमा कराइरहेका छन्। यो हृदयविदारक छ।"

दक्षिण युक्रेनको माइकोलइभ चिडियाखाना निरन्तरको रुसी बमबारीमा परेको छ। चिडियाखानाका निर्देशक भोलोदिमिर तोपचेले तीन वटा विस्फोट नभएका रुसी रकेटहरू चिडियाखानाको घाँसे मैदानमा खसेको र रकेटका टुक्रा करु जताततै छरिएको बताए।

"चमत्कारिक रुसमा मान्छे र जनावरहरू त्यसबाट मारिएनन्," उनले सुनाए।

यहाँको चिडियाखाना पनि जनावरहरूलाई खुवाउन स्थानीय बासिन्दाहरूमा भर परेको छ।

मृग

तस्बिर स्रोत, Prystolychnyi Visnyk

रुसले २४ फेब्रुअरीमा सुरु गरेको आक्रमणको सुरुवाती निशाना मध्येको एक किएभ अन्तर्राष्ट्रिय विमानस्थल रहेको बोरिस्पिल सहर पनि थियो।

त्यहाँ नजिकै जङ्गली जनावरहरूका लागि आश्रय स्थल सञ्चालन गर्दै आएका नातल्य पोपोभाका अनुसार युद्धको आवाजले जनावरहरू धेरै तर्सिएका छन्। उनका अनुसार कतिपय जनावरहरू उनीहरूलाई राखेको खोर चिथोरेर घाइते समेत भएका छन्।

"एउटा सिंहले टेकेर उभिनै नसक्ने गरी आफ्नो पन्जामा घाउ बनाएको छ। सानो मृगले भित्तामा ठोक्किएर घाँटी दोबारेको छ," जनावरहरू तर्सिएकोबारे उनले सुनाए।

धेरैजसो जनावरहरू उद्धार गरेर विदेश समेत पुर्‍याइएका छन्। पोल्यान्डको पोजान चिडियाखानाले जनावरहरू उद्धार गरेर लैजान सहयोग गरेको छ।

शनि नाम राखिएको बघिनी सहित २० वटा भन्दा धेरै मांसाहारी जनावरहरू पोल्याण्ड पुर्‍याइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'यी बिराला आए र हाम्रो जीवन फेरियो'

यहाँ रहेका मध्ये धेरै जनावरहरूलाई अहिले सुरक्षित ठाउँमा पुर्‍याइएको छ तर उनीहरूको विदेशको लामो यात्रा कठिन थियो। नयाँ हावापानीमा घुलमिल हुन पनि उनीहरूलाई समय लाग्ने ठानिएको छ।

उनीहरू चिन्तित छन् र स-सानो आवाजसँग पनि तर्सिन्छन्।

तर भविष्य अनिश्चित भए पनि कतिपय चिडियाखानाहरूले उनीहरूसँग भएका जनावरहरूलाई यथास्थानमै राख्ने निर्णय लिएका छन्।

युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह ओडेसाले हप्तौँदेखि रुसी आक्रमणको सम्भावना आकलन गर्दै पूर्व तयारीका काम गरिरहेको छ। चिडियाखानाका निर्देशक इहोर बेलियाकाभ यहाँ पर्याप्त खानेकुरा रहेको र कसैले पनि सहर नछोडेको बताउँछन्।

बाहिर लैजाँदा भन्दा चिडियाखानामै राख्दा कम जोखिम रहेको उनले फेसबुकमा लेखेका छन्।

जङ्गली भेडाका भर्खरै जन्मिएका बच्चाहरू

तस्बिर स्रोत, Odesa Zoo/Facebook

तस्बिरको क्याप्शन, ओडेसा चिडियाघरमा जङ्गली भेडाका भर्खरै जन्मिएका बच्चाहरू

यहाँका धेरैजसो ऐतिहासिक भवन तथा स्मारकहरूको सुरक्षाका लागि अघिल्तिर बालुवा भरिएका बोरा थुपारिएका छन्।

धेरैजसो बाटोहरूमा चेकजाँच केन्द्रहरू र ट्याङ्क अवरोधकहरू राखिएका छन्।

सहरको मनोबल कायम राख्न चिडियाखानाले यो महिनाको सुरु तिर जङ्गली भेडाका भर्खरै जन्मिएका बच्चाहरूको तस्बिर राख्यो। तस्बिरसँगै लेखिएको थियो: "जीवन चलिरहन्छ, सबै कुरा ठिक हुन्छ।"