आकाशबाट अचानक खस्ने चराहरूको उपचार गर्ने यी भारतीय दाजुभाइ

तस्बिर स्रोत, IMAGE COURTESY KITERABBIT FILMS
भारतको राजधानी दिल्लीको छिमेकी गाउँ वजिरावादमा बस्दै आएका दुई जना दाजुभाइले विगत २० वर्षदेखि सहरको आकाशबाट खसेका चराहरूको उद्धार गर्दै आएका छन्।
मोहम्मद साउद र नदिम शेहजादले उद्धार गर्ने अधिकांश चराहरू सिसा दलिएका चङ्गा उडाउन प्रयोग गरिने धागोमा अल्झिएका वा कोतरिएका हुन्छन्।
उनीहरूले ती चराहरूलाई कार्डबोर्डका बाकसमा राखेर घरको भुईँ तल्लामा रहेको ग्यारेजमा ल्याउँछन्। जहाँ उनीहरूको उपचार र हेरचाह सुरु हुन्छ।
उनीहरूले घाउ सफा गर्छन्, चिरिएका पखेटाहरू र भाँचिएका हड्डीहरू मिलाएर उपचार गर्छन्।
"तपाईँ एउटै देशमा बस्ने, एउटै धर्म र राजनीति मान्ने कुराहरूको वास्ता गर्नुहुन्न," उनीहरूको कामबारे बनेको पुरस्कार विजेता वृत्तचित्र 'अल द्याट ब्रिद्स्'मा यी दाजुभाइ जोड दिन्छन्।
"जीवन आफैँमा नाता हो त्यसैले हामीले चराहरूलाई यत्तिकै छोड्न सक्दैनौँ।"
हालैको 'सनडान्स फिल्म फेस्टिभल २०२२' मा विश्व वृत्तचित्र प्रतिस्पर्धामा विजेता बनेको उनीहरूबारेको फिल्म मानिसहरूलाई चकित बनाउने किसिमको चाहिँ होइन।
शौनक सेनको ९१ मिनेटको वृत्तचित्र यी दाजुभाइहरूप्रति सम्मान दर्साउने, जलवायु परिवर्तनबारेका अफवाह र दिल्लीको भित्री सहरमा असुरक्षित जीवन देखाउने प्रकृतिको छ।
कसरी सुरु भयो
हलिवूड सम्वाददाता सेन यसलाई एक पटकमा धेरै दिने वृत्तचित्रको एउटा सानो अंशको संज्ञा दिन्छन्। घरको भूइँतल्लामा खिचिएको वृत्तचित्रमा यी दाजुभाइले टेबलमा चराहरूको उपचार गरिरहेको देखाइएको छ। तरल साबुन डिस्पेन्सर बनाउने पारिवारिक व्यवसायसँगै उनीहरूले उद्धार गरिएका चराहरूलाई नयाँ जीवन दिइरहेका छन्।
स-साना प्राणीहरूलाई नयाँ जीवन दिने कामसँगै उनीहरूले आफ्नो जीविका पनि चलाइरहेका छन्। कामसँगै उनीहरूका एक जना सहयोगीले भारत पाकिस्तानबीच परमाणु युद्ध भएमा चराहरूको हालत के होला भन्ने चिन्ता व्यक्त गर्छन्।
एकजना भाइले उनलाई तत्कालै सोध्छन् "तिमीले यस्तो कुरा कहाँ सुन्यौ?" उनले जवाफ आउँछ "सामाजिक सञ्जालमा।"
माथिल्लो तल्लामा परिवारका अन्य सदस्यले ठूलो आवाजमा टेलिभिजनमा समाचार सुनिरहेको तलैबाट सुनिन्छ। समाचार सहरमा हिन्दु र मुस्लिम समूदायबीच विवादास्पद नागरिकता विधेयकको विषयमा दङ्गा फैलिएकोबारे छ। यो सन् २०२०को सुरुतिरकै कुरा हो।
बाहिर पट्टिको धुवाँयुक्त आकाशमा तल जमिनमा खानेकुरा खोज्दै उडिरहेका चराहरू छन्।

तस्बिर स्रोत, SAUMYA KHANDELWA
दिल्लीको ढल मिसिएर बग्न सङ्घर्ष गरिरहेको यमुना नदी पनि नजिकै छ।
घरको छतमा उद्धार र उपचार गरिएका चराहरूलाई यी दाजुभाइले पिँजडामा राखेका छन्। अचानक माथिबाट एउटा चरा आएर दाजुभाइका सहायकको चस्मा लैजान्छ।
"यो चराले मेरो चस्मा किन चोर्यो?" उनी अचम्ममा पर्छन्।
यी दाजुभाइ उनीहरूले उद्धार गरेर ल्याएको पहिलो चरा मांसाहारी भएकै कारण नजिकैको चरा अस्पतालले उपचार गर्न अस्वीकार गरेको घटनाबारे चर्चा गर्छन्। त्यही बेलादेखि हो उनीहरूले चराका अङ्गहरूबारे जान्न थालेको, उनीहरू भन्छन्।
उनीहरूले चरालाई पट्टी बाँध्ने तरिकाहरू सिके र उपचारको काम जाने। अब उनीहरूलाई यही काम प्रिय लाग्न थाल्यो। उनीहरू भुईँमा सुतेर आकाशतिर हेरेर टोलाउँथे। "त्यसरी हेर्दा टाउको घुम्छ नि त्यसरी आकाश हेर्नुभएको छ?" उनीहरू भन्छन्।
चराहरूसँग सम्बन्ध
दिल्लीमै हुर्के बढेका सेनले सूर्य ढाकिएर एउटा धब्बाजस्तो मात्रै देखिने दिल्लीको तुँवालो लागेको आकाशसँग र त्यहाँ उड्ने चराहरूसँग सम्बन्ध भएका दुई जना दाजुभाइ भेटे। चराहरू प्रायः चङ्गा उडाउन प्रयोग गरिने धागोमा बेरिएर घाइते हुन्थे।
उनीहरूलाई फिल्म बनाउन तीन वर्ष लाग्यो। सेनले आफ्नो कला प्रदर्शन गर्दै दिल्लीको सचित्र अवस्था वृत्तचित्रमा उतारेका छन्। उनले २००औँ तल्ले अग्ला घरहरूबाट आकाश छुन उडिरहेका चङ्गा, चिम्नीहरूबाट निस्किरहेको कालो धुवाँ र यी दाजुभाइको घर बाहिर खाल्डाखुल्डी परेको सडक र वर्षामा ढलको पानी चुहिएर उनीहरूको भुईँ तल्लामा छिरेपछि परेको आपत्का दृश्य यसमा समेटेका छन्।
ढलमा डुलिरहेका सुँगुरहरू र वायु प्रदूषणको तह खतरनाक उचाइमा पुगेका विषयले यसलाई सजिव बनाएको छ। "मेरो घाँटी कोइलाजस्तै भएको छ," यो फिल्ममा शेहजाद भन्छन्।

तस्बिर स्रोत, MAGE COURTESY KITERABBIT FILMS
यद्यपि यो सहरी जङ्गलमा जीवन र आशा छ। बाक्लै टाँगिएका बिजुलीका तारहरूमा बाँदरहरू झुन्डिएर खेल्छन्। खजुरो पौडिरहेको पानी जम्ने खाडलमा आकाशमा उडेको विमानको प्रतिबिम्ब देखिन्छ।
यी दाजुभाइ भुइँतल्लामा क्रिकेट खेल्दै रमाउँछन् र सरकारले उनीहरूको गैरनाफामुखी कामका लागि विदेशी अनुदान स्वीकृत गरेको खुसीमा मूसलधारे वर्षामा पनि आइसक्रिम खान्छन्।
जब मौसम सफा हुन्छ सलाईका बट्टा जस्ता घरका छानाहरू मानिसहरूले भरिन्छन् र आकाश उनीहरूले उडाउने चङ्गाले ढाकिन्छ। चराहरू फेरि भुईँमा खस्न थाल्छन् अनि यी दाजुभाइको काम फेरि सुरु हुन्छ।
चराको उद्धारमा यतिसम्म मेहनत
कुनै समय उनीहरूको भुईँ तल्लामा घाइते चराहरूको सङ्ख्या १०० वटासम्म पुग्छ। कहिले ती धुवाँले बाटो नदेखेर अग्ला भवनहरूमा ठोक्किएर झरेका हुन्छन् त कहिले गुजुल्टिएका तारहरूमा अल्झिएर।
यी दाजुभाइ पखेटा भाँचिएको चरालाई उद्धार गर्न पौडिएर खोला तर्छन्।
उनीहरूका एक छिमेकी आफ्नो घर माथि चरा खस्नबाट रोक्ने उपाय खोज्दै ढोकामा देखिन्छन्। उनीहरू हेलमेट लगाउँछन् र एउटा छडी बोकेर उनको घरमा जान्छन्। नजिकैको भवनमा चराका बचेरा हुन्छन् र उनको छतमा खसेको चरा आहाराको खोजीमा आकाशमा घुम्दै गरेको भोको माउ हुनसक्छ। उनीहरूले उनलाई सल्लाह दिन्छन्।

तस्बिर स्रोत, Getty Images
ठूलो फोहोर फाल्ने क्षेत्र गाजीपुरसहित दिल्लीको धेरै क्षेत्रको आकाशमा चराहरू विचरण गर्छन्। तर आकाशबाट झर्ने चराहरूलाई यी दाजुभाइले ठूलो विनाशबाट बचाउँदै आएका छन्। उनीहरूको यो काम कहिलेसम्म चलिरहन्छ निश्चित छैन।
"यो भुईँ तल्लामा समय कसरी बित्छ तपाईँलाई थाहै छैन। एक दिन मलाई हृदयघात हुनसक्छ र म यो चिसो भुईँमा लडिरहेको पनि हुनसक्छु," एक जना भाइ भन्छन्।
"मेरो छाती फुट्यो भने भित्रबाट चराहरू पनि उडेर जान्छन्।"









