चितवनमा नालीमा खसेर गैँडा मर्नु दुर्घटना कि लापरबाही, किन हुन्छन् यस्ता घटना

- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वनबीचको क्षेत्रमा आइतवार एउटा भाले गैँडा सडकछेउ खनिएको नालीमा खसेर मरेको समाचार आएपछि सामाजिक सञ्जालमा त्यसबारे निकै चर्चा भइरहेको छ।
धेरैले उक्त घटना र त्यस्तै प्रकृतिका अन्य घटनाका लागि को जिम्मेवार भनेर प्रश्न गरिरहेको देखिन्छ।
राष्ट्रिय निकुञ्जले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण उक्त संरक्षित वन्यजीवनको मृत्यु भएको निष्कर्ष निकालेको छ।
वन्यजन्तु आवतजावत गर्ने एउटा साँघुरो मार्गमा जसरी संवेदनशीलता र मूल्याङ्कनसाथ काम हुनुपर्थ्यो 'सडक (डिभिजन) ले त्यो पाटोमा ध्यान दिइएको नपाइएको' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बीबीसीलाई बताए।
"जङ्गल क्षेत्रमा गैँडाहरू जुधेर भाग्ने क्रममा गैँडाले एउटा विद्युतीय तारको सीमा समेत तोडेको र निर्माणकै क्रममा रहेको संरचनामा फसेर मृत्यु भएको अहिलेसम्मको मूल्याङ्कनमा देखिन्छ," आचार्यको भनाइ छ।
"दुर्लभ वन्यजन्तुको एउटा सङ्ख्या यसरी घट्नु भनेको ठूलो क्षति हो।"
जिम्मेवारी कसको?
सामाजिक सञ्जाल ट्विटरमा विनोद आचार्यले "यो कस्तो स्मार्ट सिटी हो, गैँडा पनि धरापमा परी मर्ने" लेखेका छन् भने अर्का प्रयोगकर्ताको "...मन्त्रीको स्कूटर मात्रै होइन गैँडा समेत धरापमा पर्न थाल्यो! जिम्मेवारी कसले लिने हो?" भनेर प्रश्न गरेका छन्।
केही व्यक्तिले गैँडाको मृत्यु भएको घटनामा मुद्दा हाल्न सकिन्छ कि सकिँदैन भनेर टिप्पणी गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
गत वर्ष गरिएको गणनामा नेपालमा ७५२ वटा गैँडा फेला परेका थिए।
तीमध्ये अधिकांश (६९४) चितवनमा थिए। चितवनलाई विश्वमै एकसिङ्गे गैँडाको दोस्रो प्रमुख वासस्थान मानिन्छ।
तर त्यसअघिको सन् २०१५ मा गरिएको गणनापछि झन्डै १०० वटा गैँडा थपिएका थिए।
तर लगभग त्यही हाराहारीमा गैँडाको विभिन्न कारणले मृत्यु पनि भएको निकुञ्जको विवरणले देखाउँछ।
निकुञ्जले "सङ्ख्या बढ्ने क्रममै रहे पनि" रोग तथा उमेरका कारण तथा जुध्ने क्रममा धेरैजसो गैँडाको मृत्यु भएको जनाएको छ।
किन यस्ता दुर्घटना
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश सुवेदीले वन्यजन्तुले अनाहकमा ज्यान गुमाउनुपरेको आइतवारको घटना र पछिल्ला त्यस्ता कैयौँ खबरले "वन्यजन्तु कोरिडोर"मा पर्यावरणीय प्रभाव मूल्याङ्कनले देखाएका कुरामा ध्यान नदिनुको प्रतिफल भएको बताउँछन्।
"चितवनको घटनामा त्यो संवेदनशीलताको विचार नगरेको पाइयो। त्यो लापरबाहीको पराकाष्ठा हो। त्यहाँ वन्यजन्तु मात्र नभएर मानवीय क्षति नै हुन सक्थ्यो," सुवेदी भन्छन्।
"वनजङ्गल हुँदै ठूला विकास निर्माणका काम भविष्यमा अझै हुन लागेकाले यस्ता घटना दोहोरिरहन सक्ने जोखिमलाई हेरेर अहिले नै सम्बन्धित निकायले पाठ सिक्नुपर्छ।"
सडकदेखि बिजुलीका पूर्वाधार बनाउने क्रममा वन्यजन्तुमैत्री उपायका बाटोमुनि वा माथि जनावर हिँड्न सक्नेगरी पुलहरू बनाउने, घातक नहुने बिजुलीको झट्का दिनेगरी तारबार गर्ने वा सडकहरू बार बनाउने जस्ता काम गर्न ढिलो भइसकेको विज्ञहरू ठान्छन्।
त्यसले अर्को मुख्य कारण सडक दुर्घटनामा ज्यान गुमाइरहेका धेरै वन्यजन्तुहरू जोगाउन सकिने विज्ञहरू बताउँछन्।
सूचना प्रणालीको आवश्यकता
आफ्नो मुख्य वासस्थानबाट यस्ता दुर्लभ वन्यजन्तुहरू बाहिर निस्कँदा उनीहरूको निगरानी गर्ने एकीकृत प्रणालीको आवश्यकता अब महत्त्वपूर्ण हुने एकथरी संरक्षणकर्मीहरू बताउँछन्।
वनव्यवस्थापनमा समुदायको भूमिकाबारे कामहरू गरेकी संरक्षणकर्मी सुशीला नेपालीले आवश्यक देखिएको बलियो प्रणालीका लागि सरकारको एक्लो प्रयासको अर्थ नहुने बताउँछिन्।
"समुदायमा रहेको चोरीसिकारी नियन्त्रण समूह र निकुञ्जमा हुने सुरक्षाकर्मीबीचको समन्वय उच्च स्तरको हुनुपर्छ। मध्यवर्ती क्षेत्रका मानिसहरूलाई समेत सूचना लिनेदिने प्रणालीबारे थाहा हुनुपर्छ।"
खानपान वा अन्य व्यवहारले वन्यजन्तुको हिँडडुल निगरानी गर्न सकिने भएकाले ती घाइते भएको वा कतै फसेको अवस्थामा उद्धार र उपचारको काम समेत गर्न सम्भव हुने नेपालीजस्ता संरक्षणकर्मीको मत पाइन्छ।
त्यसले वन्यजन्तुको मात्र नभएर उनीहरूबाट हुने मानवीय हानिलाई समेत रोक्न सकिने बताइन्छ।
जोखिम
विश्वभरि एकसिङ्गे गैँडाको कुल सङ्ख्या झन्डै ३,५०० जति छ। भारतको काजीरङ्गा राष्ट्रिय निकुञ्जपछि चितवनमा सर्वाधिक सङ्ख्यामा गैँडा पाइन्छ।
एकसिङ्गे गैँडा 'संरक्षणमा निर्भर' वन्यजन्तु भएकाले त्यसको जीवनचक्रमा हलचल हुँदा पुन: सङ्ख्या घट्न सक्ने जोखिम रहिरहने गैँडामै विद्यावारिधि कोषका प्रवक्ता नरेश सुवेदी बताउँछन्।
"गैँडाका हकमा एउटा बच्चा जन्मिनलाई तीन वर्ष लाग्छ र एउटा स्वस्थ पोथीले आफ्नो जीवनकालमा एक दर्जनभन्दा कम नै बच्चा जन्माउनेहुर्काउने काम गर्न सक्छे," सुवेदी भन्छन्।
गैँडाको सङ्ख्या बढेपछि जुधेर मर्ने भालेको सङख्या पनि बढेको बताइन्छ।
त्यसैले अब थोरै सङ्ख्यामा गैँडाहरू भएका बर्दिया, शुक्लाफाँटा र पर्साजस्ता अन्य ठाउँमा तिनलाई हुर्काउनेगरी काम भइरहेको संरक्षण अधिकारीहरू बताउँछन्।
७५२देशभरि गैँडाको कुल सङ्ख्या
५२०वयस्क
६९४चितवन
३८बर्दिया
१७शुक्लाफाँटा
३पर्सा
"पालनपोषणमा धेरै दु:ख नहुने घाँस खाने यो जनावर कुनै बेला चोरीसिकारबाट जोखिममा थियो," सुवेदीले भने।
"त्यो विस्तारै नियन्त्रणमा आइरहेका बेला हामीले अन्य मानवीय कारणले ज्यान जाने अवस्था सिर्जना हुन दिनुहुँदैन।"
यो पनि हेर्नुहोस्














