दक्षिणी भारतमा जङ्गली हात्ती र मानिसहरू कसरी मिलेर बसेका छन्

गणेसन

तस्बिर स्रोत, Shola Trust

तस्बिरको क्याप्शन, गणेसन नाम गरेको हात्ती
    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

केही वर्षअघि पहाडको साँघुरो बाटोमा गाडी चलाइरहेका बेला तर्ष थेकाएकरले एउटा भाले हात्ती आफूतिर आइरहेको देखे।

"त्यहाँ फरक्क फर्किन ठाउँ नै थिएन, कार रोकर म बाहिर निस्केँ अनि पछाडि भागेँ," थेकाएकरले बीबीसीसँग भने।

यदि तपाईँ हात्तीनजिक जानुभयो भने तिनीहरूले आक्रमण गर्न खोजे जस्तो दौडेर आउन सक्छन् र यदि गाडीभित्र हुनुहुन्छ भने तिनीहरूले आक्रमण गरे जस्तो गर्छन्।

"उनीहरूले भने 'नडराउनुहोला हात्ती पनि गाईजस्तै हुन्छन्। पानी खानका निम्ति तिनीहरू आउँछन् र कुनै हानि पुर्‍याउँदैनन्'।"

अनि उनीहरू सही प्रमाणित भए।

थेकाएकरलाई आश्चर्य लाग्नेगरी हात्तीले केही गरेन र पानी जमेको खाल्डोतिर त्यो लाग्यो।

हात्तीसम्बन्धी अनुसन्धानकर्ता थेकाएकर दक्षिणी भारतको गुडालुर वन कार्यालयमा काम गरिरहेका थिए र घटनाका बेला उनलाई हात्तीको व्यवहार फरक लाग्यो र त्यसबारे उनले थप जान्न खोजे।

हात्तीहरू सहर आउँदै... र बस्दै

थेकाएकरले उक्त हात्तीको नाम गणेसन राख्ने स्थानीय बासिन्दालाई खोज्न थाले।

संसारका धेरै ठाउँमा हात्तीहरू खानेकुरा र पानीको खोजीमा मानवबस्तीमा प्रायः पुगिरहन्छन्।

सुतिरहेका गणेसन

तस्बिर स्रोत, Shola Trust

तस्बिरको क्याप्शन, सुतिरहेका गणेसन

सामान्यतयाः केही दिनपछि तिनीहरू जङ्गल फर्किन्छन्।

तर दक्षिणी भारतमा त्यो हात्तीजस्तै धेरै हात्तीहरू मानिसहरूसँग मिलेर बस्न थालेका छन् र ठूला जङ्गलसँग जोडिएका सहरमा अधिकांश समय व्यतीत गर्न थालेका छन्।

गुडालुर सहर र त्यससँग जोडिएका गाउँहरूमा गरी करिब साढे दुई लाख मानिस बस्छन्।

मुन्नार सहर गइरहने अर्को हात्ती

तस्बिर स्रोत, Hadlee Renjith

तस्बिरको क्याप्शन, मुन्नार सहर गइरहने अर्को हात्ती

पाँच सय किलोमिटर जङ्गल क्षेत्रमा चिया र कफी खेती पनि पर्छ अनि करिब १५० वटा जङ्गली हात्ती सो क्षेत्रमा बस्छन्।

सहरमा बस्दाबस्दै गणेसनजस्तै कतिपय हात्तीको बानी यस्तो भइसकेको छ कि तिनीहरूको नजिक पटाका पड्काउँदा अथवा ढ्याङ्ग्रो ठटाउँदा पनि मानिसहरूतर्फ न दौडिँदै आउन खोज्छन् न त आक्रमण नै गर्छन्।

"मैले थाहा पाएका सबैकुराका विपरीत तिनीहरू देखिए," थेकाएकर भन्छन्।

उनको खोजले हात्तीहरू आफ्नै तरिकाले मानिसहरूसँग मिलेर बस्न सिक्न सक्षम छन् भन्ने देखाउँछ।

पानी ट्याङ्कीबाट पानी पिउने, खानेकुरा चोर्ने तर कसैलाई हानि नपुर्‍याउने

गुडालुर हात्ती निरीक्षण कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता रहेका थेकाएकरले सो क्षेत्रमा बस्दै आएका सबै हात्तीबारे अध्ययन गर्ने निर्णय गरे र मानिसहरूसँग मिलेर बसिरहेका पाँचसहित ९० वटा जङ्गली जीवको विवरण उनले तयार पारे।

अध्ययनबाट के थाहा भयो भने सहरमा बस्दै आएका हात्तीहरू वृद्ध भाले हुँदा रहेछन् र तिनीहरूले कसरी खानेकुरा र पानी पाउने रहेछन् भन्नेबारे पनि अध्ययनबाट थाहा भयो।

गणेसन

तस्बिर स्रोत, Shola Trust

तस्बिरको क्याप्शन, गणेसन

"हामीले गणेसनलाई तीन वर्ष पछ्यायौँ। त्यो जङ्गलभित्र कहिल्यै गएन। त्यसले सबै समय मानिसहरूमाझ बिताउने रहेछ।"

"त्यो सधैँ सडकका छेउमा सुत्थ्यो। बसहरूमा त्यसले सुँड छिराउँथ्यो र कहिलेकाहीँ सिसाहरू फुटाउँथ्यो। केही टुकटुकमा पनि त्यसले आक्रमण गरेको थियो।"

गणेसनले घरहरूमा बनाइएका पानी ट्याङ्कीबाट पानी पिउने गर्थ्यो।

रिभाल्डो नाम गरेको हात्तीले एक व्यक्तिबाट कुखुराको बिर्यानी खोस्दै गरेको भिडिओ निकै भाइरल बनेको थियो र धेरैलाई त्यो अनौठो लागेको थियो।

तर थेकाएकरजस्ता हात्तीसम्बन्धी अनुसन्धानकर्ताले सजिलैसँग त्यसको वर्णन गर्न सक्छन्।

हात्ती

तस्बिर स्रोत, Shola Trust

"सामान्यतया हात्तीहरूलाई भात र नुन मन पर्छ। कुखुराको बिर्यानी संयोग थियो," थेकाएकर भन्छन्। हात्तीहरू शाकाहरी हुन्।

जङ्गली हात्तीहरूले अधिकांश समय खानेकुरा र पानीको खोजीमा बिताउँछन्।

थेकाएकरका अनुसार सहरी क्षेत्रमा तिनीहरूले दुई घण्टाभन्दा कम समयभित्र खानेकुरा फेला पार्छन्।

"जब तिनीहरूले बालीनाली र पकाइएका खानेकुरा खान्छन् त्यसमा क्यालोरी उच्च हुन्छ। अतः तिनीहरूले धेरै खाइराख्नु पर्दैन।"

मानवहरू पनि मिलेर बस्न सक्नुपर्छ

वर्षौँपछि स्थानीय बासिन्दाले के महसुस गरे भने हात्तीहरूसँगै मिलेर बस्नका निम्ति उनीहरूले पनि हात्तीहरूले जस्तै अनुकूल भइदिनुपर्ने रहेछ।

वरदान सहरी क्षेत्रमा बस्ने ठूला हात्तीमध्ये एउटा हो। त्यो गुडालुरमा पर्ने थोरापाली नगरमा नियमितजसो आइरहन्छ जहाँको एउटा रेस्टुराँमा गएर बाँकी रहेका खानेकुरा त्यसले खान्छ।

वरदान नाम गरेको हात्ती

तस्बिर स्रोत, Shola Trust

तस्बिरको क्याप्शन, वरदान नाम गरेको हात्ती

"रेस्टुराँ सञ्चालकले बाँकी रहेका तरकारी तथा केराका पात त्यसका लागि राखिदिन्छन्।"

जान अस्वीकार

सो क्षेत्रमा रहेको वन विभागका अधिकारीहरूलाई वन्यजीवले आक्रमण गर्न खोजेमा मानव हताहत हुन सक्ने डर भयो।

त्यसो भएर रिभाल्डोको हकमा उनीहरूले त्यसलाई जङ्गल फर्काउने प्रयत्न गरे।

थेकाएकरका अनुसार "एक व्यक्तिले भुइँकटहर राख्न थालेपछि रिभाल्डो ऊटी सहर आउन थाल्यो।"

रिभाल्डो नाम गरेका हात्ती

तस्बिर स्रोत, Shola Trust

तस्बिरको क्याप्शन, रिभाल्डो नाम गरेको हात्ती

खानेकुरा सकेपछि पनि रिभाल्डो फर्किन छाड्यो।

त्यसपछि रिजोर्टका सञ्चालकले त्यसलाई खुवाउन थाले र एउटा पर्यटकीय आकर्षण बनाए। तर सँगै खेल्दा त्यसले समस्या मानेन।

समयसँगै हात्ती र स्थानीय बासिन्दाहरूले एकअर्काप्रति विश्वास गरेको देखियो।

यद्यपि हात्तीले कुनै दिन आक्रमण गर्ने प्रयास गर्न सक्ने त्रासमा पटकपटक वन अधिकारीहरूले प्रशिक्षित हात्तीको प्रयोग गरेर घना जङ्गलभित्र लगी रिभाल्डोलाई छाडे।

तर ४० किलोमिटर यात्रा गरेर २४ घण्टाभित्र त्यो पुनः सहर आइपुग्थ्यो।

रिभाल्डो करिब १५ वर्षदेखि सहरमा बस्दै आएको छ र मानिसहरूसँग मिलेर बस्ने त्यो पहिलो हात्ती भएको थेकाएकर बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यस्तो चलाख हात्ती!

जङ्गली जनावरले मान्छे मार्छन्

विगत आठ वर्षमा गुडालुर वन विभाग क्षेत्रमा हात्तीको आक्रमणबाट ७५ जना मारिएका छन्।

तर तीमध्ये "सहरिया हात्ती" को आक्रमणबाट एक जनाको मात्र ज्यान गएको बताइन्छ।

गणेसन

तस्बिर स्रोत, Shola Trust

तस्बिरको क्याप्शन, गणेसन

आक्रमणकारी जेम्स लौरिस्टन नाम गरेको हात्ती अझै मानिसहरूमाझ बस्दै आएको थेकाएकर बताउँछन्।

जानाजान नभई एउटा दुर्घटनामा एक व्यक्ति त्यसबाट मारिएको मानिसहरूले देखेका थिए।

"जङ्गली हात्तीको आक्रमणबाट स्थानीय बासिन्दा मारिने गरे पनि उनीहरूले सहरिया हात्तीलाई हानि पुर्‍याउँदैनन्। किनकि तिनीहरू शान्तिपूर्ण भएको उनीहरूलाई थाहा छ।"

भविष्यमा हात्ती र मानवहरू मिलेर बस्ने क्रम बढाऔँ

भारतमा संरक्षित क्षेत्र र बाहिर गरी करिब २७,००० हजार हात्ती छन्।

थेकाएकरको विश्वासमा मानिस तथा जनावरहरू मिलेर बस्दा तिनीहरू अस्तित्वमा रहने क्रम बढ्न सक्छ।

"जीवविज्ञानका अनुसार प्रजातिहरूले एउटा निश्चित तरिकाले व्यवहार गर्छन्। तर अब हामीले हात्तीहरूबारे थप जान्नका निम्ति हात्ती विशेषको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ। त्यो कुरा अब सुरु भइरहेको छ," उनले भने।

हात्ती

तस्बिर स्रोत, Shola Trust

अक्सफर्ड विश्वविद्यालयमा पढेका यी अनुसन्धानकर्तालाई विश्वास छ कि उनको अध्ययनले दुःख दिने हात्तीहरूको पहिचान गर्न तथा संरक्षण गर्नमा सघाउ पुर्‍याउनेछ।

अझ बढी हात्तीहरू जङ्गल छाड्ने र मानिसहरूसँग मिलेर बस्ने क्रम बढ्न थालेको उनी बताउँछन्।

अनि यो क्रम जारी रहने उनको अनुमान छ।

गणेसन मरेपछि वन विभागका अधिकारीहरूले त्यसको शव पुरिदिए। त्यसपछि स्थानीय बासिन्दाहरूले गणेसनप्रति आफूहरूको भावना दर्शाउँदै मृत्युपछिका संस्कारहरू गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन फुक्यो हात्तीले खरानी?