एशियाली हात्ती: छालाको लागि हात्तीको विनाश, नयाँ कारोबारको घातक असर

तस्बिर स्रोत, AFP
- Author, स्वामिनाथन नटराजन
- Role, बीबीसी विश्व सेवा
जानकारी: यो सामग्रीमा प्रयोग गरिएका तस्बिरले तपाइँलाई विचलित पार्न सक्छन्।
"मलाई कसैले मुक्का हानेकोजस्तो अनुभव भयो। मैले ती फोटो हेरिरहन सकिनँ। जीवनमा पहिलोपल्ट मैले आफूलाई असहाय अनुभव गरेँ," वर्ल्ड विश्व वन्यजन्तु कोष म्यान्मारका निर्देशक क्रिस्टी विलियम्सले भने।
उनले छाला काढिएको एउटा हात्तीका तस्बिरहरू हेरेपछि यसो भनेका हुन्।
"छाला पूरै निकालिएको थियो। तपाईँले केवल एक मृत र कुहिन थालेको मासु देख्न सक्नुहुन्छ," उनले बीबीसीलाई बताए।
"हात्ती अनुसन्धान तथा संरक्षणमा मैले बिताएको २० वर्षको अवधिमा मैले धेरै त्रासदीपूर्ण घटना देखेको छु। तर यो त अत्यन्त विभत्स थियो।"
प्रमाण
यी जनावरको सङ्ख्या ह्रास हुनुको पछाडि हात्तीको दाह्राका लागि हुने चोरीसिकार तथा वनविनास दुई मुख्य कारण हुन्।
तर हात्तीको छालाको बढ्दो माग एशियाली हात्तीका लागि नयाँ खतराको रूपमा देखा परेको छ।

तस्बिर स्रोत, Getty Images
यो नौलो व्यापारको प्रमाण सन् १९९० को मध्यताका चीनमा देखा परेको थियो। तर अचेल हात्तीको छालाबाट बनाइएका सामान किन्ने मानिसहरू केवल चीनमा मात्र सीमित छैनन्।
"छालाको व्यापार पूरै क्षेत्रमा फैलिरहेको छ। हामीले यसको प्रमाण पाँचवटा एशियाली देशमा पायौँ - चीन, म्यान्मार, लाओस, भियतनाम र क्याम्बोडियामा," यूकेस्थित गैरसरकारी संस्था 'एलिफन्ट फ्यामिली'का संरक्षण प्रमुख डेभिड एम अगेरीले भने।
तर यस्तो माग केले बढाइरहेको छ?
औषधि
चीनमा हात्तीको छालालाई धूलो पारेर औषधिको रूपमा प्रयोग गरिन्छ।
त्यसरी बनाइएको धूलोलाई अल्सर, पेट फुल्ने बिमारी तथा पेटको क्यान्सरसम्मको उपचारका लागि उपयोगी भनेर बेचिन्छ।
यो धूलोलाई हात्तीको बोसोसँग मिसाएर बनाइने क्रिमलाई छालाको सङ्क्रमणको उपचारका लागि भन्दै बेचिन्छ।
फेशन उद्योगले पनि विभिन्न आभूषण बनाउन यी सामान किन्छन्।
हात्तीको छालालाई मालाको गेडाको स्वरूपमा ढालेर ब्रास्लेट तथा नेकलेस बनाउन प्रयोग गरिन्छ साथै यसको चारकुने टुक्रालाई गलामा लगाउने हारको पेन्डन्टका रूपमा प्रयोग गरिन्छ।
हत्या
यी मागहरू पूरा गर्न म्यान्मारमा हात्तीहरूको व्यापक चोरीसिकार हुने गरेको छ।

तस्बिर स्रोत, WWF Myanmar
"हात्तीहरूलाई प्राय: विषालु तीरले प्रहार गरिन्छ। घाइते हात्ती कैयौँ दिनसम्म छटपटाएर मर्छ। उसको जीउको सबै भागमा विषको सङ्क्रमण फैलन्छ," क्रिस्टी विलियम्सले बताए।
"कतिपय घटनामा हात्ती केवल अचल भएको हुन्छ तर मरिनसक्दै उसको छाला काढ्न थालिन्छ। उसको शरीरको प्रत्येक इन्चको छाला बडो दक्षताका साथ निकालिन्छ।"
एलिफन्ट फ्यामिली समूहले छालाको धूलोलाई सालकको कत्लासँग मिसाएर पारम्परिक औषधिको रूपमा बेच्ने गरेको पायो।
दुर्लभ
हात्ती एशियाका १३ वटा देशमा पाइन्छ। कुल सङ्ख्या ५० हजारभन्दा कम छ। जसको ६० प्रतिशत त भारतमा मात्रै छ।
इन्टरन्याश्नल युनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन) ले एशियाली हात्तीलाई दुर्लभ वन्यजन्तुमा वर्गीकरण गरेको छ।
पोथी एसिशाली हात्तीको अफ्रिकी हात्तीमा जस्तो दाह्रा हुँदैन।
त्यसैले पोथी हात्ती तथा छावाहरू दाह्राका निम्ति हुने चोरीसिकारबाट जोगिएका छन्। तर यो नयाँ खतराले भने उनीहरू जोखिममा छन्।
"छालाको चोरीसिकार व्यापक छ। यसले भाले, पोथी तथा छावा सबैलाई असर पारेको छ। दाह्राका कारण हुनेभन्दा धेरै गम्भीर प्रभाव छालाका कारण हुने चोरीसिकारले पार्ने कुरा सबैले बुझ्न आवश्यक छ," स्मिथसोनियन कन्जर्भेशन बायोलजी इन्स्टिट्युटका पिटर लाइम्ग्रुबरले बताए।
माग
म्यान्मारमा सन् २०१० देखि २०१८ को बीचमा कम्तीमा २०७ वटा हात्ती मारिएको आधिकारिक तथ्याङ्कले देखाउँछ।

तस्बिर स्रोत, WWF, Myanmar
म्यान्मारमा दुई हजार हात्ती रहेकोमा यो निकै ठूलो सङ्ख्या हो।
"सन् २०१० देखि चोरीसिकार ठूलो समस्या भएको छ," म्यान्मारको वन विभागका महानिर्देशक डा. नी नी क्यावले भने।
सन् १९४० मा १० हजारको सङ्ख्यामा रहेका म्यान्मारका जङ्गली हात्ती अहिले छालाका निम्ति मारिन्छन्।
"आजका दिनमा हात्तीको पूरै शरीरको माग छ, खासगरी चीनका मानिसहरूबाट। सुँडबाट परम्परागत औषधि बनाइन्छ। छालाको प्रयोग आभूषण वा माला बनाउन गरिन्छ। मासु पनि विभिन्न कामका लागि प्रयोग गरिन्छ। बजारको यस्ता मागका कारण हात्ती गैरकानुनी ढङ्गले मारिन्छन्," डा क्यावले भने।

तस्बिर स्रोत, WWF Myanmar
"छाला काढिएका तथा आगोमा फ्याँकिएका हात्तीका शरीर भेटिएका छन्।"
स्मिथसोनियन इन्स्टिट्युटका अनुसन्धानकर्ताहरूले १९ वटा हात्तीमा रेडियो कलर जडान गरेर म्यान्मारमा तिनको हिँडडुलको अध्ययन गरे। तर मार्च २०१५ तथा जुन २०१७ को बीचमा उनीहरूले तीमध्ये सात मारिएको र दुई हराएको पाए।
साथै सन् २०१७ को मार्चमा अयेयरवाडी डेल्टा क्षेत्रमा एकै ठाउँमा अनुसन्धानकर्ताहरूले २० वटा हात्तीको शव भेट्टाए। यो घटनाबाट उनीहरूमा कतै त्यहाँ भइरहेको चोरीसिकारको स्तर कम आँकिएको त छैन भन्ने परेको छ।
भियतनाम
सन् २०१३ मा मध्ये भियतनामका वन अधिकृतहरूले मिन्ह होआ जिल्लामा छाला काढिएको हात्ती भेट्टाए। त्यसले यस्तो चोरीसिकारका कारण भियतनाममा पनि हात्ती जोखिममा रहेको सम्भावना देखायो।
भियतनाममा केवल एक सय हात्ती छन्।

तस्बिर स्रोत, Getty Images
विगतमा यस्ता गैरकानुनी व्यापार रोक्न केही नगरेको दोष लाग्ने गरेको चीनले अचेल यस्ता क्रियाकलापमा कडिकडाउ गर्न थालेको छ।
तर कारोबारीहरूले अन्लाइन माध्यमको प्रयोग गर्न थालेका छन्।
"सीधा हुने किनबेच घट्दै गएको छ भने अन्लाइनमार्फत् हुने कारोबार बढेको छ। यो पत्ता लगाउन र रोक्न एकदम कठिन छ," डेभिड एम अगेरीले भने।
अनुसन्धानकर्ताहरूका अनुसार ब्याङ्क ट्रान्स्फर वा एपबाट भुक्तानी गरिन्छ।
कारोबार
"छाला दाह्राजत्तिको मूल्यवान् छैन, तर फेशनको संसारको आफ्नै तरिका छ। यदि ह्वात्त माग बढ्यो भने हात्तीहरूका लागि घातक हुन्छ", आईयूसीएनमा एशियाली हात्तीसम्बन्धी कार्यक्रम व्यवस्थापक सन्दीपकुमार तिवारीले बताए।

तस्बिर स्रोत, Getty Images
एलिफन्ट फ्यामिलीका अनुसन्धानकर्ताहरूले म्यान्मारका व्यापारीहरूले हात्तीको छाला प्रतिकिलो १०८ डलरमा बेचिरहेको भेट्टाए।
चिनियाँ सहर ग्वाङ्जाउमा त्यसको मूल्य दुई सय डलर छ भने अन्लाइनमा त्यसलाई २८५ डलर तोकिएको छ।
हात्तीको छाला प्रयोग गरेर बनाइएको उच्च गुणस्तरका माला प्रतिग्राम ३२ डलरमा बेचिन्छन्।
आवश्यक चेतावनी
यी उच्च मूल्यका कारण हात्तीको छालाको माग पनि बढ्न सक्ने डर छ।
केही कारबाही थालिएका पनि छन् - चीनले जस्तै म्यान्मारले पनि यो बढ्दो कारोबार रोक्न केही कदम चालेको छ।

तस्बिर स्रोत, Getty Images
त्यहाँका प्रहरीले हालसालै चोरीसिकारमा संलग्न दश जनालाई पक्राउ गर्यो। तिनका साथबाट हात्तीको मासु पनि बरामद गर्यो।
तर चीन र म्यान्मारका अधिकारीहरूले यति गर्दागर्दै पनि ती पर्याप्त नभएको र थप कारबाही आवश्यक भइसकेको अभियानकर्मी तथा संरक्षणवादीहरूले बताएका छन्।
एलिफन्ट फ्यामिलीले छालाको कारोबारले स्थानीय पशुको सङ्ख्यामा गम्भीर खतरा पैदा गरेको बताएको छ।
"यदि यो अझ बढ्यो भने ती पाइने स्थानहरूमध्ये आधा स्थानबाट एशियाली हात्ती चाँडै नै लोप हुनेछन्।"
अन्तर्राष्ट्रिय संरक्षण तथा कानुन कार्यान्वयन गर्ने निकायबाट तत्काल हुने कारबाहीबाट मात्र सङ्कटबाट जोगिन सकिने उसले जनाएको छ।








