चितवन राष्ट्रिय निकुञ्ज वरपरका गैँडा देखिन थाले शहर बजारमा

गैँडा
तस्बिरको क्याप्शन, रात परेपछि गैँडा नारायणगढको बेलचोक वरपर देखिन थालेकोले मानिसहरू केही त्रसित बनेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका वनमा मात्र देखिने एक सिङ्गे गैँडा केही दिनयता नारायणगढ वरपर शहर बजारमा देखिन थालेपछि मानिसहरूले प्रश्न गर्न थालेका छन्: वनमा बस्ने गैँडा किन शहर बजार पसेका होलान्?

शहर बजारको बाक्लो बस्तीमा गैँडा देखिन थालेपछि स्थानीयवासीहरू केही असुरक्षित महसुस गर्न थालेका छन्।

केहिदिन यता रात परेपछि गैँडा नारायणगढको बेलचोक वरपर देखिन थालेको छ। त्यसकारण मानिसहरू केही त्रसित बनेका छन्।

कहिले एउटा त कहिले दुईटा गैँडा नारायणगढको बजार नजिकैको वनबाट बस्तीमा देखिएको प्रत्यक्षदर्शीहरूले बताए।

"रात भर बस्ने बिहान जाने"

प्रायजसो रातको समयमा गैँडा बजार क्षेत्रमा आउने गरेको नारायणगढ नौघरेकी राधिका खडकाले बताइन्।

"बेलुका ६-७ बजेबाट बिहानसम्म आउने गरेकोमा १ दिन त दिउसो १२ बजे गैँडा आयो। भैँसीलाई गैँडाले हान्छ भनेर परिवार नै डरले रोएर बस्यौँ। फेरि केही दिनपछि ३ वटा गैँडा आएर घरमा हान्न थाल्यो। हामी अत्तियौँ। तर केही भएन।"

सडकमा गैँडा

स्थानीयबासिन्दाका अनुसार गत वैशाख यता प्रायजसो हुलका हुल गैँडा शहर बजार पस्ने गरेका छन्।

खड्काले भनिन्, "कहिले त ६-७ वटा गैँडा आउँछन्। साँझ आएर रातभर बसेर बिहानपख फेरि जङ्गलतर्फ फर्कन्छन्।"

नारायणगढ बेलचोका पत्रकार रमेशकुमार पौडेललाई डर छ: गैँडासँग जम्का भेट भयो भने के गर्ने होला?

भिडिओ क्याप्शन सुरु हुँदैछ, गैँडा जोगाउने जुक्ती?

उनले भने, "बजार क्षेत्रमा यसरी गैँडा आउन थालेपछि रातमा वा बिहान हिँड्डुल गर्दा गैँडासँग जम्काभेट हुने हो कि भन्ने डर मनमा रहिरहन्छ।"

नारायणगढ बजार नजिकै नारायणी नदी र निकुञ्जसँग जोडिएको सामुदायीक वन र नगर वन रहेको छ। त्यो गैँडाको बासस्थान हो।

बजारमा नै गैँडा आउन थाले पछि संरक्षण अधिकारीहरू चनाखो हुनु पर्नेमा स्थानियबासिन्दाले जोड दिएका छन्।

गैँडाको संख्या बढेकै हो?

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन बेदकुमार ढकालले निकुञ्जमा गैँडाको संख्या वृद्धि भएका कारण यसरी गैँडा बाहिर आउने क्रम बढेको हुन सक्छ। उनले तिनलाई नियन्त्रण गर्ने प्रयास जारी रहेको बताए।

"शहर बजार क्षेत्रमा मात्र होइन चितवन राष्ट्रिय निकुञ्ज र वरपरको वनहरूमा केही वर्षयता गैँडा देखिने क्रम बढेको छ। गैँडा बाहिर आउन नदिन हामीले तारबार गरेर भए पनि नियन्त्रण गर्नु पर्दछ।"

तर गैँडाको संख्या थाहा पाउन नयाँ चरणको गैँडा गणना हुन भने बाँकी नै छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनलाई गैँडा हस्तान्तरण