चीनद्वारा खाग र बाघको हड्डीमाथि फेरि 'प्रतिबन्ध'

China

तस्बिर स्रोत, EPA/STR

चीनले बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि लगाइएको प्रतिबन्धलाई खुकलो पार्ने उसको निर्णय स्थगन गरेको जनाएको छ।

वातावरणको क्षेत्रमा काम गर्ने समूहहरूले विरोध गरेपछि चीनमा बाघको हड्डी तथा गैँडाको खागको व्यापारमाथि तत्कालका लागि फेरि प्रतिबन्ध लागेको हो।

चिनियाँ अधिकारीहरूले 'अध्ययनपछि त्यस्तो कदम स्थगन गरिएको' बताएका छन्।

बाघ र गैँडा दुवैं लोपोन्मुख जंगली जनावरहरू हुन् र चीनले सन् १९९३ मा तिनीहरूको अंगको कारोबारमा प्रतिबन्ध लगाएको थियो।

स्थगन

परम्परागत चिनियाँ उपचारका लागि बाघ र गैँडाका अंगहरू महत्त्वपूर्ण मानिन्छन्।

ज्वरो, अनिद्रा र मेनिनजाइटिस्लगायतका रोगहरू जनावरका अंग प्रयोग गरी तयार पारिएका औषधिले निको पार्ने गरेको बताइने गरिन्छ तर त्यस्तो औषधिबाट हुने फाइदाहरू प्रमाणित भइसकेका छैनन्।

देशको राज्य परिषद्का कार्यकारी उप महासचिवले, 'जनावरका अंग प्रयोगसम्बन्धी व्यस्थामा गरिएको परिवर्तनको कार्यान्वयनसम्बन्धी विस्तृत नियमहरू अध्ययनपछि स्थगन गरिएको' एउटा विज्ञप्तिमार्फत् जनाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन्

स्थगन गर्नुको कारण वा कति समयसम्म यो कायम रहनेछ भनेर ती कार्यकारी उप-महासचिवले केही खुलाएनन् तर पुरानो प्रतिबन्ध कायमै रहने भनेका छन्।

उनले भने, "वन्यजन्तु संरक्षणका लागि चिनियाँ सरकार विगत लामो समयदेखि समर्पित छ र संरक्षणको क्षेत्रमा उसले हासिल गरेका उपलब्धिहरूलाई विश्वले मान्यता पनि दिएको छ।"

'सकारात्मक'

गत अक्टोबर महिनाको अन्ततिर चीनले जनावरका अंगहरूलाई वैज्ञानिक, औषधीमूलक तथा सांस्कृतिक प्रयोजनहरूका लागि प्रयोग गर्ने अनुमति दिइने घोषणा गरेको थियो।

त्यतिबेला चीनले अप्रत्याशित रूपमा २५ वर्ष पुरानो त्यस्तो प्रतिबन्धलाई फुकुवा गर्दै 'विशेष परिस्थितिहरूमा ती जनावरका अंगहरू प्रयोग गर्न दिइने' उल्लेख गरेको थियो।

वन्यजन्तुको संरक्षणमा संलग्न अभियानकर्मीहरूले प्रतिबन्ध फुकुवा गर्ने निर्णय, विश्वका लोपोन्मुख बाघ तथा गैँडाको संरक्षणको प्रयासका लागि विनाशकारी हुने बताएका थिए।

पछिल्लो चिनियाँ कदमले अन्तर्राष्ट्रिय प्रतिक्रियाप्रति सकारात्मक जवाफ जनाइएको संकेत गरेको विश्व वन्यजन्तु कोष- डब्ल्यूडब्ल्यूएफले बताएको छ।