लजालु स्वभावको बाघले किन मानिसलाई आक्रमण गर्छ?

तस्बिर स्रोत, .
गत पुस २२ गते बाँकेको राप्ती सोनारी गाउँपालिका-४ निवासी एक महिला बाघको आक्रमणमा परिन्। घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याइयो। गाउँमा बाघ पसेको खबरले त्रास बढायो।
तत्काल आक्रमणबाट बच्नका लागि कसले के गर्ने भन्ने योजना बनाइरहेको गाउँपालिका प्रमुख लाहुराम थारुको भनाइ छ।
तर योजनाबारे छलफल भएको दिन अर्थात् पुस २३ गते लीला विष्ट माघी पर्वका लागि टपरी गाँस्न पात टिप्न वनमा पसेकी थिइन्। उनको जङ्गलमै बाघको आक्रमणमा मृत्यु भयो।
भोलिपल्ट त्यही गाउँपालिका-६ कि ३१ वर्षीय चाँदनी चौधरीको शव सामुदायिक वनमा भेटिएको थारुले बताए।
वनमा दाउरा बटुल्न गएकी उनी पनि बाघकै आक्रमणमा परेको पुष्टि भयो।
"बाघहरू गाउँ पसेका छन्। गाउँलेहरूमा डर बढेको छ। बाघको आक्रमण रोक्नका लागि पहल भइरहेको छ," थारु भन्छन्।
"गाउँपालिका, प्रहरी, निकुञ्ज, वन वातावरण समिति लगायतका निकायबीच समन्वयनको काम भइरहेको छ। विज्ञहरू ल्याई सुझावअनुरूप कार्यक्रमहरू गरिरहेका छौँ।"
उनले आक्रमणकारी बाघ पहिचान गरी त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।
"आक्रमण भएको ठाउँमा राँगो राखेका छौँ। आहारको लोभमा आएको अवस्थामा हामी त्यसलाई नियन्त्रणमा लिन्छौँ," उनले भने।
तर विज्ञहरूले पनि नियन्त्रणमा लिनुले आक्रमणको सम्भावना न्यून नहुने बताउँछन्।
"घाइते वा नियमित समस्या सिर्जना गर्ने बाघ पहिचान गर्न सकेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिँदा मात्रै समस्या रोकिन्छ," बाघ विज्ञ डा. चिरञ्जीवीप्रसाद पोखरेलले भने।
उनी राष्ट्रिय प्रकृति संरक्षण कोषका व्यवस्थापक हुन्।
विभिन्न अनुसन्धानले देखाएअनुसार ९५ प्रतिशत बाघहरू मानिसको सम्पर्कमा नआउने स्वभावका हुन्छन्। बाँकी पाँच प्रतिशतले मानिसलाई समस्या सिर्जना गर्ने सम्भावना हुन्छ।
ती बाघलाई प्राविधिक उपकरण र विज्ञहरूको निरीक्षणको सहयोगमार्फत पहिचान गर्न सकिने पोखरेलले बताए।
लजालु जनावर बाघ

तस्बिर स्रोत, Ujjwal Acharya
बाघ प्राकृतिक रूपमा लजालु स्वभावको हुने अर्का विज्ञ डा. बाबुराम लामिछानेले बताए।
तिनीहरू प्रायः रात परेपछि सक्रिय र आक्रामक हुन्छन्। दिउँसोको समयमा वासस्थानबाट बाहिर निस्कँदैनन्।
"मानिसहरू वा अन्य खतराको अवस्था देख्दा निकास खोज्छन्। यो त्यस्तो अवस्थामा आफैँ बाटो छोडेर हिँड्ने जनावर हो। अरू जीवबाट लुक्न खोज्छ," उनले भने।
मान्छे बाघको प्राकृतिक आहार नभएको उनको भनाइ छ। बाघले मानिसलाई गर्ने आक्रमण "प्रायः दुर्घटनात्मक" हुने उनले सुनाए।
"आक्रमणको कारणहरू बाघको आहार र वासस्थानसँग जोडिएका छन्," उनले भने।
त्यस्तै विज्ञ डा. पोखरेलका अनुसार समूहमा कमजोर ठहरिएका, बुढो वा बिरामी भएका बाघहरू प्राय मानिस भएतिर आकर्षित हुन्छन्।
किन मानिसलाई आक्रमण?

तस्बिर स्रोत, HARI BHADRA ACHARYA
बाघ निश्चित क्षेत्रलाई आफ्नो वासस्थान बनाएर बस्ने प्राणी भएको र अन्य जनावर त्यस क्षेत्रमा आउँदा द्वन्द्व सिर्जना हुने विज्ञहरू बताउँछन्।
सिर्जित द्वन्द्वमा बलियो बाघले जित्छ र क्षेत्रमा कब्जा गर्छ। कमजोर बाघ त्यहाँबाट विस्थापित हुने बताइन्छ।
"नयाँ क्षेत्रको खोजीमा बाघहरू मानवीय गतिविधि हुने ठाउँहरूसम्म पुग्छन्। र एक सुरमा काम गरिरहेकाहरूलाई आक्रमण गर्छन्। किनकि त्यस्ता ठाउँमा आहारको कमी हुन्छ। यो विविध अध्ययनहरूको निष्कर्ष हो," लामिछानेले बताए।
उनका अनुसार हाल भइरहेका आक्रमणहरूमध्ये ९० प्रतिशतभन्दा बढी जङ्गलमै भएका छन्।
"आवश्यकता पूर्तिका लागि मानिसहरू जङ्गलमा पुग्छन्। त्यहाँ पुगेकालाई बाघले मानिसलाई मृगजस्ता आहार ठानेरै हमला गर्छन्," उनले बताए।
चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा बाघको आहारको घनत्व पर्याप्त भए पनि पर्सा र बाँके निकुञ्जमा कम देखिएको अनुसन्धानहरूले देखाएको छ। तर ती क्षेत्रमा बाघ पनि कम भएकाले त्यसलाई समस्या मान्न नसकिने बताइन्छ।
डा. लामिछानेले चर्चा भएजस्तो 'नरभक्षी' बाघ अनुसन्धानको निष्कर्षमा नभेटिएको तर्क राखे।
डा. पोखरेल भने बाघहरू सहज आहारको खोजी गर्छन्।
मानिस आफूभन्दा कमजोर हुने भएकाले पनि एक पटक आक्रमण गरे पछि त्यसकै बानी लाग्न सक्छ।
"बाँकेमा शृङ्खलाबद्ध रूपमा मानिसको आक्रमण गर्ने बाघ एउटै हुनसक्छ। किनकि उनीहरूले सहज आहारसँगै एउटै स्वादको पनि बानी लाग्छ," पोखरेलले प्रस्ट्याए।
सीमित क्षेत्रका कारण बाघको सहज विचरण
नेपालमा मानव बस्ती र जङ्गल निकै नजिक भएकाले बाघहरू सहजै मध्यवर्ती क्षेत्र वा बस्ती क्षेत्रमा पस्न सक्छन्।
बाघहरू बस्तीमा छिर्नुको अर्को कारण जङ्गल टुक्रिनु वा खुम्चिनु समेत भएको बताइन्छ।
उनीहरू मानव बस्तीमा मात्र नभई कोरिडोरमार्फत अन्य जङ्गलमा समेत पुग्ने गर्छन्। डा. लामिछानेका अनुसार चितवन राष्ट्रिय निकुञ्जका बाघहरू पर्सा हुँदै वाल्मीकि राष्ट्रिय निकुञ्जसम्म पुगेका छन्।
बाघको सङ्ख्या बढ्दै जाँदा वासस्थानको कमी हुने र यस्ता गतिविधि देखिने विज्ञको दाबी छ।
हाल बाघ निकुञ्ज बाहिरका राष्ट्रिय वा सामुदायिक वनदेखि मध्यवर्ती क्षेत्र र बस्तीसम्म पस्ने समस्या विशेषगरी बाँके र बर्दियामा देखिएका छन्।
यस्तै प्रकृतिका समस्याहरू सन् २००३ र २००४ ताका चितवन राष्ट्रिय निकुञ्जको हकमा अनुसन्धानमा संलग्न डा. लामिछानेले बताए।
"बाघ नभएको क्षेत्रमा बाघ देखिएपछि त्यहाँका मानिसहरूले व्यवहार परिवर्तन गरे। सजग हुने र बच्ने उपायहरू अपनाउने गरे। बाघको सङ्ख्या अझै बढ्दो छ। अब बाँके र बर्दिया वरपरका गाउँलेहरूले पनि आफ्नो व्यवहार र गतिविधि फेर्न आवश्यक छ," उनले बाघबाट बच्न सुझाव पेस गरे।
कति छ बाघको सङ्ख्या?
यस वर्ष पनि नेपालमा बाघ गणना भइरहेको छ। हाल चितवन, पर्सा, बाँके र बर्दियामा भइरहेको गणना मकवानपुरको माथिल्लो भेग, नवलपुर र त्रिवेणी हुँदै बारा, पर्सा र रौतहटसम्म बिस्तार हुन्छ।
गणनाको विवरण आगामी जुलाईमा सार्वजनिक हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता वेदप्रसाद ढकालले जानकारी दिए।
सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा २३५ वयस्क बाघ छन्। चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१ र पर्सामा १८ बाघ छन्।
सन् २००९ मा १२१ रहेको वयस्क बाघको सङ्ख्या २०१३ मा बढेर १९८ पुगेको हो। नेपालमा पाटे बाघको सङ्ख्या बढ्दो भएको जानकारहरू बताउँछन्।
सङ्ख्या वृद्धिका कारण उनीहरू भित्री वासस्थानबाट बाहिरतिर सलबलाएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए।
प्राय मानिस निहुरिएर बसेको वा काम गरेको अवस्थामा बाघले आक्रमण गर्ने विज्ञहरू बताउँछन्।
"मानिस उभिँदा बाघभन्दा अग्लो हुन्छ। त्यसैले बाघ मानसिक रूपमा मानिससँग डराउने अध्ययनहरूले देखाएको छ। जब मानिस झुकेर एक सुरमा काम गरिरहेको हुन्छ तब सानो देखिन्छ र बाघले आफ्नो आहारजन्य जीव ठान्छ," लामिछानेले भने।
बाघबाट कसरी जोगिने?
निकुञ्ज क्षेत्रहरूमा मानिसको उपस्थिति निषेध गरिएको छ। त्यहाँ मानिसको चहलपहलमा रोक लगाउनु पर्ने अधिकारीहरू बताउँछन्।
उनीहरू आवश्यकता पूर्तिका लागि त्यहाँ जानै परे समूहमा जाने, झाडीहरू वरपर सतर्क रहन सुझाउँछन्।
बाघको पाइलाको डोब खतराको सङ्केत भएको डा. लामिछाने बताउँछन्।
"ती पाइला नयाँ हुन् या पुरानो भन्नेमा ध्यान दिनु पर्छ। त्यस्तै बाघको उपस्थिति गन्धबाट पनि थाहा हुन्छ," उनले भने।
उनीहरूले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि पिसाब फेरेका हुन्छन्।
चितवन राष्ट्रिय निकुञ्ज वरपरका र मध्यवर्ती क्षेत्रका राष्ट्रिय तथा सामुदायिक वनहरूमा बाघ विचरण गर्छन्। दुई महिना ती क्षेत्रमा पनि तीन जना मानिसले बाघको आक्रमणबाट ज्यान गुमाएका छन्।
"यसलाई बाघको सङ्ख्या बढेको र नयाँ ठाउँमा बाघले उपयुक्त वासस्थान भेटेको सङ्केतका रूपमा लिन सकिन्छ," संरक्षक आचार्यले भने।
"जङ्गलभित्र घटना घटेका छन् भने त्यसमा मानव तर्फबाट पनि सजग हुनुपर्ने देखिन्छ।"










