वन्यजन्तु: कता गए चितवनका पाटे बाघ

तस्बिर स्रोत, .
चितवन राष्ट्रिय निकुञ्जका बाघहरू अन्यत्र गएका कारण त्यहाँ बाघको संख्या घटेको हुनसक्ने अधिकारीहरूले बताएका छन्।
यसै वर्ष गरिएको बाघ गणनाको नतिजाले नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा बढेको देखिए पनि यसको मुख्य वासस्थान रहँदै आएको चितवन राष्ट्रिय निकुञ्जमा भने पाटे बाघको संख्या घटेको देखिएको छ।
सन् २०१३ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा वयस्क बाघ रहेको देखाएको थियो। तर यसपालि त्यो संख्या केवल ९३ रहेको देखियो।
जबकी समग्र नेपालमा भने बाघको संख्या बढेको छ। २०१३ मा गरिएको गणनामा १९८ वटा रहेकोमा हाल गरेको गणनामा नेपालभर २३५ बाघ रहेको देखिएको छ।
कारण के?
चितवनमा बाघको संख्या घट्नुले संरक्षणमा चुनौती देखा परेको अधिकारीहरूले बताएका छन्।
बाघ गणना प्रत्येक पाँच-पाँच वर्षमा गरिँदै आएको छ।
सन् २०१८ को बाघ गणनाले चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाहेक पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या बढेको देखाएको छ।
चितवनमा बाघको संख्या घट्नुको कारण बारे चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन नुरेन्द्र अर्याल भन्छन्, "बाघको संख्या घट्नुमा दुई-तीन वटा कारण रहेको छ। चितवनको निकुञ्जमा १२० वटा बाघ पुगेको थियो। यो त्कतै त्यहाँको क्षमता अनुसार उच्चतम हो कि भन्ने पनि छ। अर्को कारण चाहिँ यहाँका केही बाघ यो निकुञ्ज नजिकका पर्सा वा सीमापारि भारतको वाल्मीकी निकुञ्जतिर गएका हुनसक्छन्।"
चिन्ताको विषय

तस्बिर स्रोत, .
चितवनमा २७ वटा बाघ घट्नुले सरक्षणकर्मीहरूमा चिन्ता थपिएको छ।
सन् २०१३ र सन् २०१८ को गणनाको नतिजा तुलना गर्दा पर्सामा बाघको संख्या ७ बाट १८; बर्दियामा ५० बाट ८७; अनि बाँकेमा ४ बाट २१ पुगेको छ। तर शुक्लाफाँटामा १७ बाट १६; र चितवनमा १२० बाट ९३ मा झरेको छ।
गत वर्ष चितवनमा आएको बाढीको कारणले पनि बाघको संख्या घटेको हुन सक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वन्य जन्तु अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताए।
"बाढीले गर्दा बाघका आहारा प्रजातिका जन्तुको संख्यामा असर परेको जस्तो देखिन्छ। पहिले हामी प्रति वर्ग किलोमिटरमा ७३ त्यस्ता प्रजातिका जन्तु छ भन्थ्यौँ भने हाल त्यो घटेर ६६ को हाराहारीमा छ। यसले आहारा प्रजातिको संख्या घटेको देखिन्छ। बाघ त जता आहारा धेरै छन् त्यतै जाने गर्छन्," उनले भने।









