बहुपति प्रथा: दक्षिण अफ्रिकामा महिलाले एकभन्दा बढी श्रीमान् राख्न पाउने कानुनको प्रस्ताव

मुभुम्बी एनडीजाला
तस्बिरको क्याप्शन, मुभुम्बी एनडीजाला बहुसम्बन्धको वकालत गर्छिन्
    • Author, पूजा छाब्रिया
    • Role, बीबीसी विश्व सेवा

मुभुम्बी एनडीजालाको मनमा बारम्बार एक जनासँग मात्रै विवाह गर्ने परम्पराबारे प्रश्न उठ्थ्यो।

उनी आफ्ना बुवाआमालाई 'के तपाईँहरू आफ्नो जीवनभर एक अर्कासँग मात्रै बस्नुहुन्छ' भनी सोधेको सम्झिन्छिन्।

"मानिसहरू आफ्नो जीवनमा समयानुकूल बन्नुपर्छ भन्ने सधैँ अनुभव गरेँ," उनले बीबीसीलाई भनिन्।

"तर चलचित्रदेखि स्थानीय गिर्जाघरहरूले एक पटकमा एउटा मात्रै सम्बन्धको पक्षमा वकालत गरिरहे र मैले त्यो अवधारणा कहिल्यै पनि बुझिनँ।"

अहिले ३३ वर्षमा पुगेकी मुभुम्बी सबैको सहमतिमा एक पटकमा धेरै जनासँग प्रेम सम्बन्ध राख्ने समलिङ्गी महिलाका रूपमा आफूलाई चिनाउँछिन्।

उनले दक्षिण अफ्रिकामा एक जनाभन्दा बढी व्यक्तिसँग सम्बन्ध राखिरहेका व्यक्तिहरूका लागि सुरक्षित वातावरण निर्माण गरिरहेको बताउँछिन्।

उनी भन्छन्, "एक कार्यक्रम प्रस्तोतासँग मेरो सम्बन्ध छ जससँग मेरा सन्तान पनि छन् र मेरो अर्का पार्टनर हामी प्रति खुसी छन्।"

उनले थपिन्, "उनी विवाह गर्न चाहँदैनन् तर भविष्यमा म एकभन्दा बढी व्यक्तिसँग विवाहित भएको कल्पना गर्छु। एक समलिङ्गी पनि भएकोले म जुनसुकै लिङ्गका व्यक्तिहरूसँग आकर्षित हुने गर्छु।"

एकभन्दा बढी श्रीमान् भएका महिला

दक्षिण अफ्रिकामा संसारको सबैभन्दा उदारमध्येको संविधान छ जसले सबैलाई समलिङ्गी विवाहको अधिकार दिएको छ भने पुरुषहरूलाई एकभन्दा बढी विवाह गर्ने अधिकार दिएको छ।

अहिले उक्त देशले आफ्नो विवाहसम्बन्धी कानुनलाई अद्यावधिक गर्न छलफल गरिरहेको छ र महिलालाई पनि एक पटकमा एकभन्दा बढी श्रीमान् राख्ने गरी बहुपतिको अधिकार दिने या नदिने भन्ने एउटा महत्त्वपूर्ण प्रश्न छ।

पुरातनवादीहरूले त्यसको चर्को विरोध गरिरहेका छन्।

दक्षिण अफ्रिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, समलिङ्गी विवाहलाई मान्यता दिएको दक्षिण अफ्रिकामा पुरुषहरूलाई बहुविवाहको अधिकार छ

"यसले अफ्रिकाको संस्कृतिलाई ध्वस्त बनाउँछ। यी व्यक्तिका सन्तान के हुन्छन्? उनीहरूले आफ्नो पहिचान कसरी थाहा पाउँछन्?" व्यवसायी तथा टेलिभिजन प्रस्तोता मुसाम सेलेगु बताउँछन्।

उनका चार श्रीमती छन्। उनले महिलाले अहिले पुरुषको भूमिका लिन नसक्ने भन्दै कहिल्यै पनि त्यस्तो नसुनिएको बताए।

उनी भन्छन्, "के महिलाहरूले अब पुरुषका लागि दाइजो दिने छन्? के पुरुषहरूले महिलाहरूको थर अपनाउने छन्?"

विपक्षी दल क्रिस्चियन डेमोक्र्याटिक पार्टीका कतिपय नेताले पनि यसले समाजलाई ध्वस्त बनाउने चेतावनी दिएका छन्।

नेता रेभेरेन्ड केनेथ मेस्वे भन्छन्, "यस्तो समय आउने छ जुनबेला एउटा पुरुषले भन्ने छ, 'तिमीले अधिकांश समय मसँग नभई त्यो पुरुषसँग बितायौँ' र त्यसले दुई पुरुषबीच द्वन्द्व निम्त्याउने छ।"

'मान्यता तोडिएको छ'

मुभुम्बी अहिले बहुपति सहितको सम्बन्धका पक्षमा रहेका महिलाहरूका लागि महत्त्वपूर्ण समय रहेको ठान्छिन्।

"अहिलेको अवस्था तनावपूर्ण छ र धेरै मानिसको पुराना मान्यता तोडिएको छ," उनले भनिन्।

उनले पुरुषहरूलाई बहुपत्नी राख्न दिइएको भएपनि महिलाहरूलाई बहुपतिको कुरा गर्दा लज्जित पार्ने गरिएको भन्दै त्यो अवस्था बदल्न धेरै काम हुनुपर्ने उल्लेख गरिन्।

उनी दश वर्षभन्दा बढी समययता एकभन्दा बढी सम्बन्धमा रहेको बताउँछिन्।

समुदायले 'पोली' भनेर बुझ्ने यस्तो सम्बन्धमा तपाईँ एकभन्दा बढी सम्बन्धमा हुन सक्नुहुन्छ र जतिवटा सम्बन्ध रहेपनि सबैको साथ र विश्वास रहने गर्छ।

उनको अहिले दुई जना पुरुषहरूसँग सम्बन्ध छ। कार्यक्रम प्रस्तोतासँग औपचारिक सम्बन्ध रहेको उनले बताइन्।

अर्को सम्बन्धबाट आफूले यौन र प्रेम सन्तुष्टि प्राप्त गर्ने गरेको उल्लेख गर्दै उनले ती पुरुषसँग कम भेट्ने उल्लेख गरिन्।

औपचारिक प्रेमीसँग मुभुम्बी
तस्बिरको क्याप्शन, औपचारिक प्रेमीसँग मुभुम्बी

आफ्नो परिवारले कसरी हेर्ला भनेर सुरुमा सशङ्कित रहेकी उनले पाँच वर्षअघि आफ्ना कार्यक्रम प्रस्तोता साथीसँग सम्बन्ध गहिरिएपछि खुल्ने निधो गरेकी थिइन्।

अरू स्रोतबाट परिवारले त्यसबारे जानकारी नपाओस् भनेर खुलेको उल्लेख गर्ने उनले परिवारले केही स्वीकारेको पाएको तर अझै लामो यात्रा गर्नुपर्ने अवस्था रहेको बताइन्।

हालै कार्यक्रम प्रस्तोतासँगको स्वयंम्बर गरेको सम्झँदै उनले आफ्नो भविष्यकी श्रीमतीका लागि उसको परिवारलाई पुरुषले दाइजो दिने लबोला भन्ने परम्पराबारे पनि चर्चा गरिन्।

उनले भनिन्, "उनीहरूले मलाई के अर्को पुरुष आएर फेरि दुलहीका लागि पैसा तिर्ने छन् भनेर सोधेका थिए र मैले सम्भवतः त्यो फेरि हुनसक्छ भनिदिए।"

"उनीहरूले त्यसलाई स्वीकार गरे पनि वा नगरे पनि मैले मेरो सत्यमा बाँच्नुपर्छ।"

"पितृसत्ता'

लैङ्गिक अधिकारवादीहरूले दक्षिण अफ्रिकामा बहुपति प्रथालाई समानता र रोजाइलाई ध्यान दिँदै मान्यता दिइनुपर्ने भन्दै अभियान चलाइरहेका छन्।

उक्त प्रस्ताव प्रतिक्रियाका लागि सार्वजनिक गरिएको एउटा सरकारी दस्ताबेजमा समावेश गरिएको छ।

त्यहाँ श्वेत अल्पसङ्ख्यकहरूको शासन सन् १९९४ मा अन्त्य भएयता विवाहसम्बन्धी कानुनमा सबैभन्दा ठूलो परिवर्तनको कार्य अघि बढाइएको छ।

उक्त दस्ताबेजले हालसम्म मान्यता नपाएको मुसलमान, हिन्दु, यहुदी र राष्टाफारियन विवाहलाई कानुनी रूपमा स्वीकार गर्ने भनिएको छ।

मुभुम्बीले उक्त प्रस्ताव 'आफ्नो प्रार्थनाको सुनुवाइ भएको जस्तो' रहेको भन्दै बहुपति प्रथा विरुद्धका चासो पितृसत्तात्मक सोचको परिणाम भएको बताइन्।

दक्षिण अफ्रिका

तस्बिर स्रोत, Getty Images

एक जना नाम चलेका प्राज्ञ प्राध्यापक कोलिस माचोको पनि त्यस्तै ठान्छन्।

उनले भने, "इसाई धर्मको सुरुवात र उपनिवेशीकरणसँगै महिलाको भूमिका घट्दै गयो। उनीहरू त्यसपछि समान भएनन्। विवाह सामाजिक मर्यादाक्रममा माथि र तल राख्ने एउटा साधन बन्न पुग्यो।"

उनले बहुपति प्रथा कुने बेला केन्या, कङ्गो र नाइजिरियामा अस्तित्व रहेको भन्दै अहिले पनि कानुनी रूपमा मान्यता पाएको गेबोनमा यो प्रथा रहेको उल्लेख गरे।

"सन्तानबारे प्रश्नको उत्तर सजिलो छ। जुन सम्बन्धबाट सन्तान जन्मिएको भए पनि उनीहरू परिवारकै सन्तान हुन्छन्।"

'एउटा अलग्गै लडाइँ'

मुभुम्बी पितृसत्तात्मक विश्वासले आफ्ना विगतका कतिपय सम्बन्धलाई प्रभावित पारेको बताउँछिन्।

त्यसपछि उनले आफू पनि बहुसम्बन्धको पक्षमा रहेकाहरूसँग सम्बन्ध गाँसिरहेकी छन्।

उनी भन्छिन्, "म सम्भव भएसम्म धेरै जनासँग प्रेम गर्न प्रयास गर्ने व्यक्ति होइन। यो भनेको कसैसँग निकट महसुस भयो भने सम्बन्धको अन्वेषण गर्नु हो।"

'पोली'हरूलाई एक ठाउँमा ल्याउने उद्देश्य लिएको अनलाइन माध्यमबाट उनले आफ्ना दुवै साथीहरूलाई भेटेकी थिइन्।

दक्षिण अफ्रिकाले बहुपती प्रथालाई मान्यता दिने विषयमा बहस गरिरहँदा उनले आफ्ना कार्यक्रम प्रस्तोता साथीसँग मिलेर ओपन लभ अफ्रिका नामक अनलाइन माध्यम सञ्चालनमा ल्याएकी छन्

त्यसले 'मर्यादित गैरएकल सम्बन्ध'को वकालत गर्ने लक्ष्य लिएको छ।

"अहिले हाम्रो समुदायमा अश्वेत धेरै भए पनि तर पनि यो समावेशी बन्दै गएको छ र अघि बढ्दै जाँदा हामी यसलाई विस्तार गर्दै जानेछौँ।"

उनले झुटो बाँच्ने आवश्यकता नठानून् भन्नका लागि एकभन्दा बढी सम्बन्ध पक्षधरलाई यो उपहार भएको उल्लेख गरिन्।

"जब म मेरी आमाको गर्भमा थिए उनीहरूले पुरुषहरूको सहमतिबिनै यौन साधन प्रयोग गर्न पाइयोस् भन्दै सङ्घर्ष गर्नुपर्‍यो। त्यसबेला अर्कै खालको लडाइँ थियो र अहिले मेरा लागि यो अर्कै लडाइँ हो।"

थप रिपोर्टिङ् पुम्जा फिह्लानी