इराकस्थित हवाई शिविरमा आक्रमण, कैयौँ अमेरिकी सैनिक घाइते

अल असद हवाई बेसलाई निशाना बनाइएको थियो

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, अल असद हवाई बेसलाई निशाना बनाइएको थियो

पश्चिम इराकस्थित एउटा हवाई शिविरमा भएका क्षेप्यास्त्र हमलामा कैयौँ अमेरिकी सैनिक घाइते भएका छन्।

संयुक्त राज्य अमेरिकाका अनुसार कैयौँ बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रहार गरिएका थिए।

त्यसमध्ये कतिपयलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत विफल बनाइएको थियो। कतिपय अरू अल असद शिविरमा खसेका थिए।

कम्तीमा एक जना इराकी कर्मचारी घाइते भएको र केही अमेरिकी सैनिकहरूलाई मस्तिष्कमा चोट लागे वा नलागेको भनेर जाँच भइरहेको जनाइएको छ।

गाजा युद्ध सुरु भएयता इराकमा रहेका अमेरिकी फौजमाथि इरानसँग सम्बन्ध भएका लडाकुहरूले आक्रमण गर्ने क्रम बढेको छ।

हालसम्म के विवरण आएका छन्?

अमेरिकी सेनाको मध्य कमान्डले अमेरिकी फौजहरू बस्दै आएको अल असद हवाई बेसलाई इरान समर्थित लडाकुहरूले बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रयोग गरी शनिवार साँझ आक्रमण गरेको जनाएको छ।

सङ्ख्या नखुलाइएको भए पनि केही अमेरिकी सैनिकहरूले ‘आघात पुर्‍याउनसक्ने मस्तिष्कको चोटका लागि जाँच गराइरहेको’ भनिएको छ।

उक्त हमलाको जिम्मेवारी आफूलाई इस्लामिक रेजिस्टन्स इन इराक भनेर चिनाउने समूहले लिएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

X पोस्ट समाप्त

अमेरिकास्थित वासिङ्टन इन्स्टिट्यूट फर निअर इस्ट पोलीसीका अनुसार उक्त समूह सन् २०२३ को अन्त्यतिर देखा परेको थियो र त्यसमा इराकमा सञ्चालित कैयौँ इरानसँग आबद्ध रहेका सशस्त्र समूहहरू छन्।

उसले अमेरिकी फौजहरूमाथि हालैका हप्ताहरूमा अन्य आक्रमणहरू पनि गराएको छ। हालैका वर्षहरूमा अल असद अखडामाथि पटक पटक आक्रमणहरू भएका छन्।

अमेरिकी सेनाले शुक्रवार प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रहरूलाई निष्क्रिय तुल्याइएको तर कतिपय हवाई प्रतिरक्षालाई पार गर्दै शिविरमा खसेको जनाएको छ।

उक्त आक्रमणबाट पुगेको क्षतिको मूल्याङ्कन भइरहेको उसको भनाइ छ।

सन् २०२३ को अक्टोबरमा इजरेल र गाजाबीच युद्ध सुरु भएयता इराक र सिरियास्थित अमेरिकी अखडाहरूमा उक्त क्षेत्रमा रहेका इरान समर्थित समूहहरूले गरेको पछिल्लो आक्रमणको रूपमा यसलाई लिइएको छ।

अमेरिकी सेना र उसका साझेदारहरूले रेड सीमा अन्तर्राष्ट्रिय पानीजहाजहरूमाथि हूथी समूहले गर्दै आएका क्षेप्यास्त्र हमला रोक्न हस्तक्षेप गर्नु परिरहेको छ।

अमेरिकी सेनाले शनिवार पश्चिम यमनको अधिकांश हिस्सामा नियन्त्रण कायम गरेको इरानको समर्थन प्राप्त हूथी विद्रोही समूहमाथि अर्को हवाई आक्रमण गरेको छ।

‘गल्फ अफ एडेनमा लक्षित एउटा पानीजहाज भेदी क्षेप्यास्त्र प्रक्षेपण गर्न तयार रहेको अवस्थामा’ फेला पारेपछि उक्त स्थलमा आक्रमण गरेको अमेरिकी भनाइ छ।

युद्धको विस्तार कहाँ कहाँसम्म

इरानी सेनाले हालै पाकिस्तानमा आक्रमण गरेको थियो

तस्बिर स्रोत, IRANIAN ARMY/WANA/REUTERS

तस्बिरको क्याप्शन, इरानी सेनाले हालै पाकिस्तानमा आक्रमण गरेको थियो

इरानी सेनाले हालैका दिनमा सिरिया, इरान र पाकिस्तानमा कैयौँ आक्रमणहरू गरेको छ।

शनिवार इरानले इजरेलमाथि सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको आरोप लगाएको थियो।

सो हमलामा इरानको सुरक्षा फौजका पाँच जना वरिष्ठ सदस्य मारिएका थिए। इरानी राष्ट्रपति एब्राहिम रइसीले रिभोलुस्नरी गार्डका ५ सदस्य मारिने गरी भएको उक्त हमलाको लागि इजरेललाई दण्डित गर्ने बताएका छन्।

शनिवार बिहान गरिएको सो हमलाबारे इजरेलले प्रतिक्रिया दिएको छैन। उक्त आक्रमणमा इरानी सैन्य सल्लाहकारहरू बस्ने भवन ध्वस्त भएको विवरण आएका छन्।

सिरियाली अभियानकर्ताहरूले कम्तीमा १० जना मारिएको बताएका छन्।

तेहरान सिरियाका राष्ट्रपति बसर अल-असदको प्रमुख साझेदार हो। इजरेलले हालैका वर्षमा सिरियामा इरानसँग सम्बन्धित निशानाहरूमा कैयौँ पटक आक्रमणहरू गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।