इरानसँग ‘सम्बन्ध देखिएका’ इराक र सिरियाका विभिन्न स्थानमा अमेरिकी हवाई हमला, बग्दाद र तेहरानको के छ प्रतिक्रिया?

यूएस सेन्ट्रल कमान्डले इराक र सिरियामा आक्रमणको पुष्टि गरेपछि बी-१ बमवर्षक विमान उडेको भिडिओ फुटेज सार्वजनिक गरेको छ

तस्बिर स्रोत, US Military Central Command

तस्बिरको क्याप्शन, यूएस सेन्ट्रल कमान्डले इराक र सिरियामा आक्रमणको पुष्टि गरेपछि बी-१ बमवर्षक विमान उडेको भिडिओ फुटेज सार्वजनिक गरेको छ

अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेको छ।

पेन्टागनले इरान समर्थित लडाकुहरूले गत आइतवार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको पुष्टि गरेको छ।

उक्त हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौँ घाइते भएका थिए।

अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको दोहोर्‍याएको छ। यद्यपि राष्ट्रपति जो बाइडनले यस्ता आक्रमण जारी रहने चेतावनी दिएका छन्।

इराक र सिरिया

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत आइतवार जोर्डनस्थित टावर-२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो

इरानको कुड्स फौज र त्यससँग सम्बन्ध भएको भनिएका मिलिसिया समूहहरूसँग सम्बन्धित नियन्त्रण केन्द्रहरू लक्षित आक्रमण भएको बताइएको छ।

सिरियाबाट प्राप्त विवरणअनुसार त्यहाँ २० जनाभन्दा धेरै इरानपक्षधर लडाकुको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्। त्यहाँको सेनाले सर्वसाधारणहरू समेत मारिएको जनाएको छ।

इराक सरकारले आफ्नो भूमिमा भएको आक्रमणलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको छ। उसले सर्वसाधारणसहित कम्तीमा १६ जना मारिएको जनाएको छ।

इराकी प्रधानमन्त्रीले आफ्नो सरकारसँगको समन्वय गरेर ती हमला नगरिएको बताएका छन्। इराक सरकारले सो हमलाको उक्त क्षेत्रमा "भयानक नतिजा" देखा पर्ने चेतावनी दिएको छ।

इरानले आफूमाथि लागेका सबै आरोपहरूलाई "आधारहीन" भन्दै हमलाको निन्दा गर्ने क्रममा त्यसलाई "रणनीतिक भूल" बताएको छ।

अमेरिकाले के भन्यो?

अमेरिका

तस्बिर स्रोत, EPA

शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, "हाम्रो प्रतिक्रिया आजबाट सुरु भयो। यो हामीले चाहेको समय र स्थानमा जारी रहनेछ।"

गत आइतवार जोर्डनस्थित टावर-२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो। त्यहाँ ४० जनाभन्दा बढी सैनिकहरू घाइते भएका थिए।

उक्त घटनाका लागि ह्वाइट हाउसले इरानलाई जिम्मेवार ठानेको छ र उसले त्यसको "कडा प्रतिक्रिया" दिने वाचा गरेको छ।

इराक र सिरियामा गरिएका हवाई हमलाहरूमा कैयौँ अमेरिकी लडाकु विमानहरू संलग्न भएका छन्।

त्यसमा लामो दूरीका बमवर्षक विमान पनि रहेको बताइएको छ।

हालसम्म सिरियाका चार र इराकका तीन गरी सात स्थानमा आक्रमण भएको र ८५ वटा भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

इराकले के भन्यो?

हवाई हमलाहरूमा कैयौँ अमेरिकी लडाकु विमानहरू संलग्न भएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हवाई हमलाहरूमा कैयौँ अमेरिकी लडाकु विमानहरू संलग्न भएका छन्

अमेरिकाको हमलाप्रति पहिलो प्रतिक्रिया इराकी सरकारबाट आएको छ।

इराकी प्रधानमन्त्रीका सैन्य प्रवक्ताले इराकी भूमिमा अमेरिकी बमबारीको निन्दा गर्दै सामाजिक सञ्जालमा एउटा विज्ञप्ति पोस्ट गरेका छन्।

"यी आक्रमणहरू इराकी सार्वभौमसत्ताको उल्लङ्घन, इराकी सरकारको प्रयासलाई कमजोर पार्ने काम र इराक तथा यो क्षेत्रलाई अप्रत्याशित परिणामहरूमा तान्ने खतरा हुन्," विज्ञप्तिमा भनिएको छ।

आक्रमण भएका धेरैजसो स्थानहरू खाली गराइएको भए पनि शिया मिलिसिया समूहका सदस्यहरूको हुन सक्ने मृत्युको सम्भावनालाई लिएर बग्दाद चिन्तित रहेको छ।

ती समूहहरूले इराक र सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा थप आक्रमणहरू गर्न सक्छन्।

त्यसले तेहरान र वाशिङ्गटनबीच अहिले नै बिग्रिएको सम्बन्धलाई थप बिगार्न सक्छ।

एकजना बीबीसी संवाददातासँग एक इराकी अधिकारीले इराकी प्रधानमन्त्रीले पछिल्ला दिनमा अमेरिका र इरानबीचको तनाव कम गर्न भूमिका खेलिरहेको र तत्काल इराकी भू-भागमा आक्रमण नगर्न अमेरिकालाई सन्देश पठाएको बताएका छन्।

तर अमेरिकाले त्यसलाई बेवास्ता गरेको इराकी अधिकारीको भनाइ छ।

इराकी अधिकारीहरूले जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा सिरियाली भूमिबाट प्रहार भएको दाबी पनि गरेका छन्।

तर अमेरिकाका लागि रहेका खराब विकल्पहरूमध्ये सबैभन्दा उपयुक्त विकल्प इराक भएकाले उसले आक्रमण गरेको ती इराकी अधिकारीले बताए।

आइतवार ड्रोन हमलामा मारिएका अमेरिकी सैनिकहरू

तस्बिर स्रोत, DoD

तस्बिरको क्याप्शन, आइतवार ड्रोन हमलामा मारिएका अमेरिकी सैनिकहरू

इरान के भन्छ?

गत आइतवार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन हमलामा आफ्नै कुनै पनि खालको संलग्नता नभएको इरानको भनाइ छ।

उनले ती आरोपहरूलाई "आधारहीन" भनेको छ। तेहरानले “विद्रोही समूहहरूले गर्ने उनीहरूको निर्णयमा आफू संलग्न नभएको” स्पष्ट पारेको छ।

आइतवारको आक्रमणलगत्तै इरानले त्यसमा संलग्न भएको भनिएको समूहलाई आफूले सहयोग नगरेको बताएको थियो।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले "प्रतिरोध समूहहरूले प्यालेस्टिनीहरू वा आआफ्ना देशको रक्षा कसरी गर्ने" भन्ने विषयमा "गरेको निर्णय प्रक्रियामा" इरान संलग्न नभएको स्पष्ट पारेका थिए।

उनका अनुसार इरानप्रति लक्षित आरोप "यो क्षेत्रको वास्तविकता उल्ट्याउने निश्चित राजनीतिक उद्देश्यले लगाइएको" इरानी सरकारी समाचार संस्था आईआरएनएलाई बताएका हुन्।

अमेरिकी विदेशमन्त्री फेरि अरब क्षेत्रमा

ब्लिङ्कन

तस्बिर स्रोत, Shutterstock

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले आइतवारदेखि फेरि अरब क्षेत्रको भ्रमण गर्दैछन्।

उनले फैब्रुअरी ४ देखि ८ सम्म साउदी अरब, इजिप्ट, कतार, इजरेल र वेस्ट ब्याङ्कको भ्रमण गर्नेछन्।

इजरेलमा हमासले गत अक्टोबर ७ मा आक्रमण गरेयता त्यस क्षेत्रमा उनले गर्न लागेको यो पाँचौँ भ्रमण हो।

उनको यात्रा गाजामा हमासले बन्दी बनाएका बाँकी सबै बन्धकहरूलाई मुक्त गर्ने सम्झौतामा केन्द्रित हुने बताइएको छ।

त्यस क्षेत्रमा थप मानवीय सहायता पठाउने विकल्प खोज्नेबारे पनि उनको भ्रणमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

उनले सामाजिक सञ्जालमा इजरेल र प्यालेस्टाइनका लागि स्थायी सुरक्षा र त्यस क्षेत्रमा दिगो शान्तिको पहलका लागि आफू त्यता जान लागेको लेखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।