इजरेलमा नेपालीः कोही तेस्रो विश्वयुद्ध होला भनेर त्रसित, कोही केही हुँदैन भनेर ढुक्क

तस्बिर स्रोत, Reuters
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
इरानले शनिवार राति इजरेलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि आफूहरू "केही डराएको" तर "अब अवस्था सामान्य बन्ने आशामा रहेको" इजरेलमा कार्यरत केही नेपालीहरूले बताएका छन्।
रोजगारीका लागि वर्षौँदेखि इजरेलमा बस्दै आएका केही नेपालीहरूले शनिवार इरानी ड्रोन तथा क्षेप्यास्त्र प्रहार हुँदाको अवस्थाबारे बीबीसीसँग कुराकानी गरेका हुन्।
उनीहरू गत अक्टोबर ७ मा इजरेलमा हमासले गरेको आक्रमणपछि लडाइँ चर्किएकै अवस्थामा इरानबाट पनि हमला भएपछि अवस्था गम्भीर बन्न सक्छ कि भन्ने चिन्तामा छन्।
यद्यपि आइतवार आएका समाचारहरू तथा इजरेली भूमिमा उत्पन्न परिस्थितिका कारण सम्भावित खतरा टरेकोमा हो कि भन्ने आशा उनीहरूमा देखिएको छ।
बीबीसीले इजरेलको जेरुसलेममा रहेका दुई महिला तथा तेल अभिभमा रहेका एक नेपाली पुरुषसँग कुराकानी गरेको छ।
'इरानले आक्रमण गर्यो भनेको सुन्दा डर लाग्यो'
ललिता विष्ट, जेरुसलेम

तस्बिर स्रोत, Lalita Bista
म इजरेल आएको यो एप्रिलदेखि १६ वर्ष लाग्यो। यहाँ लडाइँको कुरा हुनु खासै नौलो होइन। तर यसपालि भने निकै लामो समयदेखि लडाइँ चलेको छ।
गत अक्टोबरमा हमासले इजरेलमा हमला गरेपछिदेखि जारी लडाइँका कारण अहिले एकखाले डर छ।
शनिवार राति म सुतिरहेकी थिएँ। म निदाएकी थिएँ। ब्युँझिदा 'डुङडुङ' आवाज आइरहेको थियो। रातिको १ बजेको थियो होला। त्यो आवाज पानी पर्ने बेलामा गड्याङगुडुङ भए जस्तो थियो। तर यहाँ अहिले पानी पर्ने मौसम होइन। मलाई के भएछ भन्ने लाग्यो।
त्यसपछि एक्कासि साइरन बज्यो। साइरन बजेपछि म आफू बस्ने घरको बङ्करतिर दौडिएँ। यहाँ हरेक घरमा बङ्कर हुन्छ। बङ्करमा मेरो रोजगारदाता गए। छिमेकीहरू पनि आए। हामी त्यहाँ १० मिनेटजति बसेर माथि आयौँ। रातभरि 'फाइटर प्लेन'हरू उडेको आवाज आइरह्यो।
जेरुसलेममा धेरै साइरन त बज्दैन। म गत नोभेम्बरमा नेपाल पुगेर फर्केकी हुँ। त्यसपछि यहाँ यसअघि एक पटक मात्र साइरन बजेको थियो।
बङ्करबाट निस्केपछि मैले टेलिभिजनमा समाचार हेरेँ। इरानबाट ड्रोनहरू हानेको खबर देखेपछि मलाई अलि डर लाग्यो। हमाससँगको लडाइँ बेग्लै हो, तर इरानबाट भएकोभन्दा अलि डरलाग्दो हुने नै भयो।
इरान पनि शक्तिशाली छ भन्छन्, त्यसैले पनि मलाई डर लाग्यो। मैले घरपरिवार सम्झिएँ। बिहान हुनेबित्तिकै मैले घरमा फोन गरेर कुराकानी गरेँ।
इरानको आक्रमणपछि यहाँ विमानस्थल पनि बन्द भयो। "एक मनमा मलाई लौ अब विमानस्थल पनि बन्द भयो कसरी नेपाल जाने?" भन्ने विचार आयो।
बिहान समाचार हेर्दा इरानबाट प्रहार गरिएका ड्रोनहरू सबैजसो निस्तेज पारिएको देखेपछि भने अब खासै केही हुन्छ जस्तो लागेको छैन। सायद लडाइँ हुन्न होला। अहिले त खासै डर लागेको छैन। तर लडाइँ हुने अवस्था बन्यो भने म यता आएको पनि धेरै भयो, नेपाल सधैँका लागि फर्किन सक्छु।
'तेस्रो विश्वयुद्ध हुन लागेको हो कि भनेर डर लाग्यो'
रुकमाया खनाल, जेरुसलेम

तस्बिर स्रोत, Maya Khanal
राति इरानबाट हमला हुँदै छ भन्ने खबर आइरहेको थियो। म पनि टेलिभिजन हेरेर बसिरहेकी थिएँ।
इरानबाट ड्रोन र रकेट छाड्यो भने पनि जेरुसलेममा आउन समय लाग्छ भन्ने कुराकानी भइरहेको थियो।
मैले साथीभाइसँग टेलिफोनमा कुराकानी पनि गरिरहेकी थिएँ। इरानले हानेको हो भने पनि राति ३ बजेतिर आइपुग्छ होला भन्ने कुरा भइरहेको थियो। तर १ बजेतिर नै साइरन बजिहाल्यो।
म यहाँ एकजना हजुरआमाको हेरचाह गर्छु। गत अक्टोबरमा हमासले आक्रमण गरेदेखि नै हामीले उहाँलाई बङ्करमै राखेका छौँ।
साइरन बजेपछि म पनि बङ्करमा गइहालेँ। सबै झ्यालढोका लगाएँ। हामी बसेको ठाउँ सुनसान भयो।
म जेरुसलेमको बीचतिर बस्छु। इरानले हमला गर्यो भने यो पनि उसले निसाना बनाउने ठाउँमा पर्छ भन्छन्। मलाई निसानामा पर्ने क्षेत्रमै छु भन्ने सोचेर पनि डर लाग्यो। पहिलेको भन्दा मलाई यसपालि अलि बढी नै त्रास भयो।
हुन त म सन् २००६ एप्रिलमा यहाँ आएकी हुँ। त्यस बेला त यहाँ झन् ठूलो लडाइँ भइरहेको थियो। म नयाँ पनि थिएँ, तर पनि खासै डराइनँ।
त्यस बेला डराएर पनि काम थिएन किनभने ठूलो ऋण गरेर आएकी थिएँ। नेपाल फर्किन पनि मिलेन, त्यस बेला।
तर अहिले झन् डर लाग्यो किनभने इरानले हान्यो भने अब त "तेस्रो विश्वयुद्ध हुन्छ" भन्ने लाग्यो।
त्यसपछि चाहिँ मैले घरपरिवार र आफन्त सम्झिएँ। राति डर चाहिँ बेस्सरी नै लागेको थियो।
तर अहिले भने डर कम भएको छ। इरानले अब आक्रमण गर्दैन भन्ने कुरा समाचारमा आइरहेको छ।
अमेरिकाले पनि इजरेललाई संयम अपनाउन भनेको कुरा पनि आएको छ। अब लडाइँ त हुँदैन होला, नहोस् पनि।
युद्ध र अहङ्कारले कहिल्यै र कसैलाई फाइदा गर्दैन। अब युद्ध हुँदैन भन्ने खबर नै सत्य होस् भन्ने मेरो कामना छ।
'नेपालीहरू डराउनु पर्ने अवस्था छैन, सबै सुरक्षित छन्'
मातृका तिमल्सिना, तेल अभिभ

तस्बिर स्रोत, Matrika Timalsina
इजरेलमा हुने गतिविधि र युद्धलाई लिएर नेपालमा एकदमै धेरै गलत सूचना फैलाउने काम हुने गर्छ।
यसपालि पनि सामाजिक सञ्जालमा मैले त्यस्तै गर्नेहरू देखिरहेको छु। गत अक्टोबरमा इजरेली भूमिमा छिरेर नै आक्रमण हुँदा नेपाली विद्यार्थीको पनि ज्यान गयो। त्यसपछि पनि कति झुटो खबर फैलाइएको मैले चाहिँ महसुस गरे।
शनिवार रातिको अवस्थाको कुरा गर्ने हो भने तेल अभिभमा त्यस्तो डराउनुपर्ने अवस्था बनेन। यहाँ साइरन पनि बजेन।
इजरेलमा प्राय: सबै घर र भवनहरूमा बङ्कर हुने गर्छ। अब सीमाक्षेत्रमा छ भने र गाजाबाट हमला भएको छ भने साइरन बजेको ३० सेकेन्डभित्र बङ्करमा गइसक्नुपर्छ।गाजाबाट आक्रमण भएमा पनि तेल अभिभमा साइरन बजेको तीन मिनेटभित्र बङ्करमा गइसक्नुपर्छ।
इरानबाट भएको हमलामा त साइरन बजेको १० मिनेटभित्र बङ्करमा पुगिसक्नुपर्छ। इरानबाट आएको क्षेप्यास्त्र र ड्रोनहरू यहाँ आइपुग्न समय लाग्ने भएकाले त्यस्तो भएको हो।
फेरि इजरेलको 'आइरन डोम' भन्ने आफ्नै हवाई रक्षा प्रणाली पनि छ, त्यसले गर्दा ठूलो खतरा छैन। शनिवारको आक्रमणलाई पनि इजरेलले ९९ प्रतिशत विफल पारिदियो।
त्यसले मलाई त कुनै डर लागेको छैन र म नेपालीहरूलाई नडराउन आग्रह गर्छु। नेपालीहरू यहाँको सुरक्षासम्बन्धी मापदण्ड पालन गर्ने र साइरन बज्नेबित्तिकै बङ्करमा जाने हो भने सुरक्षित नै छन्।
मैले चाहिँ व्यक्तिगत रूपमा अहिले इजरेलमा कुनै खतरा र असुरक्षा देखेको छैन।
नेपाली दूतावासको आग्रह
यसैबीच इरानी आक्रमणपछि इजरेलमा रहेका नेपाली नागरिकका लागि त्यहाँस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, "इजरेलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरेली 'होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्।"
"आगामी सोमवार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्न भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ।"
इजरेलमा कति छन् नेपाली

तस्बिर स्रोत, EMBASSY OF NEPAL ISRAEL
गत अक्टोबरमा हमासले इजरेलमा गरेको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको पनि मृत्यु भएको थियो।
ती विद्यार्थीहरू काम गर्दै सिक्ने योजनाअन्तर्गत इजरेल गएका थिए। उक्त कार्यक्रम नेपाल र इजरेल सरकारबीच भएको सम्झौताअन्तर्गत पर्छ।
त्यस बेला नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार हाल इजरेलमा ४,५०० नेपालीहरू 'केअरगिभर'को रूपमा कार्यरत छन्।
त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएकामा हमासको आक्रमणपछि सरकारले २५० जनाभन्दा बढीलाई उद्धार गरेर ल्याएको थियो।
हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै पनि अज्ञात रहेको छ।
उनलाई हमासको कब्जाबाट मुक्त गर्न नेपालले कतार र इजिप्टसँग पनि सहायता मागेको थियो। तर उनको अवस्थाबारे हालसम्म यकिन जानकारी पाउन सकिएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








