युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’

विपिन जोशी

तस्बिर स्रोत, KISHOR CHANDRA SUBEDI

तस्बिरको क्याप्शन, हमासबाट बन्धक बनाइएका ठानिएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अझैसम्म अज्ञात छ

गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरेलले सुरु गरेको “आक्रमण पूर्ण रुपमा अन्त्य नहुँदासम्म” बन्धक बनाइएका थप मानिसहरूलाई मुक्त नगर्ने जनाएको छ।

इजरेलले डिसेम्बरको सुरुमा गरिएको सङ्घर्षविराम अन्त्य भएयता गाजामा हमासका २,००० जना लडाकुहरू मारिएको बताएको छ। एक साता लामो सङ्घर्षविरामका क्रममा १०० जनाभन्दा बढी बन्धक बनाइएका मानिसहरू मुक्त भएका थिए।

गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ।

हमासबाट बन्धक बनाइएका ठानिएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अझैसम्म अज्ञात छ। यसअघि युद्धविरामका क्रममा थाइल्यान्ड, फिलिपिन्स सहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपालका नागरिक रिहा भएका छैनन्।

विपिन जोशीको रिहाइका लागि के पहल हुँदै छ?

इजरेली सैनिक

तस्बिर स्रोत, Reuters

सरकारले इजरेल-हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्टसहितका देशहरूमार्फत् जोशीको रिहाइका लागि पहल भइरहेको जनाएको छ।

यसअघि हमासले तीन जना ज्येष्ठ उमेरका इजरेली बन्धकहरूको भिडिओ सार्वजनिक गरेको थियो। तर जोशी कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझैसम्म थाहा हुन नसकेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्।

यसअघि इजरेली फौजले गाजाको एउटा अस्पतालको सीसीटीभी क्यामरामा कैद गरिएको भिडिओमा नेपाली बन्धक पनि देखिएको उल्लेख गरेको थियो।

‘युद्धविरामको प्रयास’

ट्याङ्करहरू

तस्बिर स्रोत, EPA

इजरेल-हमास युद्ध अन्त्य गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घमा प्रस्तावहरू पारित गर्ने प्रयास जारी छन्।

अमेरिकाले भने राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा अघि सारिएको युद्धविरामसम्बन्धी प्रस्तावको मस्यौदामा आफ्नो गम्भीर चासो रहेको बताएको छ। सुरक्षा परिषद्‌मा यसअघिको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेपछि युद्धविरामको प्रस्ताव पारित भएको थिएन।

अर्को मतदान नेपाली समयअनुसार शुक्रवार रातिका लागि तय गरिएको छ।

डिसेम्बरको सुरुमा भएको एक साता लामो युद्धविरामले संयुक्त राष्ट्रसङ्घले भोकमरी निम्तिन सक्ने चेतावनी दिएको गाजामा थप सहायता पठाउन सहयोग पुगेको थियो।

अर्को युद्धविरामका लागि इजिप्टको काएरोमा वार्ताहरू भइरहेका छन्। यद्यपि प्रारम्भिक छलफलहरूबाट कुनै सहमति निस्कन सकेको छैन।

हमासको भनाइ के छ?

हमासले एक वक्तव्य जारी गर्दै भनेको छ, “आक्रमण पूर्ण रुपमा अन्त्य नभएसम्म कैदीहरूबारे कुनै पनि छलफल वा साटफेरको सम्झौता नगर्ने प्यालेस्टाइनको राष्ट्रिय निर्णय भएको छ।”

यो वक्तव्यमा उल्लेख गरिएको अर्को प्यालेस्टिनी खेमा कुन हो भन्ने स्पष्ट छैन। गाजामा सक्रिय रहेको अर्को समूह इस्लामिक जिहादले पनि सानो सङ्ख्यामा बन्धकहरू राखिरहेको बुझिएको छ।

हमासको वक्तव्यले इजरेली सरकारलाई अफ्ठ्यारोमा पारेको छ।

इजरेलले बन्धकहरू मुक्त गर्ने सबैभन्दा उत्तम उपायको रुपमा सैन्य दबावलाई लिएको छ र उद्धारका लागि भन्दै सैन्य कारबाहीहरू अघि बढाएको छ।

तर यो उपायले अहिलेसम्म उपलब्धि भने हासिल भएको छैन। इजरेलले हालसम्म एक जना बन्धक मात्रै मुक्त गर्न सफल भएको छ। यसअघि हसमाले इजरेलले मुक्त गर्ने प्रयास असफल हुँदा तीन जना बन्धक मारिएको दाबी गरेको थियो।

इजरेलमाथि दबाव

इजरेली बन्धकहरूले खानेकुराले सेतो कपडामा सन्देश लेख्दै आत्मसमर्पण गर्न खोजेका थिए

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES

तस्बिरको क्याप्शन, इजरेली बन्धकहरूले खानेकुराले सेतो कपडामा सन्देश लेख्दै आत्मसमर्पण गर्न खोजेका थिए

इजरेली सरकारलाई बन्धक बनाइएका आफन्तहरूबाट ठूलो दबाव छ। कतिपयले इजरेललाई बल प्रयोगको नीतिले काम नगरेको बताइरहेका छन्।

हमासले पनि इजरेलमाथि युद्ध रोक्न सक्दो दबाव दिइरहेको छ। यद्यपि यो समूहले आफ्नो सशस्त्र गतिविधि रोक्ने सुनिश्चितता दिलाएको छैन।

इजरेल भने आफ्नो देशमा हमला गर्न सक्ने हमासको क्षमता कमजोर नबनाउँदासम्म युद्ध रोक्ने पक्षमा देखिएको छैन। तर अहिलिसम्मको युद्धबाट इजरेलले त्यसमा प्रगति हासिल गरिसकेको भने छैन।

यो युद्ध अन्त्यको पर्खाइमा रहेका गाजाका मानिसहरूका लागि इजरेली नीतिले चित्त दुखाएको छ।

हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यताको इजरेली आक्रमणमा २०,००० जना मानिसहरू मारिएको विवरण सार्वजनिक गरेलगत्तै इजरेलले आफ्नो कारबाहीमा हमासका २,००० जना लडाकु मारिएको दाबी गरेको हो।

हमासका अनुसार इजरेली आक्रमणमा मारिनेमा ८,००० जना बालबालिका र ६,२०० जना महिला छन्। यसअघि हमास र उसका सहयोगीहरूले बलियो सुरक्षा उपस्थिति रहने सीमाबाट इजरेल प्रवेशपछि गरेको आक्रमणमा १,२०० जना मारिएका थिए।

उक्त आक्रमणमा इजरेलमा कृषि विषयमा अध्ययन र कामका लागि गएका १० जना नेवाली विद्यार्थीहरू पनि मारिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।