इरानले प्रहार गरेका लगभग सबै ड्रोन र क्षेप्यास्त्र नष्ट गरिएको इजरेलको दाबी

तस्बिर स्रोत, Reuters
इजरेलले आफूमाथि इरानले प्रहार गरेको तीनसयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरूमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिएको दाबी गरेको छ।
त्यो इरानले इजरेलमाथि गरेको सबैभन्दा पहिलो प्रत्यक्ष हमला थियो।
केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्।
त्यस्तो हमलालाई निस्तेज पार्न इजरेललाई कतिपय अन्य देशहरूको सहयोग प्राप्त भएको बताइएको छ। अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले दर्जनौँ क्षेप्यास्त्र र ड्रोनलाई अमेरिकी सेनाले नष्ट गरिदिएको बताएका छन्।
ब्रिटिश लडाकू जेटहरू पनि इजरेलमाथिको इरानी हमला निष्फल पार्न संम्लग्न रहेको र फ्रान्सले पनि इजरेली हवाई क्षेत्रमा निगरानी गर्न सघाउ पुर्याएको इजरेली सेनाका एकजना प्रवक्ताले बताएका छन्।
इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई "इजरेली अपराध"को जबाफ बताएको छ।
जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न आइतवार 'वार क्याबिनेट'को बैठक राखेका थिए। उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन्।
यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले "अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा" झेल्नुपर्ने चेतावनी दिएको थियो।
इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ।
इरानको रिभोल्युशनरी गार्डस्ले आफ्ना हमलाहरू "निश्चित निशानाहरूमा" लक्षित गरिएको जनाएको छ।
क्षतिको अवस्था के छ?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ।
एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ।
एउटा पछिल्लो विज्ञप्तिमा आइडीएफले धेरैजसो हमलालाई आफ्नो "एरो" हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरेली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ।
आइडीएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरेलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन्।
इजरेलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए।
अन्तर्राष्ट्रिय प्रतिक्रिया के छ?

तस्बिर स्रोत, POTUS/X
अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्केका थिए।
ह्वाइटहाउसको 'सिचुएसन रुम'मा भएको बैठकको तस्बिरसहित उनले इरान र उसका 'प्रोक्सीहरू'बाट हुने जोखिमसँग जुझ्नका लागि इजरेलप्रतिको वासिङ्टनको प्रतिबद्धता "फलामे कवच" जस्तो रहेको बताएका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार इरानले प्रहार गरेका केही ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू समेत संलग्न भएका थिए।

तस्बिर स्रोत, EPA-EFE
इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ।
कायरोले उक्त क्षेत्र र त्यहाँका मानिसहरूलाई अधिकतम रूपमा संयमित रहन आह्वान गरेको छ।
ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरबाही भन्दै निन्दा गरेका छन्। उनले इरानलाई आफै पछाडि भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ विन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ।
राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू "क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको" बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन्।
बाइडन तनाव नबढाउने पक्षमा

तस्बिर स्रोत, EPA
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति जो बाइडनले इजरेलमा भएको इरानी हमलालाई कारण देखाउँदै त्यस क्षेत्रमा व्यापक युद्ध निम्त्याउन आवश्यक भएकोमा विश्वास नगरेको जनाएको छ।
एबीसी टेलिभिजनको 'मीट द प्रेस' कार्यक्रममा बोल्दै गरेका परिषद्का प्रवक्ता जोन कर्बीलाई उक्त क्षेत्रमा तनाव थप बढ्ने सम्भावना छ कि? भनेर सोधिएको थियो।
त्यसको उत्तर दिँदै कर्बीले भने, "राष्ट्रपतिले त्यो दिशामा अघि बढ्नु आवश्यक छ भन्ने विश्वास गर्नुभएको छैन।"
उनले बाइडनले जीसेभन राष्ट्रहरूको बैठक बोलाएर "कूटनीतिक पक्ष"मा काम गरिरहेको पनि बताएका छन्।
उनले इजरेको रक्षा प्रणाली एकदमै बलियो रहेको प्रमाणित भइसकेको बताए।
कर्बीले तनाव बढोस् भन्ने राष्ट्रपतिले नचाहेको र त्यसमा उनी स्पष्ट देखिएकोमा जोड दिए।
'इरानले छिमेकीलाई पहिले नै जानकारी दिएको थियो'
तेहरानले आफ्ना छिमेकीहरूलाई इजरेलमा आफूले प्रतिरोधका रूपमा हमला गर्नेबारे त्यस्तो आक्रमण गर्नु ७२ घण्टाअगाडि सूचित गरेको इरानी विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियानले बताएका छन्।
उनले भने, "हाम्रो कारबाहीको झन्डै ७२ घण्टा अगाडि नै हामीले यस क्षेत्रका हाम्रा साझेदार र छिमेकीहरूलाई सूचित गरेका थियौँ। हामीले भनेका थियौँ: इजरेलविरुद्ध इरानको प्रतिक्रिया निश्चित, वैध र अपरिवर्तनीय छ।"
उनले विदेशी राजदूतहरूसँगको भेटका क्रममा इरानले अमेरिकालाई 'आत्मरक्षा'का लागि आफूले इजरेलमाथि गर्ने आक्रमण 'सीमित खालको' हुने बताएको पनि जानकारी दिए।

तस्बिर स्रोत, EPA
रुस के भन्छ?
यसैबीच रुसले सबै पक्षलाई संयम अपनाउन र तनाव नचर्काउन आग्रह गरेको छ।
रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय शक्तिहरूले कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेको छ।
मस्कोले सिरियास्थित कूटनीतिक नियोगमा इरानी सैन्य जेनरलसहितको ज्यान जाने गरी गरिएको हमलाप्रति पर्याप्त प्रतिक्रिया दिन नसकेको भन्दै आफूले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई चेतावनी दिएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
उक्त आक्रमणको निन्दा गर्ने गरी रुसले तयार पारेको सुरक्षा परिषद्को वक्तव्यप्रति अमेरिका, ब्रिटेन र फ्रान्सले असहमति जनाएका थिए।
कूटनीतिक समाधान खोज्न नेपालको आग्रह

तस्बिर स्रोत, Facebook/MOFA
इरान र इजरेलबीच तनाव बढेका बेलामा नेपालले "कूटनीतिक माध्यमबाट समाधान खोज्न" आग्रह गरेको छ।
कुनै पनि देशको नाम नलिईकन नेपालले अहिले देखा परेको तनावको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको हो।
परराष्ट्र मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "नेपाल सरकारले पश्चिम एशिया क्षेत्रमा भइरहेका घटनाक्रमको विकासलाई नजिकबाट नियालिरहेको छ। हामी उक्त क्षेत्रमा बढ्दो तनाव र शत्रुतापूर्ण अवस्थाप्रति गम्भीर रूपमा चिन्तित छौँ।"
"नेपाल सरकार विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्छ र बल प्रयोगको निन्दा गर्छ। हामी सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता तथा कूटनीतिका माध्यमबाट शान्ति कायम गर्न आह्वान गर्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








