इरानले इजरेलमाथि आक्रमण गरेपछि अमेरिकाले के गर्ला

बाइडन

तस्बिर स्रोत, US Gov

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले इरानद्वारा इजरेललाई लक्ष्य बनाई प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रहरू निष्क्रिय पार्न सघाएको भन्दै अमेरिकी सैनिकहरूको प्रशंसा गरेका छन्।

एउटा विज्ञप्ति प्रकाशित गर्दै बाइडनले इरानले इजरेलमाथि अभूतपूर्व आक्रमण गर्नुअघि अमेरिकाले उक्त क्षेत्रमा विमान र युद्धपोत पठाएको बताए।

इरानले पहिलो पटक आफ्नो भूमिबाट सोझै इजरेलतिर आक्रमण गरेको हो। दुई देशबीच वर्षौँदेखि छद्मयुद्ध चल्दै आएको थियो।

बाइडनले इजरेलमाथि भएको आक्रमणको भर्त्सना गरेका छन्।

यूके, फ्रान्स र क्यानडाले पनि इरानी आक्रमणको निन्दा गर्दै इजरेललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकाका राष्ट्रिय सुरक्षा अधिकारीहरूले बाइडनलाई इरानले इजरेलमाथि आक्रमण परेपछि त्यसबारे जानकारी दिएका थिए

तस्बिर स्रोत, POTUS/X

तस्बिरको क्याप्शन, अमेरिकाका राष्ट्रिय सुरक्षा अधिकारीहरूले इरानले इजरेलमाथि आक्रमण परेपछि त्यसबारे बाइडनलाई जानकारी दिएका थिए

इजरेल के भन्छ

इरानले इजरेलतिर सयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको भए पनि “अधिकांश”लाई निस्तेज पारिएको दाबी गरेको छ। त्यसका लागि इजरेललाई अमेरिका र अन्य साझेदार राष्ट्रले सघाएका थिए।

यद्यपि केही क्षेप्यास्त्र लक्ष्यसम्मै पुगेका थिए। दक्षिणी इजरेलस्थित एउटा सैन्य शिविरमा एउटा क्षेप्यास्त्रले प्रहार गरेको थियो। त्यहाँ कम्तीमा एक बालिका घाइते भएको बताइएको छ।

इरानी आक्रमणका कारण न्यून क्षति पुगेको भएको पनि इजरेलले दाबी गरेको छ।

गत एप्रिलमा इजरेलले सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा हवाई आक्रमण गरेको भन्दै इरानले प्रतिशोध लिने चेतावनी दिएको थियो। सिरियामा भएको आक्रमणमा एक वरिष्ठ सैन्य कमान्डरसहित सात इरानी अधिकारीहरूको मृत्यु भएको थियो।

यद्यपि उक्त घटनामा आफ्नो संलग्नता भए नभको विषयमा इजरेलले केही भनेको छैन।

तेहरानको सडकमा इरानको समर्थन गर्दै प्रदर्शन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानले इजरेलमाथि आक्रमण गरेपछि त्यसप्रति समर्थन व्यक्त गर्न मानिसहरूले तेहरानमा जुलुस निकालेका थिए

बाइडनले के भने

“इजरेलको सुरक्षाका लागि अमेरिकी कटिबद्धता पुनः व्यक्त गर्न मैले भर्खर प्रधानमन्त्री [बेन्जमिन] नेतन्याहूसँग कुरा गरेँ,” इजरेली प्रधानमन्त्रीसँग फोनवार्ता गरेपछि उनले भने।

“इजरेलले आफूमाथि अभूतपूर्व आक्रमण हुँदा पनि प्रतिरक्षा गर्ने र परास्त गर्ने सामर्थ्य देखाएको मैले उनलाई बताएँ,” बाइडनले भने।

इजरेलमाथि भएको आक्रमणको विषयमा संयुक्त कूटनीतिक प्रतिक्रियाका लागि आफूले जीसेभन समूहका नेताहरूसँग कुरा गर्न लागेको पनि उनले बताए।

इरानलाई अमेरिकी सम्पत्तिमा आक्रमण नगर्न चेतावनी दिँदै बाइडनले अहिलेसम्म त्यसो नगरिएको भए पनि सबै खालका खतराप्रति अमेरिका सतर्क रहने बताए।

यूकेको लडाकु विमान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरान र अन्य स्थानबाट प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्र निस्तेज पार्न अमेरिका, यूके र फ्रान्सले पनि सघाएका छन्

के अमेरिकाले पनि इरानमा आक्रमण गर्ला

इरानले अभूतपूर्व आक्रमण गरेपछि इजरेलले प्रत्याक्रमण गर्न सक्ने अनुमान विश्लेषकहरूको छ।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्ड्नरका अनुसार इजरेलको युद्धसम्बन्धी विषय हेर्ने मन्त्रिपरिषद्ले कस्तो जबाफ दिने भन्ने विषयमा बहस गरिरहेको छ।

"सम्भवतः अहिले क्षेप्यास्त्र प्रहार गर्ने इरानी सैन्य शिविरहरूलाई निसाना बनाइने छ," उनी भन्छन्, "यद्यपि इजरेलले इरानका मुख्य सैन्य शिविरहरू र देशभरि इरानी रेभलूशनरी गार्ड्सका तालिम केन्द्रहरूमा पनि आक्रमण गर्न सक्छ। त्यसो गर्दा धनजनको क्षति हुन्छ।"

त्यसपछि इरानले पनि अहिले आफूले भने जस्तै जबाफ दिन सक्छ।

यद्यपि बाइडन प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै सीएनएनले बाइडनले इरानविरुद्ध हुने कुनै पनि सैन्य आक्रमणमा अमेरिका संलग्न नहुने इजरेली प्रधानमन्त्रीलाई बताइसकेको विवरण प्रकाशित गरेको छ।

एक इजरेली अधिकारीले 'न्यूयोर्क टाइम्स'लाई इजरेलले जस्तो प्रतिक्रिया दिए पनि त्यसका लागि “आफ्ना साझेदारहरूसँग समन्वय” गरिने बताएका छन्।

इरानमाथि प्रहार गरिएको क्षेप्यास्त्र

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेलतिर प्रहार गरिएका ९९ प्रतिशत क्षेप्यास्त्र र ड्रोनलाई निसानामा पुग्न नदिई निस्तेज पारिएको इजरेलले दाबी गरेको छ

इजरेललाई अमेरिकाले कसरी सघाउन सक्छ

इरानी आक्रमण सुरु हुनुभन्दा केही घण्टाअघि बाडइन आफ्नो गृहराज्यको भ्रमण छोट्ट्याएर ह्वाइटहाउस फर्किएका थिए। त्यहाँ उनलाई सम्भावित आक्रमणबारे सुरक्षा अधिकारीहरूले जानकारी दिएका थिए।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनका अनुसार बाइडन “इजरेली अधिकारीहरू र अन्य साझेदारहरूसँग निरन्तर” सम्पर्कमा थिए।

अमेरिकी तल्लो सदन 'हाउस अफ रेप्रिजेन्टटिभ्स'का रिपब्लिकन सांसदहरूले इजरेललाई थप सहयोग प्रदान गर्न र इरानलाई प्रतिबन्ध लगाउन नयाँ कानुनको मस्यौदा बनाउन थालिएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घस्थित इरानी प्रतिनिधिमण्डलका अनुसार तेहरानले “कुरा टुङ्गिसकेको मानेको” तर यदि इजरेल वा अमेरिकाबाट प्रत्याक्रमण भए फेरि हमला गर्ने चेतावनी दिएको छ।

इरानको रेभलूशनरी गार्डले एउटा विज्ञप्तिमार्फत् “इरानी हितमाथिको आक्रमणलाई समर्थन गरे वा त्यसमा सहभागी भए त्यसको कडा प्रतिकार” गर्ने चेतावनी दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।