इरानले किन इजरेलमाथि आक्रमण गर्यो, अब के होला?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
इरानले आफ्नो भूमिबाट इजरेलमाथि पहिलो पटक सोझै आक्रमण गरेपछि इजरेलले त्यसको जबाफ दिन सक्ने र लडाइँ चर्किन सक्ने अनुमान गरिएको छ।
एक इजरेली मन्त्रीले यथोचित समयमा इरानसँग यो आक्रमणको "मूल्य चुक्ता" गराउने बताएका छन्। इरानले इजरेलबाट प्रत्याक्रमण भए आफूले "अझ ठूलो" कदम चाल्ने चेतावनी दिएको छ।
इरानी सेनाका प्रमुख मेजर जेनरल मोहम्मद बघेरीले इरानको सरकारी टेलिभिजनमा बोल्दै इरानले प्रतिक्रिया जनाएको खण्डमा शनिवार रातिको भन्दा ठूलो कारबाही गर्ने चेतावनी दिएको समाचारसंस्था रोयटर्सले जनाएको छ।
इरानले वाशिङ्टनलाई पनि चेतावनी दिँदै इजरेली प्रतिक्रियामा साथ दिएमा अमेरिकी सैन्य आधारहरूलाई निसाना बनाउने बताएको छ।
इरानी आक्रमणपछि संयुक्त राज्य अमेरिकाले इजरेललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि यो घटना चर्किएर युद्ध हुनुपर्छ भन्ने पक्षमा राष्ट्रपति जो बाइडन नरहेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले बताएका छन्।
यदि इजरेलले इरानमाथि सैन्य कारबाही गर्यो भने अमेरिका त्यसमा संलग्न नहुने जानकारी बाइडनले इजरेललाई गराइसकेको विवरण सीएनएनले प्रकाशित गरेको छ।

तस्बिर स्रोत, Reuters
यसअघि संयुक्त राष्ट्रसङ्घस्थित इरानी प्रतिनिधिमण्डलले राष्ट्रसङ्घीय बडापत्रको आत्मरक्षासम्बन्धी धारा ५१ मा उल्लिखित प्रावधानलाई उद्धृत इजरेलमा शृङ्खलाबद्ध हमला गरेपछि "यो विषय…टुङ्गिएको" जनाएको थियो।
इरानले इजरेललाई फेरि "अर्को गल्ती" नगर्न चेतावनी दिएको छ।
इरानले किन गर्यो आक्रमण
एप्रिल १ मा सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा एउटा घातक हवाई आक्रमण भएको थियो। त्यसमा एक सैन्य कमान्डरसहित केही इरानी अधिकारीको मृत्यु भएको थियो।
इरानले उक्त आक्रमण इजरेलले गराएको आरोप लगाएको थियो र त्यसको प्रतिशोध लिने उद्घोष गरेको थियो। इजरेलले उक्त घटनामा आफू संलग्न भए नभएको केही पनि बताएको थिएन।
सिरियाको रक्षा मन्त्रालयका अनुसार इजरेली विमानले दमास्कसस्थित इरानी नियोगमा अधीनस्थ गोलन हाइटतर्फबाट हमला गरेको थियो। उसका अनुसार सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरेलले प्रहार गरेका केही क्षेप्यास्त्रलाई नष्ट गरिदएको भए पनि केही अरूले "पूरा भवनलाई ध्वस्त पारेको र त्यहाँ भएका मानिसहरू हताहत भए" थिए।
सिरियाका विदेशमन्त्री फैसल मेक्दादले उक्त घटनालाई “घृणित आतङ्कवादी हमला” भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका थिए। उनले उक्त घटनामा "कैयौँ निर्दोस मानिसहरू" मारिएको बताएका थिए।
इरान र इजरेलबीच छद्मयुद्ध

तस्बिर स्रोत, Getty Images
उक्त घटनामा ज्यान गुमाउनेमा इरानको इस्लामिक रेभलूशनरी गार्ड्सका ब्रिगेडिअर जेनरल मोहम्मद रेजा जाहेदी र ब्रिगेडिअर जेनरल मोहम्मद हादी हाजी-राहिमीसहित सात जना थिए।
केही वर्षदेखि इजरेल र इरानबीच छद्मयुद्ध चल्दै आएको थियो।
इजरेलले विगतका वर्षमा सिरियामा सयौँ हमलाहरू गरेको स्वीकार गर्दै त्यस्ता निसाना इरान र सशस्त्र समूहहरूको गठबन्धनसँग सम्बन्धित रहेको बताउने गरेको छ। ती समूहलाई रेभलूशनरी गार्ड्सले हतियार, पैसा र तालिम दिने गरेको इजरेलको आरोप छ।
गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएयता इजरेलले आक्रमण बढाउँदै लगेको छ। तेल अभिभले हिज्बुल्लाह र लेबनन तथा सिरियामा रहेका अन्य इरानबाट समर्थनप्राप्त समूहले सीमापारि गरेको हमलाको जबाफ दिन आफूले कारबाही गरेको बताउने गरेको छ।
इजरेलले अब के गर्ला

तस्बिर स्रोत, EPA
इरानी हमला हुनुअघि त्यसबारे धेरै चर्चा भएको थियो। जो बाइडनले आक्रमणबारे हुन लागेको बताएका थिए। अमेरिकामा नाम नखुलाइएको एउटा स्रोतले हमलाको स्वरूपबारे बोलेको थियो।
बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेटले इरानले "सीमित र सावधानीपूर्वक आक्रमण" गरेको औँल्याएकी छन्। "यसले सीमित क्षति पुर्यायो तर इजरेल र उसका साझेदारले यो हमलाको विश्लेषण गरिरहेका छन्," उनी भन्छिन्।
"अमेरिका र यूकेले संयम अपनाउन आग्रह गर्दा पनि इजरेलले विकल्पबारे विचार गरिरहेको जनाएको छ।"
बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनरले यो घटनाले अझै नराम्रो मोड लिन सक्ने सम्भावना औँल्याउछन्। उनका अनुसार इजरेलको युद्धसम्बन्धी विषय हेर्ने मन्त्रिपरिषद्ले कस्तो जबाफ दिने भन्ने विषयमा बहस गरिरहेको छ।
इरानको शासनलाई नरुचाउने समेत गरी मध्यपूर्व र अन्यत्रका देशहरूले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्। तर विद्यमान इजरेल सरकारलाई देशको इतिहासमा अहिलेसम्मकै अनुदारवादी मानिन्छ।
उसोभए इजरेलसँग कस्ता विकल्प छन् त?
गार्डनरका अनुसार इजरेलले उक्त क्षेत्रमा रहेका देशको आग्रह स्वीकार गर्न सक्छ र "रणनीतिक मौनता" राख्न सक्छ। अथवा इजरेलले लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरी सतर्कतापूर्वक आफ्नो भूमिमा आक्रमण गर्न प्रयोग गरिएका इरानी सैन्य शिविरहरूलाई निसाना बनाउँदै शृङ्खलाबद्ध हमला गर्न सक्छ।
"अथवा तनाव बढाउन एक खुड्किलो माथि गएर इजरेलले इरानको शक्तिशाली रेभूलशनरी गार्ड्सका तालिमकेन्द्रहरूलाई पनि निसाना बनाउन सक्छ।"
इजरेलले सैन्य कारबाही गरे इरानले पनि त्यसको प्रतिकार गर्ने उनी औँल्याउँछन्।
इरानले के चाहेको हो

तस्बिर स्रोत, Reuters
त्यसैले सबैको दृष्टि इजरेली प्रतिक्रियामा छ।
'च्याटम हाउस' नामक थिङ्कट्याकसँग आबद्ध अनुसन्धानकर्ता डा डा लिना खातिबले बीबीसी रेडिओ फाइभ लाइभसँग कुरा गर्दै इरानले इजरलेमाथि गरेको आक्रमण "विश्वले थाहा पाओस् भनेर इरानले देखाउन खोजेको परिदृश्य" रहेको बताइन्।
हाल लेबननमा रहेकी उनले उक्त हमला "सुनियोजित भएको" र "वास्तवमा निकै सीमित" रहेको बताएकी छन्।
इरानबाट प्रहार गरिएका ड्रोनहरू इजरेलस्थित निसानामा पुग्नुअघि नै इरानले एउटा विज्ञप्ति जारी गरेको प्रसङ्ग उल्लेख गर्दै उसले उक्त प्रतिकारलाई प्रतीकात्मक मानेको उनको तर्क छ।
"यसले इजरेलले आफ्नो अभिमानका लागि एउटा दह्रो सन्देश दिन खोजेको जस्तो, इजरेललाई सोझै जबाफ दिन खोजे जस्तो देखाउँछ। तर ऊ पक्कै पनि तनाव अझै चुलियोस् भन्ने चाहँदैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








