इरानले इजरेलमा आक्रमण गर्दा कसले के पायो, के गुमायो

तस्बिर स्रोत, Getty Images
- Author, महमुद एल्नजार
- Role, बीबीसी न्यूज अरबिक
"इरानलाई फाइदा हुने गरी बराबरी।" इरानले पहिलो पटक सोझै इजरेलमाथि गरेको आक्रमणकाई विश्लेषकहरूले यसरी व्याख्या गरे।
इजरेली सेनाका अनुसार शनिवार राति तेहरानले इजरेलतर्फ ३०० वटाभन्दा धेरै ड्रोन र क्षेप्यास्त्र प्रहार गर्यो।
इरानको सेनाले कारबाही "दमास्कसस्थित एउटा इरानी कूटनीतिक नियोगमा भएको आक्रमणको जबाफ थियो र त्यसले उद्देश्य पूरा भएको" जनाएको छ।
इरानले यसअघि एप्रिल १ मा सिरियामा भएको घटनाको कडा जबाफ दिने चेतावनी दिएको थियो।
इजरेलले गरेको भन्ठानिएको आक्रमणमा परेर एक वरिष्ठ सैन्य कमान्डर, उनका सहायक र अन्य सहयोगीहरूको ज्यान गएको थियो। उक्त घटनामा छ सिरियाली नागरिकको पनि मृत्यु भएको थियो।
यद्यपि इरानी नियोगमा भएको सो हमलाको इजरेलले जिम्मेवारी लिएको छैन।

तस्बिर स्रोत, Atef Safadi / EPA
नाफा र घाटा
इरानले इजरेलमा गरेको कारबाहीमा आफू सफल भएको दाबी गरेको छ।
तर इरानी अनुसन्धानकर्ता तथा लन्डनस्थित सेन्टर फर अरब-इरानिअन स्टडीजका निर्देशक अलि नूरी जदेहले भने उक कारबाहीबाट इरानलाई फाइदा नपुगेको बताउँछन्।
ती क्षेप्यास्त्रहरू इजरेलभित्र कुनै निसानामा पनि नलागेपछि बरु त्यसले इरानी सत्ताको कमजोरी उजागर गरेको उनको आकलन छ।
इरानमा केही मानिसहरूले उक्त कारबाहीको उपहास गरेका छन्। जदेहका अनुसार बरु इरानले "मनोयुद्ध" बाट बढी लाभ लिन सक्थ्यो।
यद्यपि तेल अभिभ यूनिभर्सिटीको मोस डायन केन्द्रका अनुसन्धानकर्ता डा एरिक रुन्ड्ट्स्की निकै उच्च सतर्कता घोषणा गरेर इजरेलले हारेको ठान्छन्।
उनका अनुसार त्यसबाट इजरेलीहरूमा चिन्ता बढाएको र कैयौँलाई त्यस्तो हमला फेरि हुने त्रास बढेको छ।
जदेहले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यतिखेर आफू अझ शक्तिशाली भएको ठानेका छन्।
यस हमलापछि इजरेललाई अमेरिका र अन्य पश्चिमा देशहरूसँगको आफ्नो सम्बन्ध अझ प्रगाढ बनाउने अवसर थियो। शनिवार ती देशहरूले कडा प्रतिक्रिया व्यक्त पनि गरे।
जदेह यो हमलाबाट आफ्नो देशलाई केही लाभ भए पनि अरू तरिकाले हानि भएको बताउँछन्।
उनका अनुसार इरानी आक्रमणबाट मध्यपूर्वमा शक्तिको आयाम पहिल्याउन इजरेल विफल भएको र इरानलाई इजरेली भूमिभित्र हमला गर्न रोक्न असमर्थ रहेको देखिएको छ।

तस्बिर स्रोत, Reuters
इजरेललाई पश्चिमा देशको समर्थन
इजरेली अनुसन्धानकर्ता एरिक रुन्ड्ट्स्की इरानको हमलाबाट इजरेललाई लाभ भनेको अरू देशहरूको समर्थन पाउनु हो। उनका अनुसार महिनौँपछि पश्चिमा राष्ट्रहरूबाट पाएको समर्थन एउटा "राजनीतिक मोड" बन्न पनि सक्छ।
विशेष गरी अमेरिका र अरू देशसँग गाजा युद्धको विषयमा उत्पन्न अभूतपूर्व तनावपछि इजरेल अब उनीहरूकै "अँगालो"मा जान सक्छ।
यद्यपि इरानी अनुसन्धानकर्ता जदेह यो विषयमा भिन्न धारणा राख्छन्। उनका अनुसार तेहरानले देशभित्र र बाहिर राजनीतिक हार खेप्नुपरेको छ। इरानले छिमेकी देशहरूको साथ गुमाएको र कुनै पनि देशबाट समर्थन नपाएको उनको तर्क छ।
उनी केही पक्षले इरानलाई अमेरिकासँग सीधा युद्धमा धकेल्ने प्रयास गरेको बताउँछन्।
यी दुवै अनुसन्धानकर्ताहरूका अनुसार दुवै देशमा आन्तरिक दबाव छ।
रुन्ड्ट्स्की इजरेलभित्र ठूलो चिन्ता रहेको बताउँछन्। उनका अनुसार इजरेलले युद्ध गरेर गाजाबाट बन्धक मुक्त गराउन नसकेको अवस्थामा इजरेलीहरू त्यहाँको आन्तरिक राजनीतिक मुद्दाका कारण आक्रोश बढेको छ।
जदेह इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले सडकमा मात्र होइन, आफ्नो सत्ताका प्रभावशाली व्यक्तिहरूबाट पनि दबाव खेपिरहेका छन्।
“इजरेलले अल-कुद्स ब्रिगेड्सका सात नेता मारिदिएपछि इरानी रेभलूशनरी गार्ड्सबाट उच्च दबाव छ। उसले प्रतिशोध लिनुपर्ने माग गरेको छ।"

तस्बिर स्रोत, Getty Images
'बारुदबाट सन्देश'
लेबननका सेवानिवृत्त जेनरल हिशाम जबेर सैन्य तथा रणनीतिविज्ञ हुन्। अहिले उनी बेइरुतस्थित मीडल ईस्ट सेन्टर फर स्ट्रटिजिक स्टडीजका निर्देशक छन्।
बीबीसी न्यूज अरबिकसँग कुरा गर्दै उनले भने, "यो हमलाको आश्चर्यजनक पक्ष के यो भने यो आश्चर्यजनक थिएन।"
उनका अनुसार दुई साताको "मनोवैज्ञानिक युद्ध" पछि इजरेल चिन्तित भएको बेला इरानले हवाई हमला गरेको हो। धेरै सेवासुविधा अवरुद्ध हुँदा र धेरै इजरेलीहरूले आफ्नो घर छाड्दा मनोवैज्ञानिक र भौतिक क्षति पुगेको उनको तर्क छ।
जबेरले इरानको "कारबाही"लाई "बारुदबाट सन्देश" दिइएको मानेका छन्। त्यसले इरानको इजरेलसम्मै पुग्ने क्षमता देखाएको र इजरेली हवाई प्रतिरक्षाको तत्परता जाँचेको बताउँछन्।
यो हमलाले इरानलाई उसको "रणनीतिक धैर्यको नीति"पछि राजनीतिक रूपमा गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न केही सघाएको उनी ठान्छन्। यसबाट केही सैन्य र रणनीतिक लाभ पनि पुग्ने उनको ठम्याइ छ।

तस्बिर स्रोत, ABEDIN TAHERKENAREH / EPA
उनका अनुसार इजरेली हवाई प्रतिरक्षा प्रणालीलाई अलमल्याउन इरानले एकैपटक धेरै सङ्ख्यामा ड्रोनहरू पठाएको थियो।
इजरेली 'आइरन डोम'ले ती सबै क्षेप्यास्त्रलाई नष्ट गर्न नसक्ने भएपछि इजरेलले मध्यपूर्वस्थित अमेरिकी र ब्रिटिश सैन्य आधारबाट सहयोग लिनुपरेको उनी औँल्याउँछन्।
"इजरेलले सैन्य जबाफ दिन खोज्यो भने उसले इरानी मुख्य भूमिसम्म पुग्ने गरी क्षेप्यास्त्र प्रहार गर्न सक्छ। तर इरानीले कडा जबाफ दिन सक्ने भएकाले धेरै भित्रसम्म जान सक्दैन।"
"इजरेली विमानले गरेर इरानमा गल्ती नगरी बम खसाउन सक्छन् तर उनीहरू अरब देश हुँदै उड्नुपर्छ। इरानले त्यसो नगर्न इरानले चेतावनी दिएको छ। अथवा त्यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारबाट प्रहार हुनुपर्छ, त्यसो गर्न अमेरिकाले नमान्न सक्छ।”
मार्ग परिवर्तन र फेरि आत्मविश्वास
लन्डन स्कूल अफ इकनमिक्समा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक फवाज जर्जिस इरानले इजरेलमा हमला गरेको भए पनि इजरेलले धेरै कुरा हासिल गरेको ठान्छन्।
उनको विश्लेषणमा इरानी हमलाले इजरेलमा उल्लेख्य क्षति वा हताहत गराउन सकेन र यतिखेर पूरा पाश्चात्य विश्वले इजरेललाई साथ दिएको छ।
उनका भनाइमा यतिखेर अमेरिकाले अस्त्र, गुप्त सूचनामा सहकार्य र आर्थिक सहायताका रूपमा पश्चिमा सहयोग लिने प्रयास गरिरहेको छ।
प्राध्यापक जर्जिसले अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेललाई पीडित देशको रूपमा प्रस्तुत गर्दै उसलाई समर्थन जुटाउनका लागि जीसेभन समूहको आपत्कालीन सम्मेलन आह्वान गरे।
"अस्थायी रूपमै भए पनि गाजामा जारी भयानक र जघन्य घटनाबाट अन्यत्र ध्यान मोडेर नेतन्याहूले राजनीतिक लाभ हासिल गरेका छन्," उनी थप्छन्।
गाजामा "अत्याचार" गरेको भन्दै पश्चिमा देशहरूले इजरेलको कडा आलोचना गर्दै आएका थिए।
यसबाट नेतन्याहूले पश्चिमा विश्वसँग र विशेष गरी राष्ट्रपति बाइडन सम्बन्ध पुनर्स्थापित गरेर लाभ लिने छन्।
'इजरेलका लागि रणनीतिक क्षति'

तस्बिर स्रोत, REUTERS
तर जर्जिस इजरेलका लागि जोखिम उत्पन्न भएको ठान्छन्। इजरेलको कमजोर पक्ष औँल्याउँदै उनी त्यो उसका लागि रणनीतिक हानि भएको बताउँछन्।
उनले इरानले समेत आफ्ना जनता, साझेदार र शत्रुहरूलाई इजरेलसँग भिड्न तयार रहेको देखाउँदै राजनीतिक फाइदा लिएको छ।
उनले इरानले आफ्नो हमलाबाट इजरेलले पश्चिमा साझेदारबिना एक्लै आफ्नो प्रतिरक्षा गर्न नसक्ने प्रमाणित गरेको बताउँछन्। धेरैजसो इरानी क्षेप्यास्त्रहरूलाई अमेरिका, ब्रिटेन, फ्रान्स र जोर्डनले नष्ट गरेका थिए।
इजरेलले हालैका दिनमा इरानलाई लक्ष्य बनाउँदै गरेका गरेका हमलाले इरान कमजोर भएको र भिड्ने आँट नगर्ने देखाउने उद्देश्य राखेका भए पनि इरानी प्रतिकारले उक्त दृष्टिकोणलाई कमजोर पारिदिएको उनी ठान्छन्।
दुवै देशले अवस्था चर्कन सक्ने बताइहेकाले उनी "उक्त क्षेत्र आँधीको मुखमा" रहेको बताउँछन्।
उक्त क्षेत्र राजनीतिक, सैन्य र आर्थिक सङ्कटमा पर्न सक्ने उनको चेतावनी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








