इरानमाथि नयाँ प्रतिबन्धको तयारीमा अमेरिका र ईयू

तस्बिर स्रोत, Reuters
गत सप्ताहान्तमा इजरेलमाथि आक्रमण गरेको इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको अमेरिका र युरोपेली सङ्घले बताएका छन्।
अमेरिकाका अर्थमन्त्री जनेट येलनले आगामी दिनहरूमा कदम चालिने बताएकी छन्। युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जोसेफ बुरेलले त्यसका लागि काम भइरहेको बताएका छन्।
इजरेलले आफ्ना सहयोगीहरूलाई तेहरानको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ।
संयुक्त राष्ट्रसङ्घले उक्त कार्यक्रममा लगाएको प्रतिबन्धको म्याद गत अक्टोबरमा सकिएको थियो।
यस्ता प्रतिबन्धहरूले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने फराकिलो दायरा राख्छन्।
अमेरिका, ईयू र यूके सहितका देशहरूले इरानमाथि प्रतिबन्ध कायम राख्दै थप प्रतिबन्ध लगाएका छन्।
इजरेली सेनाका प्रमुख हेर्टसी हालाभीले सोमवार इरानको आक्रमणको जबाफ दिइने बताएका छन्।
इरानले गत शनिवार पहिलो पटक इजरेलमाथि सीधा क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको थियो। इरान, इराक, सिरिया र यमनबाट प्रहार भएका करिब ३०० वटा क्षेप्यास्त्र र ड्रोनमध्ये अधिकांश इजरेल र उसका सहयोगीहरूले बीचमै नष्ट गरिदिएका थिए।
तेहरानले उक्त हमला गत अप्रिल १ मा सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा १३ जनाको ज्यान जाने गरी इजरेलद्वारा भएको ठानिएको हवाई आक्रमणको बदला भएको बताएको छ।
इजरेलले के बदला लियो
हालसम्म इजरेलले एकमात्रै कूटनीतिक बदला लिएको छ। इजरेलका विदेशमन्त्रीले ३० भन्दा धेरै देशका विदेश मन्त्रीहरूसमक्ष इरानको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।
इजरेलले इरानको सैन्य, राजनीतिक तथा आर्थिक शक्ति इस्लामिक रिभलुसनरी गार्डलाई आतङ्कवादी सङ्घठन घोषणा गर्न पनि आह्वान गरेको छ। अमेरिकाले यसअघिबाटै उक्त सङ्घठनलाई आतङ्कवादी घोषणा गरेको छ भने यूके लगायतका देशहरूले छैनन्।
मङ्गलवार अमेरिकाले अर्थमन्त्री येलनले आउने दिनहरूमा इरानमाथि थप प्रतिबन्धहरू लगाइने आफूले अपेक्षा गरिरहेको बताइन्।
इरानको तेल निर्यात पनि प्रतिबन्धको सम्भावित क्षेत्र हुन सक्ने उनले सङ्केत गरेकी छन्।
अमेरिकाले यस अघिबाटै इरानबाट विभिन्न छद्म समूहहरूलाई हुने सहयोग रोक्नका लागि आर्थिक रूपमा उसलाई एक्ल्याउने उद्देश्यले प्रतिबन्धहरू लगाइरहेको बताएकी छन्।
अमेरिकाले र ईयूले कस्तो प्रतिबन्धको तयारी गर्दैछन्

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाको नयाँ प्रतिबन्ध उसको “क्षेप्यास्त्र र ड्रोन कार्यक्रम लक्षित हुने” बताएका छन्। उनले इस्लामिक रिभोलुसनरी गार्ड र इरानको रक्षा मन्त्रालय लक्षित प्रतिबन्धहरू पनि थप गरिने जानकारी दिएका छन्।
उनले अमेरिकाले लगाएको प्रतिबन्धहरू अमेरिकी सहयोगी राष्ट्रहरूले पनि थप गर्ने विश्वास आफूहरूले गरेको बताए।
ईयूका प्रमुख कूटनीतिक बुरेलले केही सदस्य राष्ट्रहरूले इरानमाथिको प्रतिबन्ध थप विस्तार गरिनुपर्ने माग गरेको बताएका छन्।
उनले ईयूको कूटनीतिक सेवामा “प्रतिबन्धहरूबारे आवश्यक कारबाहीका लागि” आग्रह पठाइने बताए।
इजरेली विदेशमन्त्री इजरेल काट्सले कूटनीतिक प्रतिबन्धहरूबारे देखिएको सकारात्मक प्रवृत्तिको स्वागत गरेका छन्।
संयम अपनाउन आग्रह
विश्वका नेताहरूले पछिल्लो आक्रमणपछि मध्यपूर्वमा युद्ध थप बढ्न नदिन संयम अपनाउन आग्रह गरेका छन्।
इजरेललाई निरन्तर सहयोग गर्दै आएका अमेरिकी राष्ट्रपति जो बाइडन आफ्नो अडानमा अडिग देखिएका छन्। उनले यो प्रकरणमा इजरेलले आफ्नो जीत घोषणा गर्नुपर्ने बताए।
मङ्गलवार इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई टेलिफोन गर्दै यूकेका प्रधानमन्त्री ऋषि सुनकले इजरेलले हमलाको जवाफ फर्काउने क्रममा युद्ध थप चर्कनसक्नेतर्फ सचेत गराएका छन्।
“उनले उल्लेख्य रूपमा युद्ध चर्काउने कुरा कसैको हितमा नहुने र त्यसले मध्यपूर्वमा थप असुरक्षा बढाउनेमा जोड दिए। यो शान्त भएर सोच्ने समय हो,” सुनकको कार्यालयका प्रवक्ताले भनेका छन्।
विश्वका सबैभन्दा धनी देशहरूको समूह जी सेभेनले कूटनीतिक कदमबारे छलफल गरिरहेको बताएका छन्।
इरानले भने आफ्नो हमलापछि दुई देशबीचको हिसाब मिलेको सङ्केत गरेको छ। तर इरानका राष्ट्रपतिले इजरेलबाट थप प्रतिवाद भए त्यसको जबाफ कठोर र कडा दिइने चेतावनी दिएका छन्।
इरानको अर्को सहयोगी रुसले पनि संयम अपनाउन आग्रह गरेको छ। मङ्गलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपतिबीचको टेलिफोन संवादपछि क्रेमलिनले यस्तो आग्रह गरेको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








