'इजरेलले दुर्भाग्यपूर्ण अवस्था बेहोर्नुपर्ने' इरानका सर्वोच्च नेताको चेतावनी

इरानमा हमला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानमा इजरेली हमलाको दृश्य

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले हमला गरेर इजरेलले उसको 'नीच स्वभाव' प्रकट गरेको भनेर टिप्पणी गरेका रोएटर्स समाचार संस्थाले उल्लेख गरेको छ।

'हमला गरेर इजरेलले आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यम्भावी रहेको' इरानी सर्वोच्च नेताले बताएको उल्लेख छ।

अमेरिका पनि हमलामा सामेल भएको आरोप

इरानको सैन्य फौजका एक प्रवक्ताले 'इजरेलले अमेरिकाको सहयोगमा आफ्नो देशमा आक्रमण गरेको' बताएको इरानी सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

तर यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ती हमलामा 'वाशिङ्टन सामेल नभएको' बताएका थिए।

इजरेलले ती सैन्य कारबाही 'आत्मरक्षा'का निम्ति आवश्यक भएको भनेर आफूहरूलाई बताएको रुबियोले बताए।

इरानको जवाफी हमलाको इजरेलमा तयारी

सुरुवाती विवरणहरूमा इजरेलले गरेको 'अपरेशन राइजिङ लाइअन' कारबाहीले इरानमा गम्भीर धक्का पुगेको ठानिएको छ।

इरानभरि गरिएका दर्जनौँ प्रहारहरूमा कैयन् वरिष्ठ इरानी सैन्य अधिकारीहरू तथा परमाणु वैज्ञानिकहरू पनि मारिएको ठानिएको छ।

अब इजरेलमा इरानको प्रतिक्रियाको पर्खाइ भइरहेको छ।

इरानले कस्तो प्रतिक्रिया देला भनेर अनुमान गर्न योभन्दा अगाडि यी दुई देशबीच भएका झडपहरू सम्झनु पर्ने हुन्छ।

गत वर्षको एप्रिलमा इरानले इजरेललक्षित ३०० क्षेप्यास्त्र प्रहार गरेको थियो जसको जवाफ इजरेलले इरानका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा सीमित हमला गरेर दियो।

त्यस लगत्तैका महिनाहरूमा इजरेलले इरानका 'प्रोक्सी समूह' भनिने हमास तथा हेज्बोल्लाहका कैयन् अगुवाहरूको हत्या गरायो।

अक्टोबरमा इरानले इजरेलमा १८० बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो अनि इजरेलले फेरि इरानी सैन्य संरचनाहरूमा लक्षित कारबाही गर्‍यो।

तर ती कुनै पनि हमलाहरूभन्दा अहिले भएको इजरेली हमला ठूलो हो – र इरानबाट पनि ठूलै जवाफी कारबाहीको लागि इजरेलले तयारी गरिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।