इजरेलले इरानमा गरेको हमलासँग जोडिएका केही प्रश्न र त्यसबारे हालसम्म थाहा भएका जबाफ

तस्बिर स्रोत, Reuters
- Author, टम बेनेट
- Role, बीबीसी न्यूज
अक्टोबर महिनाको सुरुमा तेहरानले एकसाथ कैयौँ क्षेप्यास्त्रबाट इजरेलमा गरेको हमलाको जबाफ भन्दै इजरेलले शनिवार राती इरानमा “सटिक र निशानाबद्ध” हमला गरिएको जनाएको छ।
महिनौँदेखि इजरेल र इरानबीच शृङ्खलाबद्ध रूपमा चर्किएको तनावबीच यो पछिल्लो घटनाले एउटा पूर्ण आकारको क्षेत्रीय युद्धको चिन्ता बढाएको छ।
इरानले आफ्ना सैन्य अखडामा गरिएका हमलामा दुईजना सैनिक मारिएको बताइरहेको छ।
तर त्यसअघि त्यो चिन्ता गरिएभन्दा बढ्ता सीमित स्वरूपको रहेको देखिएको थियो।
हामीलाई थाहा भएका कुरा यस्ता छन्:
हमला कसरी सुरु भयो?
स्थानीय समय अनुसार शनिवार राती २ बजेपछि इरानी सञ्चारमाध्यमहरूले राजधानी तेहरान र आसपासमा विस्फोटन भएका विवरण सार्वजनिक गरे।
सोसल मिडियामा राखिएका र बीबीसीले आधिकारिकता जाँचेका भिडिओमा सहरमाथि प्रहारहरू देखिएका छन्। केही क्षेत्रका स्थानीयबासीहरूले चर्को बिस्फोटन सुनेको बताएका छन्।
झण्डै २:३० बजेतिर इजरेल डिफेन्स फोर्सेस आईडीएफले इरानको "सैन्य निशानामा” “सटिक” हमला गरेको पुष्टि गर्यो।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र रक्षामन्त्री योअफ गालान्टले आईडीएफको तेलअभिभस्थित कमाण्ड एण्ड कन्ट्रोल सेन्टरबाट उक्त कारबाहीको जानकारी लिइरहेका थिए।
बिहानी ६ बजेलगत्तै आइडिएफले हमलाहरू पूरा भएको जनायो।
एकजना बरिष्ठ अमेरिकी अधिकारीले "निशानाबद्ध र उस्तैखाले" जबाफ दिनका लागि इजरेललाई प्रोत्साहित गरिएको जनाएका छन्।
हमलाको स्तर कस्तो थियो?

तस्बिर स्रोत, Reuters
अहिलेको अवस्थामा हमला र त्यसले पुर्याएका क्षतिको अवस्था अस्पस्ट छ।
आईडीएफले आफ्ना निशानामा क्षेप्यास्त्र उत्पादन केन्द्र, जमिनबाट आकासमा प्रहार गरिने क्षेप्यास्त्र र अन्य सैन्य अखडाहरू रहेको जनाएको छ।
इरानी सेनाले “प्रहारसँग जुझ्नेक्रममा” दुईजना सैनिक मारिएको बताएको छ।
इरानी अधिकारीहरूले तेहरान, खुजिस्तान र इलम प्रान्तहरू निशानामा पारिएका जनाएका छन्।
इरानको हवाई प्रतिरक्षा निकायले हमलालाई “सफलतापूर्वक निस्तेज पारिएको” तर “केही क्षेत्रमा सीमित क्षति पुगेको” जनाएको छ।
एकजना बरिष्ठ अमेरिकी अधिकारीले राष्ट्रपति जो बाइडनको आग्रहमा हमलामा इरानी तेल पूर्वाधार वा परमाणु केन्द्र नपरेको जनाएका छन्।
सिरियाली सरकारी सञ्चारमाध्यमले मध्य र दक्षिणी सिरियाका सैन्य अखडामा समेत हमला भएको जनाए पनि इजरेलले त्यहाँ हमला गरेको पुष्टि गरेको छैन।
इजरेलले किन इरानमा हमला गर्यो?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
इरान मध्यपूर्वमा फैलिएका उसका 'प्रोक्सी' भनिने कैयौँ समूहको मुख्य सहायताकर्ता हो।
ती समूहमा हाल इजरेल युद्ध लडिरहेको हमास र हिज्बुल्लाह समेत पर्छन्।
एप्रिलमा इरानले इजरेलमा आफ्नो पहिलो प्रत्यक्ष हमला गरेको थियो। झण्डै ३०० वटा क्षेप्यास्त्र र ड्रोनसहित गरिएका ती हमलालाई सिरियास्थित इरानी दूतावास परिसरमा गरिएको इजरेली हवाई हमलाको जबाफ भनिएको थियो।
उक्त कूटनीतिक नियोगमा हमला हुँदा इरानको रेभुलस्नरी गार्ड्सका कैयौँ शीर्ष कमाण्डर मारिएका थिए।
इजरेलले इरानको इस्फहानस्थित एउटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा एउटा “सीमित” हमला गर्दै त्यसको जबाफ दियो।
त्यसपछि जुलाई महिनामा इजरेलले बेइरुतमा गरेको एक हवाई हमलामा एक शीर्ष हिज्बुल्लाह कमाण्डरको हत्या गर्यो।
त्यसको भोलिपल्ट तेहरानमा भएको एक विस्फोटनमा हमासका राजनीतिक नेता इस्माइल हानिया मारिए। इरानले त्यसको लागि इजरेललाई दोष दिए तापनि उसले त्यसमा कुनै प्रतिक्रिया जनाएको छैन।
त्यसपछि सेप्टेम्बर महिनाको अन्त्यतिर इजरेलले हिज्बुल्लाहका नेता हसन नस्रल्लाह र इरानका एकजना उच्च अधिकारी ब्रिगेडिअर जेनरल अब्बास निलफोरुसान मारिए।
अक्टोबर १ मा इरानले २०० वटा बलिस्टिक क्षेप्यास्त्र इजरेलमा प्रहार गर्दै त्यो हानिया र नस्रल्लाहको मृत्युको जबाफ भएको बतायो।
अब के हुन्छ?

प्रारम्भिक सङ्केतले केही मानिसहरूले चिन्ता व्यक्त गरेजस्तो गम्भीर आक्रमण यो नभएको देखाउँछ।
अमेरिकी सञ्चार माध्यम एक्सिअसका अनुसार इजरेलले आफ्नो आक्रमणबारे निश्चित जानकारी सहितको सन्देश पठाउँदै तेहरानलाई त्यसको प्रतिवाद नगर्न चेतावनी दिएको थियो।
इजरेलले यो अवस्थालाई कम्तीमा अहिलेका लागि थप खराब बनाउन नचाहेको त्यसले सङ्केत गरेको छ।
“हामी गाजा स्ट्रिप र लेबननमा हाम्रो युद्धको उद्देश्यमै केन्द्रित छौँ। क्षेत्रीय तनाव बढाउन इरानले नै निरन्तर प्रयास गरिरहेको छ,” आईडीएफले आफ्नो विज्ञप्तिमा भनेको छ।
एक जना वरिष्ठ अमेरिकी अधिकारीले "यससँगै इजरेल र इरानबीचको प्रत्यक्ष आक्रमणको अन्त्य हुनुपर्ने” बताएका छन्।
यस विषयमा इरानले सीमित प्रतिक्रिया जनाएको छ।
इरानको इस्लामिक रेभुलस्नरी गार्ड कर्प्स सम्बद्ध तस्निम न्यूज एजेन्सीले उद्धृत गरेका एक स्रोतले भनेका छन् "इरानले कुनै पनि आक्रमणको प्रतिवाद गर्ने अधिकार राख्छ र इजरेलले कुनै पनि कदममा त्यसै अनुसारको जवाफ पाउँछ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








