अपमानजनक धक्कापछि इजरेलमाथि हमला गरेर इरानले खेलेको दाउ

तस्बिर स्रोत, Iran State Television
- Author, जियार गोल
- Role, विश्व मामिला सम्वाददाता, बीबीसी विश्व सेवा
इरानको इस्लामिक रिभ्योलुशनरी गार्ड कोर (आइआरजीसी)का कमान्डर-इन-चीफ मेजर जर्नेल होसेन सलामीले मङ्गलवार राति टेलिफोनमार्फत् इजरेल लक्षित २०० बलिस्टिक क्षेप्यास्त्र हमलाको आदेश दिँदै गर्दा उनको पछाडि एउटा ठूलो ब्यानर टाँगिएको इरानी सञ्चारमाध्यमहरूले प्रसारण गरेको भिडिओमा देखिन्छ।
उक्त ब्यानरमा तीन जना व्यक्तिको फोटो देखिन्छ। ती तीन व्यक्तिको हत्याको बदला इजरेलसँग लिने इरानले भन्दै आएको थियो – हमासका राजनीतिक नेता इस्माइल हानिया जो जुलाईमा तेहरानमा भएको हमलामा मारिए, हिज्बुल्लाहका नेता हसन नस्रल्लाह र आइआरजीसी कुड्स फोर्सका कमान्डर ब्रिगेडियर जर्नेल अब्बास निलफोरोशान जो गत साता बेइरुतमा भएको इजरेली हवाई हमलामा मारिए।
आइआरजीसीले उसले प्रयोग गरेका क्षेप्यास्त्रमध्ये फतह हाइपरसोनीक क्षेप्यास्त्र पनि रहेको र ती १२ मिनेटमै इजरेलसम्म पुगेर तीन वटा हवाई सैन्य अखाडा तथा मोसाद खुफिया एजेन्सीको मुख्यालय जस्ता लक्ष्यमा सफलतापूर्वक प्रहार भएको दाबी गरेको छ।
तर इजरेली सेना (आइडिएफ)ले चाहिँ इरानले प्रहार गरेका अधिकांश क्षेप्यास्त्रलाई ‘इजरेल तथा अमेरिकी नेतृत्वको प्रतिरक्षा गठबन्धनले रोकेको’ तथा ‘थोरै सङ्ख्या’का केहीले मध्य तथा दक्षिण इजरेलमा प्रहार भएको बताएको छ।
हमला भएको केही क्षणपश्चात् तेहरानको प्यालेस्टाइन स्क्वाएरमा एउटा विशाल ब्यानर प्रदर्शन गरिएको थियो जसमा क्षेप्यास्त्रहरू 'स्टार अफ डेभिड' आकारका भवनहरूतर्फ जाँदै गरेको देखिन्थ्यो र जसमा लेखिएको थियो ‘जायोनिजम्को अन्त्यको सुरुवात।’

तस्बिर स्रोत, Wana/Reuters
हानियाको हत्यापश्चात् इरानले संयम अपनाएको देखिएको थियो – तर लगत्तै नस्रल्लाह तथा निलफोरोशानसमेत मारिने गरि उसको सबभन्दा निकट तथा पुरानो क्षेत्रीय सहयोगी समूह हिज्बुल्लाहविरुद्ध भएका गम्भीर आक्रमणहरूले इरानको उक्त अकर्मण्यतालाई अपमानकै आवरण दियो।
आइआरजीसीले सन् १९८० ताका हिज्बुल्लाह समूह गठन गर्न सघाएको थियो। इरानी शस्त्र, प्रशिक्षण एवं स्रोतका कारण हिज्बुल्लाह लेबननको सबभन्दा शक्तिशाली सशस्त्र समूह तथा राजनीतिक पात्र बन्न पुग्यो।
यो महिना अगाडिसम्म इरानी नेताहरूले हिज्बुल्लाहसँगको निरन्तर सङ्घर्षले गाजामा हमाससँग लडिरहेको इजरेली सेना थाक्ने अनुमान गरेका थिए।
साथै हिज्बुल्लाहसँग रहेका क्षेप्यास्त्र तथा रकेटका विशाल भण्डारका कारण इजरेल आफ्नो देशका परमाणु एवं क्षेप्यास्त्र राखिएका स्थलहरूमा सोझै आक्रमण गर्नबाट हच्कने उनीहरूले ठानेका थिए।
जुलाईमा निर्वाचित भएका राष्ट्रपति मसूद पेजेस्कियानले इरानलाई अमेरिका समेत झोसिने क्षेत्रिय युद्धमा तान्न खोजेको आरोप इजरेलमाथि लगाएका थिए।
“हामी पनि सुरक्षा र शान्ति चाहन्छौँ। तेहरानमा हानियालाई मारेको त इजरेलले हो,” बुधवार कतार भ्रमणका क्रममा उनलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले जनाए।
“युरोपेली तथा अमेरिकीहरूले हामीले कुनै जबाफी कारबाही गरेनौँ भने गाजामा एक हप्तामै शान्ति छाउने भनेका थिए। हामीले त्यहाँ शान्ति आउने आशामा पर्खियौँ तर तिनले हत्या गर्ने काम झन् बढाए।”
कट्टरपन्थी अनुदारवादीहरू
इरानका कैयन् कट्टरपन्थी अनुदारवादीहरूमाझ आफ्नो देशले इजरेलविरुद्ध कुनै कारबाही नगरेकोमा बेचैनी बढ्दो थियो।
कतिपय टिप्पणीकारहरूले टेलिभिजनमा – जसलाई सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेइ र आइआरजीसीले नियन्त्रण गर्छन् – बोल्दै हानियाको हत्याको बदला लिन हच्किँदा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानका स्वार्थ तथा लेबननस्थित उसका सहयोगीविरुद्ध आक्रमण गर्न झन् हौसिएको बताए।
मङ्गलवारको क्षेप्यास्त्र हमलापछि इरानी सशस्त्र फौजका चीफ अफ स्टाफ मेजर जर्नेल मोहम्मद बाकेरीले ‘धैर्य र संयम’को समय सकिएको घोषणा गरे।
“हामीले इजरेलका सैन्य तथा खुफिया स्थलहरूलाई निसाना बनायौँ र जानाजान त्यहाँका आर्थिक र औद्योगिक स्थलहरूमा आक्रमण गरेनौँ,” उनले भने। “तर यदि इजरेलले जबाफी कारबाही गर्यो भने त्यसपछि हाम्रो प्रतिक्रिया थप सशक्त हुनेछ।”
इजरेलको आक्रमणलाई चुप लागेर सहेमा आफूहरू कमजोर र निर्बल भएको देखिने – देशभित्र तथा हमास/हिज्बुल्लाहसहितको एक्सिस अफ रेसिस्टेन्स भनिने क्षेत्रिय सहयोगीहरूको नजरमा - चिन्ता इरानी नेताहरूमा छाएको उक्त क्षेप्यास्त्र आक्रमणले देखाउँछ।
'छद्म युद्ध'
दशकौँदेखि इरान र इजरेलले छद्म युद्ध लडे जसको मूल नीति ‘न युद्ध न शान्ति’ भन्ने रह्यो। तर अब लाग्छ यो यथास्थितिको अन्त्य हुँदैछ।
इजरेलले गम्भीर बदला लिने भनिसकेको छ। नेतान्याहुले “इरानले ठूलो भूल गरेको र त्यसको मूल्य चुकाउने” चेतावनी दिएका छन्।
अमेरिकाको बोली र रणनीतिमा पनि फेरबदल आइरहेको सङ्केत मिल्छ।
सिरियास्थित इरानी वाणिज्य दूतावासमा आइआरजीसीका वरिष्ठ कमान्डरहरू मारिने गरि भएको इजरेली हवाई हमलाको विरोधमा एप्रिलमा इरानले प्रहार गरेका ३०० ड्रोन तथा क्षेप्यास्त्रमध्ये अधिकांश इजरेली र अमेरिकी नेतृत्वको फौजले खसालिदिएपछि राष्ट्रपति जो बाइडनले संयम अपनाउन अपिल गरेका थिए। त्यतिखेर इजरेलले अमेरिकी अपिल स्वीकार्दै केवल मध्य तेहरानको हवाई रक्षा स्थलमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
तर यसपटक बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इरानको हमलाको ‘गम्भीर परिणाम’ हुने चेतावनी दिँदै अमेरिकाले ‘इजरेलसँग मिलेर काम गर्ने’ प्रतिक्रिया दिए।
‘केही दिनभित्रै’ इरानमा बदलाका कारबाही हुने र तिनले तेल प्रशोधन स्थलजस्ता उक्त देशको ‘रणनीतिक स्थलहरू’लाई निसाना बनाउने इजरेली अधिकारीहरूको भनाइ उद्धृत गर्दै इजरेली सञ्चारमाध्यमहरूले समाचार दिएका छन्।
साथै इरानले फेरि इजरेलमा जबाफी हमला गरेमा इरानका परमाणु स्थलहरूमा प्रहार गरिने ती अधिकारीहरूले चेतावनी दिएका छन्।
इरानका वरिष्ठ अधिकारीहरूले चाहिँ थप उक्साहट नगरिए उनीहरूले हानिया, नस्रल्लाह र निलफोरोशानको हत्याको बदलामा गरेको आक्रमण सकिएको जनाएका छन्।
विदेशमन्त्री अब्बास आराग्चीले तेहरानस्थित स्वीस दूतावासमार्फत् अमेरिकालाई सन्देश दिँदै ‘हस्तक्षेप नगर्न’ चेतावनी दिइएको बताए।
उनले भने: “इजरेललाई सहयोग गर्ने वा आफ्नो हवाई क्षेत्र इरानविरुद्ध प्रयोग गर्न दिने जुनसुकै तेस्रो देश पनि जायज निसाना हुने छन्।”
मध्यपूर्वमा अमेरिकाको करिब ४० हजार फौज तैनाथ छन् – धेरैजसो इराक र सिरियामा। ती दुवै देशमा सक्रिय इरान समर्थित शिया मिलिसियाले तिनलाई खतरा पैदा गर्न सक्छन्।
अब हुने इजरेली प्रतिक्रियाका निम्ति इरान तयार हुनुपर्नेछ र आश गर्नुपर्नेछ कि उसले लगाएको दाउ सफल भयो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








