इरानमा 'अझ क्रूर' हमला हुन सक्ने ट्रम्पको चेतावनी

तेहरानमा इजरेली हमलापछिको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजरेली हमलामा निसानामा परेको तेहरानको एक भवनबाट धुवाँको मुस्लो निस्कँदै

इजरेली सेनाले इरानमा आक्रमण गर्दै त्यहाँको नतान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्र र तब्रिजको विमानस्थलमा हमला गरेको छ।

गत रात गरिएको हमलामा इजरेलले इरानका उच्च तहका अधिकारीहरूलाई निशाना बनाएर रिभोलुशनरी गार्डस्‌का प्रमुख तथा अन्य वरिष्ठ कमान्डरहरूलाई मारिदिएको थियो।

तेहरानको आवासीय क्षेत्रहरू सहित इरानको कम्तीमा छ वटा सहरमा हमला गरिएको थियो। जबाफमा इजरेल तर्फ सयवटाभन्दा बढी ड्रोनहरू हमला गरेको इरानले इजरेली हमलालाई 'युद्धको घोषणा' भनेको छ।

इजरेलले इरानले उस्को सिमा क्षेत्रतर्फ प्रहार गरेको एकसयवटा भन्दा बढी ड्रोनहरू लगभग सबै नै बिचमा रोकीदिएको बताएको छ।

र आक्रमणको विषयलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चिन्ताका माझ इजरेलले आफूले आफ्नो अस्तित्व रक्षाका लागि त्यस्तो कदम चालेको दाबी गरेको छ।

ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै इजरेलले 'अझ क्रूर प्रकृतिको हमलाको तयारी गरिरहेको' बताएका छन्।

उनले द्वन्द्वलाई तथ फैलन नदिन तेहरानलाई उस्को परमाणु कार्यक्रमका सम्बन्धमा कुनै सहमति हासिल गर्न पनि भनेका छन्।

उनले संयुक्त राज्य अमेरिकाले इजरेललाई ठूलो परिणाममा उनकै शब्दमा सर्वोत्तम र घातक सैन्य उपकरणहरू उपलब्ध गराएको पनि बताएका छन्।

त्यसअघि उनले इजरेली सैनिक कार्बाहीका बारे वाशिङ्गटनलाई पूर्व जानकारी दिइएको तर त्यसमा आफूहरूले कुनै भूमिका नखेलेको बताएका थिए।

उग्रवादी लेबननी समूह हेज्बोल्लाहले इजरेली हमलाको निन्दा गरेको छ।

उक्त समूहले चेतावनी दिँदै भनेको छ इरानमा हमला गरेर इजरेलले त्यहाँको समग्र क्षेत्रमा नै आगो सल्काइदिने खतरा निम्त्याएको छ।

संयुक्त राष्ट्र संघको परमाणु निगरानी निकायका राफाएल ग्रोसीले भनेका छन् परमाणु केन्द्रहरूमा कहल्यै आक्रमण गर्नु हुँदैन। र उनले इजरेल र इरानलाई तनाव थप चर्कन नदिन उच्च संयम अपनाउन आग्रह पनि गरेका छन्।

इरानमा हमला भएका स्थानहरूको नक्शा

'अपरेशन राइजिङ लाइअन'

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला 'अपरेशन राइजिङ लाइअन' नाम दिइएको सैन्य कारबाहीको एक भाग भएको भन्दै इरान इजरेलको "अस्तित्वको लागि" खतरा भएको बताएका छन्।

उनले "आवश्यकता रहेसम्म आक्रमण जारी राख्ने" बताउँदै इजरेलको हमलाले "इरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेको" पनि बताए।

इजरेलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ।

इजरेली हमलामा इरानको रिभोलुशनरी गार्डस्‌का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ।

इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ।

इजरेली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्। देशको परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ।

तेहरानमा विस्फोट भएको दृश्य

तस्बिर स्रोत, Security Camera

तस्बिरको क्याप्शन, तेहरानमा विस्फोट भएको दृश्य

विस्फोटन र क्षति

तेहरानमा इजरेली हमलापछि देखिएका दृश्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेली हमलामा भएका क्षति निरीक्षण गर्दै तेहरानमा मानिसहरू
फ्लाइट रेडार २४

तस्बिर स्रोत, FLIGHTRADAR24

स्थानीय समय बिहान ४ बजे लगत्तै इरानको राजधानी तेहरानमा विस्फोटका आवाजहरू सुनिएका थिए।

त्यसको केही क्षणमा इजरेली रक्षामन्त्रीले आफूहरूले इरानमा हमला गरेको पुष्टि गर्दै अब निकट भविष्यमा इरानले जवाफी हमला गर्ने अपेक्षाका माझ देशमा सङ्कटकाल लगाएको बताए।

इजरेलमा मानिसहरू – जेरुसलेमस्थित बीबीसी संवाददातासमेत – लाई बिहानै हवाई हमलाको चेतावनी 'एअर रेड साइरनको आवाजले बिउँझायो अनि मानिसहरूको फोनमा आपत्कालीन सन्देशहरू प्रवाह भएका थिए।

एकजना इजरेली सैन्य अधिकारीले 'इरानको परमाणु कार्यक्रम तथा अन्य सैन्य निसानाहरू'मा कैयन् प्रहार गरिएको बताए। इरानसँग 'केही दिनभित्रै' परमाणु बम बनाउन सकिने गरी पर्याप्त परमाणु सामग्री रहेको उनले बीबीसीलाई बताए।

उडान अनुगमन गर्ने वेबसाइट फ्लाइटरेडार२४ का अनुसार तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडानहरू स्थगन गरिएका छन् भने इजरेलको तेल अभिभतर्फका उडानहरू अन्यत्रै मोडिएका छन्।

अमेरिकाले इजरेलले गरेको सैन्य कारबाहीहरूमा आफू सामेल नभएको बताएको छ।

सो क्षेत्रमा रहेका अमेरिकी फौजको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको उसले बताएको छ।

इरानी सरकारी टेलिभिजनका अनुसार इजरेलले आवासीय क्षेत्रमा पनि प्रहार गरेको छ अनि त्यसमा बालबालिका पनि मारिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।