इजरेल लेबनन अतिक्रमण : यो बिचल्लीका माझ लेबननी सेना कता छ?

तस्बिर स्रोत, Getty Images
- Author, क्यारिन टर्बी
- Role, बीबीसी न्यूज बेइरुत
इजरेल तथा उग्रवादी समूह हिज्बुल्लाहबीच हाल जारी सङ्घर्ष दुई वटा स्पष्ट विषयमा आधारित छन् जुन गत चार दशकदेखि झन् झन् बलियो गरि स्थापित भएका छन्।
इजरेल भन्छ ऊ छिमेकी देश लेबननस्थित हिज्बुल्लाहले 'खडा गरेको खतरा निमिट्यान्न पार्न' उद्यत छ। हिज्बुल्लाह चाहिँ इजरेल राज्यलाई नै नाश गर्ने प्रयत्न अन्तर्गत इजरेली पक्षमाथि निरन्तर निशाना साधिरहन्छ।
गएको ११ महिनामा दुई पक्षबीच दैनिक जसो भइरहेका सीमा वारपार सङ्घर्षले उक्त क्षेत्रको तनाव एकदमै चर्कियो।
सन् २००६ यता पहिलोपटक इजरेलले फेरि लेबननमा अतिक्रमण गर्दै गर्दा कतिपयले यो सङ्घर्षका माझ लेबननी सेना कहाँ छ र सङ्घर्ष रोक्न उसले के गरिरहेको छ भन्ने प्रश्न गरिरहेका छन् किनकी त्यहाँ हुने तनावले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्न सक्छ।

तस्बिर स्रोत, Getty Images
लेबननको सुरक्षा हिज्बुल्लाहले गर्छ कि लेबननी सेनाले?
सर्सर्ती हेर्दा इजरेल र हिज्बुल्लाहबीच चर्किएको सङ्घर्षमा ती दुई पक्षको केन्द्रीय भूमिका हुँदै गर्दा लेबननी सेना कतै देखिँदैन। हिज्बुल्लाहलाई अमेरिका, यूके तथा अन्य देशले आतङ्ककारी सङ्गठन भन्छन्।
हुन त कुनै पनि देशमा उसको दुश्मनसँग लड्ने भनेको त्यस देशको सेनाले हो र इजरेल आधिकारिक रूपमै लेबननको दुश्मन देश हो।
तर लेबननी सेनासँग त्यसरी लडाईँ गर्न आवश्यक उपकरण तथा अस्त्रशस्त्रको अभाव छ।
जबकी इजरेली सेना अत्याधुनिक हातहतियारले लैस छ र उसले पश्चिमा शक्तिहरूको भरपूर समर्थन पाइरहेको छ – आर्थिकका साथै अत्याधुनिक हतियार सहयोग पाइरहेको छ।
यसका अतिरिक्त कैयन् पूर्व वरिष्ठ अधिकारीहरूले दिएका अभिव्यक्तिहरूले पनि बल दिएको एउटा विश्वास के हो भने अमेरिकाले लेबननका सरकारहरूलाई इजरेलका निम्ति खतरा हुनसक्ने शस्त्रहरू हासिल गर्नबाट रोक्न सक्रिय दबाव दिने गर्छ।
लेबननमा गम्भीर आर्थिक सङ्कट छ जसलाई सन् २०२० मा बेइरुतको कृषि मल गोदाममा भएको भीषण विस्फोटले थप प्रभाव पार्यो। यसले पनि लेबननी सेनाको निम्ति परिस्थिति झन् खराब बनायो। स्रोतको अभावले उसका फौजमाथि प्रभाव परेको छ र इन्धन जस्ता उसका आधारभूत आवश्यकता पूर्तिमा असर परेको छ।

तस्बिर स्रोत, Getty Images
लेबननी सेनालाई अमेरिकी सहयोग
अनौठो के छ भने, हिज्बुल्लाहले प्रमुख दुश्मन ठान्ने अमेरिका लेबननी सेनाको मुख्य दाता पनि हो। केही अवधिसम्म वाशिङ्टनले लेबननी फौजको तलबका लागि पनि सहयोग गर्यो।
तर उसको सहयोग सवारीसाधन, पार्टपूर्जा तथा व्यक्तिगत हतियारमा सीमित छ जुन इजरेललाई उसले दिने सहयोगसँग तुलनै हुन सक्दैन।
यसबीच कतिपय पर्यवेक्षकहरूले इजरेली सेनाविरुद्ध लेबननी सेनाको अप्रभावकारीतालाई उक्त क्षेत्रका अन्य देशका राष्ट्रिय सेनाहरूको अवस्थाबाट भिन्न नरहेको औँल्याएका छन्।
“दुश्मनका रूपमा इजरेली सेनासँग सामना गर्न न त लेबननी सेना न त अन्य कुनै अरब सेना सक्षम छन्,” संयुक्त राष्ट्रसङ्घको शान्तिसेना यूनिफिलमा लेबननी सेनाका तर्फबाट संयोजकको भूमिकामा रहिसकेका पूर्व जर्नेल मुनिर शेहादेले भने।
“इजरेली सेनाविरुद्ध गाजामा भए जस्तो गुरिल्ला युद्धबाहेक अरू कुनै किसिमको युद्ध उपयुक्त छैन।”

तस्बिर स्रोत, Getty Images
लेबननी सेनाका एक पूर्व जर्नेल खलिल एल हेलु भन्छन् “लेबननी सेनाको भूमिका भनेको आन्तरिक स्थायित्व कायम गर्ने हो किनकी आजको दिनमा आन्तरिक परिस्थिति अप्ठेरो छ। हिज्बुल्लाह समर्थक पाँच लाख लेबननीहरूको विस्थापन भएको छ र उनीहरू हिज्बुल्लाह विरोधीहरू रहने ठाउँमा गएकाले तनाव चर्कन सक्छ जसले अशान्ति र गृहयुद्ध पनि निम्तन सक्छ।”
हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको इजरेलद्वारा हत्या गरिएपछि लेबननी सेना ‘संवेदनशील’ ठानिएका कैयन् इलाकामा बाक्लो रूपमा तैनाथ गरिएका छन्। ती ठाउँमा विभिन्न समूहबीच तनाव चर्कने उच्च सम्भावना छ।
लेबननी सेनाले यो साताको सुरुमा एक विज्ञप्ति जारी गर्दै ‘नागरिकहरूलाई राष्ट्रिय एकताको रक्षा’ गर्न आह्वान गर्यो। साथै उसले देशमा शान्ति कायम गर्न आफू प्रयत्नशील रहेको बतायो।

तस्बिर स्रोत, Getty Images
के लेबननी सेनाले इजरेलसँग पनि लडिरहेको छ?
उसोभए विद्यमान सङ्घर्षका दौरान लेबननी सेनाको कुनै भूमिका छ? वास्तवमा छैन।
तर पनि लेबननी सेना दक्षिणी भेगमा उल्लेख्य सङ्ख्यामा उपस्थित छ। हालै एउटा सुरक्षा जाँच चौकी नजिकै गइरहेको मोटरसाइकल लक्षित इजरेली ड्रोन हमलामा एक लेबननी सैनिकको ज्यान गएको उसले जनाएको थियो।
साथै भविष्यमा हुने युद्धविराममा पनि दक्षिणी भागमा उसको ठूलो तैनाथी हुन सक्छ जसका बारेमा हालै लेबननी प्रधानमन्त्रीले सङ्केत गरेका छन्।
तर यी सबै कार्यमा पनि खास खास चुनौती हुनेछन्। यस्ताका कार्यका लागि थप फौज चाहिन्छ जसका लागि थप स्रोत चाहिन्छ – जबकि अहिले लेबननी सेनासँग स्रोत पटक्कै छैन।
थप रिपोर्टिङ : एथर शालाबी र जोया बर्बरी, बीबीसी न्यूज अरेबिक
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








