इजरेल र लेबननको ‘ब्लू लाइन’मा तैनाथ नेपाली : ‘अचेलको अवस्था खतरनाक, हाम्रो काम झन् झन् कठीन’

तस्बिर स्रोत, UN Peacekeeping/Twitter
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
कहिले छेवैको मैदानमा बम खसिरहन्छ त कहिले अचानक मानिसहरूको हातहातमा रहेका पेजर तथा वाकी-टकी पड्कन्छ – इजरेलको सिमाना क्षेत्रमा यति विधि अशान्ति विरलै थियो।
तर मातृभूमिबाट हजारौँ किलोमिटर टाढा ती पराइ मुलुकमा सुस्मिता बुढाथोकी र रोजिना महत लगायतका नेपाली सुरक्षा फौज हर दिन खतरासँग जुझिरहन्छन्।
वर्तमान विश्वको सबभन्दा खतरनाक स्थानमध्ये एकमा उनीहरू शान्ति कायम गर्न नियमित गस्ती तथा निगरानीमा खटिएका छन्।
इजरेल र लेबनन बीचको त्यो धुलाम्मे र अशान्त सिमानामा, उनीहरू दिनहुँ अप्रत्याशित रूपमा बदलिइरहने तनावपूर्ण अवस्थाको सामना गर्दै गस्ती गर्छन्, तनाव बढ्नबाट रोक्छन् र स्थानीय समुदायलाई आवश्यक सहयोग पनि प्रदान गर्छन्।
संयुक्त राष्ट्रसङ्घबाट खटिएका उनीहरू जस्ता सयौँ सैनिकहरूले दक्षिण लेबननमा शान्ति कायम राख्ने र इजरेली सेना त्यस क्षेत्रबाट फिर्ता भएको पुष्टि गर्ने मूल कार्यादेश पाएका छन्। त्यसका अतिरिक्त उनीहरूले विस्थापित नागरिकहरूलाई सहयोग गर्ने र घुसपैठ नियन्त्रण गर्ने जिम्मेवारी पनि काँधमा लिएका छन्।
"अचेल यहाँ दुई पक्षहरू बीच दैनिक गोलाबारी भइरहेको छ। हामीले हाम्रो नियमित कर्तव्यहरू सञ्चालन गर्दा पनि अति सचेत रहन आवश्यक भएको छ," लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको शान्ति सेना यूनिफिलमा हाल तैनाथ नेपाली सेनाकी क्याप्टेन रोजिना महतले भनिन्।
"क्रस फायर र गोलाबारीको प्रभाव हाम्रो पोस्टको नजिकै महसुस गरिरहेका हुन्छौँ," उनी भन्छिन्।
गत वर्षदेखि त्यहाँको अवस्था झन् झन् बिग्रिरहेको छ।

तस्बिर स्रोत, Nepali Army
"हिजबुल्लाह र इजरेलबीच लगातार आक्रमण र प्रत्याक्रमणहरू भइरहेका छन्। कहिलेकाहीँ एकदमै चर्को गोलाबारी हुन्छ। त्यस्तो बेला नियमित गस्ती गर्न पनि चुनौतीको सामना गर्नुपरेको छ,” क्याप्टेन सुस्मिता बुढाथोकीले भनिन्।
विश्वको अग्लो हिमाल सगरमाथाको निम्ति परिचित नेपाल, संसारभर संयुक्त राष्ट्रसङ्घका शान्ति मिसनहरूमा सबैभन्दा धेरै सेना उपलब्ध गराउने शीर्ष मुलुकको रूपमा पनि उभिएको छ।
६ हजारभन्दा धेरै नेपाली शान्ति सैनिक सुडानदेखि कङ्गो र यमनदेखि लिबियासम्म विभिन्न अशान्त क्षेत्रहरूमा खटिएका छन्। विश्वमा सबैभन्दा धेरै महिला शान्ति सैनिक उपलब्ध गराउनेमा पनि नेपाल पहिलो नम्बरमा छ।
चार दशकभन्दा बढी समयदेखि नेपाली शान्ति सेना लेबनन–इजरेल सीमामा शान्ति कायम राख्न परिचालित हुँदै आएका छन्। त्यो त्यही क्षेत्र हो जहाँ गत वर्षदेखि सुरक्षा स्थितिमा उल्लेखनीय गिरावट आएको छ अनि जहाँ शान्ति र स्थायित्व कायम राख्ने विषयमा विश्वव्यापी चासो छ।
अघिल्लो वर्ष अक्टोबर ७ मा इजरेलमा हमासले गरेको आक्रमणमा १२ सयभन्दा बढीको ज्यान गयो। त्यसमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो – ती मध्येका एक विद्यार्थी अझै बेपत्ता छन् र गाजामा बन्धक बनाइएको ठानिएका छन्।
गाजा आक्रमणपश्चात् इजरेलले भयङ्कर बदलाको घोषणा गर्यो। उक्त कारबाहीमा ४० हजारभन्दा धेरै प्यालेस्टीनीको ज्यान गइसकेको बताइन्छ।
त्यसयता लेबननसँगको इजरेलको सीमामा पनि अशान्ति विस्तार भएको छ।
सुस्मिता र रोजिना त्यही स्थानमा खटिएका छन्।
"यहाँको अवस्था निरन्तर परिवर्तन भइरहेको हुन्छ। यदि अवस्था खतरनाक स्तरमा पुगेमा हामी तुरुन्तै नजिकैको बंकरहरूमा पुग्छौँ। गएको एक वर्षमा यस्ता घटना निकै बढेका छन्।”
यही सातामात्रै इजरेलले लेबननमा रहेका हिज्बुल्लाहका लडाकुहरू लक्षित भन्दै गरेको पेजर आक्रमणमा ३ हजारभन्दा धेरै घाइते भए। दुई महिना अगाडि इजरेली सीमाभित्र हिज्बुल्लाह आक्रमणमा बालबालिकाको समेत मृत्यु भएपछि बमबारी तथा गोलाबारी रोकिएका छैनन्।
त्यस्तो ठाउँमा परिवारभन्दा टाढिएर खटिनुपरेका महत र बुढाथोकी दुवैजना उच्च मनोबलमा काम गरिरहेको बताउँछन् ।
“परिवारबाट टाढा बस्दा नराम्रो लाग्नु स्वाभाविक हो। तर हामी यस्तो अवस्थाका लागि मानसिक र शारीरिक रूपमा प्रशिक्षित छौँ,’ क्याप्टेन महतले थपिन्।
उनीहरूले बेलाबेलामा आफ्नो शिविरमा मानसिक आरामका लागि नाचगान जस्ता मनोरञ्जनात्मक कार्यक्रम गरी ‘ह्याप्पी आवर’ मनाउने गरेको बताए।

तस्बिर स्रोत, UNIFIL
यूनिफिलमा तैनाथ नेपाली बटालियन प्रमुख तथा उनीहरूका कमाण्डर प्रमुख सेनानी अर्जुन विक्रम थापा पनि उत्तिकै विश्वस्त देखिन्छन्।
"यस वर्षको मार्चयता मात्रै, हाम्रा पोस्टहरू नजिकै हवाई/ड्रोन आक्रमणका ११ घटना भएका छन्। अवश्य पनि, कठिनाइहरू बढेका छन् तर हामी हाम्रो कार्यादेश पूरा गर्न प्रतिबद्ध छौँ, " उनले भने।
"धेरै पटक, बमहरू हाम्रो पोस्ट भएको ठाउँ नजिकै खस्यो। हाम्रो शिविरका कतिपय संरचना क्षतिग्रस्त भएका छन्। विस्फोटका कारण उत्पन्न कम्पनले हाम्रा पोस्टभित्रका बिजुली बत्ती तथा अरू संरचनामा क्षति पुगिरहेको हुन्छ,” उनले भने।
दुई महिना यता इजरेल र हिज्बुल्लाहबीच बदलास्वरूप गरिएका आक्रमणहरूको शृङ्खला बढेको उनले बताए।
यस वर्षको मार्चयता मात्रै, हाम्रा पोस्टहरू नजिकै हवाई/ड्रोन आक्रमणका ११ घटना भएका छन्।
“एकदम धेरै आक्रमणहरू भएका छन्। यसले हाम्रो कामलाई झन् झन् कठिन बनाउँदै लगेको छ,” उनले भने।
गत वर्ष पनि विस्फोटबाट उत्पन्न छर्रा लागेर एक नेपाली शान्ति सैनिक घाइते भएका थिए।
यूनिफिलका शान्ति सैनिकहरू ब्लू लाइनमा तैनाथ छन् - इजरेल र लेबननलाई छुट्याउने काल्पनिक सीमा रेखा।
थापाका अनुसार दक्षिणी लेबननको झन्डै ९६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको अनि १५ किलोमिटर लम्बाइको ब्लू लाइनको क्षेत्रको जिम्मेवारी नेपाली बटालियनले लिएको छ।
“हालैका वर्षहरूमा, शान्ति सैनिकहरूको कार्यादेश गैर सैनिकहरूको सुरक्षामा विशेष केन्द्रित हुनेगरी समायोजन गरिएको छ। हामी सामेल धेरै मिसनहरूमा यो कार्यादेश प्रतिविम्बित भएको छ। हाम्रा सिपाहीहरूले द्वन्द्वमा परेका महिला, बालबालिका र वृद्ध वृद्धालाई पनि सघाउँछन्,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने।
लेबननमा नेपाली शान्ति सेनाको लामो इतिहास
नेपालले शान्ति सेना पठाउने क्रम सन् १९५८ मा सुरु भयो।
नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको तीन वर्षपछि लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको लेबनन पर्यवेक्षण समूह (यूनोगिल) मा ५ जना सैन्य पर्यवेक्षक पठायो। उनीहरूको मुख्य काम त्यहाँको अवस्थाको पर्यवेक्षण गर्नु, अनि कतै सिरियाको सिमानाबाट मानिस तथा हतियारको अवैध घुसपैठ भइरहेको छ कि भनेर पत्ता लगाउनु थियो।
सन् १९७८ मा, दक्षिणी लेबननमा इजरेली अतिक्रमणपछि, उसको सेना लेबननको सिमानाबाट फर्किएको यकिन गर्ने कार्यादेशका साथ त्यहाँ यूनिफिलको स्थापना भएको थियो।
त्यसयता नेपाली सेना यूनिफिलको हिस्सा रहँदै आएको छ।
पूर्व सहायक रथी दिलीप रायमाझी त्यहाँ पुग्ने पहिलो मिसनहरूमध्ये एकमा सामेल थिए। पछि उनी सन् १९८६ मा पनि त्यहाँ खटिए।
“पहिलो मिसनमा जाँदा त्यहाँ इजरेल र यासर अराफातको पीएलओबीच तनाव थियो। दोस्रो मिसनमा जाँदा हिजबुल्लाह देखा परेको थियो,” उनले सन् १९८६ मा सडक छेउमा हिजबुल्लाहको आक्रमणमा परी आफ्ना नेपाली सहकर्मी मारिएको सम्झना गरे। "उनी भर्खरै किनमेल गरेर फर्कँदै गर्दा एक दुर्भाग्यपूर्ण घटनामा परे।"
हामीले विश्वास जितेका छौँ। चुनौतीपूर्ण ठाउँहरूमा तैनाथ हुनु अघि हामीले कुनै पूर्वशर्त राख्ने गर्दैनौँ
सन् १९७८ देखि यूनिफिलमा आबद्ध ३० नेपाली शान्ति सैनिकको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
सोही क्षेत्रमा नेपाल अन्य दुई शान्ति मिसनमा पनि संलग्न छ। सन् १९९२ देखि इजरेलमा रहेको यूनाइटेड नेशन्स ट्रुप्स सुपरभिजन अर्गनाइजेसन र सन् २००४ देखि इजरेल-सिरिया सीमामा रहेको गोलान हाइट्समा अन्डोफ (यूनाइटेड नेशन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स)मा नेपाल सहभागी हुन थालेको छ।
पूर्व रथी बालानन्द शर्मा अन्डोफका पूर्व फोर्स कमान्डर हुन्। उनी यस क्षेत्रमा विभिन्न भूमिकामा धेरै पटक खटिएका छन्।
मध्य पूर्वमा शान्ति स्थापना कसरी खतरापूर्ण काम हो भनेर वर्णन गर्दै उनले भने, "कुनै पनि बेला तपाईँले आफ्नो ज्यान गुमाउन सक्नुहुन्छ वा अपहरणमा पर्न सक्नुहुन्छ।"
"मलाई याद छ जब म सन् १९८१ मा लेबननमा खटिएको थिएँ, एक साँझ हामी खाना खाइरहेका थियौँ। केही स्थानीय मानिसहरूले हामीलाई छिटो छिटो खाऊ भने। हामीले कारण सोध्दा उनीहरूले इशारा गर्दै ‘बुमबुम’ भने। हामीले त्यसलाई गम्भीरतापूर्वक लिएनौँ। एक छिनमा त्यहाँ ठूलो बम विस्फोट भयो। पहिलो बम हामी बसेको ठाउँबाट केही मिटरमात्र टाढा खस्यो। तत्काल बंकरभित्र पसेर हामीले आफ्नो ज्यान बचायौँ। भोलिपल्ट बिहान जब हामी बंकरहरूबाट बाहिर निस्कियौँ, हामीले देख्यौँ कि हाम्रा ४ सय सवारी साधन र ८ हेलिकप्टरहरू सबै नष्ट भएका थिए। भवनहरू समेत सबै जलेका थिए।”
“अचेलको अवस्था त झन् खतरनाक छ। हाम्रा शान्ति सैनिक इजरेली सिमानाको निकै नजिक खटिएका छन्। आउने दिनहरू (हाम्रा शान्ति सैनिकका निम्ति) थप कठिन हुनेछन्," उनले भने।
शान्ति सेना: शीर्ष स्थानमा नेपाल
यो वर्ष विश्वका विभिन्न ११ वटा मिसनमा ६ हजारभन्दा बढी शान्ति सैनिक तैनाथ गर्दै नेपाल शान्ति स्थापनाका लागि सेना उपलब्ध गराउने पहिलो नम्बरको देश बनेको छ।
महिला शान्ति सैनिकको हिसाबले पनि नेपाल नम्बर एक देशको रूपमा रहेको छ – नेपालले ६८९ महिला शान्ति सैनिक खटाएको छ।
नेपाली सेनाबाहेक नेपालका प्रहरी बलले पनि संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा आफ्ना कर्मचारी पठाउने गरेका छन्। हाल विभिन्न मिसनमा सशस्त्र प्रहरी अनि नेपाल प्रहरीका गरी २२३ जना कार्यरत छन्।
मध्यपूर्व क्षेत्रमा मात्रै नेपालले हाल यूनिफिल अन्तर्गत इजरेल-लेबनन सिमानामा ८७७, अन्डोफ अन्तर्गत इजरेल-सिरिया सीमामा ४५२ र युएनटीएसओ मिसन अन्तर्गत इजरेलमा ३ शान्ति सैनिक तैनाथ गरेको छ।
सेना योगदानको हिसाबमा शीर्ष १० स्थानमा पर्ने देशहरूको सूचीमा एशिया र अफ्रिकाका राष्ट्रहरू मात्र छन्।
तिनमा क्रमश: रुवान्डा, बाङ्ग्लादेश, भारत, इन्डोनेशिया, घाना, पाकिस्तान, चीन, मोरक्को र इथिओपिया रहेका छन्।
“शक्तिशाली र धनी देशहरू शान्ति स्थापनाको जिम्मेवारी लिन इच्छुक छैनन्। यदि तपाईँले तथ्याङ्क हेर्नुभयो भने, लगभग एक तिहाइ शान्ति सैनिकहरू दक्षिण एसियाली देशहरूबाट आउँछन्," राष्ट्रसङ्घका महासचिवका पूर्व कार्यवाहक सैन्य सल्लाहकार एवं नेपाली सेनाका पूर्व रथी चित्रबहादुर गुरुङले भने।
शान्ति स्थापनाले योगदानकर्ता देशको सेनालाई ठूलो आर्थिक अवसरका साथै तिनको सैनिकलाई बाह्य अनुभव प्रदान गर्ने बताइन्छ। राष्ट्रसङ्घले शान्तिकार्यका लागि औसत वार्षिक करिब ७ अर्ब डलर खर्च गर्छ जसको ०.०००७ प्रतिशत जति नेपालले पनि बेहोर्छ।
शान्ति सेनामा खटिने नेपाली सेनालाई दिइने रकमको निश्चित अंश सेनाको कल्याणकारी कोषमा जम्मा हुने गरेको छ। अहिले उक्त कोषको आकार लगभग ८० अर्ब रुपैयाँको छ।
"शान्ति सेनामा खटिनु भनेको हाम्रा सकल दर्जाका निम्ति राम्रो कमाइको अवसर पनि भएको छ। विदेशस्थित मिसनहरूमा तैनाथ हुनुमा ठूलो आकर्षण छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बताए।
"नेपाली सेनाले हाम्रा वर्तमान र पूर्व सहकर्मीहरूको परिवारका लागि कल्याणकारी गतिविधिहरू सञ्चालन गर्न यिनै स्रोतहरूबाट पनि फाइदा लिन्छ," उनले भने।
“त्यसका अतिरिक्त शान्ति मिसनमा निरन्तर सहभागिताले हाम्रो सेनालाई अमूल्य अनुभव प्रदान गरेको छ र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको छ,” पूर्व रथी चित्रबहादुर गुरुङले भने।
नेपाल विश्वकै भरपर्दो शान्ति सेना कसरी बन्न पुग्यो?
हालसम्म नेपालका डेढ लाखभन्दा धेरै सैनिक शान्ति सेनामा खटिएका छन्। सात जना वरिष्ठ अधिकृतहरूले फोर्स कमाण्डरको जिम्मा पाइसकेका छन्। ७३ जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते पनि भएका छन्।
नेपाल विश्वको सबैभन्दा रुचाइएको शान्ति सेना बन्नुको धेरै कारण विज्ञहरुले दिएका छन्।
“हामीले विश्वास जितेका छौँ। चुनौतीपूर्ण ठाउँहरूमा तैनाथ हुनु अघि हामीले कुनै पूर्वशर्त राख्ने गर्दैनौँ। र, हामी छोटो समयको सूचनामै द्रुत तैनाथीको निम्ति तम्तयार र योग्य बनेका छौँ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी केसीले भने।
पूर्व रथी बालानन्द शर्माले नेपाली सेनाको स्वभाव पनि एक कारण भएको बताए। "हामी स्वाभाविकरूपमै शान्तिकामी हौँ। अरू मानिसहरूका निम्ति पनि हामी सजिला रूपमा प्रस्तुत हुन्छौँ," उनी भन्छन्।
"र, हामी कुनै पनि फोर्स कमाण्डरको लागि भरपर्दो सिपाही हौँ। हाम्रो फोर्स कमाण्डरले निश्चित् आदेश दिने बित्तिकै हामी फत्ते गरिहाल्छौँ। हामीले त्यस्ता आदेशबारे हाम्रो आफ्नो देशमा वा सेनामा जाहेरी गरिरहनु पर्दैन। जबकी अन्य देशका शान्ति सेनाले फोर्स कमाण्डरको आदेशपछि पनि गृह मुलुकमा सोधपुछ गर्ने गर्छन्," उनले भने।
हाम्रो फोर्स कमाण्डरले निश्चित् आदेश दिने बित्तिकै हामी फत्ते गरिहाल्छौँ। हामीले त्यस्ता आदेशबारे हाम्रो आफ्नो देशमा वा सेनामा जाहिरी गरिरहनु पर्दैन
उनले सन् २००५ मा कंगोमा भएको एउटा घटनाको स्मरण गरे। “त्यहाँको फोर्स कमान्डरले तनावग्रस्त इलाकामा (एस्कर्टिङ्)मा जान सुरुमा अरू दुई देशका शान्ति सैनिकलाई अह्राए। तर उनीहरूले मानेनन् अनि पछि नेपाली सेनालाई भने। हाम्रा फौज तत्काल परिचालित भयो। तर दुर्भाग्यवश फर्कने बेलामा सबैलाई हेलिकप्टर चढाइसकेपछि आफू चढ्न लाग्दा उक्त टोली प्रमुख मेजर कविन्द्र जङ्ग थापालाई गोली लाग्यो र उनको निधन भयो।”
उक्त घटनापछि फोर्स कमान्डरहरूको सम्मेलनमा त्यहाँका फोर्स कमाण्डरले त्यसरी बलिदान दिने सैनिकको निम्ति थप के गर्न सकिन्छ भनेर राष्ट्रसङ्घका महासचिवसँग कुरा उठाएको आफूले सुनेको पूर्व रथी शर्माले बताए। त्यतिखेर शर्मा अन्डोफका फोर्स कमान्डर थिए।
सन् २०१२ मा सिरियामा आतङ्कवादी गतिविधि तेज हुँदा गोलान हाइट्समा खटिएको राष्ट्रसङ्घीय मिसनको फोर्स कमान्डर समेतले ठाउँ छाडेर गएको घटना पनि उनले स्मरण गरे। “त्यहाँ एकदमै चिसो थियो। माइनस तापक्रममा अस्ट्रियाका सैनिकहरू फर्किएपछि हामीहरू तुरुन्तै त्यहाँ खटियौँ जबकी हामीसँग चिसोमा लगाउने पोशाक, जुत्ता, पञ्जा केही पनि थिएन,” उनले नेपाली शान्ति सैनिकको कर्तव्यप्रतिको इमानदारी राष्ट्रसङ्घमा कहलिएको बताए।
पूर्व रथी गुरुङ थप्छन्, “हामीले अनुशासित, व्यावसायिक, इमान्दार र बहादुर सिपाहीका रूपमा आफ्नो क्षमता प्रमाणित गरेका छौँ। विदेशमा तैनाथी गर्दा हामी यो चाहियो वा त्यो चाहियो भनेर धेरै माग गर्दैनौँ।”
गत वर्ष नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘समर्पण, साहस र शान्ति स्थापनामा गरेको सेवाका’ निम्ति नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेका थिए।
उनले नेपालको संसद्मा भनेका थिए, “ठूला शक्ति राष्ट्रको तुलनामा यो सानो मुलुकले अन्तर्राष्ट्रिय शान्तिका लागि ठूलो योगदान गरेको छ।”

तस्बिर स्रोत, UNIFIL/Twitter
विवादका घटना
विगतमा, नेपाली शान्ति सैनिकहरू पनि केही विवादहरूमा चाहिँ परेका थिए।
सन् २०१० मा हेइटीमा हैजा फैलिएको बेला नेपाली शान्ति सैनिकले सङ्क्रमण फैलाएको आरोप लाग्यो जसका निम्ति राष्ट्रसङ्घले क्षमा माग्नु पर्यो।
साथै, विभिन्न मिसनहरूमा यौन शोषणका आरोप पनि लागे। राष्ट्रसङ्घको रेकर्डअनुसार १० जना नेपाली सुरक्षाकर्मीमाथि त्यस्ता आरोप लागे, जसमध्ये दुईवटा आरोप पुष्टि भएर कारबाही गर्नु पर्यो भने केही आरोपका छानबिन अझै जारी छ।
कल्याणकारी कोषको सञ्चालन र पारदर्शिताबारे पनि बेलाबेला प्रश्न उठ्ने गरेका छन् जुन कुरा महालेखा परीक्षकको प्रतिवेदनमा पनि केही झल्कन्छ।
तर पनि शान्ति सैनिकको योगदान भने उल्लेख्य मानिएको छ।
"शान्तिकार्यमा संलग्नताको हाम्रो लामो इतिहास, पुरानो गोर्खा विरासत, सेवा गर्ने तत्परता तथा यसबाट देशलाई हुने गरेको आर्थिक लाभ सबैका कारण यो नतिजा राम्रो भएको छ," संयुक्त राष्ट्रसङ्घका एक पूर्व वरिष्ठ अधिकारी विश्व पराजुलीले भने।
शताब्दीयौँदेखि नेपालको दुर्गम पहाडबाट झरेका गोर्खा सिपाहीहरूले आफ्नो पराक्रमका कारण संसारभरि नाम कमाए। उनीहरूलाई तत्कालीन ब्रिटिस साम्राज्यको सेनामा भर्ती गरियो - र उक्त अभ्यास अझै जारी छ।
पछिल्ला वर्षहरूमा, उनीहरूले शान्ति स्थापनामा पनि उत्तिकै ख्याति कमाइरहेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








