लेबननमा पेजरपछि वाकीटकी विस्फोटन, कम्तीमा २० जनाको मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ, विस्फोटन भएको ठाउँमा भेटिएको एउटा क्षतिग्रस्त वाकीटकी

लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको दोस्रो लहरमा परेर कम्तीमा २० जना मानिसहरू मारिनुका साथै ४५० जनाभन्दा धेरै घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरू पड्किएका थिए।

ती हिज्बुल्लाहको बलियो पकड भएका क्षेत्रहरू हुन्।

मन्त्रालयका अनुसार केही विस्फोटनहरू मङ्गलवारका पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको थियो।

हिज्बुल्लाहले इजरेललाई उक्त हमलाको आरोप लगाएको छ। इजरेलले त्यसमा कुनै प्रतिक्रिया जनाएको छैन।

ती हमला इजरेली रक्षामन्त्री योआभ गालान्टले "युद्धमा नयाँ चरण"को घोषणा गरिरहँदा र इजरेली सेनाको डिभिजन उत्तरी क्षेत्रमा पुर्नतैनाथी भइरहँदा भएका हुन्।

यसअघि मङ्गलवार हिज्बुल्लाहका सदस्यहरूले एक आपससँग सञ्चार गर्न प्रयोग गर्ने 'हाते पेजरहरू' विस्फोटन हुँदा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको उक्त देशका स्वास्थ्यमन्त्रीले बताएका थिए।

अमेरिका र राष्ट्रसङ्घको प्रतिक्रिया

वाकी टकी बिस्फोटन

तस्बिर स्रोत, AFP

अमेरिकाले इजरेल र हिज्बुल्लाहबीच अवस्था थप चर्कन नदिनका लागि आफूले व्यापक कूटनीतिक प्रयास गरिरहेको जनाएको छ।

लगातार दोस्रो दिन सञ्चार उपकरणमार्फत् भएका हमलापछि बोलेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहका जोन किर्बीले थप सैन्य कारबाहीबाट यस सङ्कट सुल्झनेमा ह्वाइटहाउस विश्वस्त नरहेको जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसलेले अवस्था “नाटकीय रूपमा चर्कने गम्भीर जोखिम”मा रहेको बताउँदै सबै पक्षलाई “अधिकतम संयम अपनाउन” आह्वान गरेका छन्।

उनले पत्रकारहरूसँग भने: "प्रस्ट रूपमा यी सबै उपकरण विस्फोटन गराउनुपछिको तर्क भनेको कुनै ठूलो सैन्य अपरेसनअघि शत्रु पक्षलाई कमजोर गर्नु हो।"

दोस्रो चरणका विस्फोटनयता एक १६ वर्षीय बालकसहित आफ्ना १३ जना लडाकुहरू मारिएको हिज्बुल्लाहको सञ्चार कार्यालयले जनाएको छ

तस्बिर स्रोत, Getty Images

दोस्रो चरणका विस्फोटनयता एक १६ वर्षीय बालकसहित आफ्ना १३ जना लडाकुहरू मारिएको हिज्बुल्लाहको सञ्चार कार्यालयले जनाएको छ।

उक्त समूहले सीमानजिकैको इजरेली फौज र इजरेल अधिनस्थ गोलान हाइट्समा इजरेली निशानामा रकेट प्रहार गरेको जनाएको छ।

इजरेली सेनाले बुधवार लेबननबाट ३० वटा त्यस्ता प्रहार हुँदा आगो लागे पनि कोही हताहत नभएको जनाएको छ।

उसले इजरेली विमानले दक्षिण लेबननमा हिज्बुल्लाह लडाकुमाथि प्रहार गरेको जनाएको छ।

पूर्ण आकारको युद्धको त्रास

११ महिनायता गाजामा इजरेल र हमासबीच युद्ध चलिरहँदा इजरेल र लेबननबीच सीमा वारपारका स्थानमा भइरहेको प्रहारले पूर्ण आकारको युद्धको रूप लिनसक्ने चिन्ता यसअघिदेखि नै प्रकट हुने गरेको छ।

बुधवारका विस्फोटनको केही घण्टापछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले लेबननतर्फको देशको उत्तरी भागबाट विस्थापित भएका दशौँ हजार मानिसहरूलाई “सुरक्षित रूपमा उनीहरूका घरमा” फिर्ता ल्याउने वाचा गरे।

त्यसैबीच रक्षामन्त्री गालान्टले युद्धको केन्द्र स्रोतहरू र फौजका विभाजनका हिसाबले उत्तरतर्फ सरेको बताए।

हिज्बुल्लाह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, केही विस्फोटन मङ्गलवारका पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएका थिए

इजरेली सेनाले गाजामा लडिरहेको आफ्नो एउटा सैन्य डिभिजनलाई उत्तरतर्फ पुर्नतैनाथ गरिएको पुष्टि गरेको छ।

हिज्बुल्लाहले हमासलाई साथ दिनेगरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमापार हमलाहरू रोक्ने जनाएको छ।

इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।

बिहीवार उक्त समूहका शक्तिशाली नेता हसन नस्रल्लाहले सम्बोधन गर्दैछन्। जसमा उक्त समूहले अब के गर्ला भन्ने एकखाले सङ्केत पाउन सकिनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।