के युद्धविराम गर्दैमा लडाइँ रोकिन्छ

युद्धविरामको माग गर्दै इजरेलीहरूले गरेको एउटा विरोधप्रदर्शन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजरेलभित्र पनि युद्धविरामको पक्षमा मानिसहरू उभिएका छन्

इजरेल र हमास दुवै पक्ष गाजामा युद्धविराम गर्ने सहमतिको निकै निकट पुगेको सङ्केत कतारमा जारी वार्तामा सहभागी अधिकारीहरूले दिएका छन्।

अहिले गाजामा १५ महिनादेखि जारी लडाइँ रोकिने आशा पलाएको छ। संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति पदमा बहाल हुनुभन्दा केही दिनअघि मध्यपूर्वमा भइरहेको युद्ध केही समयका लागि रोकिने सम्भावना प्रबल भएको हो।

अहिले युद्धविराम अस्थायी भए पनि त्यसले निरन्तरता पाउने र दीर्घकालीन शान्ति स्थापन गर्न सघाउने आशा गरिएको छ।

तर अरू द्वन्द्वहरूमा जस्तै त्यहाँ पनि युद्धविराम गराउनका लागि कूटनीतिक कौशल आवश्यक हुन्छ।

युद्धविरामको अर्थ के हो?

संयुक्त राष्ट्रसङ्घका अनुसार "युद्धविराम" शब्दको एउटै र विश्वव्यापी रूपमा स्वीकारिएको परिभाषा छैन।

यद्यपि उक्त शब्द "हमला रोक्न" (सीज फायर) हुने सैन्य आदेशबाट बनेको छ जुन "हमला सुरु गर्न" (ओपन फायर) बनेको अङ्ग्रेजी शब्दको उल्टो छ।

जसको अर्थ युद्धरत दुई पक्ष आफ्नो वार्तामा जे निकाल्छन् त्यही हुन सक्छ।

यसलाई "सङ्घर्षविराम" र "युद्धको स्थगन" जस्ता शब्दका साथ समेत बेलाबखत प्रयोग गरिन्छ।

यद्यपि संयुक्त राष्ट्रसङ्घले "युद्धविराम" र "शत्रुताको अन्त्य" जस्ता शब्दावलीमा प्राय: भिन्नता हुने जनाउँछ।

उसका अनुसार "शत्रुताको अन्त्य" भन्ने शब्दावलीले लडाइँ अन्त्य गर्ने अनौपचारिक सम्झौतालाई जनाउँछ।

"युद्धविराम" भने निकै औपचारिक शब्द हो जुन निम्न विभिन्न विषय उल्लेख हुने सम्झौतासाथ तय भएको हुन्छ:

  • युद्धविरामको उद्देश्य
  • त्यसपछि हुने राजनीतिक प्रक्रिया
  • त्यसको कार्यान्वयन हुने मिति
  • त्यसले समेट्ने भौगोलिक क्षेत्र

त्यसले के कस्ता सैन्य गतिविधिहरू हुन पाउने वा नपाउने, र कसरी युद्धविरामको अनुगमन हुने भन्ने कुरा समेत समेट्न सक्छ।

उदाहरणका लागि सन् १९९३ मा लाइबेरियामा भएको एउटा गृहयुद्ध अन्त्य भएको थियो।

सन् १९९३ मा लाइबेरियामा भएको एउटा गृहयुद्ध अन्त्य भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९३ मा लाइबेरियामा भएको एउटा गृहयुद्ध युद्धविराम सहमतिका साथ अन्त्य भएको थियो

जसका लागि त्यतिखेर राष्ट्रिय एकताको एउटा अन्तरिम सरकारले न्याश्नल पेट्रिओटिक फ्रन्ट अफ लाइबेरिया र द युनाइटेड लिबरेसन मुभमेन्ट अफ लाइबेरिया फर डेमोक्र्यासीसँग एउटा सम्झौता भएको थियो।

दुवै पक्षले सैन्य निशानाहरू परिवर्तन नगर्ने वा हमला नगर्नका लागि अस्त्र तथा गोलाबारुद आयात गर्ने काम रोक्ने सहमति गरेका थिए।

त्यसै गरी थप शत्रुतालाई उक्साउने गरी बारुदी सुरुङ र अन्य आगजनी गर्ने उपकरणहरू प्रयोग नगर्ने सहमतिसमेत उनीहरूले गरेका थिए।

के युद्धविराम स्थायी वा अस्थायी हुन्छ?

संयुक्त राष्ट्रसङ्घका अनुसार त्यो दुवै खाले हुन सक्छ।

कुनै बेला दुई युद्धरत पक्षले अस्थायी वा प्रारम्भिक युद्धविरामका लागि सहमति जनाउँछन्।

त्यो मानवीय सङ्कट वा हिंसा कम गर्नका लागि हुन सक्छ।

इजरेल र हमास नेतृत्वको समूहले सन् २०२३ को २४ नोभेम्बर र ३० नोभेम्बरमा अस्थायी युद्धविराम सम्झौता गर्दा हमासले झण्डै २४० जना बन्दीको साटो १०५ जना बन्धक रिहा गरेको थियो।

वार्तालाई सहयोग पुग्ने गरी प्रारम्भिक युद्धविरामको सम्झौता हुन सक्छ जसले स्थायी वा ठोस युद्धविरामको बाटो तय गर्न सक्छ।

सन् २००० को जुन महिनामा इथियोपिया र एरीट्रीयाले एउटा द्वन्द्व रोक्ने सम्झौतामा हस्ताक्षर गरेका थिए जसको उद्देश्य एउटा ठोस युद्धविरामका लागि वार्ता होस् भन्ने थियो।

सन् २००० को जुन महिनामा इथियोपिया र एरीट्रीयाले एउटा द्वन्द्व रोक्ने सम्झौतामा हस्ताक्षर गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००० को जुन महिनामा इथियोपिया र एरीट्रीयाले एउटा द्वन्द्व रोक्ने सम्झौतामा हस्ताक्षर गरेका थिए

डिसेम्बर महिनामा एल्जिअर्स सम्झौताको एउटा पाटोका उनीहरूबीचको युद्ध अन्त्य भयो।

यद्यपि असफल वा कमजोर, प्रारम्भिक युद्धविरामका शृङ्खलाले युद्ध जारी राखिराख्न सक्छ।

लेबननमा गृहयुद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राष्ट्रसङ्घले सन् १९७८, सन् १९८१ र सन् १९८२ मा शृङ्खलाबद्ध रूपमा युद्धविरामसम्बन्धी वार्ता गरेको थियो।

तर सन् १९७५ मा सुरु भएको लडाइँ जारी रह्यो र सन् १९९० मा मात्र त्यो अन्त्य भयो।

केही घटनामा एउटा वा दुवै युद्धरत पक्षले आफ्नो आधार बलियो बनाउनका लागि प्रारम्भिक युद्धविरामलाई प्रयोग गर्न सक्छन्।

एउटा ठोस (वा स्थायी) युद्धविराम प्राय: दुई युद्धरत पक्षबीचको सफल शान्ति वार्तापछि मात्र आउने गर्छ।

सामान्यतः त्यस क्रममा निःशस्त्रीकरण वा पहिचान गरिएका बलको विघटन हुने गर्छ।

तर सम्झौतामा हस्ताक्षर भएको कैयौँ वर्षसम्म समेत अन्य सुरक्षा व्यवस्थापनका काम भइरहन सक्छ।

नोर्दन आयरल्याण्डमा सन् १९९८ मा युद्ध रोक्ने गुड फ्राइडे सम्झौता भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नोर्दन आयरल्यान्डमा सन् १९९८ मा युद्ध रोक्ने गुड फ्राइडे सम्झौता भएको थियो

उदाहरणका लागि नोर्दन आयरल्यान्य सन् १९९८ को गुड फ्राइडे सम्झौताले प्रोभिजनल आईआरए र त्यसप्रति बफादार समूहहरूलाई आफ्ना अस्त्र "प्रयोगबाहिर राख्ने" सहमति गरेको थियो।

उक्त सम्झौताले नोर्दन आयरल्यान्डमा जारी शान्ति र सद्भावलाई प्रवर्द्धन गर्ने बुँदा समावेश गरेको थियो।

जसमा एउटा बुँदामा नोर्दन आयरल्यान्ड र रिपब्लिक अफ आयरल्यान्डबीच कुनै अवरोधबिनाको, शुल्करहित व्यापार हुने उल्लेख थियो।

कस्ताखाले सीमित युद्धविरामहरू हुन्छन्?

इजरेल र हमासबीच सन् २०२३ को नोभेम्बरमा भएको अस्थायी युद्धविरामलाई उनीहरूले "मानवीय सङ्घर्षविराम"को नाम दिएका थिए।

त्यस्ता मानवीय सङ्घर्षविरामहरू कहिलेकाहीँ युद्धरत पक्षबीच हिंसा कम गर्न प्रयोग हुन्छन्। मानवीय सङ्कटलाई कम गर्न समेत त्यसको प्रयोग हुन्छन्।

उदाहरणका लागि सुडान सरकारले दुई सशस्त्र समूहबीच युद्धविराम सम्झौता गरेको थियो।

मानवीय सङ्घर्षविरामका क्रममा गाजाबाट मुक्त गरिएका इजरेली बन्धक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मानवीय सङ्घर्षविरामका क्रममा गाजाबाट मुक्त गरिएका इजरेली बन्धक

सुडानको डार्फरमा द सुडान लिबरेसन मुभमेन्ट र द जस्टिस एन्ड इक्वालिटी मुभमेन्टबीच स्थानीय मानिसहरूलाई मानवीय सहायता बाँड्नका लागि भन्दै सहायता निकायको पहुँच दिन ४५ दिन युद्ध रोकिएको थियो।

सन् २००४ मा इन्डोनेशियामा सुनामीको मार परेपछि इन्डोनेशियाको सरकार र फ्री आचे मुभमेन्ट दुवैले युद्धविराम घोषणा गरेका थिए।

उनीहरूले आफूहरू लडेका सुनामीपीडित क्षेत्रमा सहायता वितरण हुन सकोस् भनेर त्यसो गरेका थिए।

कुनै निश्चित क्षेत्रमा लडाइँ रोक्नका लागि भौगोलिक युद्धविरामको सम्झौता समेत हुन सक्छ।

सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घले स्थानीय जनसङ्ख्याको सुरक्षाका लागि रेड सीको हुडैडा बन्दरगाहमा यमन सरकार र हुथीहरूबीच एउटा सम्झौता गराएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।