गाजामा थोपा थोपा पानीको सङ्घर्षले बालबालिका गम्भीर बिरामी

- Author, जन डोनिशन
- Role, संवाददाता, जेरुसलेम
आठ महिनाको युद्धका कारण ९ वर्षका युनिश जुमाको शरीरमा अब हाडछाला मात्रै बाँकी छ।
दक्षिण गाजाको खान यूनिसमा रहेको अस्पतालको शय्यामा अर्धचेतन अवस्थामा रहेका उनको शरीरको बनोट हेर्न कठिन भएको थियो।
उनका हात र खुट्टा सलाईका काँटीजस्ता बनेका छन् भने घुँडाको जोर्नी सुन्निएको जस्तो देखिन्छ। उनको छाती करङसँग टिमिक्क टाँसिएको छ।
“मेरो छोराको स्वास्थ्य अवस्था पहिले निक्कै राम्रो थियो, ऊ सामान्य थियो,” उनकी आमा गनीमा जुमाले भनिन्।
“तर जब उसमा कुपोषण र शरीरमा पानीको अभाव देखिन थाल्यो, ऊ तपाईँले अहिले देखेको जस्तै बन्न पुग्यो।”

गनीमाका अनुसार त्यहाँ बोतलमा भरिएको पानी पाइँदैन र बालबालिका पानीकै लागि टाढा टाढासम्म यात्रा गर्छन्।
“उनीहरूले ल्याएको पानी हामीसम्म आइपुग्दा फोहोर हुन्छ।”
नासेर अस्पतालको कोरिडोरमा पाँच वर्षकी ताला इब्राहिम मुहम्मद अल जलात पल्टीरहेकी छन्।
उनी ब्युँझिएकै भए पनि चलमलाइरहेकी छैनन्। उनको आँखा भित्रतिर पसेको छ।

ताला पनि पानीको अभाव र कुपोषणबाट ग्रसित छिन्।
उनको छेउमा उभिएका उनका पिता इब्राहिम मुहाम्मद अल-जलातले छोरीको हात समाइरहेका छन्। उनी स्लाइन लिइरहेकी छोरीलाई कुनै किसिमको व्यवधान नहोस् भन्नेमा सतर्क छन्।
उनले झन्डै ४० डिग्री नजिकको तातो मौसम र सफा पानीको अभावले आफ्नी छोरीलाई मृत्युको मुखमा पुर्याएको बताए।
उनले भने: “अवस्था अझ खराब भइरहेको छ। हाम्रो पालभित्रको तापक्रमको अवस्था कल्पना पनि गर्न सकिँदैन र हामीले पिइरहेको पानी साँच्चै प्रदूषित छ, त्यही भएर कम र बढी दुवै उमेरका बिरामी भइरहेका छन्।”
इजरेल गाजा युद्धमा घरहरू ध्वस्त भएका कारण हजारौँ मानिसहरू विस्थापित भएका छन्।
उनीहरू अस्थायी शिविरहरूमा बसिरहेका छन् जहाँ तातो घामबाट उनीहरूलाई खासै सुरक्षा छैन।
गाजाको दैनिक सङ्घर्ष
सफा वा प्रदूषित पानी पाउनु गाजाका लागि दैनिक सङ्घर्ष हो। वितरण केन्द्रमा लामो लाइन हुने गर्छ।
ढल प्रणालीमा नराम्रो क्षति भएपछि र थोरै मात्र शौचालयका कारण त्यहाँको पानी सहजै प्रदूषित हुने गर्छ।
“गाजामा बालबालिकालाई आपूर्ति गरिने पानी प्रदूषित रहनु नै आन्द्रामा देखिएको सङ्क्रमणको सबैभन्दा ठूलो कारण रहेको कसैलाई छिपेको छैन,” नासेर अस्पतालका बालबालिका विभागका प्रमुख डाक्टर अहमद अल-फारीले भने।

“झाडा बान्तासहितको सङ्क्रमणले सबैभन्दा पहिले डिहाइड्रेशन निम्त्याउँछ। दोस्रोमा हेपाटाइटिस ए वा सीको समस्या देखिन सक्छ जुन आन्द्राको सङ्क्रमण भन्दा कम खतरनाक छैन।”
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संयोजकको कार्यालयले अधिकांश अवस्थामा कमजोर नै रहने गरेको गाजाको ६७ प्रतिशत पानी र सरसफाइ प्रणाली ध्वस्त भएको जनाएको छ।

खान यूनिस नगरपालिकाका एक जना जल इन्जिनियर सलाम शरबले भने, “हामीलाई पानी र ढल प्रणाली स्थापनाका लागि ठूलो अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता पर्छ।”
उनले खान यूनिसमा मात्रै १७० देखि २०० किलोमिटर पाइप पूर्ण क्षतिग्रस्त भएको भन्दै इनार र पानीका ट्याङ्कीहरू पनि ध्वस्त भएको बताए।
इजरेल के भन्छ?
इजरेली सेनाले आफूले केरम शुलम सीमा क्षेत्रबाट प्रत्येक दिन मानवीय सहायता सामाग्रीसहितका २०० वटा ट्रकहरूलाई प्रवेश दिइरहेको जनाएको छ।
उसले अर्कोतर्फ रहेका सहायता संस्थाहरूले त्यसलाई वितरण नगरेको आरोप लगाउँदै आएको छ।

सहायता निकायहरूले दक्षिण गाजामा अवस्थित रफाह क्षेत्र वरपर निरन्तर भइरहेको लडाइका कारण त्यहाँ काम गर्न खतरनाक हुने तर्क गरिरहेका छन्।
उनीहरूले आवश्यकताको अनुपातमा ‘समुद्रमा एक थोपा’ जति सहायता सामाग्री त्यहाँ लैजान दिइएको बताइरहेका छन्।
खाना र पानीका लागि गाजाका मानिसहरू व्याकुल भइरहँदा लुटपाटको जोखिम देखिएको छ र सहायता सामग्री बोकेका ट्रकहरूलाई बन्दुकधारी र सर्वसाधारणले लुटेका विवरणहरू आएका छन्।
तर अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजनकर्ताहरूले इजरेलले भोकमरीलाई युद्धको अस्त्रका रूपमा प्रयोग गरेको भन्दै प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र रक्षा मन्त्री योआभ गालान्टविरुद्ध पक्राउ पुर्जीका लागि अनुरोध गरेका छन्।
यसप्रति इजरेली सरकारले आक्रोश व्यक्त गरेको छ।

गाजामा अहिले नै चरम भोकमरी रहेको सहायता संस्थाहरूको दाबी बढाइचढाइपूर्ण भएको भन्दै उसले युद्धको सुरुवात गरेको हमासका कारण प्यालेस्टिनीहरूले दुख र पीडा पाएको उल्लेख गरेको छ।
राष्ट्रसङ्घले जुलाईको मध्यसम्म गाजाका १० लाख भन्दा बढी मानिसहरू उच्च तहको भोकमरीको जोखिममा पर्ने जनाएका छन्।
इजरेली मन्त्रीहरूले गाजामा मानवीय सङ्कट रहेको अस्वीकार गर्ने गर्छन्।
तर नासेर अस्पतालमा आफ्ना ख्याउटे छोरालाई हातमा बोकिरहेकी गनीमा जुमाका लागि त्यो यथार्थ होइन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








