गाजामा स्थायी युद्धविराम गर्ने अमेरिकी प्रस्ताव सुरक्षा परिषद्‌बाट पारित, हमास र इजरेलले के गर्लान्

गाजाको एउटा भग्नावशेषमा खेल्दै प्यालेस्टिनी दुई बालिका

तस्बिर स्रोत, Getty Images

संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको इजरेल-गाजा युद्धविरामसम्बन्धी योजना संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍‍बाट पारित भएको छ।

उक्त प्रस्तावमा "पूर्ण युद्धविराम", हमासले बन्धक बनाएका मानिसहरूको मुक्ति, मृत्यु भएका बन्धकहरूको अवशेषफिर्ती र प्यालेस्टिनी बन्दीहरूको साटफेरका विषयहरू छन्।

सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले अमेरिकी प्रस्तावको पक्षमा मतदान गरे भने रुस उक्त प्रक्रियामा सहभागी भएन।

सो प्रस्तावमा इजरेलले उक्त युद्धविराम प्रस्ताव स्वीकार गरेको उल्लेख गर्दै हमासलाई समेत त्यसमा सहमत हुन आह्वान गरिएको छ।

सम्पन्न राष्ट्रहरूको समूह 'जीसेभन' र विभिन्न देशले जो बाइडनले मे ३१ मा सार्वजनिक गरेको उक्त योजनाप्रति समर्थन व्यक्त गरिसकेका थिए। उक्त योजनामा तीन भाग छन्।

अमेरिकाले प्रस्ताव गरेको युद्धविरामको योजनामा सुरक्षा परिषद्‌मा भएको मतदान

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, अमेरिकाले प्रस्ताव गरेको युद्धविरामको योजनामा सुरक्षा परिषद्‌मा मतदान भयो

कस्तो अपेक्षा

सुरक्षा परिषद्‌मा भएको मतदानका कारण द्वन्द्व अन्त्य गर्ने गरी दुवै पक्षलाई उक्त योजनामा सकारात्मक प्रतिक्रिया दबाव पर्न सक्ने देखिन्छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले प्रस्तावित शान्ति सम्झौताका लागि समर्थन जुटाउने प्रयासमा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसहित विभिन्न विदेशी नेताहरूलाई भेटेको केही समयपछि अमेरिकी प्रस्ताव राष्ट्रसङ्घबाट पारित भएको छ।

मतदानको केहीअघि ब्लिङ्कनले उक्त क्षेत्रका नेताहरूलाई दिएको एउटा सन्देशमा आफूले "यदि तपाईँहरूलाई युद्धविराम चाहिएको हो भने हमासलाई 'हुन्छ' भन्न दबाव दिनुहोस्" भनेको बताए।

हमासले अब के गर्ला

हमासका प्रमुख नेता इस्माइल हानिया

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, दोहास्थित हमासको राजनीतिक नेतृत्वले अमेरिकी प्रस्तावबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन

हमासले यसअघि अमेरिकी योजनाका केही भाग स्वीकार्य भएको बताएको थियो। सोमवार एउटा विज्ञप्ति जारी गर्दै हमासले सुरक्षा परिषद्को प्रस्तावको “स्वागत” गरेको थियो।

हमासले उक्त प्रस्ताव स्थायी युद्धविराम बन्ने र पूर्ण रूपमा गाजा स्ट्रिपबाट इजरेली फिर्तीको सुनिश्चितता हुने माग गर्न सक्छ।

अमेरिकी र इजरेली अधिकारीहरूका अनुसार हमासको दोहास्थित राजनीतिक नेतृत्वले उक्त प्रस्तावबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

अमेरिकी प्रस्तावमा के छ

उक्त प्रस्तावमा द्वन्द्वका कारण धेरै विनाश भएको गाजा‍का लागि एउटा मुख्य पुनर्निर्माण योजना समाविष्ट छ।

पहिलो चरणमा बन्धक र बन्दीहरूको आदानप्रदानका साथै अल्पकालीन युद्धविराम हुने छ।

दोस्रो चरणमा "शत्रुताको स्थायी अन्य"का साथै गाजाबाट इजरेली सैनिकहरूको पूर्ण फिर्तीको विषय रहेको अमेरिकी प्रस्तावको मस्यौदामा छ।

तेस्रो चरण त्यस क्षेत्रको दीर्घकालीन उद्देश्यमा केन्द्रित छ र त्यहाँ गाजाको लागि धेरै वर्ष लाग्ने पुनर्निर्माणको योजना सुरु हुने छ।

इजरेल र अमेरिका के भन्छन्

जो बाइडन र बेन्जमिन नेतन्याहू

तस्बिर स्रोत, Reuters

बाइडनले इजरेलीहरूले आफ्नो योजनामा सहमति जनाएको बताएको १० दिनपछि सोमवारको प्रस्ताव आएको हो। तर नेतन्याहूले अहिलेसम्म अमेरिकी प्रस्तावमा खुलेर समर्थन व्यक्त गरिसकेका छैनन्।

शान्ति स्थापना गर्ने प्रयासलाई बाइडनले इजरेलीको पक्षमा प्रस्तुत गरेको छन्। यद्यपि इजरेलमा अस्थिर सत्तारूढ गठबन्धन रहेको अमेरिकालाई थाहा छ।

वाशिङ्टनले इजरेलीहरू अनिच्छुक भए पनि यो योजनामा सहमत हुने ठानेको छ।

केही अतिदक्षिणपन्थी इजरेली मन्त्रीहरूले त्यसको उक्त योजनाको चर्को विरोध गरेका छन्। उनीहरूले उक्त सम्झौता अघि बढेमा सरकार ढाल्ने धम्की दिएका छन्।

पूर्वजेनरल बेनी ग्यान्ट्सले आइतवार युद्धसम्बन्धी मन्त्रिपरिषद्‍बाट राजीनामा दिनुलाई अस्थिरता गहिरिँदै गएको सङ्केत मानिएको छ।

आफ्नो प्रस्ताव पारित भएपछि राष्ट्रपति बाइडनले 'एक्स'मा भएपछि लेखेका छन्: "हमासले युद्धविराम चाहेको जनाएको छ। उनीहरूले साँच्चिकै चाहेको प्रमाणित गर्ने यो अवसर हो।"

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा टामस-ग्रीन्फील्डले भनिन्: "आज हामीले शान्तिका लागि मतदान गरेका छौँ।"

यूकेकी राजदूत बार्बरा वुड्वर्डले गाजाको अवस्थालाई "दुर्भाग्यपूर्ण" बताउँदै "पीडा निकै लम्बिएको" उल्लेख गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।