अमेरिकाले हतियार रोकेपनि इजरेलले हमासलाई जित्ने नेतन्याहुको घोषणा

तस्बिर स्रोत, Getty Images
- Author, माइक वेन्डलिङ
- Role, बीबीसी न्यूज
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजाको रफाहमा पूर्ण स्तरको आक्रमण गर्न उनले अनुमति दिए इजरेललाई हतियारको आपूर्ति रोक्न सक्ने अमेरिकी चेतावनी लगत्तै इजरेल "एक्लै खडा हुन सक्ने" प्रतिक्रिया दिएका छन्।
सोमवारदेखि इजरेलले "सिमित" भनेर सैनिक कार्वाही गर्न थालेपछि उक्त दक्षिण शहरबाट भागेर हजारौँ मानिसहरू अन्यत्र गएका छन्।
अमेरिक राष्ट्रपति जो बाइडनले बारम्बार त्यस्तो सैन्य कार्वाहीका विरूद्ध चेतावनी दिएका छन् उनले त्यसो भएमा इजरेलले "रातो घेरा" पार गर्ने बताएका छन्।
तर नेतन्याहूले अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै इजरेलले एक्लै लडाईँ अघि बढाउने बताएका छन्।
"यदि त्यस्तो पर्यो भने…हामी एक्लै खडा हुनेछौँ। मैले भनेको छु, आवश्यक पर्यो भने हामी हातको नङ्ग्राको बलमा पनि लड्नेछौँ," उनले भने।
अमेरिकी राष्ट्रपति जो बाइडनले रफाहमा आक्रमण भएको खण्डमा बमगोला सहितका अस्त्रको आपूर्ति रोकिने बताएका थिए।
रफाहका गैरसैनिक नागरिक मारिन सक्ने आशङ्कामा अमेरिकाले यसअघि नै विस्फोटक पदार्थहरूको ढुवानी स्थगित गरिसकेको छ।
१९४८ को लडाईंको स्मरण
नेतन्याहुले अमेरिकाको चेतावनीलाई खारेज गर्दै सन् १९४८ को लडाईँको स्मरण गरे, जतिबेला अमेरिका इजरेलको सबैभन्दा निकट थियो।
"७६ वर्षअघिको स्वतन्त्रता लडाईँका बेला धेरैका विरुद्ध हामी थोरै मात्र थियौँ", उनले भने, "हामीसँग हतियारहरू थिएनन्। इजरायलमाथि हतियारसम्बन्धी प्रतिबन्ध थिए, तर हामी वीरता, हौसला र एकताका साथ लड्यौँ र जित्यौँ।"
यसैबिच इजरेली रक्षामन्त्री योअफ गालान्टले "इजरेलका शत्रु र मित्र दुवैले इजरेललाई दबाउन सकिँदैन भन्ने बुझ्नुपर्ने बताएका छन्। "हामी दह्रोसँग खडा हुनेछौँ, हामी हाम्रा लक्ष्यहरू हासिल गरिछाड्नेछौँ।"
बमबारीका बिच ८० हजारभन्दा धेरै सर्वसाधारण रफाहबाट विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएलगत्तै नेतन्याहु र गालान्टको टिप्पणी आएको हो।
रफाहमा खाना र इन्धन समाप्त हुँदै
रफाहमा शरण लिइरहेका दस लाखभन्दा धेरै मानिसका लागि भोजन तथा इन्धन समाप्त हुँदै गएको र निकटका नाकाहरूबाट कुनै पनि सहयोग प्राप्त नभएको संयुक्त राष्ट्रसंघले बताएको छ।
इजरायली सेनाले कारबाहीको प्रारम्भमै रफाहलाई इजिप्टसँग जोड्ने नाकालाई नियन्त्रणमा लिइ बन्द गरिदिएको थियो, संयुक्त राष्ट्र संघका अनुसार उसका कर्मचारी र ट्रकहरूलाई पुन: खोलिएको केरेम शलोम नाकामा पुग्न अत्यन्तै खतरापूर्ण थियो।
इजरेली सेनाले उक्त शहरमा बचेखुचेका हमासका तत्वहरूलाई खोज्ने क्रममा 'लक्षित कार्वाही' चलाइएको बताइएको छ। इजरेल सरकारले भने पूर्ण स्तरको आक्रमण नहुने सम्भावनालाई अस्वीकार गरेको छ, जसप्रति चिन्ता जनाउँदै बाइडनले युद्धसामग्री रोक्ने चेतावनी दिएका थिए।
बुधबार सीएएनसँगको कुराकानीमा बाइडनले अमेरिकाले उपलब्ध गराएका विस्फोटक सामग्रीहरू प्यालेस्टिनी सर्वसाधारणलाई मार्नका लागि प्रयोग भएको बताएका थिए।
"यदि तिनीहरू रफाहमा छिर्छन् भने म हतियारको आपूर्ति गर्ने छैन, जसको उपयोग ऐतिहासिक रूपमा रफाहसँग जुध्नका निम्ति गरिएको थियो," उनले भनेका छन्।

तस्बिर स्रोत, EPA
अमेरिका इजरेलसँग टाढिन खोजेको हो?
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा मामिलाका प्रवक्ता जोन किर्बीले 'रफाहमा जबर्जस्ती हुने प्रवेश' ले हमासलाई परास्त गर्ने इजरेलको उद्देश्यमा प्रगति हुनेमा बाइडन विश्वस्त नभएको बताए।
"हमासको स्थायी पराजय इजरेलको लक्ष्य हो, त्यो हाम्रो पनि लक्ष्य हो", उनले भने।
"कुनै न कुनै तवरले हामी इजरेलसँग टाढिँदैछौँ भन्ने तर्क वा हामी हमासलाई हराउन इजरेललाई सघाउन चाहँदैनौँ भन्ने तर्क तथ्यसँग मेल खाँदैनन्।"
प्यालेस्टिनी मिडियाका अनुसार बिहिबार दिउँसो इजरेली हवाई हमलामा परि रफाह नजिकैको अल–जेन्हामा दुई जनाको मृत्यु भएको छ। सोमबार राति स्थलगत कारबाही सुरू गर्नुअघि इजरेल डिफेन्स फोर्सेस् (आईडीएफ)ले स्थानीयबासीलाई उक्त ठाउँ छाड्न निर्देशन दिएको थियो।
त्यस्तै इजिप्टनजिकैको 'ब्रजिल क्षेत्र'मा पनि हवाई हमलामा तीन जनाको मृत्यु भएको विवरण आएको छ, जुन आईडीएफले रिक्त गराउन खोजेको क्षेत्र होइन।
इजरेलसहित अमेरिका र अन्य राष्ट्रहरूले आतङ्कवादी सङ्गठनको संज्ञा दिँदै आएका हमास र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) ले आफूहरूले पूर्वी बाह्य इलाकामा मोर्टार विस्फोटक र एन्टी–ट्याङ्क मिसाइलसहित इजरेली पक्षलाई निसाना बनाइरहेको बताएका छन्।
हमासले रफाहको पूर्वमा अवस्थित एउटा सुरूङलाई ध्वस्त पारिदिएको बताएको छ, जसमा तीनवटा इजेरेली सैन्य बाहन परेका छन्। घटनामा आफ्ना तीन सैनिक घाइते भएको उसले बताएको छ।
रातभरमा कम्तिमा पाँच जना मारिएको विवरण आएको छ। पश्चिम ताल अल–सुल्तान नजिकै रहेको एउटा घरमा भएको इजरेली हवाई हमलामा ज्यान गुमाउनेमा तीन केटाकेटी समेत छन्, जसमध्ये एकजना एक वर्षको शिशु रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
शान्ति सम्झौताको आशामा तुषारापात
इजरेलले स्वीकार नगर्ने भन्नुभन्दा पहिले गत सातासम्म कायम रहेको शान्ति सम्झौताको आशा धमिलिँदै गएको छ। इजरेल र हमास दुवै पक्षका प्रतिनिधि बिहिबार कायरोमा आयोजित अप्रत्यक्ष वार्ताबाट बाहिरिएका छन्।
गाजायुद्धको सात महिनापछि इजरेलले रफाह कब्जा नगरिकन र रफाहस्थति हमासको अन्तिम बटालियनलाई समाप्त नपारिकन विजय हासिल गर्न नसकिनेमा जोड दिएको छ।
इजरेली अधिकारीहरूका अनुसार ७ अक्टोबरमा दक्षिणी इजरेलमा भएको हमास आक्रमणको जबाफमा हमासलाई नष्ट गर्ने उद्देश्यका साथ गाजामा सैन्य कारबाही चलाइएको हो। उक्त आक्रमणमा लगभग १२०० जना मारिनुका साथै २५२ जनालाई बन्धक बनाइएको थियो।
हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले गाजामा कारबाही थालेयता ३४,९०० भन्दा धेरैको मृत्यु भएको छ।
इजरेलले बन्धक बनाइएकामध्ये १२८ जनाको स्थिति पत्ता नलागेको र तीमध्ये ३६ जनाको मृत्यु भएको ठानिएको बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








